Monday, November 13, 2023

म्ह पुजा मण्डलको भावार्थ

 म्ह पुजा  मण्डलको भावार्थ


अष्टमङ्गाकिंत अष्टदल पद्माकार मण्डल

मण्डलको सामान्य अर्थ संस्कृतमा गोलाकार हो । पुजा साधना प्रयोजनमा मण्डलले विषयको सार अर्थ तथा समग्र स्वरूप जनाउन प्रयोग गरिन्छ । यसर्थ म्ह पुजा मण्डलले म्ह (आफू) को सार अर्थ तथा यथार्थ स्वरूप चित्रित गर्दछ । म्हःको विविध पक्षलाई समावेश गरी मण्डलको मध्य विन्दुमा आफूलाई राखिन्छ । मण्डलको बिविध अङ्ग तथा पक्षहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

चुनढुंगाको धुलोको प्रयोगः म्ह पुजाको मण्डल चुनढुंगाको धुलोबाट लेखिन्छ । चुनढुंगा उपलब्ध नभएको अवस्थामा चामलको धुलो पनि प्रयोग गरेको पाइन्छ । धुलोलाई सीधै हातमा लिई मण्डल कोर्ने वा साँचो प्रयोग गरी मण्डल वनाउने गरिन्छ । यसरी धुलोले नै लेखिनुको कारण यो मण्डल पुजा पश्चात् मेटाउनु पर्ने भएकोले हो । आफू के हो ? भनी चित्रमा कोरी त्यसको दर्शन गरे पश्चात् त्यसलाई तुरून्तै मेट्नु पर्दछ । जसरी निर्मित मण्डल आफ्नै निर्मित प्रतिविम्व मात्र हो यसरी नै आफूको रूपमा मानिएको ’म’ को भावना, आफ्नो भौतिक रूप तथा चेतसिक दुवै पक्ष ऐना भित्र देखिने प्रतिविम्व समान हुन् भन्ने थार्थ दर्शनलाई बुझ्नको लागि यसरी धुलोको प्रयोग गरिएको हो । आजभोली धातुको मण्डल वनाई त्यसमा केहि धुलोको प्रयोग गरी पनि म्ह पुजा गर्न थालेको पाइन्छ ।

अष्तदल पद्माकारः 

म्ह पुजा मण्डल आठवटा पात भएको कमलको फूलको स्वरूपमा वनाइन्छ । म्हः (आफू) लाई कमलको फूलको रूपमा प्रतिविम्वित गर्नु ब्यक्तिको आदर्श रूप हो । 

जसरी कमलको बोट हिलोबाट निस्केको भएतापनि कमलको फूल त्यस हिलोबाट अलग भएको हुन्छ र त्यस हिलो प्रति निर्लिप्त भएको हुन्छ । यसरी नै यस संसार रूपी हिलोबाट माथि उठ्न सक्ने आदर्श स्वभाव सवै ब्यक्तिहरूमा विद्यमान छ तर यसलाई नचिनेको कारण वा विर्सिएको कारण हामी संसाररूपी दलदलमा रमाइरहेको र अनन्त दुःखको भुमरीमा परिरहेको कुराको बोध गराउने यस मण्डलको आकृति पद्माकार वनाइएको हो । पद्मको अर्को अर्थ पवित्रता हो ।   राग, द्वेष र मोह रूपी दलदलबाट अलग्ग रही काय, वाक् र चित्तका कर्महरू शुद्ध राखिरहने आदर्श रूप ’म’ हो भन्ने अनुभूति गराउने पनि यसको उद्देश्य हो ।

शैव परम्परानुसारको षट्कोणाकार मण्डल

षट्कोणाकारः हिन्दुमतानुसार वनाइने मण्डलचाहिं षट्कोणाकार हुन्छ। शैव परम्पराको षट्कोणले प्रकृति र पुरूष वा शिव र शक्ति को एकत्वको स्वरूप नै आफू भएको ज्ञानबोध गराउन खोजिएको हुन्छ ।

अधिकांश प्रचलनहरूमा बीचको विन्दु वरिपरि ४ वटा संकेन्द्रित वृतहरू वनाइन्छ । तिनीहरूको प्रतिक निम्नानुसार छ ।

तेलको मण्डल – छिटो नसुक्ने लामो समय सम्म टिकी रहने तत्व, चेतन तत्व, नामस्कन्ध

आखे (खैरो चामलको पूर्ण अन्न) – अखण्डता, पूर्णता

धान – पुनरावृति, पुनर्जन्म

लावा (ताय्) – हेतु प्रत्येय, कार्य र कारणको उपज कसैकसैले मण्डलको बीचमा ६ वटा वृतहरू कोरेको पनि पाइन्छ । यी मध्ये सवै भन्दा भित्र चेतन तत्वको प्रतिकको रूपमा तेलको वृत र पञ्चतत्वको प्रतिकको रूपमा क्रमशः आखे (खैरो चामलको पूर्ण अन्न), कालो मास, धान, कालो भटमास र लावा (ताय्) का वृतहरू वनाइन्छ ।

ख्यलुइता बाल्नु

८ देखि १० इन्चि सम्म लामो गरी वनाइने कपडाको वत्ती दुइ थान मण्डलको छेउमा राखिन्छ । मण्डल पूजा पश्चात् ती वत्तीहरूको दुवै छेउ बाली तेर्सो र ठाडो पारी प्लस आकारमा मण्डल माथि बालिन्छ । यसको प्रतिकात्मक अर्थ आफूमा सर्वाङ्गीणरूपमा ज्ञानको दीपक प्रज्ज्वलित गर्नु हो । ज्ञानको दीपक बालेको तत्क्षणमा नै अज्ञान रूपी अन्धकार हराउँछ । आफू र जगतको यथार्थ छर्लङ्ग हुन्छ ।

भोज

पूजाको अन्तमा सवै परिवारजन एकै पंक्तिमा वसी सुन्दररूपमा सिंगारिएको मण्डल माथि नै थाल राखी परम्परागत नेवाः भोज खाइन्छ । 

जति सुकै राम्रो सिंगारिएको भए पनि त्यस मण्डलको सुन्दरतामा पटक्कै आशक्त नभई मण्डल विग्रिएला भन्ने सुर्ता नलिइकन अष्टमात्रिकाका प्रतिक स्वरूप आठ परिकारयुक्त भोज खाइन्छ । भोज समाप्त भए पश्चात् मण्डल र थाली रात भरिका लागि त्यतिकै छोडिन्छ र भोलि पल्टमात्र भुइ बढारेर सफा गरिन्छ ।


No comments:

Post a Comment