Friday, November 10, 2023

तिहार र स्वन्ति नखः वीचको भिन्नता

 तिहार र स्वन्ति नखः वीचको भिन्नता


श्रीकृष्ण महर्जन नेवाः 

    काठमाण्डौं उपत्यकाका आदिवासी नेवाः समुदायले मान्दै आएको मौलिक किसिमका संस्कृतिहरु मध्ये कृषिपेशा संग सम्वन्ध रहेको सस्कृति स्वन्ति अर्थात तिहार हो भन्न सकिन्छ । नेवाः समुदायले मान्दै आएका विभिन्न संस्कृतिहरु मध्ये प्रत्येक बर्ष मोहनि नखः अर्थात दशैं आउने संस्कृति भनेकै स्वन्ति हो । गैर नेवार समुदायले लगातार रुपमा पाँचदिन सम्म यमपञ्चकको रुपमा मान्दै आएतपानि नेवाः समुदायले भने तीन दिनसम्म लगातार रुपमा तिहार मानाउने गरिन्छ । तिहार मानउने क्रममा यमपञ्चक भनी सबै भन्दा पहिला काग तिहार, त्यसपछि कुकुर तिहार र त्यसको भोलिपल्ट लक्ष्मी पुजा अर्थात गोबर्धन पुजा, त्यसपछि भाई तिका भनी गैर नेवारहरुले पाँचदिन सम्म लगातार रुपमा मनाउदै आएका छन् । नेवाः समुदायले पनि काग तिहार र कुकुर तिहार मनाएतापनि मुल रुपमा लक्ष्मी पुजा, म्ह पुजा र किजा पुजा भनी भाई तिका मनाउदै आएका छ । तीन दिन सम्म लगातार रुपमा मनाउदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो । स्वन्हु भनेको तीन दिन र नखः भनेको चाँड पर्व हो । तीन दिन सम्म मनाउने यो संस्कृसिलाई मत नखः अर्थात दीपावलीको पर्व पनि भन्ने गरिन्छ । यस संस्कृति मूल रुपमा कृषि पेशा र नयाँ बर्षसंग सम्वन्धित रहेको छ । स्वन्ति नखः भनेको खेतवाट आएको धान भित्र्याउने र बर्षभरीको हिसावकिताव सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथ साथै आफ्नो शरिरलाई पुजा गरी नयाँ बर्षका लागि संघर्ष गर्दै अगाडी बढ्नका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ । त्यसै गरि आफ्नो भाईको दीर्घायुको कामना गर्दै पनुजवा गर्ने पर्वको रुपमा पनि लिएको पाइन्छ । नेवाः समुदायले मनाउने स्वन्ति नखःको महत्व र स्वन्ति नखःले दिएका दार्शनीक पक्षहरु र गैर नेवारले मनाउने तिहारको वीच धेरै भिन्नता रहेको पाइन्छ ।

लक्ष्मी पुजा –अन्न पुजा ः

स्वन्ति नखः अर्थात तिहारको महत्वपूर्ण दिन भनेको लक्ष्मी पुजा हो । गैर नेवारहरुले लक्ष्मीको तस्वीर वा मूर्ति नै राखी सो दिन लक्ष्मीलाई पुजा गर्ने र विशेष गरि पैशालाई पुजा गर्ने चलन रहेको छ । लक्ष्मी भनेकै पैशा भएको अर्थमा पैशालाई लक्ष्मीको रुप मान्दै पुजा गर्दै आएका छन् । त्यसै गरि गैर नेवार समुदायले गाईतिहार भैलो भनी भैलो खेल्ने समिेत गरिन्छ । आ आफ्नो घरमा पकाएको सेल रोटी, फलफु र पैशा समेत नाग्लोमा राखी दिने चलन रहि आएको छ । नेवार समुदायले लक्ष्मी पुजाको दिनमा अन्न अर्थात धानलाई पुजा गरिन्छ । नयाँ अन्न आफ्नो घरको ढ्कु्तिमा राखी पुजा गर्ने चलन रहेको छ । नयाँ अन्नलाई पुजा गर्ने चलन नै नेवार समुदायको मौलिकता हो । नयाँ अन्न पुजा गर्ने क्रममा लक्ष्मीको तस्वीर वा मूर्ति राख्ने चलन नेवाः समुदायमा छैन । तर पछिल्लो समयमा आएर अरुको प्रभावका कारण कुनै कुनै स्थानमा नेवाः समुदायले पनि लक्ष्मीको फोटो राखी पुजा गर्न थालेका छन् । सो दिनमा धानलाई पाठीमा र चामल मानामा राखी जाकि चुंया द्यःचा अर्थात चामलको पीठोवाट द्यःचा (सानो मूर्ति जस्तो) बनाई ढुकुतिमा मण्डप बनाई पुजा गर्ने चलन रहेको छ । त्यसै गरि ढुकुतिमा रहेका जति पनि अन्न राखेका भाडाकुडा भकारीमा समेत पुजा आजा गरिन्छ । सो पुजा गर्ने क्रममा पाल्चा अर्थात दीप दिने पनि गरिन्छ । यसको अर्थ वास्तवमा स्वन्ति नखःको क्रममा लक्ष्मी पुजा भनी नेवाः समुदायले अन्नलाई पुजा गर्दै आएको भन्न सकिन्छ । त्यसैले गैर नेवार समुदायले मनाउने लक्ष्मी पुजा र नेवाः समुदायले मनाउने लक्ष्मी पुजावीच भिन्नता रहेको पाइन्छ ।

गोबर्धन पुजा–– म्ह पुजा ः

स्वन्ति नखःको क्रममा लक्ष्मी पुजाको भोलिपल्ट गैर नेवार समुदायले गोबर्धन पुजा गरिन्छ । गाईको गोबर अर्थात सौलाई पुजा गर्ने नै गैर नेवारहरुको गोबर्धन पुजा हो । विहानै गोबरलाई पुजा गर्ने भनेको गोबर्धनलाई पुजा गर्ने हो । त्यसै गरि गाईको गोठमा समेत पुजा आजा गर्ने चलन रहेको छ । त्यसै गरि सेल पकाई खाने समेत गरिन्छ । गोबर्धन पुजाको दिनमा देउसी भैलो खेल्ने चलन समेत रहेको छ । लक्ष्मी पुजाको दिनमा जस्तै सेल  रोटी माग्दै देउसी भैलो खेल्ने चलन  रहको छ ।

म्ह पुजाः

नेवाः समुदायले भने यो दिनमा आफ्नो शरिरलाई पुजा गरिन्छ । म्ह भनेकै शरिर हो । शरिरलाई पुजा गर्ने भएकै कारण म्ह पुजा भनिएको हो । म्ह पुजाको दिनमा आफ्नो शरिरलाई पुजा गर्ने भएकोले यस संस्कृतिलाई स्वन्ति नखः अर्थात तिहारकै महत्वपूर्ण संस्कृतिको रुपमा लिएको  पाइन्छ । नेवाः समुदायभित्र म्ह पुजा भनेको मौलिक संस्कृति हो । प्रत्येक बर्षको चन्द्रमास अनुसार कछलाथ्व पारुको दिनमा मानिसको शरिरलाई नै पुजा गर्ने म्ह पुजा गर्ने चलन रहेको छ । नेवाः समुदाय भित्र पनि मौलिक संस्कृतिक र साझा संस्कृतिको रुपमा मान्दै आएको म्ह पुजाको दर्शन र विधि यस प्रकार रहेका छन् ।

भाई तिका––किजा पुजाः 

गैर नेवार समुदायले भाई तिका मानउने दिनमा नै नेवार समुदायले पनि किजा पुजा गर्ने गरिन्छ । किजा भनेको भाई हो र भाईलाई पुजा गर्ने भएकै कारणले सो दिनलाई भाई तिका भनिएको हो । सो दिनमा म्हा पुजाकै दिनमा जस्तै तयार गरि मण्डप लेख्ने गरिन्छ । विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा राख्ने गरिन्छ । नेवार समुदायमा म्ह पुजाकै दिनमा जस्तै पुजा आजादेखि सौगन दिने चलन रहेको छ । पञ्चतत्वको सौगन दिनेदेखि पुजा गर्ने र आफ्नो भाईको दीघआयुको कामना गर्ने गरिन्छ । गैर नेवार समुदायमा त्यसरी पञ्चतत्वको सौगन दिने गरिदैन । बरु पञ्चरंगी टिका भने लगाउने चलन रहेको छ । नेवाः समुदायमा भने पञ्चरंगि टिका नभई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो तिका जस्लाई नेवार समुदायले जाकि सिन्ह भनिन्छि । सो तिका लगाउने गरिन्छ । नेवाः समुदाय र गैर नेवाः समुदायमा पनि माला भाईलाई मखमली माला लगाउने गरिन्छ । नेवाः समुदायमा भने धागोको माला समेत लगाउने गरिन्छ । त्यसै गरि आफ्नो भाईलाई भोज समेत खुउाउने नेवाः समुदायमा चलन रहेको छ ।  यसरी नेवाः समुदाले स्वन्ति नखः अर्थात तिहार मौलिक रुपमा मान्दै आएको पाइन्छ । लक्ष्मी पुजाको दिनमा अन्नलाई पुजा गर्ने, म्ह पुजाको दिनमा आफ्नो शरिरलाई नै पुजा गर्ने, भाई तिकाको दिनमा अफ्नो भाईलाई पुजा गर्ने र पञ्चतत्व ग्रहण गराउने, पञ्चतत्वले नै पुजा गर्ने जुन संस्कृति नेवाः समुदायभित्र रहेको छ यो तान्त्रिक र संघर्षवादी सिद्धान्तमा आधारित रहेको छ । नेवाः समुदाको मौलिक मात्र नभई मानिस नै देउटा बन्ने सिद्धान्तमा आधारित संस्कृति हो । 


No comments:

Post a Comment