Monday, September 1, 2025

युवा नेतृत्व आजको आवश्यकता

 युवा नेतृत्व आजको आवश्यकता


संगीता उप्रेती श्रेष्ठ

मुलुकमा यतिबेला युवा नेतृत्वको आवश्यकता र औचित्यतामाथि बहस भइरहेको छ । विश्वका कतिपय देशमा ४० नकटेका युवाहरुले देशको बागडोर सम्हालिरहेको वर्तमान विश्व सन्दर्भमा हाम्रो देशमा पनि युवा नेतृत्वको आवश्यकतामाथि बहस हुनुलाई सुखद मान्नुपर्छ । हुन त, यस्तो बहस पहिले पनि नभएको होइन, धेरैपटक युवाले देशको नेतृत्व गर्नुपर्छ भन्ने बारेमा बहस भएको छ तर पनि त्यही पुरानै अनुहार र ६०–८० कटेका व्यक्तिहरुले नै नेतृत्व गरिरहेका छन । त्यसकारण पनि बेला बेलामा युवा नेतृत्वको आवश्यकतामाथि बहस हुँदै आएको छ । वर्तमान समयमा यो अपरिहार्यता पनि हो । यसलाई अफै दायरा फराकिलो बनाएर व्यापक बनाउन आवश्यक छ ।

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद ऐन २०७२ ले अर्थात युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समुहलाई युवा भनेर निर्धारण गरेको छ । विभिन्न देशहरूले भिन्न–भिन्न उमेर समूहलाई युवा भनेर परिभाषित गरे पनि संयुक्त राष्ट्रिय संघले १५ वर्षदेखि २४ वर्ष उमेर समूहको व्यक्तिलाई युवाको परिभाषितभित्र समेटेर उनीहरूको प्राथमिकताको विषय समेत तोकेको पाइन्छ । यो उमेर समूह नेपालको कुल जनसंख्याको करिब ३०–४० प्रतिशत रहेको तथ्याङ्कले जनाउँछ । ४० वर्षको उमेरलाई युवा अवस्था भनियतापनि २५ देखि ४० वर्षको उमेर नै सशक्त युवा अवस्था हो । त्यसपछिको उमेरमा शारीरिक शक्ति क्षिण हुँदै जाने प्रक्रिया शुरु हुने प्राकृतिक नियम भएकोले ४० देखि ६० वर्षसम्मको उमेरलाई परिपक्वको उमेर मानिन्छ । ४० देखि ६० वर्षसम्मको उमेरमा आपूmसँग भएको ज्ञान, सीप, दक्षता र अनुभव अरूलाई बाँड्दै निर्देशकरुपमा भुमिका निर्वाह गर्ने उमेर हो । युवा र युवा शक्ति हो । कुनै पनि राष्ट्रको मेरुदण्ड भनेकै युवा हो । विश्वको अनेकौं मुलुकहरूको राजनीतिक आर्थिक तथा सामाजिक परिवर्तन युवा शक्तिबाटै भएको कुरा प्रष्टै देख्न सकिन्छ । नेपालको इतिहासममा भएको परिवर्तनहरूमा देशका निमित रगत बगाई बलिदान गर्ने युवा जनशक्तिहरू नै अग्रस्थानमा आउँछन । साथै राजनीतिक परिवर्तनको पनि अग्रमोर्चामा रहँदै आएका युवाहरूलाई राजनीतिक परिवर्तन पछि सधैँ भुमिकाविहिन बनाइयो भन्ने ठूलो जनमत नेपाली समाजमा व्याप्त युवा शक्ति कै पहुँचबाट नै नेकपा (माओवादी) को १० वर्षे जनआन्दोलनले सार्थकता पाएर नेतृत्व गर्दै आएतापनि आजसम्म कुने दलले राजनीतिक नेतृत्वमा युवालाई समेट्न सक्ने युवामैत्री नीति निर्माण गरेका छन जस्तो लाग्दैन । युवालाई भविष्यको नेतृत्वकर्ता भन्दै मुलधारको राजनीतिबाट बन्चित गराउने वर्तमान युवाको अस्तित्व अस्वीकार गर्ने र भविष्यको सपना देखाएर सधैँ खाडी मुलुकमा पढाउने मनोवृति पाएको नेतृत्वमा देखियो भन्ने मत धेरै नआएको पनि होइन । देशको पहिलो पुँजी भनेको त्यस देशको सक्रिय जनशक्ति हो । एउटा देशको विकासको मात्रामा उक्त सक्रिय युवाहरूको ठुलो भुमिका रहन्छ । हाम्रा युवाहरू देशभित्र आफुमा भएको सिप क्षमता र योग्यताका आधारमा जुट्ने हो भने समृद्ध नेपाल निर्माणको लागि विदेशी सहायता पर्खेर बसिरहन पर्दैन तर राजनीतिक पार्टीहरूले युवा नेतृत्व छान्दा देश र जनताको लागि रगत पसिना बगाएका भन्दा पनि व्यक्तिको गुलामी गरी प्रशस्त सम्पत्ति कमाउन सकने र नेतृत्वको चाकडी गर्नेलाई व्यवस्थापित गर्ने परिपाटी रहेको हामी सबैलाई थाहा हुँदै आएको कुरा हो । नेत्ृत्वको सपना देख्ने युवाहरूले आपूmलाई चाहिने गुणहरूको पनि विकाश गर्न जरुरी देखिन्छ । युवा नेतृत्व अवसर र चुनौतीइ दुबै हो । तर त्यस चुनौतीको पर्खाल भत्काउन तयार भएको देखाउँदैनन् केबल अवसरको पछि दौडिरहेको मात्र देखिन्छ । नेपाली विद्यार्थी युवाहरू विश्वका विभिन्न देश गइरहेका छन् । जसले गर्दा नेपालको ठूलो पुँजी विदेश पलायत भएको छ । त्यसैले तत्काल यी विद्यार्थी युवाहरूलाई आफ्नै देशको विश्वविद्यालयमा फर्काउनको लागि हरेक क्षेत्रमा ठुलो सुधार गर्नका साथै पर्याप्त बजेट विनियोजन गर्नुपर्ने देखिन्छ । समृद्ध नेपाल सुखी नेपालीको नारा युवा जति विदेश जाउ देशमा रेमिटेन्स पठाउको अवधारणामा आधारित भएको विदेशिएका युवाहरूले भरपुर मात्रमा महसुस गरिरहेका छन । नेपालको विकाशको आधारशिला भनेको कृषि जलस्रोत र पर्यटनलाई लिइन्छ । आधुनिक कृषि प्रविधि र बैज्ञानिक अनुसन्धानको माध्यमबाट उत्पादनमा वृद्धि ल्याउनको लागि साथै दिगो कृषि प्रथाहरूको अवलम्बन, जैविक खेती र माटोको संरक्षण गर्न महत्वपूर्ण देखिन्छ ।

जलस्रोतको प्रयोगबाट राष्ट्रिय उर्जा आवश्यकताहरू पुरा गरी विद्युत आयातमा निर्भरता घटाउन र कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सिचाई परियोजनाहरूको विकास र प्रभावकारी व्यवस्थापनमा मद्दत पु¥याउँछ । नेपालको प्राकृतिक सौन्दर्य एैतिहासिक धरोहर र विविधता नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यको रुपमा स्वीकारिन्छ । अत्याधिक पर्यटकीय दवाव र अव्यवस्थित विकासले प्राकृतिक र सांस्कृतिक सम्पादनमा नकरात्मक असर पर्न सक्छ । त्यसकारण पर्यटनको क्षेत्रलाई पर्यावरणीय र सांस्कृतिक दृष्टिले दिगो बनाउन जरुरी छ । स्थानीय रोजगारी सृजना गर्न र सामुदायिक आधारमा पर्यटनको विकास गर्नुका साथै स्वास्थ्य र इको टुरिजम जस्ता नयाँ प्रकारको पर्यटनका अवसरहरूको विकासमा युवाहरूले अघि बढ्नुपर्ने जरुरी देखिन्छ । आजको युवा भनेको तीब्र परिवार्तन र चुनौतीहरूको युगको प्रविधि सामाजिक संरचना र विश्वव्यापी समस्याहरूमा भइरहेको गतिशीलता युवा नेतृत्वको लागि एक अवसर चुनैती दुबै प्रस्तुत गर्दछ । युवा नेतृत्वको केन्द्रबिन्दु प्राय स्थानीय स्तरमा हुने गर्दछ । तर, यसको प्रभाव र दृष्टिकोण विश्वव्यापी हुनु पर्दछ । परम्परागत सोच र पुराना ढाँचाहरूको अप्ठ्यारोबाट बाहिर निस्केर युवा नेतृत्व नवविचार र दिगो समाधान खोज्न युवाहरू सक्षम छन । सामाजिक न्याय र समताको पक्षमा दृढरुपमा सक्रिय भएर आवाज उठाइरहँदा यसले समावेशी र समान समाज निर्माणमा ठुलो योगदान पु¥याउँछ भन्दा दुइमत पक्कै नहोला । लोकतान्त्रिक मुल्य र मानव अधिकारको संरक्षण गर्न, भ्रष्टाचार र अनियमितताका विरुद्ध आवाज उठाएर राज्यको संरचना र प्रक्रिया सुधार्न हाम्रो जिम्मेवारी र अधिकार पनि हो । जलवायु परिवर्तन शिक्षा र स्वास्थ्य जस्तो समस्याहरूको समाधानमा युवा नेतृत्वको सहभागिता भने एकदमै न्यून भएको पाइन्छ । आजको आवश्यकता भनेको प्रभावकारी सृजनात्मक र समावेशी नेतृत्व हो । जसले केवल पारिवारिक नीतिहरूलाई मात्रै पालना नगरी नयाँ दृष्टिकोण र कार्यविधिहरू लगि गर्न सक्छ । युवा नेतृत्वको भुमिका विशेषगरी त्यस अवस्थामा आवश्यक छ । जहाँ दिगो विकास र सामाजिक न्याय प्रविधिको उपभोग र विभिन्न समस्याको सुधारको लागि आवश्यकता छ । देश बनाउन उमेर होइन ग्रेड इच्छाशक्ति भएको नविन दृष्टिकोण बोक्ने विचारमा युवापन र युवा मन भएको व्यक्ति नै चाहिन्छ । जुन नेपाल राष्ट्रिय र नेपाली मनले खोजिरहेको छ । यो राष्ट्रले अहिले खोजेको नेतृत्व युवा नै हो युवा नै देशको मेरुदण्ड हो युवा नै देशको सम्पत्ति हो । युवा नै देशको भविष्य हो । राष्ट्र निर्माता हो ।


No comments:

Post a Comment