Saturday, March 11, 2017

‘स्ववियुको विघटन किन हुँदैन ?

‘स्ववियुको विघटन किन हुँदैन ?



—प्रा.डा.चन्द्रमान बज्राचार्य

       एकचोटि विद्यार्थीहरूबीचको कुराकानीमा एकजना विद्यार्थीले सोधे —“यो स्ववियुको के काम ? बन्द गरौं यसलाई ।”

       यो कुराले मेरो मगजमा खूबसँग हान्यो । खूव सोच्न थालेँ । हो जस्तो लाग्यो । पछि यसबारे अन्य विद्यार्थीहरूको पनि विचार लिन थालेँ र सोध्न थालेँ— यो स्ववियुको के काम ? बन्द गरे हुँदैन यसलाई ?
उनले प्रतिप्रश्न गरे— “सरहरू पहिले किन स्ववियुमा लाग्नुभयो पहिले यसको जवाफ दिनुस् ।”

पछि उनले भने— विद्यार्थीहरूको हकहितको लागि स्ववियुको आवश्यकता पर्दछ ।

अनि मैले सोचेँ— के त त्यसो भए अहिले विद्यार्थीहरूको हकहित छैन त क्याम्पसमा ? मैले सुनिरहेको छु— स्ववियुका विद्यार्थीहरूबाट त्रस्त भएर क्याम्पस प्रमुख थर्कमान हुन्छन्, घरमा बसेर क्याम्पस प्रशासन चलाइरहेका हुन्छन् । यसरी विद्यार्थीहरूको प्रभुत्व रहेको छ क्याम्पसमा । तैपनि विद्यार्थीहरूले हकहितको
कुरा गर्दा अचम्मित हुन पुग्छु ।

      सिद्धान्ततः क्याम्पसहरूमा विद्यार्थीहरूको स्ववियु हुँदा सकारात्मक वातावरण नै तयार हुन्छ । क्याम्पसमा शैक्षिक वातावरण राम्रो पार्न स्ववियुले सकारात्मक भूमिका खेल्दछ । नेपालमा स्ववियुको आवश्यकता त्यस बखत थियो जुन बखत पञ्चायती व्यवस्थाले नेपाली जनताका सबैखाले हक अधिकारहरूमाथि निरंकुशता लादिएको थियो । हो त्यतिखेर निरंकुश तानाशाही व्यवस्थाको विरोध विद्यार्थीहरूले मात्र गर्न सक्दथ्यो र त्यो पनि विद्यार्थीबीचमा नै एकता भएमा मात्र । त्यो एकताको सूत्र भनेको स्ववियु नै थियो । त्यो स्ववियु तानाशाही पञ्चायती व्यवस्थाको विरूद्धका बहुदलीय राजनैतिक पार्टीहरूका संघर्षको आवाज बुलन्द गर्ने सशक्त माध्यम थियो । नेपालको इतिहासमा यो एक युग थियो । तर अहिले त्यो युग समाप्त भइसकेको छ (२०४६ देखि त पञ्चायती व्यवस्थाको निरंकुशता थिएन । वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता त प्रशस्तै पाइन्छन्, अब के को लागि र कसको विरुद्ध स्ववियु चाहियो ? सुनिन्छ काठमाडौं विश्वविद्यालयमा स्ववियु नहुँदाको स्थितिमा शिक्षामा गुणस्तर वृद्धि थियो तर स्ववियुको व्यवस्था भएपछि पहिलेको शैक्षिक गुणस्तरमा ह्रास आएको छ । यसबारे पनि हाम्रो ध्यान जानु नितान्त आवश्यक छ ।
विद्यार्थीहरूको हकहित भनेको उनीहरूले गुणात्मक शिक्षा प्राप्तिको अधिकार हो । समय–समयमा कक्षा हुनुपर्छ, परीक्षा हुनुपर्छ, परीक्षाको नतिजा समयमै प्रकाशित हुनुपर्दछ,  परीक्षामा उत्तीर्ण भइसकेपछि सो अनुसारको काम पाउनुपर्छ । तर पहिलेभैंm व्यवस्थाकै विरोध त गर्नुपर्ने अवस्था त छैन अहिले । अनि स्ववियुको स्थापनाकालको उद्देश्यअनुरूपको औचित्य पनि अहिलेको स्ववियुमा देखिँदैन । अब विद्यार्थीहरूले पञ्चायती व्यवस्थाको विरोध होइन, एक राजनैतिक पार्टीले अर्को राजनैतिक पार्टीको विरोध गर्नको लागि स्ववियु चाहिएको हो ?

      एकजना विद्यार्थीले भने —स्ववियुमा लाखौंको भ्रष्टाचार हुन्छन् । भ्रष्टाचारको अखडा नै स्ववियु भने हुन्छ । त्यसैले स्ववियुमा पद बहाली गरिसकेका विद्यार्थी नेताहरू पल्किसकेको हुनाले आफ्नो ठाउँ छोड्न हतपति चाहँदैनन् । तसर्थ नै एउटा प्रश्न मनमा आइरहन्छ —आखिर स्ववियु किन चाहिन्छ ? के छ यसको महत्व ?
एकजना महान् व्यक्तिले भनेका छन्— पोखरीको महत्व त्यत्तिखेर खट्किन्छ जतिखेर पोखरीमा पानी सुक्छ । अवश्य पनि यो कुरा स्ववियुमाथि पनि लागु हुन्छ । के स्ववियु नहुँदा पनि स्ववियुको महत्व खट्किन्छ ? के स्ववियु नहुँदा क्याम्पसमा व्यवस्थित ढङ्गले कक्षाहरू सञ्चालन हुँदैनन् वा लथालिङ्ग हुन्छन् अथवा स्ववियु नहुँदा क्याम्पस प्रशासनले राम्रो गति पो नलिने हो कि ? बन्द हडताल मुक्तको क्याम्पस हुँदा क्याम्पसमा पढ्छु नै भन्ने मनस्थिति बोकेर आएका विद्यार्थीहरूलाई हाइसन्चो पो हुने हो कि ? आखिर विद्यार्थीहरूलाई हकहित चाहिने हो त्यो हक अधिकार उपलब्ध गराउनु राज्यको एक प्रमुख कर्तव्य हो । राज्यले पर्याप्त मात्रामा हक अधिकार उपलब्ध गराएर क्याम्पसको वातावरणमा थप आकर्षण गर्न सकेमा किन चाहियो स्ववियु ?
स्ववियु चुनाव नजिकिँदै छ, त्यसको लागि विश्वविद्यालय आवश्यक  तयारीमा जुटिसकेको छ । स्ववियु चुनावको लागि एउटा क्याम्पसमा घटीमा ५ लाख खर्च हुने अनुमान भएकोले राज्यभरिका सम्पूर्ण क्याम्पसहरूमा चुनाव सम्पन्न गर्न करोडौंको खर्च हुन्छ । चुनाव प्रचारप्रसारमा विद्यार्थीहरूको कति खर्च हुन्छ त्यो छुट्टै छ । चुनाव अवधिभर कैयन् कक्षा बन्द हुन्छन्, यो भनेको समयको बर्वादी हो । ठूलाठूला सिद्धान्तहरूको कुरा गर्ने भविष्यमा देशका नेता हुने यी विद्यार्थीहरूबीच कुटाकुट हुन्छन्, क्याम्पस तोडफोड हुन्छन् । यसरी चारैतर्पm देशको लागि घाटा नै घाटा भए पनि स्ववियु चाहिन्छ नै, स्ववियु चुनाव हुनैपर्ने ? अनि हातलाग्यो  कति ? यस्ता देशघाटी स्ववियुको विघटन किन हुँदैन ? के नेपालमा सिद्धान्तअनुसारको काम स्ववियुबाट भइरहेको पाइन्छ ? बेरोजगार उत्पादन गर्ने अहिलेको यो शिक्षा व्यवस्था विरूद्ध वैज्ञानिक शिक्षा प्रणाली लागु गर्नुपर्ने विषयमा स्ववियुका विद्यार्थीहरूको कुनै सशक्त पहलकदमी भएको दृष्टान्त पाइन्छ ? दैनिक रूपमा आफ्नो देशको भूमिमाथि अतिक्रमण भइरहेको छ त्यसको सशक्त विरोध स्ववियुका विद्यार्थीहरूबाट भएको छ ?

    आज देश अराजकतापूर्ण अवस्थामा छ आखिर किन ? यो प्रश्न सीधै राजनैतिक नेताहरूसित तेर्सिन्छ । राजनैतिक पार्टीका लागि भातृ संगठनहरूको अनिवार्य आवश्यकता पर्दछ । स्ववियु भनेको ती नै राजनैतिक पार्टीहरूका एक प्रमुख हतियार हो । तसर्थ यो स्ववियु भनेको विद्यार्थीहरूको हकहितको लागि भने पनि मूलतः राजनैतिक पार्टीका नेताहरूको लागिको स्ववियु भएको छ । तसर्थ क्याम्पसमा स्ववियु नभएमा अन्य विद्यार्थीहरूलाई हाइसन्चो भए पनि राजनैतिक पार्टीका नेताहरूलाई भने टाउको दुखाइको विषय हुन्छ ।
राष्ट्रिय नेताहरूले यो देशमा जे चाहिरहेको हुन्छ त्यसैअनुसार यहाँ भइरहन्छ । कागजमा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न भने पनि खासमा यहाँ नेपाली जनताको अवस्था भने पशुसरहको छ । यो देश राजनैतिक पार्टीका नेता र त्यसका वरिपरि घुमिरहने कार्यकर्ताहरूको मनपरि गर्ने थलो भइरहेको छ । विद्यार्थीहरूलाई अहित हुने, राष्ट्रलाई अहित हुने यस्तो स्ववियुको औचित्यहीन भइसक्दा पनि फेरि स्ववियुकै लागि चुनावको तैयारीमा जुट्नुपर्ने बाध्यता किन र कसरी आइप¥यो ? यस्ताखाले गतिविधिहरूबाट विद्यार्थी नेताहरूलाई भोलि राष्ट्रिय नेता हुने अवसर त पाइन्छ होला, तर समग्रमा देशकै लागि घाटा भने निश्चित नै छ । एउटा क्याम्पसले खर्च गर्ने ५ लाख रकम क्याम्पसकै विद्यार्थीको हितको लागि खर्च गरेमा क्याम्पसको वातावरण कति व्यवस्थित हुन्थ्यो होला के हामीले यस विषयमा विचार्नु पर्दैन ?

      राष्ट्रिय राजनीतिको मूलधार राष्ट्रिय हितको पक्षमा नभएसम्म क्याम्पसको वातावरणमा पनि कुनै
राम्रो परिवर्तन आउने छैन । स्ववियुको चुनावबाट मात्र क्याम्पस राम्रो हुने भए, देशको शिक्षा व्यवस्था राम्रो हुने भए कुनै पनि क्याम्पसले अहिलेको जस्तो दुर्दशा भोगिरहनुपर्ने हुँदैन । राष्ट्रिय राजनीति राम्रो पार्ने काम राष्ट्रिय नेताहरूको हो । देशलाई उँभो लगाउने वा गिराउने अन्तिम हात उनीहरूमै निहित छ । तर पनि स्ववियुमा लाग्ने र लड्ने विद्यार्थी नेताहरूलाई यत्ति कुरा भन्नै पर्ने हुन्छ— नेताहरूको घृणित स्वार्थको पछि लागेर देशको धन, श्रम र समय बेकारमा खर्चिने कामबाट सचेत र सर्तक हुनुपर्छ । कागले कान लग्यो भन्दैमा कागपछि लाग्ने होइन, न त कानै पो छाम्ने हो । कागले हाम्रो कान लाने त के, कल्पनासम्म पनि गर्न सक्दैन भने नेताहरूको लहलहैमा मात्र एकआपसमा कुटाकुट मारामार किन गर्ने ? आखिर सम्पूर्ण विद्यार्थीहरूको समस्याको प्रकृति एउटै न हो ?

    राष्ट्रभित्रको विभिन्न खाले चुनावहरूको लागि यथेष्ट रकम खर्च गर्न सक्ने तर गरीब नेपाली जनताको आधारभूत आवश्यकता एक इन्च पनि पूरा गर्न नसक्ने अवस्था भएमा गरीब नेपाली जनताको लागि यस्ता चुनाव व्यवस्था गर्ने नेताहरूलाई जनताले कसरी आफ्नो नेता भनेर स्वीकार्न सक्छन् ? के नेताहरूले विद्यार्थीहरूलाई आवश्यक सम्पूर्ण व्यवस्था मिलाई क्याम्पसभित्र स्वच्छ र पवित्र स्ववियुको वातावरणको सिर्जना गर्नेतर्पm चिन्तनशील भइ पाइला चाल्नुपर्ने होइन र ? नयाँ नेपालको निर्माण गर्नेहरूले पुराना जीर्ण व्यवस्थालाई पहिला फाल्न सक्नुपर्दछ, फाल्ने आँट गर्नुपर्छ, त्यो भन्दा पहिले चिन्तनको विकास जरूरी छ । अन्यथा बोलिमा नयाँ नेपाल भए पनि यथार्थमा त्यही पुरानै नेपालमा भासिरहने कुरामा कुनै दुविधा छैन ।

No comments:

Post a Comment