Monday, November 13, 2023

म्ह पुजाको महत्व के ?

म्ह पुजाको महत्व के ?

           म्ह पुजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ । म्ह पुजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्ह पुजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पुजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस म्ह पुजालाई आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेको छ ।

पुजाको अर्थ र महत्व

यस दिन परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको  शरीर हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको पाइन्छ । किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।

पुजा विधि

यस पुजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुईंमा ढुंगाको धुलो प्रयोग  गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल वनाइन्छ । यस वाहेक सबै भन्दा माथि एक र सवैभन्दा मुनि एक गरी दुई वटा थप मण्डल देवताका लागि वनाइन्छ । यस वाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचोको लागि पनि मण्डल वनाइन्छ । मण्डललाई रँगहरू प्रयोग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) आदि सामग्रीहरूले सजाइन्छ ।परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी वस्दछ । परिवारको सवैभन्दा जेठी आमाले शुरूमा सूर्य रूपी सुकुण्डालाई पुजा गरी सवै मण्डलहरू पुजा गर्दछ । तत् पश्चात् सबैलाई ’धौ सगँ’ दहिको सगुन दिइन्छ । त्यस पछि सवैले लामो कपडाको वत्ती (खेलु इताः) मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पुजा गरी जेठी आमाले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती सवैको हातहातमा दिइन्छ र सवै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।

यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिई भातको जाँड तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचौरा भुईमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने आमालाई यथाश्रद्धा दक्षिणा दिइन्छ । म्ह पुजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ । माथि गरिएको वर्णन अनुसारको पुजा अधिकांश समुदायहरूले गर्ने विधि हुन् ।

म्हः पूजाको दार्शनिक पक्ष

नेवार समुदायमा अघिल्लो वर्षको चार दिन अघि र पछिल्लो वर्षको चार दिनसम्म बिस्केट जात्रा मनाउने गरिन्छ । म्हः पूजा पनि कात्तिक आमावश्याको चार दिनअघि र चार दिन पछिसम्म मनाउने पर्व हो । यो शरीरसंगै आत्मशुद्धिको पूजा हो । यसलाई जनाउन संस्कृतमा ‘अप दीप भवः’ (आत्म दीप जस्तै होस्) भनिन्छ । यसको अर्थ ‘आफैं ज्योति रुप हुन सक’ भन्ने हुन्छ । भक्तिवादलाई बिर्सिएर कर्मवादमा विश्वास जगाउने पर्व हो म्हः पूजा । आफूले दुःख गरेर बनेको कामको श्रेय भगवानलाई दिने गरिन्छ । जस्तो, असारमा दुःख गरेर धान रोपिसकेपछि त्यसको श्रेय भगवानलाई दिने गरिन्छ । कुनै पनि प्रगतिमा भगवानको मात्र हात देख्नुमा आत्मविश्वासको कमीले काम गरेको हुन्छ । त्यसैले हाम्रो क्षमता हामीहरुकै देन हो भन्ने विश्वास जगाउन म्हः पूजा सुरु भएको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् । उनी यसलाई नास्तिकतातर्फको एक पाइलो मान्छन् । कात्तिक शुक्ल प्रतिपदामा गोवद्र्धन पूजासँगै गरिने म्हः पूजाको हरेक चरणको आ–आफ्नै दार्शनिक पक्ष छन् । सुरुमा बत्ती बाल्नुको अर्थ हामी पनि चारैतिर प्रकाश छर्न सकौं भन्ने हुन्छ । बत्तीबाट आउने खरानीले हामी पनि एकदिन खरानी हुन्छौं भन्ने दार्शनिक शन्देश दिन्छ । म्हः पूजामा प्रयोग हुने माछा प्रज्ञा र फुल करुणाको प्रतीक हुन् ।

No comments:

Post a Comment