Wednesday, December 18, 2019

गन्धर्व भिलेज कीर्तिपुरको अवधारणा




गन्धर्व भिलेज कीर्तिपुरको अवधारणा 
गन्धर्व संगीत ः
संगीत ज्ञानको एक श्रोत हो । माँ सरस्वतीले पनि आफ्नो हातमा विणा बोक्नुहुन्छ, जसको अर्थ ज्ञानकी देविसंगै संगीतको बास छ । हर कणकणमा संगीत छ, कोइलीको भाकामा, झरनाको छाँगामा, पानीको थोपामा संगीतले आत्मालाई उर्जा दिनुको साथै मस्तिस्कलाई पनि उजागर पार्छ ।


पौराणीक मान्यता अनुसार स्वर्गमा पनि संगितलाई अग्र स्थान दिएको पाइन्छ र स्वर्गका संगितज्ञहरूलाई गन्धर्वको नामले चिनिन्छ, हिन्दु धर्मका प्रायः सबै ग्रन्थहरू, वेद, पुराण, रामायण, महाभारत आदिमा गन्धर्वको व्यवस्था तथा वर्णन गरेको पाइन्छ ।

नेपाल इतिहासको पन्नालाई पल्ट्याएर हेर्दा गन्धर्वहरूको ठुलो योगदान हेर्न पाइन्छ । जसले हालसम्म पनि संगीतलाई आफ्नो व्यवसायको रूपमा अँगाल्दै आएका छन् । सारङ्गी र अरवाजोको धुनमा मौलिक लोक भाकालाई जिवन्त पार्दै कला र संस्कृतिको जगेर्ना गर्दै आएका गन्धर्वहरू आज नेपाली संस्कृतिको पहिचान बनेका छन् ।
गन्धर्व भिलेज कीर्तिपुर

        विगद पाँच पुस्तादेखि कीर्तिपुरको बाहिरीगाउँमा एक गन्धर्व परिवार निरन्तर रूपमा सारङ्गी तथा गन्धर्व संगीतलाई साधनको रूपमा अंगाल्दै आएको छ । स्व.कान्छा मगर गन्धर्व, जसले देशमा भएको विभिन्न गतिविधिलाई संगितको स्वरूपमा र आफ्नै भाकामा सुनाउने गर्नुहुन्थ्यो । वि.स. २००१ साल भन्दा पहिले गन्धर्वहरूलाई सूचना संवाहकको रूपमा प्रयोग गरिन्थ्यो र कान्छामगर गन्धर्वले त्यसबेलाको वस्तुस्थिति वर्णन गरेका धेरै गितहरू छन् जसमध्ये १५० वटा गितहरू अहिले पनि जर्मनको लुर्भ म्युजियममा अवस्थित छन् । कान्छा मगरलाई अनुशरण गर्दै वहाँका जेठाछोरा स्व.राम शरणले पनि संगीतमै आफुलाई अर्पण गरे । झन्डै २०० भन्दा बढी लोक गीतहरू र ५०० भन्दा बढी गितहरूमा सारङ्गी बजाएर नेपाली लोकसंगीत र बाद्यावादनमा आफ्नो नाम बैग्लै पहिचान बनाउन सफल हुनुभयो ।

कीर्तिपुर भिलेजले हरिशरण नेपाली, श्याम नेपाली, शान्ती नेपाली, विश्व नेपाली, किरण नेपाली, प्रिन्स नेपाली जस्ता कलाकारहरू पनि नेपाली सांगितीक क्षेत्रका उदयमान हस्तीको रूपमा चिनाएको छ ।
नेपाली मौलिक बाजा र संगीतहरू विस्तारै लोपन्मुख अवस्थामा पुग्न लागेका छन्, यो तितो यथार्थलाई समयमै मनन गर्न जरुरी छ । सोही कुरालाई मनन गरि यस कीर्तिपुरस्थित गन्धर्व परिवारले आफ्नो मौलिक सभ्यताको जगेर्ना गर्दै सारङ्गीबाट विश्वसम्म नेपाललाई प्रतिनिधित्व गराउने संकल्प लिंदैं सारङ्गी भिलेज कीर्तिपुरको स्थापना भएको हो ।

उदेश्य ः
१. गन्धर्व संगीतको जर्गेन गर्ने र यसको विकास गर्ने ।
२. कीर्तिपुरलाई सारङ्गी पर्यटनस्थलको रूपमा विकास गर्ने ।
३. सारङ्गी म्युजियमको विस्तार गर्ने ।
४. लोक बाजाहरूको प्रशिक्षण दिने ।
५. गन्धर्व संगीत सम्बन्धी अध्यन तथा अनुसन्धान गर्ने ।

सारङ्गींको नेपाली भाका
सारङ्गी र गन्धर्व एक अर्काको पुरक हुन् भन्दा फरक नपर्ला । नेपाली सांगितीक क्षेत्रमा गन्धर्वहरूले पु¥याएको योगदानको बारेमा नसुन्ने सायदै कोही होलान् । लोक भाकाहरूलाई सारङ्गीको छोटो धुनले पनि मिठो बनाउँछ । एकिकरणदेखि गणतन्त्रको यात्रामा गन्धर्वहरूको पनि ठुलो योगदान रहेको छ ।
सारङ्गीले आज विश्व सामु नेपाली बाजाको रूपमा आफ्नो परिचय दिन सफल भएको छ । यसको संरक्षण र उत्थान गर्ने हामी सबैको दायित्व कुरालाई मनन गरि ट्रि मिडिया प्रा.लि.को आयोजनामा सारङ्गी भिलेज कीर्तिपुरको सहयोगार्थ २०७६ पौष ५ शनिबार ४ बजे राष्ट्रिय सभागृहमा सारङ्गीको नेपाली भाका नामक कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा स्व.राम शरण नेपालीको स्मृतिमा विभिन्न कलाकारहरूको प्रस्तुति रहने छ । साथै यस कार्यक्रमा सारङ्गीको विशेष प्रस्तुति रहने छ ।


No comments:

Post a Comment