कीर्तिपुर याकःबहास्थित राजाको मूर्ति कसको ?
निरज मान सिंह
कीर्तिपुरको याकः बहाको बिचमा, बहीको संस्थापकको मुर्ति छ । कमलको फुलमा वोत लागेर, कछुवामाथी बसेको मूर्तिले सिरमा मल्लकालिन राजाले लगाउने पगडी, दुवै कानमा ठुल(ठुला हिरा सुनमा जडित गहना लगाएको छ । लबेदा(तुना बाँधेको पोसाक र सुरुवाल माथी मिलेको पटुका बाँधी गलामा मोतीको दुइवटा माला लगाएको छ । बायाँ हातमा ग्रन्थका पुस्तक समातेको छ, भने दायाँ हातमा रुद्राक्षको माला लिई जप मुद्रामा मग्न रहेको देखिन्छ । अलि ध्यानले हे¥यो भने अलि मुसुक्क हाँसेको जस्तो हसिलो अनुहार देखिन्छ ।
राजसि पोशाकमा सजिएको यस मुर्ति अरु कसैको नभई राजा श्रीनिवास मल्लको हो । नेपाल संम्वत ७४७ (वि.सं १६८४) मा पाटनका तत्कालिन राजा सिद्धिनरसिंह मल्लकी रानी भानुमतिको गर्भबाट श्रीनिवास मल्लको जन्म भएको थियो । राजा सिद्धिनरसिंह मल्लले छोरा श्रीनिवास मल्ललाई राजकाजको अनुभव होस भनेर सानै देखि प्रशासनमा सक्रिय बनाए । राजकाजको ज्ञान पाएपछी यिनलाई छिटै राजा हुने इच्छा बढेर नेपाल संवत ७७८ (वि.सं १७१५, इ.सं.१६५८) मा बुवाको विरुद्ध विद्रोह गरी कीर्तिपुरमा छुट्टै समान्तर सरकार (स्वतन्त्र राज्य) बनाएर दुई वर्षसम्म राज्य चलाए । भनिन्छ, उनलाई त्यसो गर्न कान्तिपुरका राजा प्रताप मल्लले उचालेका थिए ।
कीर्तिपुरमा श्रीनिवास मल्ल राजा भएपछी कीर्तिपुरको उन्नत दिनको शुरुआत भयो । यिनको पालामा कीर्तिपुरमा धेरै कार्य भएका छन् । उनले कीर्तिपुरमा सानै भए पनि राजदरवार (लायकु) बनायो । तलेजु मन्दिर बनाई राजदरवार क्षेत्र घोषणा ग¥यो । कोटगृह र उमामहेश्वर तिनतले मन्दिर बनाए । नेपाल संवत ८०१ (व्.ि।सं १७१७) मा कोटगृहमा गजुर चढाईयो । उमामहेश्वर मन्दिर बनाउन आफ्नी सानी आमा पट्टिका भाई राउत्त विश्वनाथलाई कीर्तिपुरमा बोलाए । चिलन्चोमा धर्मधातु मण्डल बन्यो । इन्द्रायणीमा प्रस्तरको एक जोडी सिंह थपिए, तोरण तथा मन्दिर बन्यो । बाघभैरव मन्दिरमा काष्ठ तोरण बन्यो । गुतपौ टोलमा ल्वहँ देगः (प्रस्तर मन्दिर), उमामहेश्वरमा एक जोडी माउते सहितको हात्ती थपियो । पाँचबुद्ध, पद्मपाणी, तारा बन्यो । याकः बहामा रत्नसंभव बुद्ध बन्यो । भाजंगाःमा बिष्णुदेवी मन्दिर बन्यो । चोभारमा जल विनायकको गजुरसहितको देवालय बन्यो ।
यी कार्य हुँदा यिनी स्वयं उपस्थित भएका थिए । यसरी कीर्तिपुरमा कला र संस्कृतीको बिकास गर्दै यिनले कीर्तिपुरमा दुई वर्ष राज्य गरे । बुवा सिद्धिनरसिंह मल्लले यसरी आफ्ना छोरालाई बिद्रोही बनाइराख्नु उपयुक्त नठानी पाटनको राजगद्दी सुम्पने इच्छा व्यक्त गर्दै यिनलाई निम्ता बोलाए ।
यिनलाई सबै धर्म तथा सम्प्रदायमा समान आस्था तथा बिश्वास थियो । त्यसैले पनि होला यस प्रस्तरको मुर्तिमा दाँया हातले धर्म आस्थाको प्रतीक रुद्राक्षको माला लिई जप गर्दै गरेको मुद्रामा ध्यान मग्न देखिन्छ ।
नेपाल संवत ८०१ (वि.सं १७१७) मा बुवा सिद्धिनरसिंह मल्लले छोरा श्रीनिवास मल्ललाई विधिवत पाटनको राजा बनाइदिए उनि ललितपुरको राजा भए र सिद्धिनरसिंह मल्लले सन्यास ग्रहण गरे । राजगद्दी त्यागेको ५० वर्षपछी १०४ वर्षको उमेरमा सिद्धिनरसिंह मल्लको देहान्त भयो ।
श्रीनिवास मल्लको साहित्य तथा संगीत प्रति बिशेष अभिरुची थियो । नाटक लेख्न, लेख्न लगाउन र मन्चन गर्ने गर्थिए । यिनले नेवाः भाषामा लेखेको ‘दस अवतार’ र ‘बालाथक’ प्रहसन विशेष उल्लेखनीय छन् । दस अवतार नाटक सङ्ग्रह अभिलेख ग्रन्थमा धेरै कवितामय गीति मुक्तक रचना समावेश छन् । पाटनको स्थानीय भजनग्रन्थहरुमा पनि यिनका गीत, स्तुति गीत र उपदेशात्मक गीतहरु पाइन्छन । यिनका सुदामा मालिक नारायणू शिर्षक रचना प्रकाशित कृति हो । यिनले संस्कृत र मैथली भाषामा अनेक स्तुतिगानको रचना गरेका थिए । श्रीनिवास मल्ल स्वयम विद्वान थिए र विद्वानहरुको पनि कदर गर्दथे । यिनको दरवारमा कुनू शर्मा र निलकण्ठ जस्ता कविहरु सम्मानित थिए । कुनू शर्माद्वारा रचित कीतिपताका जस्ता देशभक्ति काव्य र निलकण्ठको मत्स्येन्द्र पढ्य शतकू नामको रचना दार्शनिक बिचार र भक्तिभावपूर्ण उत्कृष्ट काब्य ग्रन्थ मानिन्छ । राजाको यस्तै साहित्य रुची अनुरुप यस प्रस्तरको मूर्तिमा बाँया हातले साहित्य रचना प्रतीक पुस्तक समातेको देखिन्छ ।
राजा श्रीनिवास मल्लले राजगद्दी त्यागेको दुई वर्षपछी नेपाल संवत ८२७ (वि.सं. १७४३) माघशूक्ल एकादशी मृगशिरा नक्षत्र शुक्रबारका दिनमा उनी परलोक भए । ६ जना सति गए । शंखमूलमा दाहकृया भयो ।
सयौ वर्ष पौराणिक इतिहास बोकेको यस याकः बहामा राजा श्रीनिवास मल्ल लगायत रत्नसंभव बुद्ध पनि जिर्णोद्वारको पर्खाईमा बसेका छन ।
Excellent.
ReplyDelete