Friday, March 7, 2025

११५ औं अन्तराष्ट्रिय नारी दिवस

 ११५ औं अन्तराष्ट्रिय नारी दिवस



—संगीता उप्रेती श्रेष्ठ

मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर हर्षोल्लासका साथ मनाईंदैछ । अझै भनौं भने मार्चको पहिलो हप्तादेखि नै अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छन सबैतिर । अन्तर्राष्ट्रिय महिला दिवस भनेर मार्च ८ को एक दिन महिलाको लागि समर्पण गरिनु चेतना जगाउने हिसाबले निकै राम्रो काम हो । नारी जसले मानवको सृष्टिदेखि आफ्नो जीवनभर हरेकरुपमा माया, प्रेम, सद्भाव बाँड्दै आइरहेकी छिन । आफ्नो दुःखलाई थाती राखेर खाली अरुको सुख अनि खुसीका लागि उ समर्पित हुँदै आइरहेकी छिन । त्यस्ती दया र साहसकी खानीको सम्मानार्थ अर्पित दिवसलाई सार्थक बनाउन सबै क्षेत्रबाट प्रयास गर्नु अत्यावश्यक छ । यसो भएमात्र यो दिवस मनाउनुको अर्थ रहन्छ । हाम्रो समाजमा पनि छोरीप्रति गर्व गर्छन, सनातनदेखि नै । त्यसैले त छोरी जन्मँदा लक्ष्मीको आगमन भयो भन्छौं हामी बुहारी आउँदा गृहलक्ष्मी भित्राइयो भनेर खुसी बाँडचुँड गर्छौं एकापसमा । अनि कुनै चाड पर्व हुन या घरमा आयोजित पुजाआजामा छोरीको खुट्टा ढोगेर टीका, दक्षिणा दिन्छौं । अर्थात छोरीलाई देवीकै अंश मान्छौं ।

यस्तो सुन्दर समाज, यस्तो छोरीमैत्री समाज, जहाँ हामी छौं, त्यसैले पनि यिनै छोरीहरुको कदरलाई सम्मान गर्ने, उनीहरुका अधिकार प्राप्तिका लागि पे्ररित गर्ने अनि उनीहरु ीवरुद्ध भइरहेका वा हुन सक्ने सम्भावित दुव्र्यवहार विरुद्ध खबरदारी गर्ने यो दिवसको महत्व निकै गहु्रंगो छ । सिक्काको अर्को पाटो पनि छ । जसबारेमा आजको दिनमा चर्चा गर्नु सान्दर्भिक हुनेछ । नारीलाई हाम्रो समाजले यसरी पुजिरहँदा पनि किन उनीहरु ऋाज समानताको मात्रामा धेरै पछि छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ । 

किन नारी आर्थिकरुमा परनिर्भर बनाइएका छन भन्ने सवाल उतिकै टड्कारो छ । आफ्नो सुरक्षा किन आफै गर्न सकिरहेकी छैनन । किन नारीमाथि गिद्धेदृष्टि लगानेहरु बढिरहेका छन । किन समान कामका लागि पनि असमान ज्याला थाप्न बाध्य छिन ? योग्यता अनुसारको काम र मान पाउनबाट किन उनलाई वञ्चित गरिन्छ ? प्रश्न धेरै छन । जसको उतर खोज्ने दिन हो मार्च ८ तारिख । यतिमात्र हैन चेतना बृद्धि गर्नको लागि र नारीलाई सशक्त तुल्याउनकै लागि थुप्रै अनुतरित प्रश्न उजागर गर्ने दिन पनि हो आज । जस्तो–किन आफ्नो घरमा पनि अपहेलित छिन् नारी ? किन आफन्तबाटै पल–पलमा दुव्र्यवहारमा पर्छन् उनीहरु ? निर्मला, समीक्षा जस्ता काण्ड किन निर्धक्क बढिरहेको समाजमा ? कसले मलजल गरिरहेछ यस्तो कुकार्यलाई ? किन बाहिर आउने वातावरण छैन महिला हिंसाका घटना ? किन प्रहरीदेखि प्रशासन हुँदै सरकारसम्म महिला मैत्री कानुन र व्यवहार अपनाउन उदासीन छन ? किन हरेक क्षेत्रमा महिलालाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिन्छ । हो यस्तै सवाल उठाउने अनि तिनको उत्रर खोज्ने र सही उपचार पहिल्याउने काम गनू पर्छ दिवसहरुले । अनिमात्र दिवस मनाउनुको अर्थ हुन्छ । प्लेकार्ड बोकेर एकाध घण्टा सडकमा चिच्याउने अनि दुई वटा समोसा र एक गिलास चिया पिउने दिनमात्र हैन नारी दिवस । यसरी मात्र बुझियो भने हामी कहिल्यै उठ्न सक्ने छैनौं –विभेदको दलदलबाट असमानताको आहालबाट, हेलतोको पोखरीबाट अनि दुव्र्यवहारको सागरबाट । बिहान भालेको डाँकसँगै उठ्ने नारी बेलुका सबै घुर्न थाल्दासम्म भाँडा मोलिरहेकी हुन्छिन । सबै परिवारलाई खुवाइवरी बाँकी रहे खान्छिन् नत्र भाँडा चाटचुट गरेर ओछ्यउानमा पुग्छिन । न कुनै गुनासो छ न त कुनै दिन विश्राम नै । तर पनि किन सँधै पीडित छन नारी । खुसी हुँदा लक्ष्मी, भगवती, सरस्वती र कालीको उपमा दिइने, खुट्टामा ढोगिने यिनै नारीको ३६५ दिनै भोग्नुपर्ने पीडाबारे किन बेखबर छ हाम्रो समाज । के नारीलाई विश्राम चाहिन्न ? के नारीलाई मनोरञ्जन चाहिन्न ? के खुसी नारीका लागि बनेको शब्द छैन । के सम्पन्नता नारीको जन्मजात शत्रु हो । के पहिले दर्जा कुनै हालतमा नस्वीकार्ने कसम खाएका छन नारीले ? अहं, कुनै हातलमा हैन । त्यसैले आजको दिनमा यस्ता प्रश्न–सवाल÷मुद्दाका विषय उठान गर्नैपर्छ । यिनलाई बहसको विषय बनाउनै पर्छ । किन पनि भने यसैका लागि हो दिवस मनाउनुपरेको ।

नारी दिवस मनाउन सुरु गरिएको वर्ष अर्थात् सन १९१० यता नारीले प्रगति नगरेका हैनन् । विकसित देशको समेत राष्ट्र प्रमुख सम्हालिसकेका छन । सेना र प्रहरीमा सहभागिता बढाएका छन । पाइलट बनेका छन । बनावटी खुट्टाको सहारामा विश्वकै सर्वोच्च शिखर सगरमाथासमेत चुमिसकेका छन । नेपालकै सन्दर्भमा कुरा गर्दा पनि बराबरी नभए पनि निजामती सेवामा महिला २७ प्रतिशत पुगेका छन् । यतिबेला हरेक क्षेत्रमा महिलाको सङ्ख्या थोरै किन नहोस्, जुनसुकै क्षेत्रमा पनि संङ्ख्यामात्र हैन स्तर पनि बढ्दो छ महिलाको । अर्थात अवसर पाउने हो भने सक्षम छौ भनेर प्रमाणित गरिसकेका छन नेपाली महिलाहरुले । तर पनि विडम्बनाचाहिँ यो छ कि यो सबै महिलामा लागु छैन । अझै पनि धेरै महिलाका लागि यी प्रगति निकै टाढाको विषय छन, करिब करिब असम्भव जस्तै हो, तिनैका लागि पनि सम्पुर्ण महिलाको जागरुकता जरुरी छ आज । जो अझै पनि विभेदको साङ्गोलोले बाँधिएका छन । जो अहिले पनि बोक्सीको आरोपमा मलमुत्र खान र मारिनसमेत विवश छन । जो अझै पनि घरमै, आफन्त भनिएकाबाटै पिटिन, प्रताडित हुन बाध्य छन । कार्यस्थलमा हुने यौन दुव्र्यवहार अझै जारी छ । घरेलु हिंसा उतिकै छन । लैङ्गिक हिंसाको जरो झन झन भित्रभित्रै गडिरहेको छ । कानूनहरु एक पक्ष छन । अर्कोतिर प्रभावकारी कार्यान्वयन अभावमा भुते सावित भइरहेको छ । जस्तो–विवाहोतर कसैसँग सम्बन्ध राखेवापत श्रीमतीसँग श्रीमानले सम्बन्ध विच्छेद गर्न पाउँछ त्यो पनि अंश नदिई तर श्रीमानले यसै गरेमा के गर्ने भन्नेको चाहिं कानुन मौन छ । कतिपय कानुन बन्नै बाँकी छन । जसले गर्दा पीडकलाई अपराधिक कार्य गर्न हौस्याइरहेको छ । यस्तो अवस्थालाई महिलाको पक्षमा पुर्णरुपमा परिवर्तन गर्न जरुरी छ । जसका लागि नारी दिवस एउटा उचित मञ्च हुन सक्छ । अहिलेका शिक्षित नारीले बुझ्नुपर्ने कुरा पनि यही हो । राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सन्धि सम्मेलनहरुले गरेका महिला अधिकार संरक्षणका व्यवस्थाबारे पुरुषलाई शिक्षा दिन्, विद्यार्थीका पाठ्य क्रममा समावेश गराउने अभाव भएका कानुन बनाउने, भएका कानुनलाई समय सान्दर्भिकरुपमा परिमार्जन गर्ने र तिनको प्रभावकारी कार्यान्वयनले नारीलाई पहिलो दर्जाको नागरिकको रुपमा ससम्मान बाँच्न पाउने अवस्था सिर्जना गर्न सक्छ । जस्तो मनोरञ्जन क्षेत्रका महिलाका समस्या सरोगेरी जस्ता महिलासँग सम्बन्धित विषयमा कानुन छैन । कार्यस्थलमा हुने यौन दुव्र्यवहारबारेको कानुनले अनौपचारिक क्षेत्रका श्रमिकलाई नजर अन्दाज गरेको छ । त्यति मात्र हैन, मुलुकमा व्यापकरुपमा मौलाएको दण्डहीनताको अवस्थालाई जरैदेखि उखेल्न सक्दा नारीको अधिकार उपयोगमा देखिएका तगारा पन्छिन सक्छन । यसका लागि नारी अधिकारका पक्षपाती नारीमात्र हैन, सम्पूर्ण जनता जागरुक हुनैपर्छ । त्यसैले यस्तो प्रतिबद्धता व्यक्त गर्ने दिन पनि हो नारी दिवस । अर्थात आजको दिवसबाट लिने एउटा शिक्षा यो पनि हो नारी दिवस । नारी तिमी सम्मान हौ तिमी आकाश अनि धर्ती हो । जहाँ तिम्रो सम्मान हुन्छ त्यहाँ देव देवता पनि रमाउँछन । धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वति र शक्तिकी देवी दुर्गा भनेर नारीलाई पुजा गर्ने हाम्रो नेपाली समाज । त्यसैले हरेक क्षेत्रमा नारीलाई प्रतिशतको रुपमा मात्र नलिइ सम्मान रुपमा अगाडि बढौं । हातमा हात काँधमा काँभ मिलाई यही कामनाको साथ ११५ औं नारी दिवसको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।


No comments:

Post a Comment