लघुकथा ः– स्कुलको खाजा
दिलकुमारी डङ्गोल
दियाको दुईजना छोरी मात्र ।
२ बर्ष फरकका । ६ र ८ बर्षको ।
स्कुलको ड्रेस लगाइसकेका छन्, दुबैले समयमै । जेठी छोरी काँइयो बोकेर नजिक आउँदै, “मामु कपाल कोरीदिनु न ।” कपाल कोरिदिदै दियाले सोध्यो छोरीलाई, “आजको खाजा समोसा लग्ने है, छोरी । दुबैलाई यौटै खाजा ल्याइदिएको छु ।”
यो सुन्ने बित्तिकै कपाल कोर्न छोडेर रिसाउँदै, “खान्न म त्यस्तो समोसा । सधैं यस्तै मात्र खाजा । कहिले पकौडा निम्की । कहिले दुनोट र चप । मिठै लाग्दैन । खान्न, खान्न म ।”
“साथीहरुले कस्तो मीठो खाजा ल्याउँछ । अण्डामाम भुटेर । कहिले पास्ता, परौठा । उनका मामुहरुले बनाएर पठाइदिनुहुन्छ ।”
“तपाईं भने सधै यस्तै खाजा मात्र दिनुहुन्छ ।”
“हामीलाई पनि यस्तै खाजा पकाइदिनु न ।”
दियाले सम्झाउँदै, “खाजा त भोक हटाउनको लागि खाने हो । मिठोको लागि होइन नि, छोरी ।”
“मीठो मानेर खानुपर्छ । मीठो हुँदै जान्छ ।”
“स्कुलबाट फर्केपछि तात्तातो चाउचाउ बनाइदिउलाँ । आज पकाउन भ्याइएन छोरी । अर्कोदिन बनाइदिन्छु ल ।”
छोरीले आँखाभरी आँसु राखेर ठुल ठूलो स्वरले कराउन लागिन, बिहानैदेखि टिकटक बनाउने र लाइभ बस्दैमा फुर्सद छैन, तँपाइलाई ।हृ
“अहिले भ्याइएन रे । लाइभ बसेपछि सब बिर्सने । तँपाईं प्रायःयस्तै भनेर तारिरहनु हुन्छ, हामीलाई ।”
दिया छोरीको कपाल बात्दै नम्र स्वरमा, “भोलि पक्का बनाइदिन्छु । आजलाई समोसा लग है ।”
त्यसपछि केही नबोलि छोरी खाजा नलिइकन चुपचाप झोला बोकेर कोठाबाट निस्क्यो ।
No comments:
Post a Comment