Thursday, November 25, 2021

गुंजिरहेको आवाज — ६

  गुंजिरहेको आवाज — ६

                भाईकाजीले गंगालाई भगाएर त लग्यो । उसको घरमा दुबैजनालाई प्रवेश गर्न दिएन । आमाबाबुले विवाह गरेर नदिने भनेको केटासँग भागेर आएकोले गंगालाई माईतीमा पस्न दिन्छ कि दिंदैन ? यस्तै सोचेर गंगा पनि माइती गएकी छैनन् । दुवैजना काठमाडौं डेरामै बसिरहे । भाईकाजीलाई उसको आमा बुबाले के भन्छ, के गर्छ थाहा पाउन मन लाग्यो । माघे संक्रान्तिको दिन ऊ एक्लै घर गयो । ऊ घरमा आएको देखेर उसको आमा खुशी भइन् । उसको आमाले यताउता आँखा दौडाएर हेरिन् । सायद गंगा पनि ल्याएको छ कि भनेर हेरेको होला । आमाबाबुको मनको कुरा थाहा नपाएसम्म उसले गंगालाई कसरी घर ल्याउँछ ? घरमा ल्याएर पस्न दिन्न भनेर हेला ग¥यो भने के गर्ने ? ऊ त घरको छोरा हो । घरमा पस्ने उसको हक छ । त्यसैले ऊ एक्लै घर आयो । उसलाई कसैले केही पनि भनेन । सबै चुप छन् । उसको आमा माथि गयो । ऊ मातनमा उभिरह्यो । उसको आमाले एउटा थालमा घ्यः चाकु, हाम्वः तरवल राखेर उसलाई दिन ल्याइन् । एक मुठी चिउरा पनि रहेछ । एउटा कचौरामा अलिकति रक्सी पनि राखेर ल्याइन् ।

“ल बस, घिउ, चाकु खाउ । उभिएर खानु हुँदैन । उभिएर खायो भने झुण्डिएर मर्नेलाई जान्छ ।” उसको आमाले भनिन् ।

ऊ बस्यो । उसले देउतालाई चढाएर खान थाल्यो । आमाचाहिं फेरि माथि गइन् । एकछिन पछि उसको बाबु पनि आयो । उसलाई पुलुक्क हेरेर केही नबोली माथि तल्लामा गयो ।

“बुहारी ल्याएनौं ?” उसको आमाले विस्तारै सानो स्वरमा सोधिन् । सायद लोग्नेचाहिंले सुन्छ कि भनेर होला ।

“ल्याएको छैन, म एक्लै आएको ।”

“बुहारी माइती गयो कि ?”

“गएको छैन, काठमाडौंमै राखेर आएको ।”

“हामीले ल्याउ नभनेसम्म गंगालाई यहाँ नल्याउनु । तिम्रो बाबुले घरमा पस्न दिने भनेको छैन । तिमी एक्लै आए घरमा पस्न दिने रे ।”

“हुन्छ आमा, उसोभए अब म पनि आउँदिन । मेरो श्रीमती आउन नहुने ठाउँमा ममात्र कसरी आउने ? मलाई घरमा पस्न नदिने भनेकोले गंगा पनि माईति गएकी छैनन् । ल, म गएँ ।” यति भनी भाईकाजी घरबाट बाहिर निस्क्यो ।

“पख, पख, खाना खाएर मात्र जानु ।” आमा कराइन् ।

भाईकाजीले आमाले बोलाए पनि घरबाट बाहिरियो । गंगा आउन नहुने घरमा उसलाई पनि बस्न मन लागेन ।

अब घर भित्रिने उसको इच्छा पुरा नहुने भयो । अब काठमाडौंमै बसेर पैसा कमाउनु प¥यो । केही काम गरेर पैसा कमाउन नसकेसम्म घरमा नपस्ने विचार गर्दै ऊ काठमाडौं फर्कियो । घरमा आमाबुबाको व्यवहार बारे गंगालाई बतायो ।     

उसले काम गर्ने ठाउँमा फर्निचर बनाउन धेरै कामको अर्डर आउँछ । ती मध्ये धेरैजसो उसैले बनाउनु पर्छ । कीर्तिपुरका सिकर्मीहरू कहिले पारु भोज, कहिले पुर्णि भोज, कहिले गुथि भोज, कहिले जात्रा भनेर विभिन्न चाड पर्व मनाउन काम गर्न नै आउँदैन । उसको कहिं जाने ठाउँ छैन । त्यसैले सबै काम गर्ने जिम्मा उसकै । जति काम गरेर कमाई गरी दिए पनि साहुले दैनिक ज्याला बाहेक एक रुपैयाँ पनि बढ्ता दिंदैन । यो ज्यालादारी काम मात्र गरेर कति पैसा जम्मा पार्न सकिन्छ ? यस्तै विचार गर्दै उसले आफ्नै फर्निचर कारखाना खोल्ने विचार ग¥यो ।

गंगासँग सरसल्लाह ग¥यो । उसले जम्मा गरिराखेको पैसा र गंगाको कानमा लगाईराखेको गहना बेचेर कालीमाटीमा एउटा पसल कवल लियो । आफ्नै फर्निचर कारखाना राख्यो । सुरुमा एक्लैले काम ग¥यो । ऊ काम गरिरहेको ठाउँमा गंगा पनि आउँछिन् । रन्दा तान्न सहयोग गर्छिन् । बेलुका कारखाना सफा सुग्घर गरेर दुवैजना सँगै घर आउँछन् । कारखाना खोलेको एक महिनाभित्रमा धेरै कामको अर्डर आयो । आपूm एक्लैले काम गर्न नसक्ने भएर पुराना साथीहरूलाई पनि बोलायो । दराज, पलंग, मेच विभिन्न सामानहरू बनाउने अर्डर आयो । गंगालाई थुप्रै काम भयो । खाक्सी दल्ने, रंग लगाउने काम गंगाले गर्छिन् । ग्राहकले भनेको समयमा काम गरी दिन सक्ने भएर कामको अर्डर बढ्न थाल्यो । उसले कमाएको पैसाले रन्डा लगाउने मेसिन, काठ काट्ने मेशिन समेत किनेर ल्यायो । अनि त झन बढी काम गर्न सक्ने भयो ।

भाईकाजी दिनभरी सिकर्मी काम गरेर पनि बेलुका नन्दी विद्याश्रम नक्सालमा पढीरहेको थियो । यसपाली एसएलसी परीक्षा दिएको पास पनि भयो । उसले अब गाउँ जान नै छाडिसक्यो । ऊ पनि शहरीया भइसक्यो । चाड पर्वमा उसका आमाबाबुले घरमा आउ भनेर बोलाउँछ । गंगा लिएर आउनु हुने भए मात्र आउने नत्र नआउने भन्ने जवाफ पठाउँछ । ऊ एक्लै घर जाँदै गएन । बरु खर्च गर्न भनेर साथीहरू मार्फत आमाचाहिंलाई खर्च पठाईदिन्छ ।

उसलाई सिकःर्मी भनेर हेला गर्ने गंगाको बुबाको सेखी तोड्नु पर्छ । गंगालाई बुहारी मान्न तयार नभएका उसको बाबुलाई पनि केही गरेर देखाउने उसले संकल्प लिएको छ । फर्निचर कारखानबाट उसको कमाई भयो । आपूmलाई चाहिने कारखानाका सामानहरू सबै जोडिसक्यो । एक टुक्रा जमिन किनेर घर नबनाईकन बच्चा नजन्माउने उनीहरूको विचार थियो । तर होसपासै नभएर गंगा गर्भवती भइन् । तैपनि उनीहरूले यो कुरा कसैलाई भनेको छैन । घरबाट विवाह गरी दिएको भए पहिलो सन्तान जन्मने बेला घरमा बोलाएर नभए छोरीकै घरमा गएर दहि चिउरा खुवाउन आउँथ्यो । उसको भाउजु सरस्वति पहिलोपल्ट गर्भवती हुँदा माइतीबाट दहि चिउरा (धौबजि) खुवाउन आएको भनेर फलपूmल, मिठाईहरू, दहि चिउरा, मासु, चार प्रकारको गेडागुडी राखेर खुवाउन आएको उसले सम्झ्यो । आज गंगा त न लोग्नेको घर, न माइती दुवै घरमा जान नपाएकोलाई कसले खुवाउन आउँछ ? भाइकाजीले नै बजार गएर दहि, फलपूmल, मिठाई किनेर ल्याएर ख्वायो ।

गंगालाई अलिकति बेथाले च्यापेजस्तो हुने बितिकै प्रसुति गृह थापाथलीमा लग्यो । चारघण्टा पछि सजिलैसित बच्चा जन्मियो । पेट चिर्नु परेन । पहिलो सन्तान छोरा नै जन्मियो । सुत्केरी भएको तेस्रो दिनमै उसलाई घर पठायो । गंगालाई डेरामै लिएर आयो । अब सुत्केरी फुकाउनु (मचाबू ब्यंके गर्नु) प¥यो । उनीहरू घर नगइकन डेरामै बसिरहेकाले टोलका मानिसहरू आश्चर्यचकित भयो । सुत्केरी कहाँ फुकाउने भनेर सोध्न थाले । उनीहरूलाई के गरूँ, के भनूँ भयो । उनीहरू कोही नभएको लावारिसजस्तो देखिने भयो । सुत्केरी फुकाउने भनेको चार दिन, छ दिन या दस दिनभित्र गर्नुपर्छ । शुद्धिकरण गरेर जन्मेको बच्चालाई घरको परिवारमा प्रवेश गराउने कर्म पनि हो । उसको छोरालाई उसको खलकको सदस्य बनाउने हो । पहिलो सन्तान हुँदा माइतीबाट बच्चाको लागि ओढ्ने ओछ्याउने, लुगा लिएर आउनु पर्छ । अब अजि कसलाई बनाउने ? घरमा भए बच्चाको बज्यै स्वतः अजि हुन्थ्यो ।

आफ्नो छोराको कर्म खोल्न आमाबुबाले के भन्छ थाहा पाउनु प¥यो भनेर भाइकाजी आमाबाबु भेट्न घर गयो । आमाचाहिं घरमै रहेछ । अकस्मात ऊ आएको देखेर आमाचाहिं चकित भयो । पहिले बोलाउन पठाउँदा पनि नआउने छोरा । आज चाड पर्व केहि पनि होइन । तैपनि टुपुुलुक्क आइपुग्यो । पक्का पनि कुनै न कुनै काम छ होला भन्ने सोचेर आमाले सोध्यो, “आज अचानक आयौ नि ?”

“आफ्नो घरमा आउन पनि कुनै काम हुनुपर्र्छ र ? किन म घर आउनु हुन्न ?”

“हामीले कति बोलाउन पठाउँदा पनि नआउने तिमी । आज हामीले नबोलाउँदा पनि आयौं ।”

“आज आउनै पर्ने काम परेर आएको । तपाईंहरूलाई खुशीको खबर सुनाउन आएको । गंगाले छोरा जन्माइन् । तपाईं बज्यै हुनुभयो । आज चार दिन भयो ।”

“हो र ? बच्चाको न्वारान ग¥यौं ?” आमाले खुसी हुँदै सोधिन् ।

“बज्यै नै यहाँ छ । कसले न्वारान गरी दिन्छ ? तपाईंले न्वारान गरी दिने होइन ? बच्चालाई घरमा ल्याउँ कि शहरमा नै आउनु हुन्छ ?”

“हामीलाई त गंगाले पेट बोकेको नै थाहा थिएन । पहिले नै भन्नु पर्दैन ?”

“आमाले बुहारीलाई घरमै हुल्न दिनु भएको छैन । कसरी थाहा पाउनु हुन्छ ?”

“पख, तिम्रो बाबुलाई बोलाएर ल्याउँछु ।” उसको कुरा सुनेर आमाले भनिन् ।

एकछिनपछि आमाले बाबुलाई बोलाएर ल्यायो । आमाबाबु अगाडि बसेर कुराकानी भयो ।

“हामीले गंगालाई माग्न पठाउँदा गंगाको बाबुले हामीलाई कति हेला गरेको थियो । त्यस्ता घमण्डीको छोरीलाई यो घरमा हुल्न दिन्न । यदि यो घरमा आउने भए कहिल्यै माइती नजाने कबुल गराएर ल्याउनु ।” बाबुचाहिंले भन्यो ।

“कस्तो कुरा गर्नु भएको तपाईंले ? उनको बाबुले दिन्न भने पनि बाबुको नाक काटेर भागेर आएर हाम्रो इज्जत राख्न आएकी बुहारी, आफ्नो आमाबाबु छाडेर हामीकहाँ आएकी बुहारीलाई त्यसरी भन्न मिल्छ ? अब घरमा ल्याएर बच्चाको न्वारान गर्नु प¥यो । अनि त उनको बाबुले नाकले टेकेर हाम्रो छोरालाई ज्वाईं मान्न बाध्य हुन्छ ।”

“तिमीले जेसुकै भने पनि गंगालाई यो घरमा पस्न दिन्न ।” बाबुचाहिंले आफ्नो जिद्दी छाडेन ।

“उसोभए म नै शहरमा गएर बच्चाको न्वारान गरेर आउँछु । अरूको लागि नभए पनि नातिको लागि भए पनि म जान्छु । भरखर जन्मेको बच्चाको कर्मकाण्ड गर्नुपर्छ । त्यो बालकको के दोष ? कहिले न्वारान गर्ने हो मलाई लिन आउनु छोरा ।” आमाले भन्यो ।

“आज चार दिन भयो । कहिले न्वारान गर्नुपर्ला ?” भाईकाजीले भन्यो ।

“हाम्रो चलनअनुसार त चार दिनमा न्वारान गर्नुपर्ने हो । चार दिन त आजै भैसक्यो । अब पर्सि गर्नुपर्ला । पर्सि विहान मलाई लिन आउनु । नुहाइ धुवाई गरी सबै सामान ठिक्क पारी राख्छु ।”आमाचाहिंले भनिन्, “बुहारीको माईतीमा खबर पठायौं ?”

“खबर त पठाईसकें, जवाफ आएको छैन । पर्सि म लिन आउँछु ।” यति भनी भाईकाजी कोठामा फर्कियो ।

भाईकाजीले डेरामा आएर सबैकुरो गंगालाई बतायो । आफ्नो बच्चाको न्वारान गर्न पाउने खबर सुनेर गंगाको मन हर्षीत भयो । उनले एकचोटि बच्चालाई म्वाईं खाइन् ।

पर्सिपल्ट भाईकाजी आफ्नो घर आयो । उसको आमा र सरस्वती भाउजू तयार भएर बसीरहेका छन । एउटा दालो र अर्को हातमा झुण्ड्याउने भाँडा लिएर उसको दुबैजना बाहिर आए । भाइकाजीले लिएर गएको ट्याक्सीमा राखेर शहर लिएर आयो ।

त्यत्रो सानो कोठामा भाइकाजी बसिरहेको देखेर उसको आमाको मन दुख्यो । तैपनि उनले मुखले केही पनि भनिनन् । रितीथिति अनुसार नातीको न्वारान गरिन । टोलमा मिल्नेहरुलाई परसा दभनेर मासु चिउरा ख्वाइन । आपूmहरुले पनि त्यही चिउरा खाए । राँगाको एउटा सिंगो टाउकाको मासु पकाएर ल्याएको छ । घरपतिको पुरै परिवारलाई बोलाएर भोज ख्वाए ।

“यहाँ कहाँ बसेर तेल मालिस गर्ने ?” आमाले गंगासँग सोधिन् ।

“थाहा छैन, ठाउँ नै छैन ।” गंगाले जवाफ दिइन् ।

घर जानेबेला भाईकाजीले आमा भाउजुलाई आफ्नो कारखाना पनि देखाउन लग्यो । छोराको काम राम्रो भएको देखेर आमा खुसी भइन । भाइकाजीले आमा र भाउजुलाई ट्याक्सीमा राखेर नै पु¥याउन आयो ।

“बच्चा साह्रै राम्रो छ, गोरो, तपाईको अनुहारसँग मिल्छ । मलाई त साहै्र माया लाग्यो । पर्सि बुहारीलाई लिन आउँछु भनेर आएको छु ।” घरमा पुग्ने बितिकै आमाले आफ्नो लोग्नेलाई भनिन् ।

“खबरदार, उनीहरुलाई यो घरमा हुल्न पाउँदैनौं ।” बाबुचाहिं गज्र्यो ।

“किन भाइकाजी हाम्रो छोरा होइन र ?”

“कसले होइन भनेको छ  ? उसलाई घरमा पस्न दिन्न भनेको छैन । उसको स्वास्नीलाई पो पस्न दिन्न भनेको ।”

“के कुरा गर्नु भएको तपाईंले ? छोरा मनपर्छ, बुहारी मन पर्दैन भन्ने पनि हुन्छ र ? अब त बुहारी एक्लै रहिनन् । हाम्रो कुल थाम्ने नाती पनि भइसक्यो । त्यहाँ शहरमा डेरा लिइराखेको ठाउँमा तेल मालिस गर्ने ठाउँ पनि छैन । हेर बुढा, सुत्केरीको बेला महिलाहरुलाई राम्ररी स्याहार सुसार पाएन भने जिउ बिग्रिन्छ । अहिले हेला गरें भने जिन्दगीभर तुस राख्छ । हामी सँधै यतिकै बलियो भैरहन्छ र ? त्यसैले पर्सि लिन आउँछु भनेर बुहारीलाई भनेर आइसकें ।”

“भनेर आइसकेको भए तिमी आफै जानु, म त मुख पनि हेर्दिन ।”

“चाहे हेर, नचाहे नहेर, सुत्केरी स्याहार्ने काम तपाईंको पनि त होइननि । तेल घस्नु, बच्चाको स्याहार सुसार गर्नु सुत्केरीलाई समयमा खाना खुवाउनु, सबै हाम्रै जिम्मा त हो नि । जे गर्नु पर्ने हामी गरिहाल्छु ।”

बाबुचाहिं चुप लाग्यो ।


No comments:

Post a Comment