Monday, December 19, 2016

पुस्तक विमोचनका साथै ज्यापु महागुथि किपूको शुभकामना कार्यक्रम

पुस्तक विमोचनका साथै ज्यापु महागुथि किपूको शुभकामना कार्यक्रम




ज्यापु महागुथि किपू नगरसमितिले हरेक वर्ष नेपाल सम्वतको नयाँबर्ष र न्हय्गां जात्राको अवसरमा शुभकामना आदान प्रदान गर्ने परम्परा रहिआएको छ । यही परम्परालाई कायम गर्दै ज्यापु महागुथि किपू नगरसमितिले गत मंसिर १८ गते कृष्ण क्याटरिंग नयाँबजारमा शुभकामना आदान प्रदानको कार्यक्रम सम्पन्न गरेको छ । तर यसपाली शुभकामनाको आदान प्रदान मात्र भएन महागुथिका आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पुस्तक विमोचनको कार्यक्रम पनि सम्पन्न गरियो ।

उक्त कार्यक्रमको सभापतित्व ज्यापु महागुथि किपू नगरसमितिका अध्यक्ष नजरराम महर्जनले गर्नु भएको थियो । महागुथिका सहसचिव रामभोला महर्जनले संचालन गर्नु भएको उक्त कार्यक्रममा कोही प्रमुख अतिथि नभैकन सबै पाहुनाहरुलाई सम्मानका साथ मन्चमा राखिएका थिए ।

अतिथिहरुमा ज्यापु महागुथिका केन्द्रीय अध्यक्ष लोककवि राज भाई जकःमि, त्रि.वि.नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्रा.डा. चन्द्रमान बज्राचार्य, सांस्कृतिक बाजं गुरु गोविन्द महर्जन र लेखिका दीपा महर्जन रहनु भएको थियो । कुनै दियो बालेर उद्घाटन गरेको थिएन । दीपा महर्जनद्वारा लिखित “पाँगाया बिष्णुदेवी–बाल कुमारी जात्रा” पुस्तकको संयुक्त रुपमा विमोचन गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।

ज्यापु महागुथि किपू नगरसमितिका उपाध्यक्ष रमेश कुमार महर्जनले स्वागत मन्तव्य दिनु भएको थियो । मन्तव्यको क्रममा उहाँले ज्यापु महागुथिका सदस्यहरुमा एक आपसमा सुख दुःखका कुरा गर्ने र महागुथिको काम कारवाहीको बारेमा सरसल्लाह गर्ने एउटा मेसो हो भन्नुभयो ।

पुस्तक विमोचन पछि मन्तव्य राख्ने क्रममा बाजं गुरु ज्येष्ठ नागरिक गोविन्द महर्जनले हामी संस्कृतिका बाजा गाजा र जात्रा पर्वको धनी छौं । तर त्यस्को कुनै लिखित छैन । यस पुस्तकले त्यो खाँचो केही मात्रामा पुर्ति गरेको बताउनु भयो । त्यस्तै हामीकहाँ बजाउने बाजाहरुको गुरु र बोलको पनि लिखित दस्तावेज राख्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्रा.डा.चन्द्रमान बज्राचार्यले दीपा महर्जनले स्नाकोत्तरमा थेसिसको रुपमा प्रस्तुत गरेको थेसिसलाई पुस्तकको रुपमा प्रकाशित हुनु साह्रै राम्रो हो । यस पुस्तकमा लेखिकाले दुई वर्ष मेहेनत गरेर तयार पारेको बताउनु हुँदै दीपा महर्जन ने.सं.११३५ ब्याचमा प्रथम हुनु भएको थियो । स्नाकोत्तर पास भएपछि उहाँ अहिले पाटन क्याम्पसमा अध्यापन पनि गरिरहनु भएको बताउनु भयो ।

ज्यापु महागुथिका केन्द्रीय अध्यक्ष लोककवि राजभाई जकःमिले आफ्नो मन्तव्य दिने क्रममा ज्यापु जाति सांस्कृतिका धनी जाती हुन । ज्यापु भनेको खर्पन बोक्ने र खेती काम गर्ने मात्र होइन । हिजो शिक्षामा पछाडि परेका हामी अहिले केही मात्रामा शिक्षित भएका छौं । अब ज्यापुहरु पनि पढेलेखेर विद्वान भइसकेका छन । यस्तो पुस्तक प्रकाशनले हाम्रो विद्वता बाहिर आएको छ । ज्यापु महागुथि किपू नगरसमितिले यो पुस्तक प्रकाशन गर्ने जिम्मा लिएर प्रशंसनीय काम गरेको छ । हाम्रा जात्रा पर्वहरुको बारेमा लिखित दस्तावेज नभएको अवस्थामा पाँगाको विष्णुदेवी बालकुमारी जात्राको विषयमा लेखिएको पुस्तक कोशे ढुंगा हुने बताउनु भयो । लेखिका दीपा महर्जनले आफ्नो मन्तव्यको क्रममा आफ्नो शोध पत्रलाई पुस्तकको रुपमा प्रकाशित हुँदा आपूm अत्यन्तै खुशी भएको र अरु विषयमा पनि अनुसन्धान गर्ने प्रेरणा मिलेको बताउनु भयो । यदि यो पुस्तक प्रकाशन नभएको भए आफ्नो मेहेनत त्रि.वि.को अँध्यारो दराजमा थन्किएर रहने थियो । ज्यापु महागुथि किपू नगरसमितिलाई धन्यवाद दिनुभयो ।

सभाको सभापतित्व ग्रहण गरिरहनु भएका ज्यापु महागुथि किपू नगरसमितिका अध्यक्ष नजरराम महर्जनले यो पुस्तक प्रकाशित गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । यो पुस्तकमा पाँगाको जात्राको बारेमा मात्र नभई सात गाउँको जात्राको बारेमा पनि संक्षिप्त वर्णन गरिएको छ । यो पुस्तकको विशेषता भनेको पाँगाको जात्रामा गरिने विभिन्न पुजा सामाग्रीहरुको वर्णन, पाँगामा  रहेका गुथिहरुको संंक्षिप्त विवरण पनि उल्लेख गरिएको छ । साथै यस जात्राको आर्थिक, सामाजिक र धार्मिक पक्षलाई तुलनात्मक रुपमा वर्णन गरिएको छ । पुस्तक प्रकाशन गर्न दिएकोमा लेखिका दीपा महर्जनलाई धन्यवाद दिनुभयो । साथै हल उपलब्ध गराउनु भएका कृष्ण क्याटरिंगका मालिक कृष्णभक्त महर्जन लगायत सबैलाई धन्यवाद दिएर सभा विसर्जन गर्नुभयो । उक्त कार्यक्रममा पुराना र नयाँ गरी ४८ जना आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

No comments:

Post a Comment