Wednesday, April 8, 2026

राज्यसेवकको आँसु र सुशासनको नयाँ सङ्कल्पः एउटा विश्लेषण

 राज्यसेवकको आँसु र सुशासनको नयाँ सङ्कल्पः एउटा विश्लेषण


रश्ना महर्जन

काठमाडौँ — हालै माननीय गृहमन्त्री सुदन गुरुङ र नेपाल प्रहरीका महानिरीक्षक (IGP) बीचको संवादका क्रममा देखिएको भावुक दृश्यले आम नागरिकको मन मात्र पगालेको छैन, बरु वर्षौँदेखि राज्य संयन्त्रभित्र गुम्सिएर रहेको चरम शोषण र बेथितिको ऐना पनि छर्लङ्ग पारेको छ । आफ्ना कुरा राख्दा–राख्दै उहाँहरू भावुक बनेको त्यो क्षणले सिङ्गो माहोललाई नै स्तब्ध बनाइदियो।

श्रमको अवमूल्यन र न्यून रासन

दिउँसोको चर्को घाम होस् या रातको मुसलधारे झरी, नागरिकको सुरक्षाका लागि अहोरात्र खटिने प्रहरी जवानको दैनिक रासन (न्युट्रिसन) खर्च मात्र २०१ रुपैयाँ छुट्ट्याइएको तथ्य बाहिर आउँदा जो कोहीको पनि आँखा रसाउनु स्वाभाविक हो। यो केवल एउटा तथ्याङ्क मात्र नभई, वर्षौँदेखि पुराना भ्रष्ट नेतृत्वले हाम्रा राष्ट्रसेवकमाथि गर्दै आएको मानसिक र भौतिक शोषणको पराकाष्ठा हो। शक्तिको दम्भ र निरङ्कुश स्वार्थका कारण पर्दापछाडि दबाइएका आवाजहरू अब बिस्तारै सतहमा आउन थालेका छन्।

गृहमन्त्री सुदन गुरुङले जसरी निर्धक्क भएर प्रहरी कर्मचारीहरूलाई “नियम पालना गरी आफ्नो काम गर्नुस्, यदि कतैबाट घुसखोरी, दबाब वा दम्भको सामना गर्नुपरे सिधै उजुरी गर्नुस्“ भनी ढाडस दिनुभयो, त्यसले तल्लो तहका सुरक्षाकर्मीमा ठुलो आत्मबल र भरोसा जगाएको छ। यो सुशासनको एउटा बलियो प्रस्थान विन्दु हुन सक्छ

नेपाल प्राकृतिक स्रोत–साधन, जलस्रोत, कृषि योग्य भूमि, पर्यटन, सांस्कृतिक विविधता र सगरमाथा जस्ता विश्वका गौरवपूर्ण सम्पदाले भरिपूर्ण छ। यहाँ विकासका अवसरहरू नभएका होइनन्, तर मुख्य समस्या ’नीति’ मा भन्दा पनि ’नियत’ मा देखिन्छ। भ्रष्टाचारमा लिप्त केही तत्वहरूले देशको समृद्धिको बाटोमा अवरोध खडा गरिरहेका थिए भन्ने कुरा अब स्पष्ट हुँदै गएको छ।

अहिले देशले एउटा नयाँ दिशा समातेको भान हुन्छ। हरेक बिहान सूर्यको पहिलो किरणसँगै अब केही राम्रो खबर सुन्न पाइनेछ भन्ने आशा र उत्साह आम नागरिकमा पलाएको छ। यदि नेतृत्वमा इच्छाशक्ति र इमानदारिता हुने हो भने, कर्मचारी र सुरक्षाकर्मीको मनोबल उच्च राख्दै देशलाई समृद्धिको मार्गमा डोहो¥याउन असम्भव छैन।

राज्यका खम्बाहरू (प्रहरी प्रशासन) लाई न्याय र सम्मान दिएर मात्रै एउटा सभ्य समाजको परिकल्पना गर्न सकिन्छ। अहिले देखिएको यो परिवर्तनको लहरले आगामी दिनमा ठोस नतिजा ल्याउनेमा आम सर्वसाधारण आशावादी छन्।

–रश्ना महर्जन


No comments:

Post a Comment