Monday, August 5, 2019

आफ्नो हात जगन्नाथ

आफ्नो हात जगन्नाथ


—माधव पौडेल

  देशका मुख्य दल तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी मिलेर चुनाव लडेपछि मानिसहरुमा आशा थियो, अब त राजनितिले गति लिन्छ कि ? तर बर्षौ बितिसक्दा पनि आफ्नै पार्टीभित्रमा भागवण्डा मिलाउन नसकेर विचल्ली भईरहेको छ देशमा सुधार गर्ने त परको कुरा । पार्टीमा रहेका दुईजना अध्यक्षले कस्लाई फकाउने माधब नेपाल फकायो रामबहादुर थापा बादल रिसाउने डर ? रामबहादुर फकायो नारायणकाजीले धेरै भाग खोज्ने डर ? वामदेव गौतम फकायो तपाईले वाचा गर्नुहुन्छ मात्र कहिल्यै पुरा गर्नुहुन्न भन्छन् भन्दाको डर, डरै डरले कुन पद कस्लाई दिने कस्लाई दिदा आफुलाई फाईदा हेर्दा हेर्दै पार्टीलाई अपुरणिय क्षति पुगेको नेकपामा न त केपि ओलिले विचार गर्नुभएको छ न त पुष्पकमलले नै । नेपाली कांग्रेसको त कुरा गर्नै परेन जन्मदादेखि लागेको यो रोग ज्युँका त्युँ नै छ । भातृ संगठन तथा विभागहरु गठन गर्न नसकेर सोझो अर्थमा भागवण्डा मिलाउन नसकेर भएको तानातान दुनियाँले देखिरहेको छ, त्यो हिजो महामानव विपि पार्टी सभापति हुँदा पनि थियो आज शेरबहादुर सभापति हुँदा पनि रहिरहेको छ । कस्लाई संगठन र विभागको जिम्मेवारी दिए आफ्नो पल्ला भारि बनाउन सकिन्छ भन्ने सोच्दा सोच्दै पार्टीको कन्तविजोग भईरहेको छ । बिपिको बिचार बोक्ने पार्टीका कार्यकर्ताहरु आज नेताको मुख ताकेर बस्नुभएको छ त्यो मुख तकाई.... झर्ला र खाँउला होला जस्तो भएको छ ।

जब पार्टीमा यस्तो भागवण्डाको खिचातानी छ भने तिनै पार्टीबाट जनप्रतिनिधि बन्नुभएका मन्त्री , सांसद, नगरप्रमुख, गाउपालिका अध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुमा त्यो गुण नहुने त कुरै भएन । चुनाव अगाडिसम्म दुई खुट्टा टेकेर उभिएको मानिस देखेपछि नमस्कार गर्ने नेतागणहरु जनप्रतिनिधि बनेपश्चात मनमौजी बन्नुुभएको छ । पाँच बर्ष चुनिएपछि म नै हुँ सर्वेसर्वा भन्ने वहाँहरुमा दम्भ देखिएको छ । जुनसुकै पार्टीको उमेदवार भए पनि विजयी भएपश्चात जनताको मान्छे हौ र हामी सबै जनप्रतिनिधि समान हौ भनेर एक अर्कामा कमैले मात्र समन्वय गरेको देख्न पाईन्छ । सोझो अर्थमा बुझ्दा जनप्रतिनिधि बन्ने भनेको देशको विकासको लागि, जनताको सेवाको लागि भन्ने बुझिन्छ नेपालको संविधानमा पनि जनप्रतिनिधिले गर्नुपर्ने काम कर्तव्य र अधिकारको व्याख्या गरिएको छ तर त्यो बाटोमा हिड्नुभएको छ त हाम्रा तमाम जनप्रतिनिधिहरु ? मुस्किलले केहि हुनुहुन्छ होला भन्नुपर्ने अवस्था सिर्जना भईरहेको छ ।

हुन त यो केन्द्रदेखि सल्किएको रोग हो, यो हिजो पनि थियो आज पनि छ र भोलि पनि रहला तर पनि आफ्ना कार्यकर्ता र आसेपासेको मात्र कुरा सुन्ने, आसेपासेलाई मात्र जनता देख्ने प्रवृतिले कहाँ लैजाला देशलाई ? कसरी होला जनताले चाहेको चाहना पुरा ?

बाटोघाटो, पुल पुलेसा, खानेपानी, चौतारा, भवन बनाउनु परे पनि आफ्नै कार्यकर्तालाई ठेक्कापट्टा दिनुपर्ने, कमैमात्र पदमा खुल्ला प्रतिष्पर्धाबाट छनौट गरिन्छ होला तर सबै पदहरुमा आफ्ना कार्यकर्ता भर्नुपर्ने, जस्को शक्ति उस्को भक्ति भने झैं के सबैकुरा पार्टीमा लागेकालाई मात्र दिने ? आफ्नाको लागि मात्र हो ति पदहरु ? आफ्नो पार्टीको मान्छे , आफ्ना कार्यकर्तालाई मात्र दिईनुपर्छ ति विभिन्न संघसंस्थाका पदहरु ? कांग्रेसका जनप्रतिनिधिहरु भएको ठाँउमा कांग्रेसमा मान्छेहरु मात्र योग्य हुने ? कम्युनिष्टका जनप्रतिनिधिहरु भएको ठाँउमा कम्युनिष्टका मान्छेहरु मात्र योग्य हुने ? ति महाशयहरुभन्दा योग्य भेटिदैन कि खोज्ने चाहना छैन जनप्रतिनिधिहरुमा ? खुल्ला प्रतिष्पर्धा गराउन सकिदैन र ?

  देशभर नै बाटो खन्नको लागि होस् वा ग्रावेल गर्नको लागि होस् या त पिचै गराउनको लागि होस्  केन्द्रबाट रकम परेको छ भने केन्द्रकै पावर चाहिने, प्रदेशबाट रकम परेको हो भने प्रदेशकै पावर, स्थानिय निकायबाट रकम परेको हो भने स्थानिय जनप्रतिनिधि हरुको नै पावर ? जनताले के को लागि बनाएको वहाँहरुलाई जनप्रतिनिधि ? जटिल प्रश्न आममानिसको मथिंगलमा घुमिरहेको छ । यो प्रश्नले त्यति स्थान पाउने थिएन यदि कार्यहरु राम्रा भईदिएका भए, ठिकै छ जस्ले खाए पनि खान्थ्यो आफ्नै मान्छेलाई दिए त के भो जस्को हातमा डाडु पन्यु उसैले त बाड्छ हामीले रिस गरेर के गर्ने ?

अलिकति आरिस मिश्रित प्रतिक्रिया भेटिन्थ्यो होला तर यहाँ त डामाडोल छ , पावर लगाएर हात पारेका योजनाहरु कुनै पनि सफल भएकै छैनन्, बनाएका पुल कतै भत्केका छन्, कतै चर्केका छन् , कतै सडक पिच गरेको केहि समयमा नै भ्वांग परेको छ, मलाई कस्ले के गर्न सक्छ र म त फलानो को मान्छे भनेर धमाधम झरिमा पिच पनि गरिएकै छन्, नमुना भनिएका पिचहरु बेलैमा उप्किएका पनि छन्, कतै बनाएका नाली बाढीले बगाएका छन् ।

कार्यकर्ता भर्ति गरिएका त्रिभुवन विश्वविद्यालयमा नम्बर घटाउने बढाउने कारोवार हुन्छ , सगै स्थापना भएका अन्य देशका एयरलायन्सहरु कस्तो आर्थिक अवस्थामा पुगे हाम्रा संस्थानहरु कार्यकर्ता भर्ति गरेको ऋण तिर्न ऋण लिनुपर्ने अवस्थामा पुगेका छन् । हाम्रो नभनिकन राम्रो रोज्न र खोज्न नसक्नुको परिणाम त होला यो नियति जस्को मुल्य देशले चुकाईरहेको छ थाहा छैन अझै कति चुकाईरहनेछ ?

आफ्ना पार्टीका कार्यकर्ताको पृक्षपोषण गर्नु एउटा नेताको कर्तव्य हो तर जनप्रतिनिधि भईसकेपछि वहाँ आफ्नो कार्यकर्ताको मात्र हैन समग्र मतदाताको प्रतिनिधि बन्न सकेको देखिदैन, आफ्ना समुहका कार्यकर्ता देखे गाडी रोकेर अंगालो नै हाल्ने, आफ्ना समुहका, आफ्नो पार्टीप्रति समर्थन गर्ने पत्रकार देखे भगवाने नै मान्ने संस्कार र प्रवृत्तिले पक्कै त पक्कै पनि सामाजिक व्यक्तिलाई हित गर्दैन कि ?

धनदेखेपछि महादेवको पनि त्रिनेत्र भने झैं आफ्नो अधिकारक्षेत्रमा भएको बजेट कसरी आफ्ना कार्यकर्ता भएको ठाँउमा मात्र बढि पु¥याउने ? त्योकाम कसरी आफ्ना कार्यकर्ताले मात्र गर्न पाँउने कसरी वातावरण मिलाउने ? दिनरात त्यति मात्र सोच्दा राजनितीक छवि कसरी धुमिल हुन नसक्ला ? त्यस्तै प्रवृत्तिले त होला अघिल्लोे चुनावमा अत्याधिक मतका साथ विजयी हुनुभएका धेरै महानुभावहरु पछिल्लो चुनावमा पानी पिउन नसक्ने हुनुभएको ? विगतलाई पनि सम्झिने कि ? हिजो जुम्ल्याहा हात जोडेर मत मागेको पनि सम्झने कि ? जनप्रतिनिधि महाशयहरु । एकपटकको जाडो कट्दैमा जिन्दगी सकिदैन फेरि आउछ चुनाव त्यो चुनावमा मैले सबैलाई समान व्यवहार गरे भनेर छातिमा हात राखेर  गर्वले छाति फुलाएर हिड्ने कि एय यो त फलानोको घर हो नि बजेट माग्न आउदा दिएको थिईन नजाउ त्यता उस्ले देखे गाली गर्ला भन्ने सोचेर हिड्ने ?

No comments:

Post a Comment