Friday, September 5, 2025

सहिद स्मारक कलेज संस्कृति जर्गेनामा अब्बल

 सहिद स्मारक कलेज संस्कृति जर्गेनामा अब्बल

द्रौपती अर्याल 

सहिद स्मारक कलेजले विविध सांस्कृतिक कार्यक्रम सहित तिज, गौरा पर्व र गुरुपूर्णिमा भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थी शिक्षक, तथा कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । हरीतालिका तिजका अवसरमा विद्यार्थीहरुले परम्परागत नृत्य प्रस्तुत गरेका थिए भने महिला शिक्षकहरु परम्परागत चलनलाई झल्काउने पोसाकमा सजिएका थिए । कलेज परिवारका तर्फबाट क्याम्पस प्रमुख मिलनमान महर्जनले महिला शिक्षिकहरुलाई तिज विशेषको उपहार दिँदै स्वागत गरेका थिए । 


तिज विशेष कार्यक्रमका प्रमुख अतिथि हास्य कलाकार पल्पसा डङ्गोल थिइन् । सो अवसरमा आफ्नो शुभकामना मन्तव्यका क्रममा आफनो जीवन कथा साझा गर्दे हौसला तथा प्रेरणा प्रदान गरेकी थिइन् । कार्यक्रममा भर्खरै बजारमा आएको आफ्नो नाच्न मन लाग्यो बोलको  तिजको गीत प्रस्तुत गर्दै सो गीतमा सबैलाई छमछमी नचाइन् । 

तिज विशेष कार्यक्रमका अतिथि क्याम्पस प्रमुख मिलनमान महर्जनले तिज विशेषको शुभकामना दिँदै आफ्नो सन्देश मुक्तकबाट प्रसार गरेका थिए । तिज विशेष कार्यक्रममा तिजको महत्वका बारेमा मन्तव्य राख्दै सो कार्यक्रमका सभाध्यक्ष द्रौपती अर्यालले भनिन् –तिजको महत्त्व त्याग, आत्मशुद्धि, श्रद्धा, समृद्धि, माया, ममता र एकतासँग जोडिएको छ । यसले सांस्कृतिक पहिचान, भक्ति परम्पराको संरक्षण र परम्पराको निरन्तरतालाई उजागर गर्छ । 


सांस्कृतिक पर्व मनाउने क्रममा भदौ १५ गते सहिद स्मारक कलेजमा गौरा पर्व विशेषको कार्यक्रम आयोजना गरियो । गौरा पर्व पश्चिम नेपालको महत्त्वपूर्ण पर्व हो । यस पर्वमा देउडा गीत गाएर र नृत्य प्रस्तुत गरेर सामाजिक सद्भाव र देवीप्रतिको आस्था प्रकट गरिन्छ । सोही अवसरमा विद्यार्थी तथा शिक्षकहरुले देउडा नृत्यको प्रस्तुत गरी गौरा पर्वको सांस्कृतिक पक्षको स्मरण गराए । 

सहिद स्मारक कलेजमा विविध चाडपर्व र सांस्कृतिक सन्दर्भलाई मनाउने तथा स्मरण गर्ने क्रममा वेद पुराणदेखि ज्ञानको पर्व मानिएको गुरुपूर्णिमा पनि भव्यताका साथ मनाइयो । यसक्रममा विद्यार्थीहरुले गुरु गुरुआमाहरुलाई आदर सत्कार अर्पण स्वरुप पुष्पगुच्छा प्रदान गर्दै टिका लगाइदिने कार्यक्रम राखेका थिए । साथै विद्यार्थीले गुरुको महत्त्व र गुरुप्रति सद्भाव जनाउँदै कविता वाचनको आयोजना पनि गरेका थिए । यसरी सहिद स्मारक कलेजले चाडपर्वलाई संस्कृति, आस्था र ज्ञानपाप्तिको सम्मान स्वरुप मनाएर विद्यार्थीहरुमा परम्परागत मूल्य नैतिक शिक्षा प्रवाह गर्न अहम् भूूमिका खेलेको छ ।       

No comments:

Post a Comment