Tuesday, December 20, 2016

ल्वहँदेगः मन्दिर परिचय र परिसर ब्यबस्थापन

ल्वहँदेगः मन्दिर परिचय र परिसर ब्यबस्थापन





कीर्तिपुर सन्देश÷
काठमाडौं जिल्लाको दक्षिण पश्चिम भुगोलमा अबस्थित एक ऐतिहासिक नगर कीर्तिपुर आफैमा एउटा विविधताले भरिपूर्ण सहर हो ।

कीर्तिपुर सहरका विभिन्न महत्वपुर्ण पक्षहरुको वर्णन गर्नुपर्दा यहाँको शैक्षिक, धार्मिक, सामाजिक, राजनैतिक, स्वास्थ्य तथा अन्य विषयबस्तुहरु पर्ने गर्छन् । समय सापेक्षिक सहरको रंग फेर्ने क्रममा धेरै भन्दा धेरै परिवर्तनहरु भईसकेका छन्। पहिला अधिकांश नेवाःहरुको बसोबास रहेको यस ठाउँ वर्तमान समयमा नेपालभरिबाट बसाई सराई गर्दे आज कीर्तिपुरलाई आफ्नो थाकथलो बनाई सकेका छन् । तसर्थ अहिले कीर्तिपुर एउटा मिश्रित बस्तिको रुपमा बिकास हुँदै आईरहेको छ । गर्वको विषय, हामि अहिले मिश्रितमा छौं । मिश्रित बस्ति कीर्तिपुरलाई नगरपालिकाले राजनैतिक तवरले स्थानिय, राष्ट्रिय, अन्तरराष्ट्रिय विज्ञहरुको राय लिंदै भविष्यमा अझ ब्यबस्थित गर्दे लानेछ नै ।

परिवर्तनको तृष्णा सबैमा हुने गर्छ तर कति परिवर्तनहरुले ऐतिहासिक सहरका कति कुराहरुलाई ओझेलमा नपार्ला भन्न सकिन्न । नगरको पौराणिक बस्ति कीर्तिपुर डाँडा लगाएत अन्य बस्तिहरुमा पनि
राजनैतिक परिवर्तन संगसंगै स्थानिय धर्म तथा सँस्कृतिमा परिवर्तन हँुदै आईरहेका छन् । परिमार्जन कै चपेटामा कतिपय धार्मिक रुपले महत्वपुर्ण स्थल तथा देवी देवालयहरु पनि छायाँमा परेका छन् । स्थानियबासिको आफ्नै दैनिक ब्यस्तताका कारण राज्यको नजर नपुग्नुले नगरका धेरै मध्येमा कीर्तिपुर नगरपालिका वडा नं ४ स्थित त्रिरत्न (ल्वहँदेगः) मन्दिरले आफ्नो पहिचान गुमाउँदै गरेको महशुस गर्न सकिन्छ । जन जागरण स्वत रुपमा आफै महत्वपुर्ण पक्ष हो भन्ने महशुस गर्दे अहिले स्थानियबासिहरुले यस मन्दिरको आंशिक इतिहास खोतल्ने प्रयास गरेका छन्। अनुसन्धानविद तथा नगरपालिकाको आँखा कम पर्ने यस मन्दिरले २०७२ वैशाख १२, २९ गतेको महा भुकम्पका कारण काँचुलि फेर्देछ । सम्भवतः अबको केहि दिन पछि यसले आफ्नो नयाँ मुहार सार्वजनिक गर्नेछ ।

नगरभित्रका सबै मध्ये महा भुकम्पमा परि काँचुली फेर्ने यो नै जेठो मन्दिर हुन सक्छ । तसर्थ, यस मन्दिरको आंशिक इतिहास वारे जानकारि लिनु आवश्यक देखिन्छ । कीर्तिपुर डाँडाको मध्ये पुर्वी भागमा पर्ने १३ वटा टोलहरुलाई समेतेर एउटा वडा निमार्ण भएको हो र स्थानिय प्रशासनले त्यसलाई ४ नम्बर वडा भनि वर्गिकरण गरेको छ । वडा भित्र अधिकांश धार्मिक धरोहरहरु विशेषत बौद्ध तथा केहि हिन्दु धर्मका छन् । हिन्दु तथा बौद्ध धर्म बीच सदाचारको राम्रो उदाहरण यस वडा भित्र देख्न सकिन्छ । वडामा चिलंचो विहार, सिंहद्वाः, मजाः देग लगाएत अन्य थुप्रै चैत्य तथा धरोहरहरुले भरिएको देख्न सकिन्छ । त्यस मध्येमा अर्को महत्वपुर्ण मन्दिर भनेको त्रिरत्न मन्दिर हो । यसलाई स्थानियहरुले ल्वहँदेगः पनि भनिन्छ । नेपाल भाषामा ढुङ्गालाई ल्वहँः
भनिन्छ । यो मन्दिरको अधिकांश भु–भाग ढुङ्गाले निर्माण गरिएको हुनाले यसलाई सजिलो अर्थमा ल्वहँदेगः भनिएको हुनुपर्छ । जसको वास्तविक नाम त्रिरत्न मन्दिर हो । यो मन्दिर नेपाल सम्बत ७८४ साल कार्तिक महिनामा सिलान्यास भई नेपाल संवत ७८५ साल कार्तिक महिना मै निर्माण सम्पन्न गरिएको हो भनी स्थानियहरुले सुनाउँदै आइरहेका छन् । तसर्थ, मन्दिर स्थापना भएको नेपाल सम्बत क्यालेनडर तीथि अनुसार कार्तिक महिनाको सकिमना पुन्हिं का दिन बोसरँ (होम) गर्दे मनाउदै आइरहेका छन्। यस मन्दिरको निमार्ण ललितपुरका राजा श्रीनिवास मल्लको पालामा भएको हो र निमार्ण सम्पन्न गरि सुनको गजुर बनाउन लगाईएको हो । त्यस दिन चन्द्रग्रहण भएको थियो । ग्रहण भएकै दिन पुलचोकका (श्रीपुरवो) सुगतराम भारो तथा श्रीमति शिवदुती स्त्री र पुरुष दुई जना मिलेर मन्दिरको दैनिक पुजाआजा तथा वार्षिक होम गर्ने ब्यबस्था मिलाई दिएका हुन्। त्यसबेला उनीहरुले स्थानिय भाषामा थेवगल भन्ने ठाउँको ६ रोपनी जग्गा तथा भाजनबुँ
बारी दुई कर्ष बीस रुपैयाँ दान दिनु भई नित्य पुजाको लागि गुठीको ब्यबस्था मिलाई दिएको हो, यसरी स्थापना गरिएको गुठी चन्द्रज्योति तथा ज्ञानचन्द्र (चितलाङ) लाई जिम्मा दिइएको थियो ।

यसै गुठीबाट दैनिक नित्य पुजा, वार्षिक होम, स्थानिय बखुमल जात्राका दिन मन्दिर वरपर ३७ वटा दियो बत्तिहरु बाल्ने तथा इन्द्रजात्राका क्रममा ४ दिन सम्म मन्दिरमा बत्ति बाल्ने ब्यबस्था गरिएको थियो। भनि मन्दिरको सिलालेखमा उल्लेख गरिएको छ । त्रिरत्नको अर्थ बुद्धधर्मसंघ हो । यो मन्दिर शिखर शैलिमा बनाईएको छ । पछि यसै मन्दिरको नाम बाटै त्यस ठाउँको नाम ल्वहँदेगः टोल रहन गयो । पहिला यस टोललाई गालफल, अझ दुई तीन सय वर्ष अघि चिसुथलि पनि भन्ने गरिएको थियो । तात्कालिन समयमा कीर्तिपुरको गढ पर्खाल वरपरका १२ वटा ढोकाहरु मध्ये चिठू ढोका भन्दा अलि माथि अबस्थित रहेको हुनाले पनि यसलाई चिसुथलि भनिएको हुन सक्ने स्थानिय विज्ञहरुको भनाइ छ ।

वर्तमान समयमा यस मन्दिरको पुर्व दिशामा दुन्छेँ गल्ली, पश्चिम दिशामा गुत्पौ टोल, उत्तर दिशामा चिठू ढोका, दक्षिण दिशामा दबु बनाईएको र मानटोल जाने बाटो पर्छ ।

यस मन्दिरको प्रमुख मुर्तिका रुपमा बुद्ध धर्मसंघ वा शाक्यमुनि भगवान, प्रज्ञा पारमिता र पद्मपानि लोकेश्वर रहेका छन् । साथै अन्य हिन्दु तथा बौद्ध धर्मसंग आवद्ध मुर्तिहरु पनि छन् । मन्दिरको मुख्य भाग उत्तर दिशा फर्काएर बनाएको छ । मन्दिरको पुर्वी दिशाको तल्लो भागमा कीर्तिपुरका आराध्यदेव श्री श्री श्री बाघ भैरवनाथको मुर्ति समेत रहेको छ । मन्दिरको प्रवेशद्वारको माथि गरुड अंकित तथा बुद्धधर्मसंघ संग सम्बन्धित मुर्तिहरुले मालार्पण गराइएका छन् भने त्यहि तहमा चारै तिर माथिल्लोमा बौद्ध धर्म तथा तल्लो भागमा हिन्दु धर्मसंग मिल्दोजुल्दो मुर्तिहरु गरि ३३ कोटी देवताहरुका प्रतिमा स्थापना गरिएका छन्। मन्दिरको माथिल्लो शिखर शैली हुँदै गरेको बीचको भागमा पन्च बुद्धको मुर्ति साथै ताराहरु पनि स्थापना गरिएका छन्। मन्दिरको सबभन्दा माथि स्वर्ण गजुर राखिएको छ । तात्कालिन समय देखि वर्तमान समय सम्म आउँदा स्थानिय तवरले त सबैले मन्दिर र मन्दिर परिसर ब्यबस्थापन गरिसकेका छन् । अतः राज्यलाई पनि साझेदारी बनाउँदै लानु पर्छ र यसैमा नै सबैको भलाई रहने बुझेर वर्तमान ब्यबस्थापन समितिले स्थानिय सरोकार राख्ने
सरकारी पक्ष, अनुसन्धानविद, इतिहासविद तथा स्थानिय बुद्धिजिविहरुको सल्लाह बमोजिम अनुसन्धान र सुरक्षा ब्यबस्था बिकास गर्दे लाने जमर्को गरिसकेको कुरा श्रोतले बताएको छ ।

मन्दिर ब्यबस्थापनको क्रममा अहिलेसम्म भईसकेका उपलब्धिहरु तल बुँदागत रुपमा राखिएका छन्। १. वि.सं. २०३६ सालमा मन्दिर भित्रका मुख्य मुर्तिहरु चोरी भए । त्यसपछि पुजारीहरुबाट मन्दिरमा गर्नुपर्ने कुनै किसिमका नित्य पुजा तथा वार्षिक होम पनि गरिएन । यसो किन भए त भन्दा, खनाल थरका एक जना सल्यानस्थान स्थानियबासि मोहिले मन्दिरको गुठि संचालनमा प्रयोग भएको ३ रोपनि जग्गा कानुनी रुपमा मुद्धाबाट आफ्नो बनाएकाले अब उपरान्त गुठि संचालन गर्न गाह्रो भएको हो भनि पुजारी पक्षले जवाफ दिए । २. वि.सं. २०४५ सालमा नाराँ मैं नाम गरेकी स्थानिय टोलबासीले चोरी भएको मुख्य मुर्तिको ठाउँमा एउटा सिमेन्टको नयाँ मुर्ति स्थापना गरि पुनः बुद्ध पुजाको थालनी गरे । ३. वि.सं. २०४८ सालमा ल्वहँःदेग, मानटोल परिसरमा प्लान इन्टरनेशनल तथा स्थानिय सक्रिय व्यक्तिहरुको अगुवाइमा भुईमा ईंटा छाप्ने काम सम्पन्न गरि सके पश्चात सबैको ध्यान मन्दिर तिर गयो । बाटोघाटो बनाई सक्यौं अब पालो मन्दिर जिर्णोद्वारको भनि छलफल चलाए । छलफलको निष्र्कषमा स्थानिय जुजुभाई महर्जनले जिर्णोद्वारको जिम्मा लिए । उनि संग संगै सम्पुर्ण स्थानियहरुको सल्लाह सहयोगमा मन्दिर जिर्णोद्वार सम्पन्न गरियो । सो क्रममा मन्दिरको भित्रि भाग मर्मत गरिएको थियो । त्यहि समय स्थानिय घाँसी महर्जनको नेतृत्वमा चन्दा संकलन गरि चोरि भएको मुर्तिहरुको ठाउँमा नयाँ मुर्तिहरु पुर्नरस्थापना गरिए । ४. वि.सं २०५० सालमा फेरि मन्दिरमा हरिया घाँसपाटहरु तथा पिपलबोट समेत चुलिंन थालेकाले पुनः सक्रिय स्थानियबासीहरुको अगुवाईमा सर–सफाई तथा माथिल्लो तहको चारै कुनाका साना चैत्यहरु मर्मत गरियो । त्यस बखत सक्रिय रुपमा जुजुभाई, हिरा बहादुर, तुल्सी नारायण, नर बहादुर, पूर्णलाल महर्जनहरुले नतृत्व गर्नु भएका थिए । त्यसै समयदेखि नर बहादुर महर्जन तथा पुर्णलाल महर्जनज्यू लगनशिल भई मन्दिर परिसरका सिंह लगाएतका अरु मुर्तिहरुमा तेल लाउने काम गर्दे आई राख्नु भएका छन् । जिर्णोाद्वारको समयमा बचेको द्रव्यलाई बैंकमा संचय गरि सोहिबाट आउने ब्याजलाई तेल लाउनेमा खर्च गर्देै आईरहेका थिए । सोहि तेल लाउने काम र निरन्तर सर–सफाई कार्य भएबाटै ब्यबस्थापन समिति निर्माण गर्ने सोच उदय भएको मान्न सकिन्छ । ५. वि.सं २०५६÷०५७ साल तिर फेरी मन्दिरको माथिल्लो दक्षिण भागमा रहेको रत्न सम्भव मुर्ति चोरी भयो । ६. वि.सं २०६३÷०६४ सालमा फेरी माथिल्लो शिखर शैलीको बीच भागमा चार कुनामा रहेका ताराका मुर्तिहरु चोरी भयो । ७. वि.सं २०६६ सालमा सबै स्थानिय टोलबासीहरुको सर–सल्लाह बमोजिम “ल्वहँदेगः संरक्षण ग्वाहालि पुचः” नामक समितिको स्थापना गरियो । उक्त समितिबाटै त्यो समयमा बुद्ध जयन्तीको एक दिन अघि मुर्तिहरुमा तेल लाउने तथा नेपाल संवत अनुसार जुगःचह्रे का दिन टोल परिसरमा बुद्ध पुजा गरि फुल माला लाउने प्रचलन शुरु गरियो । यसै समितिको अगुवाईमा चोरी भएको रत्न सम्भवको मुर्तिको ठाउँमा नयाँ मुर्ति पुर्नरस्थापन गरियो । बाँकी रहेको रकमबाट धेरै पहिला नै चोरी भईसकेको करुणामयको मुर्ति बनाई पुर्नर स्थापना गरियो । ८. वि.सं. २०६९ सालमा तेल लाउने कामबाट मुर्तिहरु झन् फोहर भएको गुनासो आएपछि त्यसै सालबाट मुर्तिहरुमा तेल लाउनेकाम बन्द भयो । ९. वि.सं. २०७० सालमा पुरातत्व विभागबाट स–साना मुर्तिहरुका टुटेफुटेका भागहरुको मर्मत तथा जिर्णेाद्वारमा सहयोग गरे भने कीर्तिपुर नगरपालिकाको तर्फबाट आएको आर्थिक सहयोगले माथिल्लो शिखर शैलिको बीचको भागबाट चोरी भएका तारा मुर्तिहरुको साटो चार वटा बाँदरका प्रतिमा प्रतिस्थापन गरियो । १०. वि.सं. २०७१ साल पौष ११ गतेका दिन समिति कै नेतृत्वमा उपत्यकाका चार करुणामयहरुको दर्शन गर्ने योजना बनाए । त्यस बेला ४०० भन्दा बढिको उपस्थिति रह्यो र भोजन पनि गराइयो । यसै साल समिति कै अगुवाइमा गुठी संस्थानबाट अर्थ ब्यबस्थापन गर्ने जर्मको पनि भयो । त्यहि अक्षय कोषबाटैे वार्षिक होम तथा अन्य पुन्य कार्यहरु सम्पन्न गराईदै आइरहेका छन्। मन्दिर परिसरमा सोलार पोल राखि बत्ति जडान गरिसकेका छन्। ११. वि.सं. २०७२ सालको विनाशकारी भुकम्पले मन्दिरको बीचको शिखर शैली भाग क्षतिग्रस्त बनायो, सोको जिर्णोद्वार गर्न पुरातत्व विभागमा निवेदन राखे । विभागिय
निरिक्षण पछि पुरातत्व विभागले क्षतिग्रस्त भाग बनाउँदा लाग्नेखर्चकोजिम्मा लिई पुर्नर निर्माण शुरु गरियो । १२. वि.सं. २०७३ साल असार १० गते क्षमा पुजा गरि असार ११ गतेका दिनबाट मन्दिरको क्षतिग्रस्त भाग भत्काउने काम शुरु गरियो ।

त्यस पछि असार २५ गतेका दिनबाट जिर्णोद्वारको काम शुरु गरियो । यसरी स्थानिय सक्रियताकै फलस्वरुप समिति गठन हुनु र पछि बिस्तारै स्थानिय तथा सरकारी सरोकारवाला निकायहरुसंगको साँझेदारी भएबाटै आजको मिति सम्म यस मन्दिरले आफ्नो अस्तित्व कायम गर्न सकिएको अबस्था छ ।

श्रोत संकलनः नर बहादुर महर्जन (ल्वँःह देगः संरक्षण समिति), कीर्तिपुर वडा नं ४ लेखन तथा सम्पादनः अनिल महर्जन, कीर्तिपुर ।

No comments:

Post a Comment