Wednesday, September 3, 2025

नानी महर्जन (मनोपरामर्शकर्ता) ः एक परिचयः

 नानी महर्जन (मनोपरामर्शकर्ता) ः एक परिचयः 

नानी महर्जन

              सामाजिक चेतना, महिला सशक्तीकरण, सीप विकास, उद्यमशीलता र मनोसामाजिक परामर्शका क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा नानी महर्जन कीर्तिपुरको उदाउँदो नाम हो । वि.सं. २०३९ साल श्रावण १२ गते आमा श्रीमती धननानी महर्जनको कोखबाट, बुबा श्री बाबुकाजी महर्जनको आँगनमा सुपुत्रीका रूपमा जन्म भएकी उहाँ बाल्यकालदेखि नै अध्ययनशील, संवेदनशील र सामाजिक भावनाले ओतप्रोत थिइन् । उहाँ एक सुसंस्कारित परिवारकी सदस्य हुनुहुन्छ । दाइ जितेन्द्र महर्जन र दिदीहरू कर्ण शोभा महर्जन, कविता महर्जन, केशवती महर्जनकी प्यारी बहिनीको स्वरुपमा आफुले पृथ्वीमा स्थान पाउनुलाई पुर्वजन्म पुण्यकर्मकै प्रतिफल मान्नुहुन्छ । छोरी वेदान्सी डंगोल जीवनमा प्राप्त हुनुलाई अहोभाग्य नै ठान्नुहुन्छु । विवेक महर्जन ज्युमा समर्पित भई आफु उहाँकी एकमुखी रुद्राक्ष हुनु दैबको मिलाप मान्नुहुन्छ ।

                  वि.सं. २०५६ सालमा जनसेवा स्कुलबाट एसएलसी उत्तीर्ण गर्नासाथ पढाइका अलावा नोकरी तथा व्यवसाय, सीपमूलक कार्यहरूको प्रशिक्षणमा लागेकी उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर (प्रथम श्रेणी) र त्रिचन्द्र कलेजबाट मनोसामाजिक परामर्शमा पोस्ट ग्राजुएट (प्रथम श्रेणी) भारतको टाटा इन्स्टिट्युट अफ सोसल साइन्सेज, मुम्बइबाट मनोसामाजिक परामर्शमा सर्टिफिकेट तहको उपाधि हासिल गरेकी छिन् । बाल्यकालदेखि नै अध्ययनशील, संवेदनशील र सामाजिक भावनाले प्रेरित महर्जन आफ्नो साथी सर्कलमा अनुशासित र नेतृत्व गुणले युक्त भएकाले प्यारी र परिचित थिइन् । 

                 निरन्तर अध्ययन र अन्वेषण समेत गर्न मन पराउने, उनले केही वर्ष अगाडि मात्र उद्योग मन्त्रालय अन्तर्गतको उद्यमशीलता विकास तालिम हासिल गरेकी छिन् । लण्डनमा केयर युकेद्वारा संचालित कार्यक्रममा सामाजिक परिचारिकाका रुपमा Dementia & Alzheimers का बिरामी उपचारमा अनुभव र ज्ञान हासिल गरेकी छिन् ।  झण्डै ४ वर्ष विदेश बसाइँमा एनएचएस, युकेबाट विभिन्न तालिम समेत प्राप्त गरेकी उनले नेपालमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू मार्फत पनि सेवा गरेकी छिन् । वि.सं. २०६२ साल देखि नै कीर्तिपुर महिला एकता समाज सेवामा लागेकी विनाशकारी भुकम्प वि.सं.२०७२ देखि सक्रिय रुपमा सामाजिक कार्य गर्दै गर्दा मनोसामाजिक परामर्शको महत्व र आवश्यकता राम्रोसँग बुझेकी उनले आफ्नो दुधे बच्चा वेदान्शीबाट समेत केही समय टाढा रही पूर्ण छात्रवृत्तिमा मुम्बइको टाटा इन्स्टिट्युटबाट उच्च अंकका साथ कोर्स पूरा गरेकी थिईन् । सदैव विभिन्न संस्थामा विविध भूमिकामा जोडिएर आफूलाई निखार्दै लैजान मन पराउने महर्जनलाई नजिकबाट चिन्नेहरू सकारात्मक सोच, अथाह उर्जा, नम्र स्वभाव, हँसिलो भावाङ्गी तथा समाज, कमजोर र दीनहीन प्रति सेवा भावका कारण उदाहरणीय महिलाको रुपमा नहिच्किचाई चिनाउने गर्दछन्। यो स्तम्भ लेख्दै गर्दा उनी कीर्तिपुरस्थित एक सफल र अग्रणी सहकारी कीर्तिपुर महिला एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा अध्यक्षको भूमिकामा छिन् जुन संस्था आजभन्दा १८ वर्षअघि उनकै अध्यक्षतामा गठन भएको थियो । कोरोना महामारीको प्रकोपले थला पारेको व्यापार, व्यवसाय र जनजीवनलाई नेप प्रोडक्ट प्रा.लि.नामको कम्पनीबाट अनलाइन व्यापार शुरु गरी व्यावसायिक क्षमता देखाएकी छिन् । जसले नेपाली, त्यसमा पनि महिला दिदिबहिनीका स्थानीय उत्पादनलाई प्राथमिकताका साथ डिजिटल प्लेटफर्म मार्फत बजारीकरण गर्दै आएकी छिन्, जहाँ अहिले पनि कम्पनीमा चार जना निरन्तर खटिइरहेका छन् । काठमाडौंमा भएका उद्यमशीलता तथा सीप विकास सम्बन्धी दर्जनौं तालिम, गोष्ठी र कार्यशालामामा प्रशिक्षक, कार्यपत्र प्रस्तुतकर्ता र सहभागीको रुपमा सहभागिता जनाउनुका साथै पाल्पा, नवलपरासी, ललितपुर, भत्तपुर लगायतका जिल्लामा फिल्ड तहमा कामको सिलिसिलामा फिल्डमै बसेर काम गरेको अनुभव समेत संगालेका छिन् । सामाजिक भूमिकामा स्थानीय क्लब, आमा समूह लगायतमा सक्रिय सल्लाहकार, पाँगा जेष्ठ नागिरक सेवाका सह सचिव, विद्यालय व्यवस्थापन समिति, पुस्तकालय संचालक समिति, नगरपालिकाको उद्यमशीलता विकास कार्यक्रमको फोकल पर्सन र उपप्रमुखको सचिवालयमा सक्रिय रुपमा कार्यरत छिन् । 

उहाँ आवद्ध संघसंस्थाहरु यस प्रकारका छन् ः 

१. कीर्तिपुर महिला एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड – संस्थापक अध्यक्ष 

२. नेप प्रोडक्ट डिजिटल प्लेटफर्म – संस्थापक अध्यक्ष 

३. आधारभूत विद्यालय व्यवस्थापन समितिको सदस्य ४. पाँगा ज्येष्ठ नागरिक सेवा केन्द्र – सह–सचिव 

५. महिला सशक्तिकरण केन्द्र नेपाल, 

६. Women's Network Group Kirtipur

 ७. Inter-Generation Feminist Forum

मनोसामाजिक परामर्शदाताका रुपमा स्थानीय र पाटनका समेत कैयौं मानसिक रोगका शिकार बिरामीहरूलाई उचित परामर्श दिई पुनर्जीवन दिन समेत सफल उनले आफूलाई पनि मानसिक यातनाको चरम बिन्दुबाट संहालेर अघि बढेको बताउनु हुन्छ । समस्या जसलाई पनि र जहाँ पनि आउन सक्ने भएकोले कुनै पनि समस्याबाट भाग्ने आत्तिने होईन्, अविचलित भई सामना गर्ने प्रयासले मात्र समस्याको समाधान हुने विश्वास राख्न आग्रह गर्छिन् । 

नानी महर्जनको राजनीतिक चेतना “समाजको आवश्यकता परिपूर्ति गर्न नेतृत्व दिनु“ भन्ने ध्येय मान्नुहुन्छ ।  उहाँको लक्ष्य मानव जन्मलाई सार्थक बनाउनु र समाजमा जागरुक नागरिकको रूपमा आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्नु रहेको छ । 

अन्तमा, नानी महर्जनको जीवन यात्रा समाजसेवा, शिक्षा, महिला सशक्तीकरण, उद्यमशीलता र मनोसामाजिक सहयोगमा समर्पित छ ।  उहाँ केवल एक शिक्षिका वा परामर्शदाता मात्र नभई, एक सशक्त सामाजिक नेतृ, उद्यमी र परोपकारी व्यक्तित्व पनि हुनुहुन्छ । आफ्नो जीवन उद्यमशीलता, सकारात्मकता, मनोपरामर्श, समाज र राष्ट्रमै समर्पित गर्दै जीवन यात्रामा हिँडेकी अटल युवा नेतृ मुहारबाट धेरैले प्ररेणा लिन सकिन्छ । आफ्नो जीवन समाजमै समर्पित गर्दै जीवन यात्रामा हिडेकी अटल नेतृको रुपमा अनुशरण गर्न सकिन्छ ।

कीर्तिपुर सन्देश साप्ताहिक ७१० अंकमा प्रकाशित


No comments:

Post a Comment