Tuesday, August 26, 2025

जनयुद्ध की धनयुद्ध ?

 जनयुद्ध की धनयुद्ध ?


 नवराज अधिकारी

 २०६२/०६३मा सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर देशमा राजतन्त्र चाहिँदैन भनेर जन आन्दोलन गरेर  राजालाई दरबारबाट हटाए । आन्दोलनमा कयौ व्यक्तिहरू घाइते भए कतिको मृत्यु भयो । जंगलमा भएको माओवादी  युद्ध रोकेर शान्ति वार्तामा आयो । जनताबाट निर्वाचित सरकार बनाउने भनेर चुनाव भयो । सरकार बन्यो युद्धका बेला घाइते भएकाहरूले पाएचाहिँ के ? मृत्यु भएकाहरूले पाए के ? पाए त केबल शहीदका ती परिवारले पीडा बोकेर परिवारको सम्झनामा विक्षिप्त बनेर प्रत्येक दिन पीडामा छट्पटीरहेका छन् । द्वन्दकालमा घाइते भएकाहरु अहिले पनि शरीरभरि गोली बोकेर जीवन मरणको दोसाँधमा छन् “न मरी जाऊँ न गरी खाउँ” भन्ने सम्मको ती अवस्थाका नागरिकले देशको लागि के गरे के गरेनन् भन्ने ?

            २०५२ साल फाल्गुन १ गते माओवादीहरूले जनयुद्ध सुरु गरेको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाइन्छ । २०५२ सालदेखि २०६३ सालसम्म चलेको जनयुद्धको अवधिलाई ससस्त्र द्वन्द्वकालको रुपमा परिभाषित गरियो । ससस्त्र द्वन्द, राजतन्त्र समाप्ति र जन गणतन्त्र स्थापनाको लागि गरिएको थियो । उक्त विद्रोहमा  १७००० भन्दा बढि सर्वसाधारण नागरिक, विद्रोही, सेना र प्रहरीहरुको मृत्यु भएको थियो । आज पनि कयौ मानिस बेपत्ता छन् जसका आफन्तहरूले अहिले पनि “कि सास देऊ, कि लास देऊ” भनिरहेको अवस्था छ । ०६२/०६३ को जन आन्दोलन पश्चात देशमा गणतन्त्र स्थापना भयो अब देश र हामी नेपाली एक युग पार गरेर अर्को युगमा प्रवेश गर्दछौं भन्ने आभास भएको थियो तर भै दियो ठीक त्यसको उल्टो ! जनयुद्ध र जन आन्दोलनमा भए गरेका उपलब्धिहरू बिस्तारै पछाडि धकेलिँदै छ जबकि अहिले देश विकास समानान्तर र आबस्यकता अनुसार नभई पावर, पहुँचले गर्दा असमान हुँदै गइरहेको छ । राजनैतिक दलहरु दलीय स्वार्थमा डुब्दै गइरहेका छन् । जबकि ०६२÷०६३ अघिको जनयुद्ध अहिले धन युद्ध हुँदै छ । भनिन्छ देश परिवर्तन भयो हुन पनि हो । आफ्नै पौरखले आफ्नै खेत बारीमा काम गरेर खाने नागरिकहरु आज खाडी मुलुकमा उखरमाउलो गर्मी खाँदै घर परिवार पाल्न निरीह र लाचार बनेर आर्काको देशमा विकाशको फड्को मारि दिन तत्पर छन् जब की त्यो पसिनाको रेमिटेन्सले देशको खर्चमा केही हदसम्म भरथेग गरेको छ । नत्र भने हाम्रो गाउँ – गाउँको सरकारदेखि सिंहदरबार बस्ने सम्मलाई खर्च कहाँबाट जो हो गर्नु   ?          

              १० बर्षे जनयुद्धको समयमा दुर्गम गाउँ बस्तीहरूमा बसोबास गर्नेहरू सरकार र माओवादीको  दोहोरो चेपुवामा परेर बाध्यात्मक अवस्था सिर्जना भै आफ्नो थात थलो छोडेर शहरमा हातमुख जोड्न स्थानान्तरण भए । गाउँ बस्तीमा कसैको पति छैन, कसैको पत्नी छैन, कसैको छोरा छैनन् जबकि घरमा कमाउने व्यक्ति नभएपछि के गर्नु आफ्नो खेतबारी आफ्नो भन्ने नै रहेन । जबकि ०६२÷०६३ को आन्दोलन पछाडि अब केही होला देश बन्ला भन्ने थियो तर त्यो भनेको जस्तो हुन सकेन । राजनीतिक दाउ पेच, नाताबाद, कृपावाद र वर्ग–वर्गमा ठूलो भिन्नता छ । राजनीतिलाई समाजसेवा बनाउनुपर्नेमा अवसर बनाए, कुनै पनि कार्यालयमा कर्मचारी नियुक्ति प्रक्रियामा सानो पददेखि उच्चतम पदसम्म प्रत्येक राजनीतिक दलले आ–आफ्नो भाग लगाएर आफ्ना–आफ्ना मानिसलाई नियुक्ति गर्ने जस्ता कार्यहरू यथावत छ ।

          वर्ग संघर्षको विकास समाज उत्पति देखि नै सुरु भएको मानिन्छ । जब मानिस समाजमा मिलेर कामहरू गरी सम्पति आर्जन गर्न थाले त्यसबेला देखि पुँजीपति वर्ग र श्रमिक वर्ग भनेर छुट्याउन थालियो । १० वर्ष जनयुद्धमा पनि वर्ग संघर्षको लागि कतिको ज्यान गयो त कति अपाङ्गता भएर बस्न बाध्य हुनुप¥यो । पुँजीपति वर्ग र श्रमिक वर्ग बिचको खाडल कहिले भरिएला ? १० बर्षे जनयुद्धमा वर्ग संघर्ष, जातीय संघर्ष आदि इत्यादि नामबाट संघर्ष गरे पनि अहिले त्यो सबै कागज र भाषणमा मात्रै सीमित हुन पुग्यो । पुँजीपति, पुँजीवाद र श्रमिक वर्गको जतिसुकै कुराहरू गरे पनि यी दुई वर्गबीचको अन्तर कहिले समान हुनेछैन । कार्ल माक्र्सले भनेका छन् दोस्रो वर्ग सदैव नै पहिलो वर्गको शोषणमा पर्दछ । समाजका शोसक तर्फ शोषित यी दुई वर्ग सदा नै आपसमा संघर्षरत रहेका हुन र यिनमा सम्झौता कहिले सम्भब छैन । अब यो १० बर्षे उपलब्धिहरू जनयुद्ध थियो की धन युद्ध सहजै अनुमान लगाउन सकिन्छ । होइन भने किन सामान्य जीवनशैलीका राजनैतिक नेताहरू विलासी जीवन शैली र विभिन्न अनुसन्धान गर्नुपर्ने अनैतिक कार्यहरूमा सम्मिलित भइरहेका छन् । यही हो त १० वर्षको उपलब्धि  ?


No comments:

Post a Comment