Saturday, October 16, 2021

गुंजिरहेको आवाज — ५

 गुंजिरहेको आवाज — ५ 

अगिल्लो अंकमा नेवाःहरुलाई किन स्वायत राज्य चाहिन्छ भन्ने कुरामा छलफल भएको थियो । वीरवहादुर दाइको घरमा ठूलो झगडा भयो भन्छ, किन झगडा भयो जान्न यो पढनुहोला ।

“के कुरामा झगडा भएको ?”

“ल, तिमीलाई थाहा छैन ? उसको छोरीलाई घर बनाउन जग्गा दियो भनेर नि ।” दुर्गाले सबै बृतान्त सुनायो ।

बीरवहादुरको जग्गा जमिन धेरै छ । उसको कामै खेती काम गर्ने हो । उसको दुई जना छोराहरू र दुई जना छोरीहरू गरेर चार जना बच्चाहरू छन् । जेठो छोरा र जेठी छोरीको एउटै भोजले भ्याउने गरी विवाह गरी दियो । उसको पनि नयाँबजारमा घर बनाउन एक टुक्रा जमिन लिइराखेको थियो । एक टुक्रा जमिन बेचेर नयाँबजारमा घर बनायो । कान्छो छोरालाई पनि विवाह गरीदियो । विवाह भएको केही महिनापछि बुहारीहरूमा खतपत सुरु भयो । कान्छी बुहारीले जेठी बुहारीलाई मान सम्मान गरेन भनेर कचमच सुरु भयो । सासु कान्छी बुहारीको पक्षमा लागिन् । जेठो छोरा पुरानो घरबाट निस्केर नयाँबजारको घरमा बस्न आयो । दाजु भाउजु नयाँ घरमा, आपूm पुरानो घरमा बस्नु प¥यो भनेर कान्छो छोराले कचकच गर्न थाल्यो । ऊ पनि नयाँबजारको घरमा जाँदा दाजुचाहिंले घरमा पस्न दिएन । वीरवहादुरले फेरि एक टुक्रा जग्गा बेचेर नयाँबजारमै अर्को घर बनाई दियो । कान्छो छोरा र सानी छोरी पनि नयाँ घरमा बस्न गइन् । बुढा बुढीमात्र पुरानो घरमा बस्न थाले । छोरा बुहारी र छोरी नयाँघरमा बस्न गए पनि खाना खान पुरानै घरमा आमाबुबासँगै खान्छन् । कान्छी बुहारी सुत्केरी भइन् । सुत्केरी स्याहार्न पुरानै घरमा लगे । सुत्केरी भएको एक महिनापछि कान्छी बुहारी माइति गइन् । माइतीमा एक महिना बसेर आएपछि कान्छी बुहारी नयाँ घरमै बस्न गइन् । बच्चा सानो छ, बच्चा लिएर पुरानो घर र नयाँ घर ओहोर दोहोर गर्दा गा¥हो भयो भनेर कान्छी बुहारी पुरानो घरमा गएन । अनि नयाँघरमै भात पकाएर खान थाल्यो । बुढा बुढीमात्र किन पुरानो घरमा राखी राख्ने भनेर नयाँ घरमै ल्याएर राख्यो ।

उनीहरूको घरमा एक तल्लामा छ वटा कोठा भएको पाँच तल्ले घर थियो । दुई तल्ला आपूmहरूलाई लियो । तिन तल्लाको अठारह वटा कोठा बहालमा दियो । कीर्तिपुरमा घरमात्र बनाउनु पर्छ बहालमा बस्न आउनेहरू थुप्रै छन् । उसको घरमा पनि बहालमा बस्न आयो । धेरैजसो त्रिभुवन विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरू थिए । महिनैपिच्छे अठार वटा कोठाको किराया खुरु खुरु लिन पाउँदा बीरवहादुर मख्ख भयो । उसको छोरी एस.एल.सी. पास भयो । क्याम्पसमा पढ्ने भइन् । उसको छोराले बहिनीलाई कीर्तिपुरमा कलेज छ । कीर्तिपुरमा पढ भन्यो । बहिनीका साथीहरू सबै काठमाडौंको कलेजमा पढ्न जान्छन् । त्यसैले उनी पनि काठमाडौंमै पढ्न जाने भनिन् । हो त नि जहिले पनि गाउँमा मात्र कति पढाई राख्ने ? शहर बजारमा पढ्न पठायो भने अलि चलाख हुन्छ कि भनेर काठमाडौंमै पढ्न पठायो । काठमाडौंमा पढ्न गएदेखिन उनको स्वभाव चंचलतामा परिणत भयो । कलेज गएर घर आउने उनको समयको ठेगान रहेन । कहिले दिउँसो बा¥ह बजे नै घर आउँछिन् । कहिले साँझ चार बजेमात्र आउँछिन् । कहाँ गएर आएको भनेर सोध्यो भने साथीहरूकहाँ गएर आएको भन्छिन् । डेरामा बसिरहेका केटाहरूको कोठा पनि चहार्न थालिन् होम वर्क गर्ने निहुँमा । भीम प्रसाद भन्ने डेरामा बसिरहेका बाहुन केटासँग उसको प्रेम भयो । यो कुरा थाहा पाएर दाजुचाहिंले गाली ग¥यो । छोरीलाई गाली ग¥यो भनेर आमाबाबु कराउन आए । दाजुचाहिंले भीम प्रसादलाई घरबाट निकाली दियो । अनि त उनीहरू भेट्न झन सजिलो भयो । घरबाट थाहा नपाउने गरी यता उता घुम्न जान थाल्यो । कहाँ गएर आएको भनेर सोध्यो भने साथीहरूसँग घुमेर आएको भन्थी । पछि हुँदा साथीहरूसँग घुम्न गएको भनेर दुई तीन रात घरबाट गायब पनि हुन थाली । दाजुले केही भन्नु हुँदैन । आमा बाबु झगडा गर्न आउँछन् । आई.ए.को परीक्षा सकिए पछि उनी उही भिमप्रसादसँग भागिन । उनलाई घरमा पस्न दिइएन । आमाचाहिंलाई छोरी घरमा हुल्न दिने मन छ । तर बाबु र दाइचाहिंले मन पराएका छैनन् । भीम प्रसादको कमाई छैन । आमाचाहिंले नै खर्च दिएर सहयोग गरिरहिन् ।

प्रेम विवाह गरेको एक वर्ष नपुग्दै सरिताले छोरा जन्माइन् । लोग्नेको घरमा जान्छु भने पनि लोग्नेले उनलाई कहिल्यै घर लगेन । लोग्ने भीमप्रसादले एम.बी.एस पास ग¥यो । अनि मात्र पहिले आमाबुबासँग कुरा गरेर आउँछु भनेर आफ्नो गाउँ गयो । ताप्लेजुङको एउटा गाउँको मान्छे, सदरमुकामबाट दुई दिन हिंड्नु पर्ने, सरिता बच्चा बोकेर हिंड्न सक्दैन भनेर उनलाई लगेन । 

भीमप्रसाद घर जान्छु भनेर गएको धेरै दिन भइसक्यो तैपनि फोन एकचोटि गरेको होइन । टावर नभएको ठाउँमा प¥यो होला भनेर चुप लागिन् । धेरै दिनसम्म पनि न त लोग्ने काठमाडौं आयो न त एकचोटि फोन ग¥यो । एकदिन सरिताले फोन गरिन् । फोनको घण्टी बज्यो । महिलाले फोन उठाइन् । फोनमा कुरा भयो । फोन उठाउने महिला त भीम प्रसादको जेठी स्वास्नी रहिछिन् । काठमाडौं आउनु अघि नै विवाह गरेर दुई जना बच्चाहरू पनि रहेको थाहा पाइन । दिन बित्दै गइरह्यो । भीमप्रसाद आएकै होइन । अब त सरिताले फोन गर्दा जहिले पनि स्वीच अफ भन्छ । सरितालाई के गरूँ, कसो गरूँ भयो । लोग्ने कहाँ छ, केही थाहा छैन । उनले कोठाको किरिया पनि तिर्न सकेन । डेराको घरपतिले भाडा दिने भए देउ नभए निस्कि जाउ भनेर केही पनि सामान नदिइकन कोठाबाट निकालेर ताला ठोकी दियो । कहाँ जाने ? कहिं जाने ठाउँ छैन । अब माइत नै जानु प¥यो बुबा दाजुले जेसुकै भनोस भनेर उनी माइती गइन् ।

उनी आमाको अगाडि धुरू धुरू रोइन । छोरीले आमाको अगाडि आफ्नो व्यथा सबै बृतान्त सुनाइन् । छोरीको कुरा सुनेर आमा रोइन् । उनले छोरीलाई घरमा हुल्न दिइन् । सरिताको बाबु र कान्छो दाइले पनि केही भनेन । अज्ञानी भएर जवानीको जोसमा होस भएन । अहिले दुःख भयो । सरिताको छोरा भने मामा र हजुरबा हजुरआमासँग घुलमिल हुन थाल्यो । उनको आमाबुबालाई सरिता र उनको बच्चाको भविष्यको चिन्ता भयो । आपूmहरू छँदासम्म पो माइतीमा बस्न पाइन्छ । पछि त दाजु भाउजुले घरबाट निकाल्न पनि सकिन्छ । त्यसैले एउटा घर बनाई दिनुप¥यो भनेर एक टुक्रा जमिन बेचेर सरिताको नाममा घर बनाई दियो । सरिताको नाममै जग्गा पास गरीसकेको कान्छो छोराले थाहा पाए पछि घरमा झगडा भयो ।

“यस्तै होला भनेर मैले पहिले नै गाली गर्दा मेरो छोरी त्यसरी हिंड्दैन भनेर मसँग झगडा गर्न आउनु भएको होइन ? दाइले गाली गर्दा दाइसँग झगडा गरेर घर छाडेर जानुभयो ।” कान्छो छोराले बाबुलाई भन्यो, “यदि उनी कहिं नगइकन बसिरहेकी भए हामी सरह नै अंशभाग दिनु परे पनि दिन्थें । कहाँका न कहाँका न घरको ठेगान छ न त आमाबुबाको ठेगान छ त्यस्ता केटाहरूलाई नाठो बनाएर भागेर जानेलाई घर खेत भाग पाइन्छ  ?”

“उनी पनि त हाम्रा सन्तान हुन् । उनलाई दुःख पर्दा अलि सहयोग गर्दा तिमी किन कराएको ?” बीरबहादुरले भन्यो ।

“उसोभए उनीसँगै बस्न जानु, हामीसँग नबस्नु ।” भनेर आमाबाबुलाई छोराले घरबाट निकाली दियो ।

“अब उनीहरू छुटिसक्यो । नयाँ घरमा छोरा बस्यो, पुरानो घरमा छोरीसँग आमाबाबु बस्न गयो । अंशभाग ग¥यो भने आमाबुबालाई पनि हिस्सा दिनुपर्ला भनेर खेत बेच्न नहुने गरी छोराचाहिंले मालपोतमा गएर रोक्का राखी दियो । छोरीले गर्दा आमाबुबा छोरासँग छुट्टिएर बस्नु प¥यो ।”

“यो बीरबहादुर दाइको घरको मात्र समस्या होइन । हामी कीर्तिपुरेहरूको साझा समस्याको रूपमा आइरहेको छ । हाम्रा छोरीहरू लेख पढ गरेपछि शौखिन भएर आयो । उनीहरूलाई हाम्रो सामाजिक परम्परामा बस्न मन लाग्दैन । उनीहरूको शिक्षाबाट नै उनीहरूलाई एक्लै बस्न प्रेरित गर्न थालेको छ । आजकलका चेलीहरू सासु ससुरासँग बस्न मन पराउँदैन । बाहिरबाट आएकाहरूसँग विवाह ग¥यो भने आपूmखुसी हिंड्न पाइने । घर परिवारको डर नहुने । त्यसैले उनीहरूले बाहिर जिल्लाबाट आएका केटाहरू नै रोज्न थाले । उनीहरूसँग बाहिर जहाँ जसरी चले पनि चासो लिने कोही हुँदैन । आमाबाबुले केही भने कलेजका साथी भन्थे । बाहिरबाट आएका केटाहरूले पनि घरपतिको छोरीहरू नै ताक्ने भए । उनीहरूको मिठो गुलियो कुरामा हाम्रा चेलीहरू फस्छन् । विवाह पछि छोरीको दुःख हेर्न नसकेर आमाबुबाले एक टुक्रा भए पनि जग्गा दिनै प¥यो । त्यसैले त कति चेलीहरूले बाहिरका मानिसहरूसँग विवाह गरिसकेका छन् ।”

“त्यसैले त कीर्तिपुरेको छोरी विवाह ग¥यो भने चार आना जग्गा पाइन्छ भनेर उनीहरू बीच भोर नै भइसक्यो ।”

“बाहिर जिल्लाबाट आउने चाहे केटीहरू होस या केटाहरू होस । उनीहरू काठमाडौंमा पसेपछि फर्कन मन गर्दैन । यहाँ बस्नको लागि उनीहरू जे पनि गर्न तयार हुने । केटाहरूले हाम्रा चेलीहरूलाई फकाउन खोज्ने, केटीहरूले हाम्रा छोराहरूलाई फसाउन खोज्ने । कतिजनाको क्षेत्री, बाहुनी बुहारी भइसक्यो । हामीले जातपातको परवाह गर्न छाडिसकें । पहिले त नाकमा फुली लगाएका बुहारीलाई कुलदेवता छुन नदिने, गुथिमा हुल्न दिंदैन । अब त्यस्तो केही रहेन । जो ल्याए पनि हुने भयो, जोसँग गए पनि हुने भयो ।”

“हाम्रा चेलीहरूलाई गाउँमा लगेपछि यहाँ फर्केर आउँदैन । कहाँ लगेको कहाँ लगेको गर्छ । कोही एकचोटि गाउँमा गएर आएपछि जिन्दगीमा कहिल्यै गाउँ जान्छु भन्दैन । गाउँमा दुःख भोगेर आएपछि बल्ल उनीहरूको बुद्धि आउँछ ।”

यसरी कुरा गर्दागर्दै आधादिन बित्यो । खाजा खाने बेला भयो । गंगाले भाईकाजीलाई फोन गरेर ल्यायो । अनि बल्ल भाइकाजी घर आयो । गंगाले पर्खिरहेकी थिइन् । छ्वय्ला, साधेको लसुन, भटमास, बनाईराखेका छन् ।  गंगाले भाइकाजीलाई खाजा खुवाइन ।

“आजको छ्वय्ला भू यही भयो होइन त ?” भाइकाजीले भन्यो ।

“जे भने पनि हुन्छ, आखिर हाम्रो को छ र ? छोरा बुहारी र हामी दुईजना त हो नि । अहिले हामी छ्वय्ला भू मनाउँला भरे छोरा बुहारी आएपछि उनीहरू पनि छ्वय्ला भू मनाउँछन् ।”

“पहिले दाजुभाइ सबै संगै हुँदा छ्वय्ला भू मनाउँदा कति रमाइलो हुन्थ्यो । अब त केही न केही ।”

“पहिले एक टुक्रा मासु खान दशैंबाट तिहार आउनु पथ्र्यो । तिहारपछि जात्रा आउनु पर्छ । अब चाहेको बेला मासु किनेर खान पाइन्छ । अनि के छ्वय्ला भू, के सिकाभू केही मतलब रहेन ।” 

खाजा खान सकिएपछि गंगा जुठो भाडा लिएर गइन् । कोठामा भाइकाजी एक्लै भयो । उसको मनमा कुरा खेल्यो । उसलाई पहिलेको कुरा सम्झना भयो ।


No comments:

Post a Comment