Sunday, August 6, 2017

स्व.नवीन महर्जनको ४५ औं पुण्यतिथिको अवसरमा मेरो सम्झनामा नवीन

स्व.नवीन महर्जनको ४५ औं पुण्यतिथिको अवसरमा

मेरो सम्झनामा नवीन


— राजेन्द्र कुमार पुता —
राजा रंक सबै समान उसका, बैषम्य गर्दैन त्यो
आयो, टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो
लाखौं औषधि, अस्त्र शस्त्र महिमा देखेर डर्दैन त्यो
व्याधा तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ।
(कविशिरोमणि लेखनाथ पौड्याल))
साँचै नटर्ने रहेछ, मिति नपुग्दै नवीनलाई हामी सबैको सामुबाट टिपेर लग्यो, अफसोच । आज १३ औं दिन भयो, उनको भौतिक शरीर हामीमाझ छैन । 

उनले जीवनको अन्तिम सास लिँदै गर्दा वीर हस्पिटलको न्यूरो कक्षको आइसीयूको बेडमा टाढाबाट अन्तिम पटक देख्न पाएको थिएँ, उनलाई । तर विश्वास गर्न अझै गाह्रो भैरहेको छ, उनी हामी माझ छैनन् भनेर । तर साँचो कुरा साँचो नै हुदो रहेछ । उनीसंगको मेरो यात्रा यहींसम्म रहेछ, मैले यही सम्झेर चित्त बुझाएँ  । मन थाम्न त कहाँ सक्नु र ? आँसुको त के कुरा ? उनलाई सम्झिदै गर्दा, आँसु पुछ्दै गर्दा उनी आएर मलाई गाली गरेझैं लाग्छ । अनि झल्याँस्स हुन्छु, र सम्झिन्छु उनको सत्य बोल्न नडराउने स्वभावलाई, उनको अठोटलाई, उनको लगनशीलतालाई, उनको मेहनतलाई, उनको स्वाभीमानी अडानलाई, उनको लगावलाई, उनको आत्मविश्वासलाई । अनि सम्झिन्छु, उनले गरेका जीवनका संघर्षका पाटाहरुलाई र उनको बहुप्रतिभाशालि व्यक्तित्वलाई । सामाजिक काममा आँखा चिम्ले विना स्वार्थ कस्सिएर हिड्ने उनको सेवाभावलाई । अनि म शोकमा डुबेको बेला पनि शक्ति दिन्छ, उनको आत्माले मलाई । त्यतिकै गौरवान्वित हुन्छु, गर्ब गर्छु, आत्मीय साथी नवीन प्रति ।


नवीनसंगको मेरो सामिप्यता र उनको श्रृजनात्मकता

सानै उमेरमा आफ्ना बुुबा गुमाएका नवीनसंगको मेरो संगत माध्यमिक विद्यालयमा२०३२ सालमा कक्षा एकमा पढ्दा भेटे देखि भएको हो । त्यस पछि उनीसंगको साथ कहिल्यै छुटेन । आठ वर्षको उमेरमा ढीलो गरी स्कूल भर्नाभएको मैले बालसखाको रुपमा पाएको उनको साथ समयसंगसंगै कक्षा ८ सम्म पुग्दा कहिले एउटै कक्षा कोठामा, कहिले एउटै बेन्चमा त कहिले रोलक्रम अनुसार एउटै कक्षा भएपनि सेक्सन छुट्टिने क्रमसंगै हाँसखेलमा बिते । कक्षा नौ पुग्दा म कीर्तिपुर मा.वि छोडेर परोपकार माध्यमिक विद्यालयमा पढ्न गए पनि उनीसंग कपि र कितावहरु साटासाट गर्ने र आफुले जानेका सिकाउने र नजानेको उनीबाट सिक्ने अनि घरमा गएर संगै पढ्ने गर्थें ।


पढाइमा म औसत विद्यार्थीको भन्दा अलि अगाडी नै हुन्थें । अर्थात रोलक्रममा म टपटेन भित्रै पर्थें र उनी म भन्दा अलि कमजोर नै थियो । मेरो अक्षर अलि राम्रैमा गनिन्थ्यो कक्षा भरिमा, तर उनको अक्षर राम्रो थिएन । अक्षर नराम्रो भए पनि एउटै कुरालाई राम्रो शैलीमा लेख्न सक्ने खुबि थियो उनमा । एक पटक आठ कक्षामा एउटा क्लास टेस्टमा उनले एउटा प्रश्नको उत्तर मेरो हुबहुसारेर पनि मेरो भन्दा बढी अंक ल्याएको अझैसम्म याद छ, मलाई । त्यस उत्तरमा मेरो भन्दा एउटा सरल वाक्य थपेर लेखेको थियो अरु हुबहुनै मेरो उत्तर सारेको थियो । तर मलाई भन्दा उनलाई बढी अंक दियो सरले । म छक्क परें र त्यसपछि उनीबाट अलि भिन्नै खालको ज्ञान सिकें मैले । र, त्यही ज्ञानलाई मैले हरेक समयमा लागु गरें । अहिले आएर थाहा भयो, लेखक शिव खेराले भने झैं सफल मान्छेहरुले भिन्न काम गर्दैनन्, बरु त्यो कामलाई भिन्न तरिकाले गर्छन् । उनी भित्रको श्रृजनात्मकता देखेर म त्यतिबेला साह्रै प्रभावित भएको थिएँ ।


राजनीतिक उत्प्रेरक

उनीसंगको संगतले कक्षा छमा पढ्दा अनेरास्ववियूको विद्यार्थी संगठनको सम्पर्क हुन पुग्यो, मेरो । पंचायतकालीन समयमा राजनीतिक प्रशिक्षण दिने थुप्रै विद्यार्थी नेताहरुदेखि स्थानीय अगुवाहरु शम्भुराम दाई, तुल्सीदाई, ध्रुबदाइ, राधेश्यामदाइहरुबाट राजनीतिकको साथै देशको तत्कालीन अवस्थाको बारेमा थुप्रै
कुराहरु सुन्ने गर्थें । साथै हामीमा हुनुपर्ने ब्याबहारिक ज्ञान पनि प्रशिक्षणमा सिकाउने गर्थे । मलाई पछि थाहा भयो नवीनले त्यस्ता थुप्रै तह पार गरी सकेको रहेछ । राजनितिक कुराहरु सम्बन्धि स्वदेशी तथा विदेशी अनि सैद्धान्तिक दस्तावेजका किताबहरु उनले नै ल्याएर मलाइ पढ्न दिए । त्यो २०३७ सालको कुरा हो । २०३८ सालमा कक्षा ७ मा आइपुुग्दा कोर्ष कितावहरुसंगै विद्यार्थी राजनीति,  र लेनिनको सरल पुस्तक र माओत्सेतुंगको रातो किताव पढ्न उनले नै सिकाए, मलाई । त्यही बेलादेखि मैले आफुलाई समाजप्रति इमान्दारीता बन्न सिकेको थिएँ । बेथितिको विरुद्ध परिवर्तनको पक्षमा केही गर्नु पर्छ भन्ने सिकेको थिएँ । त्यसैले मलाई राजनीतिमा हिँडाउने साथीको रुपमा पनि उनलाई लिन्छ,ु म उनलाई । त्यसैले म भन्ने गर्छु, उमेरमा हामी एउटै सालको भए पनि मभन्दा उनी राजनीतिमा १ वर्ष जेठा हुन् ।

बहुप्रतिभाशालि नवीन
मादल बजाउन त्यो बेला कसैले जित्न नसक्ने उनलाई मैले त्यतिबेला उनको अर्को प्रतिभालाई चिनें, जब उनले मलाई ७ कक्षामा एउटा बिद्रोही कविता लेखेर सुनाए । म कक्षा ६ देखि कविता लेख्ने गर्थें तर मैले लेखेको भन्दा धेरै सुन्दर कविता उनले सुनाएपछि मलाई अलि डाहा भयो । मैले पनि अझ राम्रो लेख्न र पढ्न थालें । त्यसको लगत्तै स्कूलमा शिक्षण अभ्यासमा आउनुभएका शिक्षक शिक्षिकाहरुको विदाइ कार्यक्रममा मादल बजाएर सिनिएर दाइहरुसंग प्रगतिशील गीत गाएको देखेर सबैजना चकित भएका थिए । त्यस पछि उनको बारेमा मैले हरेक कुरा चासो लिएर हेर्न थालें र अझ बढी साहित्यिक सामिप्यता पनि बढ्यो । कक्षा कोठामा बेन्च बजाएर गीत गाएर रमाइलो गर्थे । त्यतिबेला यस कीर्तिपुर भेगमा हुने भुमिगत र खुल्ला साँस्कृतिक कार्यक्रमहरुमा मादल बजाउने त्यही कलिलो हातको जिम्मा हुन्थ्यो । त्यही मादल काँधमा बोकेर उपत्यकाका कति मंचहरुमा, दिन रात नभनी कति जनताको गीत गाए कतिलाई जागरुक बनाए । सानैमा उनमा आएको त्यो राजनीतिक चेतना अनि त्यो लगनशीलता कसैले बिर्सेका छैनन्, अहिले पनि । उनीसंगसंगै मंचमा गाउँदै र बजाउँदै हिंडेका कति सहयात्रीहरु आ–आफ्नो व्यवसायमा लाग्दै कति बिलाए, तर उनी आफ्नो जीवनको अन्तिम समयसम्म पनि जनताको गीतसंगीत अनि जनताको लागि राजनीतिमा लागे, सामाजिक सेवामा लागे ।  त्यो बेला मादल र नविन पर्याय बनेको थियो । पंचायतकालीन प्रतिबन्धित समयमा प्रगतिशील र जनताको गीत र संगीत गाउँदै बजाउँदै कैंयन डबलीहरुमा हुने प्रत्येक साँस्कृतिक कार्यक्रमहरुमा नवीनको उपस्थिति विशेष हुन्थ्यो । मादलको तालमा गाउने उनको कलाले सबैको माया पाउँथे ।

 त्यतिबेला उनले मादलसंगसंगै अर्को एउटा बाजा बजाउँथ्यो, कंगो । कीर्तिपुर भेगमा कंगो बाजा बजाउने पहिलो व्यक्ति शायद उनी नै हुन् । त्यतिबेला कंगोको नाम प्रायःजसोलाई थाहा थिएन, त्यसैले त्यस बाजालाई स्थानीयहरुले तीनवटा भएको तबला भन्थे । तीनटा तबला बजाउने भनेपछि नवीनको नाम आउँथ्यो । कंगोलाई यस भेगमा प्रख्यात बनाउन नवीनको योगदान नै पहिलो नम्बरमा आउँछ । मादल, कंगो हुदै तबलामा दख्खल भएका नवीन कलेज जीवनसंगै आफ्नो जीविकाको स्थानीय नीजि स्कूलमा अध्यापन
गराउने काम गरे । स्कूले नानीहरुलाई गीत संगीतको साथै नृत्यको ज्ञान पनि दिन्थे उनी । त्यसपछि उनले गीतमा संगीत भर्ने कामको शुरुवात गरे । उनीबाट संगीतबद्ध एक बाल गीतीसंग्रहमा नेपाली, अंग्रेजीको एउटा र नेपाल भाषाका गीतहरु, पासा गीती संग्रहहरुमा उनीबाट संगीतबद्ध सुमधुर नेपाल भाषाका गीतहरु र उनको एकल संगीतमा झीगु पलाः (हाम्रो पाइला)मा नेपालभाषाका प्रगतीशील गीतहरुको संग्रह हामी सामु अझै छ । यी बाहेक उनको संगीतमा थुप्रै गीतहरु रेकर्डेड छन् जुन एल्बमको रुपमा बाहिर आउन अझै बाँकी छ । पूूर्व सभासद तथा पूर्वराज्यमन्त्री दिलीप महर्जन लगायत थुप्रै लेखकहरुको गीतमा उनले संगीत भरेका छन् । रचनाकारहरुको कमी महशुस हुन थाले पछि उनले आफंैले जनताको गीत रचना गरेर आफ्नै संगीतमा गाउन लगाएका थिए । एक प्रशंगमा मलाई उनले भनेका थिए, तिमीहरुले लेख्न छोडे त्यसैले मैले लेख्न बाध्य भएँ । उनले गरेको यो व्यंग्यले मलाई अहिले पनि लेख्न घच्घच्याउँछ ।

    उनलाई मन पर्ने गुलाम अलि, पंकज उदास जस्ता अन्तर्राष्ट्रिय गायकहरुको नेपालमा भएको प्रस्तुती हेर्न पुग्थे उनी । महंगो टिकटको पैसा तिर्न आर्थिक रुपमा सक्षम थिएनन् उनी, तैपनि आफ्नो छाक काटेर भए पनि उनले पैसा जोहो गरेर पुग्थे । खेलकुदलाई आफ्नो जीवनको अर्को महत्वपूर्ण अंग ठान्ने नवीन स्कूले जीवनदेखि एक कुशल एथ्लेट्स् थिए । कलेज जीवनमा ताहाचल क्याम्पससम्म प्रायःजसो दौडेर पुग्ने नवीनले व्यावशायिक रुपमा त्यसलाई लान नसके पनि नियमित अभ्यासमा थिए, उनी । राष्ट्रिय तथा अन्तराष्ट्रिय म्याराथुन धावकहरुको फ्यान हुन् । उनले स्कुल र कलेज जीवनमा हासिल गरेका थुप्रै पदक तथा प्रमाणपत्रहरु घरमा अझै संकलित छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय जुनसुकै खेल प्रतियोगिता उनले हेर्न छुटाउँदैनथे, चाहे रंगशाला होस् वा टीभीमा । खेल हेर्न जागिरे स्कूलबाट विदा लिएर पनि सुटुक्क एक्लै दशरथ रंगशालामा थुप्रै पटक जाने गर्थे । तर त्यो कुरा पछि मात्र थाहा पाउँथे, परिवारबाट पनि ।आफ्नो स्नायू प्रणालीमा समस्या आउनु अघिल्लो रातिसम्म पनि टीभीमा खेल हेरेर अनिंदै काटेको थियो रे, उनले  । हरेक खेलको जानकारी
राख्ने भएकैले उनी जीवनको अन्तिम कालसम्म स्थानीय पत्रिकाहरु, कीर्तिपुर, लकस, किपू, ज्वजलपा, कीर्तिपुर सन्देश जस्ता साप्ताहिक पत्रिकाहरुमा खेल स्तम्भकारका रुपमा नियमित कलम चलाउँदै थिए ।
  नेवाः एफएममा गीत संगीत सम्बन्धि कार्यक्रम नियमित रुपमा चलाउँथे, उनी । आधुनिक, प्रगतिशील गीत तथा गजल अनि संगीतको बारेमा जानकारीका साथै स्थानीय पौराणिक गीत संगीतको समेत प्रवद्र्धन गर्ने उद्देश्य सहित उनी कार्यक्रम निर्माण र प्रस्तुति दिन्थे । स्थानीय संगीत समूह तथा स्कूले बालबालिकाहरुको संगीत समूहलाई समेत उनले आफ्नो कार्यक्रममा स्थान दिने गर्थे ।

यसरी गीत संगीत आमसंचारको माध्यमबाट समेत प्रवद्र्धन तथा प्रोत्साहन दिने काम गरेका थिए, उनले ।
स्वाभीमानी नवीन   आर्थिक रुपमा नवीनको स्थिति कहिल्यै राम्रो भएन । तर उनले त्यो महशुस गरे पनि कहिल्यै कसैको अगाडी हात जोडेनन् । विरामी हुँदा औषधि खर्च र छोरा छोरीलाई पढाउन पुगे त  पुगि हाल्छ भन्थे, उनी । चाकरी र चाप्लुसी नगरी केही नपाउँने यो दुनियाँमा उनी कसैको सामु झुकेर आफुलाई सानो बनाउन चाहँदैथे । आफ्नै पाखुरीको बलमा नै उनले आफ्नो छबिलाई कायम राखे । बैबाहिक जीवनमा बेरोजगारी बस्नु पर्दा कति दर्द हुन्छ भन्ने कुरा भोग्नेहरुलाई राम्रैसंग थाहा हुन्छ । तर कलेज पढ्दै गर्दा शुरु भएको उनको बैवाहिक जीवनमा स्थानीय नीजि विद्यालय मेगस स्कूलमा गरेको अध्यापनले आर्थिक रुपमा केही राहत त मिलेको थियो होला तर न्यून तलबले घर चलाउन पर्दा पनि उनीबाट कहिल्यै पनि कसैप्रति गुनासो गरेको सुनिएन । तबला प्रशिक्षण शुल्क अनि बाजागाजाहरु संकलन गर्ने आफ्नो इच्छालाई साकार पार्न समय समयमा पियानो, तबला, हार्मोनियम जस्ता बाजाहरु किन्न स्कूलबाट महिना नमर्दै लिएको ऋण तिर्दैमा पैसा सकिन्थ्यो । अनि बाँकी एक दुइसय पैसाले घर खर्च चलाउँथे उनी ।

  स्कूले जीवनदेखि कलेज जीवनका शुरुका दिनहरुमा उनलाई बुबाको अभाव हुन नदिइ हुर्काउने काम उनका दाइ दिदीहरुले गरे । तर विबाह पछि आफ्नै खुट्टामा उभिन उनले मेगस स्कूलमा आफ्नो जागिरे जीवन शुरु गरे । र आफ्नो जीवनको आखीरीसम्म उनले शिक्षण पेशामा बिताए । सबैलाई थाहा छ, नीजि स्कूलको तलब सुबिधाले सिंगो परिवार धान्न र आफ्ना छोराछोरीलाई उच्च शिक्षाको लागि महंगो कलेजमा अध्ययन
गराउन कतिको साह्रो गाह्रो पर्छ भनेर । अनि समय समयमा आइपर्ने साँस्कृतिक रितिथिति, जात्रापर्व जस्ता व्यवहारिकतामा अल्झिनु पर्दा आर्थिक समस्याझनबल्झिइ दिन्छ । तर उनले कहिल्यै आफ्ना अभाबहरु कसैसामु ब्यक्त गरेनन् र चुपचाप सधैं त्यसलाई सामना गर्थे । यो उनको स्वभाब जीवनको अन्तिमसमयसम्म पनि देखियो । आफ्नो हात फैलाएर कसैसंग कहिल्यै केही मागेनन् । सामाजिक कार्यमा उनको संलग्नता त एक नमुनाको रुपमा देखिन्थ्यो तर आफ््नो व्यक्तिगत फाइदाको लागि कहिल्यै कतै लागेनन् । नभए उनको जस्तो प्रतिभा भएको व्यक्तिलाई कसले नाइ भन्न सक्थ्यो र रोजगारीको लागि ।

त्यसो त जीवनको अन्तिम समयसम्म उनले सेवा गरेको उज्ज्वल शिशु निकेटन एकेडेमी र कीर्तिपुर जनपोलिक्लिनिकमा उनीसंग भएको खुबि र क्षमतााले नै काम गरे । उनी जब मेगस स्कूल छोडेर बेरोजगार बसेका थिए त्यो बेला पनि कसैलाई उनले जागिरको लागि भनेको हात फैलाएको थाहा भएन । उनको
इमान्दारीता, लगनशीलता अनि उनीसंग भएको बहुआयामिक क्षमता देखेर उज्ज्वल स्कूलले उनलाई गरेको अफरलाई उनले स्वीकार गरेको थियो । हुनत त्योबेला उनी बेरोजगारीको पिडाले छटपटिंदै थिए ।
हठी नवीन  उनको स्वभाव हठी थियो, आफ्नो अडानमा अडिग रहने र तर्कपूर्ण आफ्नो विचारलाई प्रस्तुत गर्ने । आफुले ताकेको र भनेको काम कुरालाई जसरी हुन्छ पुरा गर्ने उनको स्वभाव थियो । समय र योजनालाई निकै ख्याल गर्ने र कुनै पनि काम आँटेपछि तुरुन्तै शुरु गरी पूरा नहुन्जेल लागी पर्ने बानी थियो, उनको ।
हरेक ठाउँमा उहाँ एगलअतगब िथिए । भोलि गरौं या पर्सि गरौंला भनेर काम टार्ने खालको स्वभावै थिएन । त्यसैले कति साथीहरु उनीसंग काम गर्नै सक्दैनथे भने कति साथीहरुलाई उनी नभै हुदैनथ्यो । काम थाल्नु उनको प्राथमिकता हुन्थ्यो र त्यसलाई निरन्तरता दिन मरिमेट्ने बानी उनमा थियो । उनको यो अठोटसाथ काममा लाग्ने बानीले नै उनले हात हालेका थुप्रै कार्यहरु सफल भएका छन् । तर उनको यही बानीले उनले पहल गरेका कुुनै कुनै योजनाहरु दिगो नभएका उद्धाहरण पनि नभएका होइनन् । भविष्यमा उनको समग्र योगदानको चर्चा गर्दा यस्ता कुराको मूल्यांकन पनि होला नै ।

नवीनको नवीनता
 कीर्तिपुर खेलकुद विकास समाजको मूूख्य परिकल्पनाकार मध्ये नवीनको नाम पहिलो पंक्तिमा आउँछ । कीर्तिपुरको कुनै एउटा कुनामा कीर्तिपुरको खेलकुदको समग्र विकास र प्रवद्र्धनको निम्ति भूमिका खेल्ने त्यस्तो एउटा संस्थाको अनिवार्य आवश्यकता भएको विषयमा छलफल हुँदा त्यसको अगुवाइ गर्ने मध्ये नवीन नै थिए । संस्था गठनको लागि खेलसंग सम्बन्धित सबै व्यक्तित्वहरुलाई एक ठाउँमा भेला गर्न पहल गर्नेदेखि त्यसको अवधारणा निर्माणमा उनकै अहं भूमिका थियो । त्यसैले उनी हालसम्म पनि उक्त समाजका संस्थापक महासचिव छन् । जुन संस्था आज पनि कीर्तिपुरको खेलकुद क्षेत्रमा सबैको छाता र साझा संस्थाको रुपमा रहेको छ । सोही संस्थाको पहलमा बास्केटबल कोर्ट र खेलकुद मैदान बनाउने काममा स्वास्थ्यको ख्याल नगरी लागी रहन्थे ।

  त्यस्तै संगीत क्षेत्रमा उनले गरेको कंगो बाजाको प्रयोग बारे माथी उल्लेख गरीसकिएको छ । जो कीर्तिपुर भेगको लागि नौलो थियो । प्रगतिशील गीत संगीतको पृष्ठभूमिबाट हुर्केका उनी भजन संगीतलाई पनि प्रवद्र्धन र सम्बद्र्धन गर्नु पर्छ भनेर कीर्तिपुरका बरिष्ठ गीत संगीतकारहरुको संलग्नतामा सुगम संगीत समूहको गठनमा सक्रिय रहे र त्यसको विधान निर्माण गरी संस्थागत रुप दिने काम उनकै सक्रियतामा भयो । र, सो समूहले कीर्तिपुरको हरेक जात्रा पर्वहरुमा भक्ति संगीत प्रस्तुती गर्ने अवधारणा पनि उनकै थियो ।
करीव २ वर्ष अगाडीे भूकम्प प्रभावित कीर्तिपुरका विभिन्न स्थानहरुमा राराहिल साँस्कृतिक समूहले मनोसामाजिक रुपमा विरक्तिएका जन समुदायलाई केही साँगीतिक मनोरंजन दिने हेतुले गीत नृत्य प्रस्तुुति दिने काम भएको थियो । त्यसको योजना र परिकल्पनाकार उही नवीन नै हुन् । राराहिल एक स्कूलको नाम भए पनि कीर्तिपुरका चार सहीदहरुको सम्झनामा एउटा साँस्कृतिक समूहको गठन र सक्रिय हुुुनु उनकै देन थियो । कीर्तिपुरको खेलकुद क्षेत्रका केही एथलेट्स् मध्ये उनी एक दुइ नम्बरमा गनिनेमा पर्दथे । उनको परिचय खेलकुदमा दौडीने खेलाडीको रुपमा चिनिन्थ्यो । स्कूल स्तरीय क्रसकन्ट्रि प्रतियोगिता होस् वा खुल्ला होस् उनी पहिलो हुन्थे, त्यो बेला ।


संघसंस्थामा उनको संलग्नता

एकताका इन्दे्रणी साँस्कृतिक समाज कीर्तिपुर एरिया समितिका उपाध्यक्ष रहेका उनी त्यस पश्चात औपचारिक रुपमा कुनै पनि साँस्कृतिक समूहको संस्थागत नेतृत्वमा रहेर काम त गरेनन् बरु गीत संगीत सिर्जनामा सधंै लागी रहे । कीर्तिपुर खेलकुद विकास समाजका संस्थापक महासचिव उनी नेपाल केकोसिन काइकान कराते संघका केन्द्रीय सदस्य थिए । टोलबासीको नाताले, स्थानीय क्लब संस्था, भजन मण्डल आदीमा उनको प्रत्यक्ष संलग्नतामा होइन उनको उपस्थिति अनिवार्य हुन्थ्यो, बादकका रुपमा प्रशिक्षकको रुपमा ।

स्थानीय तह पुनर्संरचना हुनु अगाडी सर्वदलीय संयन्त्र अन्तर्गतको कीर्तिपुर नगर स्तरीयशिक्षा उपसमितिका सदस्य पनि थिए, उनी ।सुगम संगीत समूह, राराहिल साँस्कृतिक समूहका संस्थापक सदस्य उनी सुगम संगीत समूहका हालका संरक्षक पनि हुन् । किपू वचत तथा ऋण सहकारी संस्था लि.का शिक्षा उपसमितिका सदस्यको रहेर उनले महत्वपूर्ण योगदान गर्दै थिए ।
यसरी सानैदेखिको राजनीतिक चेतका कारण निःस्वार्थ भावले समाज र जनताको सेवा गर्न सिकेका उनी विभिन्न सामाजिक, साँस्कृतिक, खेलकुद, आर्थिक, सांगीतिक क्षेत्रका दर्जनौं संस्थाहरुमा संलग्न थिए ।
मेरो जीवनमा नवीन

  मैले आफ्नो जीवनको अति महत्वपूर्ण कुराको निर्णय लिंदा उनको कुरालाई सहजै स्वीकारेको थिएँ । र, म आज जे छु त्यो उनकै देन हो । कुरो त्यतिवेलाको हो, जब मेरो विवाहको अन्तिम टुंगो लागि सकेको थियो, घरको दुबै तर्फबाट । तैपनि मैले अस्वीकार गर्दै थिएँ, मैले असन्तुष्टि जनाउँदै थिएँ । म त्यो बेला त्यति खुशि थिएन । सो कुरा मैले घरमा पनि भनेको थिएँ । मेरो सोही निर्णयको कारणले करीव पक्का भैसकेको कुरा विथोलिने भएर घरमा निकै हलचल मचेको थियो, तर पनि मैले अस्वीकार गर्दै थिएँ । त्यतिकैमा उनले मलाई एकचोटी झपारे, गाली गरे । उनले मलाई फकाएको थिएन । उनले गरेको २ शब्दको गाली म अहिले पनि सम्झिन्छु । बास्तवमा त्यो गालि थिएन, मेरो पारा देखेर उनी रिसाएको मात्र थियो । उनको तर्क र कुरा मैले नकार्न सकिन र मैले विबाह गर्न स्वीकार गरें । अहिले त्यो कुरा सम्झेर म निकै खुशि हुन्छु, उनको गाली मेरो लागि बरदान भएको छ । मैले अहिले आफ्नो जीवनमा एक असल जीवनसंगीनी पाएको छु, जो उनकै २ शब्दको गालिको परिणाम भन्न रुचाउँछु, म ।

  अर्को कुरा सानै देखि उनी संघर्षमा हुर्केको मान्छे, र, म पनि अभावमा हुुर्केको मान्छे । मैले समाज र साथी भाइ प्रति इमान्दार बन्न उनीबाटै सिकें । केही दुःख संगसंगै भोगें कति कथा व्यथाहरु साटासाट गरें । तर म जब निराश हुन्थें तब आशा लाग्दा कुरा गरेर उनी हौसला दिन्थे । अनि म सम्झिन्थें मेरा त बाआमा साथमा हुनुहुन्छ, उनको त सानैदेखि बा बित्नुभाको बुबाको मायाको शाय्द याद पनि थिएन होला, भनेर । अनि निकैे स्याहार गरेर पनि क्यान्सरबाट आमालाई बचाउन नसकेको पीडा खेपेको उनको मन अनि त्यही मनले दिएको हौसला पक्कै मेरो भोगाइ भन्दा निकै पाको थियो, त्यसैले म उनको सामु नतमस्तक हुन्थें । साच्चै मेरो पथप्रदर्शक थिए, उनी ।  संगै खाजा खाँदा अलग अलग थालमा खान हामीलाई अप्ठ्यारो लाग्थ्यो । सधैं एउटै थालमा खाने बानीले कुनै साथीहरुकहाँ जाँदा भिन्ना भिन्नै थालमा खाजा दिँदा पनि हामी एउटैमा खान्थें । हर समय मेरो घरमा उनको साथ चाहिन्थ्यो । प्रायः जसो मेरो विषयमा कुरा गर्दा उनीसंग सल्लाह लिन्थे, मेरो बुबा आमाले पनि । मलाई गालि गर्नु परेमा उनैलाई भन्न लगाउँथे, मेरो परिवारले । म उनको कुरा काट्न सक्दिनथें । उनको तार्किक शैली स्पष्ट र सीधा बोल्ने बानी थियो । त्यसैले मेरो जीवनको मात्र होइन उनी त मेरो परिवारको अभिन्न अंग थियो । तर, अफसोच त्यो अंग आज टुटेको छ । मेरो निम्ति उनले दिएका शुन्दर उपहारहरु मसंग छ । भौतिक रुपमा उनी नभए पनि उनको निर्देशन मेरा निम्ति हरसमय साथ हुनेछ ।
अन्तमा,
 बहुप्रतिभाका धनी, एक स्वाभिमानी, लगनशील, आत्मविश्वासी, श्रृजनशील अनि हठी स्वभावका नवीन आफ्नो बारेमा कमै कुराहरु बोल्थे । चाहिने कुरा बोल्थे । अरुको बारेमा कसैले कुरा काट्न थाल्यो भने उनीहरुलाई गालि गर्थे । त्यो उनको बानी थियो । उनको सामाजिक सेवाभाव अनि इमान्दारिताको अगाडी सबै जसो झुकेको उद्धाहरणको थुप्रो छ । त्यसैले त आजसम्म जति पनि सामाजिक संस्थाहरुमा उनी रहेर आर्थिक कारोवार सम्हाले त्यसको बारेमा कसैले औंला उठाउने साहस गरेको छैन । प्रशंसा पाएको छ, उनले ।
  सुख सुविधा कसको इच्छा हुन्न र । तर, नवीनले सुख सयलको जीवन कहिल्यै मन पराएन, अनि आफ्नो निम्ति राम्रो लुगाफाटो, अनि एक जोर राम्रो जुत्ता चप्पलसम्म पनि कहिल्यै लाएनन् । इच्छा भएर पनि आत्मसन्तुष्टिमा रमाउथे उनी । ताहाचल क्याम्पससम्म पनि दौडेर पुग्ने उनले आफ्नो जीवनमा मोटर मोटरसाइकल त के साइकल पनि सिक्ने चाहना कहिल्यै गरेन । उनी आफुलाई त्यसको लायक ठान्दैनथे । उनी हामीबाट भौतिक रुपमा बिदा भएर गए तर जाँदा जाँदै उनले हामीलाई थुप्रै पाठ सिकाएर गएको छ । सादा जीवन उच्च विचारको एक गतिलो उदाहरण हो नवीन । इमान्दारीताको खडेरी परेको अहिलेका अवस्थामा उनीबाट हामीले इमान्दारीताको पाठ मात्रै सिके पनि उनी प्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
श्रद्धासुमन नवीन प्रति ।

No comments:

Post a Comment