Sunday, May 19, 2013

स्कूलको तलास अथवा खोजी

स्कूलको तलास अथवा खोजी

सुवर्ण महर्जन, नगाउँ, की.न.पा. १६

हामी अभिभावकले विद्यालय छान्दा केही कुरामा ध्यान दिनु आवश्यक छ । विद्यालयको भौतिक पुर्वाधार, शौचालय, खानेपानीको अवस्था तथा खेल्ने चौर आदिको व्यवस्था यसका साथै विद्यालयमा भयरहित, सजायरहित वातावरणमा पठनपाठन हुने गरेको छ कि छैन, विचार गर्नुपर्छ । डर त्रासमा बालबालिकाले राम्रोसँग सिक्न तथा आफ्नो क्षमता बढाउन सक्दैन ।

 अभिभावकहरू सोच्न थालेका छन् । आजभोलि कहाँ, कुन स्कूल राम्रो छ । हरेक अभिभावकलाई आफ्नो प्यारो सन्तानको शिक्षा प्रति चिन्ता र चासो हुनु स्वाभाविकै हो । सबै अभिभावक आफ्ना सन्तान सक्षम, सबल, दक्ष चाहन्छन् । राम्रो विषयमा उच्च शिक्षा हासिल गरोस् भन्ने चाहना हुनु स्वाभाविक हो । त्यसैले अहिलेका हाम्रा धेरै अभिभावक बालबालिकाको शिक्षामा पैसाको खर्च गर्न अलिकति पनि पछि पर्दैनन् । धेरै पैसा खर्च गरेर महंगो विद्यालयमा पढाउँदा बच्चाले राम्रो शिक्षा पाउँछ भने त्यसो गर्दा पछि पर्नु हुन्न भन्ने समाजमा मानसिकताको विकास भई रहेको पाइन्छ ।

खास गरी कुन स्कूल राम्रो छ त या महंगो विदेशी नाम भएको ठूल ठूला भवन या कस्तो किसिमको पाठ्यक्रमको प्रयोग गर्ने, कुन सिद्धान्त र दर्शनलाई अंगाल्ने कस्तो पद्धति कसरी मुल्याङ्कन निजी विद्यालय वा सार्वजनिक भन्ने सवाल हाम्रो अघिल्तिर उभिएको छ । यसमा विचार विमर्श हुनु अपरिहार्य छ । सामान्यतया जनमानसमा महङ्गो विद्यालय राम्रो हुन्छ भन्ने धारणा छ । तर सँधै सबै महङ्गो विद्यालय राम्रो हुन्छ भन्ने कुरामा कम्तिमा हाम्रो परिवेशमा चाहिं विश्वस्त हुन सक्ने ठाउँ छैन । स्कूलको अवस्था, उपलब्ध भौतिक सुबिधा, पर्याप्त शैक्षिक सामाग्रीको सरसफाई र पोषणयुक्त खानाको व्यवस्था गरेमा यसले राम्रो स्कूल बनाउन र कहलाउन केही मद्दत गर्छ । तर यो मात्र चाहिं पर्याप्त भने होइन ।

अभिभावकहरूलाई आकर्षण गर्न कतिपय निजी विद्यालयले विदेशी नाम राखेको पाइन्छ । यस्तो लाग्छ, अभिभावकहरू पनि यस्ता विदेशी नाम भएको विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्ने बित्तिकै विदेश नै पठाएको सम्झिनु हुन्छ । तर विदेशी नाम हुँदैमा विदेशी स्तरको पहुँच हुन्छ भन्ने मात्र सोच्नु, उच्च शिक्षा, राम्रो पढाई, नतिजा राम्रो भए पनि कहीं कहीं स्कूलमा विभिन्न घटना, यातना, मृत्यु भई सकेको र देशै भरी सञ्चार माध्यमद्वारा प्रचार भई सर्वसाधारणसम्म जानकारी भएकै कुरा हो तसर्थ हामी अभिभावकहरूले निजी वा सार्वजनिक विद्यालय रोज्दा गंभिर सोच विचार गरेर मात्र आ–आफ्ना नानीहरूलाई स्कूलमा भर्ना गर्नु बेश हुन्छ ।

मन्टेश्वरी विधि नभए पनि सार्वजनिक विद्यालयहरूले अवलम्वन गरेका बालमैत्री विधिबाट पठन पाठन गरी बाल बालिकाको सिकाई प्रक्रियामा सकारात्मक भूमिका खेल्ने गरेको पाइएको छ । विद्यालय शिक्षणलाई हामी पढाई लेखाई, गणित, विज्ञानको पाठहरूसँग मात्र सम्बन्धित विषयहरू मात्र सोच विचार गर्छौं । घरमा थप गृहकार्य दिएमा उक्त विद्यालय प्रति हाम्रो धारणा सही सकारात्मक राम्रो बन्ने गरेको छ । स्कूललाई यसरी मात्र बुझ्यौं भने चाहीं त्यो एकोहोरो दृष्टिकोण हुनेछ । त्यसो भए के हुन्छ विद्यालयमा पढाई लेखाई, विज्ञान तथा गणितीय ज्ञानका साथै भविष्यमा क्षमतावान र सफल व्यक्ति बन्ने आवश्यक सबै खाले जीवनपयोगी सीपहरूको विकास गरि दिनुपर्छ । यसमा सबैभन्दा बढी चाहिने कुरा हो । म गर्न सक्छु भन्ने भावनाको विकास वा आत्मविश्वास क्षमता भएको भए विद्यार्थीको मुल्याङ्कन हुन थालिएको छ ।

No comments:

Post a Comment