Friday, November 11, 2022

चुनाव विश्लेषण— ‘काठमाडौं क्षेत्र नं. १० मा नपत्याउने खोलाले बगाउन सक्छ’

 चुनाव विश्लेषण—

‘काठमाडौं क्षेत्र नं. १० मा नपत्याउने खोलाले बगाउन सक्छ’

नजरराम महर्जन

काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा मंसिर ४ गते हुने आम निर्वाचनमा संघतर्फ १८ जनाले उम्मेदवारी दिएका छन । जसमध्ये २ जना स्वतन्त्र उम्मेदवार रहेका छन भने १६ जना विभिन्न पार्टीगत उम्मेदवार छन । 

पहिलेको चुनावमा साना पार्टीका र स्वतन्त्र उम्मेदवारहरु त्यति धेरै चुनाव प्रचार प्रसारमा लाग्दैनथ्यो । अहिले साना पार्टीका उम्मेदवारहरु पनि चुनाव प्रचारमा जोडतोडका साथ लागिरहेका छन । चुनाव प्रचार गर्न सक्यो भने जित्ने आशा पलाएको होला । कोही भन्दा कोही कम छैनन् । हरेक पार्टीको घर दैलोमा २०÷२५ जना समर्थकहरुको उपस्थित रहने गरेका छन । अनि पार्टीको घोषणा पत्र वा प्रतिवद्ध पत्र पनि मतदाता समक्ष राखीरहेका छन । कसलाई मत दिने कसलाई नदिने मतदाताहरु अन्यौलमा छन ।

अहिले कीर्तिपुरमा मुख्य चर्चा तिनवटा ठूला पार्टीहरुकै छन । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र । गत बैशाखमा भएको स्थानीय चुनावको नतिजालाई हेर्ने हो भने सबभन्दा अगाडि नेपाली कांग्रेस, दोश्रोमा एमाले, तेश्रोमा माओवादी केन्द्र रहेका छन । 

अहिले सामाजिक संजालमा नेपाली कांग्रेसका केही स्थानीय नेता तथा कार्यकर्ताहरु नै नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार के.सि.को आलोचना गर्न थालेका छन । ती मध्ये ६ जना त विभिन्न पार्टीबाट टिकट लिएर प्रतिनिधि सभा सदस्य उम्मेदवार नै भएका छन । जसले गर्दा नेपाली कांग्रेसका उम्मेदवार राजन के.सि.लाई यसपाली जित्न अलि कठिन देखिन्छ । पहिले जस्तो फराकिलो अन्तरले नजित्न सक्छ ।

नेकपा एमालेको उम्मेदवार हिमेश के.सि. पार्टीमा जतिसुकै ठूलो पदमा रहेर काम गरेको भए पनि नयाँ र चुनाव क्षेत्रको सामाजिक क्षेत्रमा पहिचान नभएको व्यक्ति भएका कारण चुनाव जित्न गाह्रै होला । पार्टीगत मत त उहाँले पाइहाल्छ । तर पार्टीगत मतले मात्र चुनाव जित्न सक्दैन । नेकपा एमालेका क्षेत्रमा चिनिएका पुराना नेता तथा कार्यकर्ताहरु उम्मेदवारसँग मत माग्न हिंडेको देखिंदैन । नेकपा एमालेका थुप्रै स्थानीय नेता तथा कार्यकर्ताहरु उम्मेदवारदेखि असन्तुष्ट देखिन्छन । जसले गर्दा नेकपा एमाले पार्टीका सबै कार्यकर्ताहरुको मत पाउला भन्न सकिंदैन । पार्टीभित्रै असन्तुष्ट स्थानीय नेता तथा कार्यकर्ताहरु छन ।

जसरी कांग्रेसका कांग्रेस नेता कार्यकर्ताहरु असन्तुष्ट भएर विभिन्न पार्टीको उम्मेदवार भएर चुनाव लडिरहेका छन । नेकपा एमालेमा भने त्यो अवस्था छैन । उम्मेदवार नदिए पनि मौन बसिरहेका छन । खासै चहलपहल देखिएको छैन ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन क्षेत्र नं.१० मा टुटेको छ । दुवै पार्टीले संघ र प्रदेश क र ख २ वटै प्रदेशमा आ–आफ्नो उम्मेदवार उठाएका छन । नेपाली कांग्रेसले पुरानै सांसद राजेन्द्र कुमार के.सि.लाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले अन्जना बिसंखेलाई उम्मेदवार बनाएका छन । उनी पहिले समानुपातिक सांसद हुन । 

गठबन्धन टुटेपछि अन्जना बिसंखेलाई उम्मेदवार बनाएका हुन । उहाँ चन्द्रागिरी नगरपालिकाका स्थानीय बासिन्दा नै हुन । पार्टीगत रुपमा भन्ने हो भने गत स्थानीय चुनावमा माओवादी केन्द्र तेश्रो शक्तिमा रहेको छ । 

तर अहिले अन्जना बिसन्खेको व्यक्तित्वले गर्दा पार्टी कमजोर भए पनि जनमानसको मनमा रहन सफल भएका छन । नेपाली कांग्रेसका असन्तुस्त खेमा र एमालेका असन्तुस्ट खेमाको समर्थन उहाँमा हुने आंकलन गरिएका छन । त्यसबाहेक पनि क्षेत्र नं.१० को संघमा प्रथम पटक महिला उम्मेदवार भएका छन । त्यसैले महिलाहरुले महिला उम्मेदवार जिताउनु पर्छ भन्ने चर्चा चल्न थालेका छन । महिलाले महिलालाई जिताउनु पर्छ भन्ने आवाज बढ्न थालेका छन । 

यो आवाजको साथै साँच्चै महिलाहरु पार्टीभन्दा माथि उठेर उहाँलाई मत दिन पनि सकिन्छ । अन्जना बिसंन्खे जित्न सक्ने अर्को सम्भावना पनि छ । उहाँ दलित महिला हुनुहुन्छ । उहाँले दलित आन्दोलनमा राम्ररी सघाउनु भएको छ । दलितले दलितलाई जिताउनु पर्छ भन्ने भित्र भित्र्रै आवाज बढ्न थालेका छन । यो आवाजले साकार रुप लियो भने पनि अन्जना बिसंन्खेको जित सम्भावना छ ।

काठमाडौं क्षेत्र नं.१० मा अर्को एकजना पनि नजानिंदो किसिमले अगाडि बढीरहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर उठेका प्रदीप विष्टले उम्मेदवार दर्ता गर्नुभन्दा अगाडिदेखि नै चुनाव प्रचार प्रसारमा व्यस्त हुनुहुन्थ्यो । 

अहिलेसम्म उहाँले हरेक क्षेत्रमा घरदैलो गर्न भ्याइसक्नु भएको छ । रवि लामिछानेको व्यक्तित्वका कारण पनि उक्त पार्टीप्रति जनआकर्षण बढीरहेको छ । परिवर्तन चाहने मतदाताको लागि घण्टी छापले आकर्षित गरिरहेका छन । 

त्यसैले नपत्याएको खोलाले बगाउँछ भनेझै प्रदिप विष्टले पनि जित्ने सम्भावना छ । त्यस्तै नेपाली कांग्रेस विपिका उम्मेदवार एस बी श्रेष्ठ पनि जोडतोडका साथ लागिरहेका छन । विवेकशील साझा पार्टीका सनन श्रेष्ठ पनि लागिरहेका छन ।

अन्तमा साना पार्टीहरु सबै एकजुट भएर चुनाव लडेको भए ठूला पार्टीहरुको हार निश्चित थियो । साना पार्टीहरु अलग अलग चुनाव चिन्हमा चुनाव लड्दा मत विभाजन हुन गै ठूला पार्टीहरुलाई नै फाइदा हुने देखिन्छ । 

नेपाली कांग्रेस पृष्ठभुमिका ६ जनाले विभिन्न पार्टीको टिकटमा चुनाव लडेका छन । उनीहरुले नेपाली कांग्रेसको मात्र मत काट्ने होइन अरु पार्टीको पनि त मत काट्छ । 

नेपाली कांग्रेस विरोधी मत सबै एकै पार्टीमा प¥यो भने राजन के.सि.ले हार्न सक्छ । होइन सबै बाँडिने हो भने राजन के.सिको जित निश्चित माने पनि हुन्छ ।


No comments:

Post a Comment