लघुकथा “किट्नाशक वाटर”
ज्ञानी राजा मानन्धर
लकडाउनको समय ! घरको लागि किनमेल गर्नुपर्ने सामानहरूको सुची तयार पारी मेरो हातमा थमाइन् श्रीमतीले र गएं एक्लै बजार ! बाटोमा एक दर्जन केरा किनेर आफुसँगै लगेको झोला भित्र कोचें ! मासु पसल भित्र पसें र आधा किलो लिएं !
एउटा किराना पसलमा पुगें !
“सन्फ्लावर तेल २ पाकेट ! २०० ग्रामको घ्यु १ बट्टा !” भनेर अर्डर दिएं ! चुरोटको तलतल लागेर आएकोले खल्तीबाट पाकेट झिकेर एक खिल्ली मुखमा च्यापेर पसलेलाई अनुरोध गरें “चुरोट सल्काउनु प¥यो, एकचोटि बाल्ने दिनुस् त !” भनेपछि पसले यता उता खोज्नमा लागे ! भेट्टाइसकेपछि मलाई दिन लागेको होला भनी हात थापेको, तर त्यसो गरेन उनले र आफै सलाई बालेर मेरो सामुन्ने ल्याएर भने “हामीले कसैलाई टच गर्न दिएका छैनौं ! त्यसैले मैलेनै बालेको हुँ ! लौ सल्काउनुस् !”
मैले पसलेको आशयलाई राम्ररी बुझें र चुरोट सल्काएं !
पसलेले मैले मागेको तेल र घ्यु १ बट्टा दिए ! मैले पैसो दिएं ! उस्ले हिसाब गरी फिर्ता पैसो दिइसकेपछि “पानी होला ?“
“खानलाई भए छैन ! मिनरल वाटर मात्रै छ, ३० रुपियां !”
मैले तीस रुपैयाँंको परवाह नै नगरि पैसो तिरेर लिएँं र उस्को पसल अगाडिनै तेलको पाकेट, घ्युको बट्टा र सामान किन्दा मलाई फिर्ता दिएको नोटलाई समेत मिनरल वाटरले नुहाइ दिएं !
पसलेले सोधे “के गर्नु भाको त्यो ?”
मैले भनें “सयौंजनाले टच गरिसक्या सामानमा कोरोना भाईरस नहोला भन्न सकिन्न ! त्यसैले किरालाई बाहिरै मारेर लग्न पाए बेस भनेर धोएको !” मेरो जवाफले पसलेको मुख हेर्न लायकको बन्यो !
No comments:
Post a Comment