Friday, July 7, 2017

गोर्खाल्याण्ड आन्दोलनलाई कसरी लिने ?

समाचार विश्लेषण
श्रीकृष्ण महर्जन

            भारतको पश्चिम बंगालसँग जोडिएको नेपाली बहुल क्षेत्र (विशेष गरि राई, तामाङ, लिम्बु, भोटे, लेप्चा, नेवाः) दार्जिलिङलाई छुट्टै राज्य– ‘गोर्खाल्याण्ड’ बनाउनु पर्ने माग राखी पुनः शुरु भएको आन्दोलनमा सरकारी दमनका कारण त्यहाँको अवस्था विग्रँदो छ । जसका कारण त्यहाँको अर्थव्यवस्थामा ठूलो असर परेको छ । आन्दोलनलाई नियन्त्रणमा गर्ने नाममा अर्धसैनिक बलका लगभग डेढ हजारलाई दार्जिलिङमा परिचालित गरिएको छ ।



      प्रहरीको छापालाई आन्दोलनमा रहेको शक्तिले राज्यको दमन गर्ने नीति भन्दै विरोध गरेको छ भने, प्रहरीले गुरुङको घरबाट हतियार सहित गोला, बारुद भेटिएको जनाएको छ । केन्द्र सरकारले पनि यस मामिलामा विस्तृत रिपोर्ट पेश गर्न आदेश दिएको  छ ।

          आन्दोलनले एउटा आकार लिन लागेपछि राज्यमा सक्रिय विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो स्वार्थमा विभिन्न अभिव्यक्ति दिई रहेका छन् । जसले गर्दा आन्दोलनले के रुप लिने हो अहिलेनै भन्न सकिने अवस्था छैन ।  यो आन्दोलनलाई लिएर नेपालका अधिकांश राष्ट्रिय पत्र पत्रिकादेखि टेलिभिजन साथै अनलाइनहरुले अत्यन्तै प्राथमिकता दिई समाचार सम्प्रेशन गरेका छन् । दिन दिनै गोर्खाल्याण्ड आन्दोलनको बारेमा चर्चा छ । पछिल्लो समयमा आएर त नेपालका राजनीतिक दलका नेताहरुले समेत बोल्न थालेका छन् ।

       नेपालको पहिचानको आन्दोलनलाई जातीय आन्दोलन भनी ब्याख्या गर्ने र नेपालका विभिन्न मातृभाषीहरुले अधिकार पाउनुप¥यो भनी आन्दोलन गर्दा जातीवादी आन्दोलन भनी आलोचना गर्नेहरु र ती समाचारहरुलाई अघोषित रुपमा बहिस्कार गर्ने संचारमाध्यमहरुले नै अहिले गोर्खाल्याण्डको आन्दोलनलाई प्राथमिकता दिएको देख्दा अचम्म लाग्नु स्वाभाविक नै हो ।

           दार्जिलिङमा सामुहिक रुपमा विभिन्न जाती (राई, तामाङ, लिम्बु, भोटे, लेप्चा, नेवाः) को अहिले आएर नेपाली भाषा नै पहिचान बनिसकेको अवस्था छ । नेपाली भाषा अर्थात खस भाषा नै सबैको साझा पहिचान बनेको छ । त्यसैले बास्तवमा गोर्खाल्याण्ड आन्दोलन भाषिक पहिचानको आन्दोलन हो । यो आन्दोलनलाई नेपाल र भारत बीचको लडाइ हो झैं गरेर प्रचारप्रसार गर्न बन्द गर्नुपर्छ ।

          धेरैजसो मानिसलाई नेपाली भाषाको पहिचानमात्रै प्यारो रहेछ, अन्य नेपालीभाषाको पहिचानको माग उठ्नासाथ शास्त्र र शस्त्रको प्रहार जायज थान्ने रहेछ पहिचान विरोधीहरु । यो भनेको आफ्नो पहिचानको लागि जे पनि गर्ने तर अरुको पहिचानलाई अस्वीकार गर्ने प्रबृत्ति रहेको भन्न सकिन्छ ।

      बङगाल सरकारले पनि आखिर आफ्नै पहिचानप्रति मात्रै माया गरेको न हो बंगाली भाषालाई अन्य भाषीमाथि पनि थोपर्दै दमन गरेकै हो । चाहे जुनसुकै देशका किन नहोउ, आफ्नो भाषा लाद्नेहरु र स्वभाषाको प्रभुत्वका लागि हिंसा थोपर्नेहरु लोकतान्त्रिक हुनै सकिदैन भन्ने उदाहरण बनेको छ गोर्खाल्याण्डमा आन्दोलनमाथि भएको दमन । अहिले भाषिक पहिचानको सवालमा गोर्खाल्याण्डको आन्दोलनलाई समर्थन गर्नेहरु अव नेपालमा हुने भाषिक अधिकार, जातीय अधिकारका सवालमा हुने आन्दोलनमा ऐक्यबद्धता जनाउने र भोलिका दिनमा भाषिका समानता, जातीय समानतालाई साथ दिने आशा गर्न सकिन्छ ।
कीर्तिपुर सन्देश साप्ताहिक अंक ३०१ मा प्रकाशित

No comments:

Post a Comment