Friday, October 28, 2016

तिहार र स्वन्ति नखः वीचको भिन्नता

तिहार र स्वन्ति नखः वीचको भिन्नता 




श्री कृष्ण महर्जन

काठमाण्डौं उपत्यकाका आदिवासी नेवाः समुदायले मान्दै आएको मौलिक किसिमका संस्कृतिहरु मध्ये कृषिपेशा संग सम्वन्ध रहेको सस्कृति स्वन्ति अर्थात तिहार हो भन्न सकिन्छ । नेवाः समुदायले मान्दै आएका विभिन्न संस्कृतिहरु मध्ये प्रत्येक बर्ष मोहनि नखः अर्थात दशैं आउने संस्कृति भनेकै स्वन्ति हो । गैर नेवार समुदायले लगातार रुपमा पाँचदिन सम्म यमपञ्चकको रुपमा मान्दै आएतपानि नेवाः समुदायले भने तीन दिनसम्म लगातार रुपमा तिहार मानाउने गरिन्छ । तिहार मानउने क्रममा यमपञ्चक भनी सबै भन्दा पहिला काग तिहार, त्यसपछि कुकुर तिहार र त्यसको भोलिपल्ट लक्ष्मी पुजा अर्थात गोबर्धन पुजा, त्यसपछि भाई तिका भनी गैर नेवारहरुले पाँचदिन सम्म लगातार रुपमा मनाउदै आएका छन् । नेवाः समुदायले पनि काग तिहार र कुकुर तिहार मनाएतापनि मुल रुपमा लक्ष्मी पुजा, म्ह पुजा र किजा पुजा भनी भाई तिका मनाउदै आएका छ । तीन दिन सम्म लगातार रुपमा मनाउदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो । स्वन्हु भनेको तीन दिन र नखः भनेको चाँड पर्व हो । तीन दिन सम्म मनाउने यो संस्कृसिलाई मत नखः अर्थात दीपावलीको पर्व पनि भन्ने गरिन्छ । यस संस्कृति मूल रुपमा कृषि पेशा र नयाँ बर्षसंग सम्वन्धित रहेको छ । स्वन्ति नखः भनेको खेतवाट आएको धान भित्र्याउने र बर्षभरीको हिसावकिताव सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथ साथै आफ्नो शरिरलाई पुजा गरी नयाँ बर्षका लागि संघर्ष गर्दै अगाडी बढ्नका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ । त्यसै गरि आफ्नो भाईको दीर्घायुको कामना गर्दै पनुजवा गर्ने पर्वको रुपमा पनि लिएको पाइन्छ । नेवाः समुदायले मनाउने स्वन्ति नखःको महत्व र स्वन्ति नखःले दिएका दार्शनीक पक्षहरु र गैर नेवारले मनाउने तिहारको वीच धेरै भिन्नता रहेको पाइन्छ ।

लक्ष्मी पुजा -अन्न पुजा 


स्वन्ति नखः अर्थात तिहारको महत्वपूर्ण दिन भनेको लक्ष्मी पुजा हो । गैर नेवारहरुले लक्ष्मीको तस्वीर वा मूर्ति नै राखी सो दिन लक्ष्मीलाई पुजा गर्ने र विशेष गरि पैशालाई पुजा गर्ने चलन रहेको छ । लक्ष्मी भनेकै पैशा भएको अर्थमा पैशालाई लक्ष्मीको रुप मान्दै पुजा गर्दै आएका छन् । त्यसै गरि गैर नेवार समुदायले गाईतिहार भैलो भनी भैलो खेल्ने समिेत गरिन्छ । आ आफ्नो घरमा पकाएको सेल रोटी, फलफु र पैशा समेत नाग्लोमा राखी दिने चलन रहि आएको छ । नेवार समुदायले लक्ष्मी पुजाको दिनमा अन्न अर्थात धानलाई पुजा गरिन्छ । नयाँ अन्न आफ्नो घरको ढ्कु्तिमा राखी पुजा गर्ने चलन रहेको छ । नयाँ अन्नलाई पुजा गर्ने चलन नै नेवार समुदायको मौलिकता हो । नयाँ अन्न पुजा गर्ने क्रममा लक्ष्मीको तस्वीर वा मूर्ति राख्ने चलन नेवाः समुदायमा छैन । तर पछिल्लो समयमा आएर अरुको प्रभावका कारण कुनै कुनै स्थानमा नेवाः समुदायले पनि लक्ष्मीको फोटो राखी पुजा गर्न थालेका छन् । सो दिनमा धानलाई पाठीमा र चामल मानामा राखी जाकि चुंया द्यःचा अर्थात चामलको पीठोवाट द्यःचा (सानो मूर्ति जस्तो) बनाई ढुकुतिमा मण्डप बनाई पुजा गर्ने चलन रहेको छ । त्यसै गरि ढुकुतिमा रहेका जति पनि अन्न राखेका भाडाकुडा भकारीमा समेत पुजा आजा गरिन्छ । सो पुजा गर्ने क्रममा पाल्चा अर्थात दीप दिने पनि गरिन्छ । यसको अर्थ वास्तवमा स्वन्ति नखःको क्रममा लक्ष्मी पुजा भनी नेवाः समुदायले अन्नलाई पुजा गर्दै आएको भन्न सकिन्छ । त्यसैले गैर नेवार समुदायले मनाउने लक्ष्मी पुजा र नेवाः समुदायले मनाउने लक्ष्मी पुजावीच भिन्नता रहेको पाइन्छ ।

गोबर्धन पुजा-- म्ह पुजा 

स्वन्ति नखःको क्रममा लक्ष्मी पुजाको भोलिपल्ट गैर नेवार समुदायले गोबर्धन पुजा गरिन्छ । गाईको गोबर अर्थात सौलाई पुजा गर्ने नै गैर नेवारहरुको गोबर्धन पुजा हो । विहानै गोबरलाई पुजा गर्ने भनेको गोबर्धनलाई पुजा गर्ने हो । त्यसै गरि गाईको गोठमा समेत पुजा आजा गर्ने चलन रहेको छ । त्यसै गरि सेल पकाई खाने समेत गरिन्छ । गोबर्धन पुजाको दिनमा देउसी भैलो खेल्ने चलन समेत रहेको छ । लक्ष्मी पुजाको दिनमा जस्तै सेल  रोटी माग्दै देउसी भैलो खेल्ने चलन रहको छ ।

म्ह पुजा


नेवाः समुदायले भने यो दिनमा आफ्नो शरिरलाई पुजा गरिन्छ । म्ह भनेकै शरिर हो । शरिरलाई पुजा गर्ने भएकै कारण म्ह पुजा भनिएको हो । म्ह पुजाको दिनमा आफ्नो शरिरलाई पुजा गर्ने भएकोले यस संस्कृतिलाई स्वन्ति नखः अर्थात तिहारकै महत्वपूर्ण संस्कृतिको रुपमा लिएको  पाइन्छ । नेवाः समुदायभित्र म्ह पुजा भनेको मौलिक संस्कृति हो । प्रत्येक बर्षको चन्द्रमास अनुसार कछलाथ्व पारुको दिनमा मानिसको शरिरलाई नै पुजा गर्ने म्ह पुजा गर्ने चलन रहेको छ । नेवाः समुदाय भित्र पनि मौलिक संस्कृतिक र साझा संस्कृतिको रुपमा मान्दै आएको म्ह पुजाको दर्शन र विधि यस प्रकार रहेका छन् ।

म्ह पुजा कसरी गरिन्छ ?

चन्द्रमासको आधारमा प्रत्येक बर्षको कछला थ्व परेवाको दिनमा नै म्ह पुजा गर्ने नेवाः समुदायको मौलिक संस्कृति हो । म्ह पुजा भनेको नेवाः समुदायले मान्दै आएको मौलिक संस्कृति हो । म्ह पुजा ठाउ विशेष अनुसार केहि तरिकामा भिन्नता रहेकता पनि मूलभूत रुपमा पुजाको विधि र सिद्धान्त भने एउटै रहेको पाइन्छ । म्हा पुजा गर्नका लागी सबै भन्दा पहिला म्ह पुजा गर्ने स्थानमा गोबरले लिप्ने गरिन्छ  र त्यसपछि शुद्ध गर्नका लागी चोखो पानी छर्कने गरिन्छ । त्यसपछि सो स्थानमा कुचोले बराल्ने गरिन्छ । त्यसपछि म्हा पुजा गर्ने जतिजना छन् त्यो भन्दा दुईटा बढि हुने गरि अष्टमण्डप चामलको पिठोले लेल्खे गरिन्छ । सबै भन्दा माथि र सबै भन्दा तल गरि दुई वटा देवटाको नाममा लेखिन्छ । मण्डप भनेको ब्रम्हाण्डको प्रतिक हो । मण्डपलाई रंगिन गर्नका लागि रातो अभिर पनि राख्ने गििरन्छ । त्यसपछि मानिसको शरिर जहिले पनि रहदैन भन्ने प्रतिकको रुपमा लाभा मण्डमा चारैतिर राख्ने गरिन्छ । त्यसपछि विश्व ब्रम्हाण्डमा रहेका विभिन्न ग्रहहरुकै प्रतिकको रुपमा कालो भतमास, गेरामास राख्ने गरिन्छ । मण्डको वीचमा जीवन नसुरको प्रतिकको रुपमा आखे अर्थात अक्षताको राख्ने गरिन्छ । अक्षताको वीचमा खाली गरि तेलको मण्डप बनाउेन गरिन्छ । तेलको मण्डप भनेको जीवन चिरन्जीवीको प्रतिक हो । मण्डप निर्माण पछि सबै भन्दा पहिला तःसि अर्थात विमिरो राख्ने गरिन्छ । तिहारको समयमा पाउने सबै भन्दा महत्वपूर्ण फलफुलको रुपमा विमिरोलाई लिने गरिन्छ । सुन्तला, मौसम, चाकुसी लगायत केशरी भएका फलफुल मध्ये सबै भन्दा महत्वपूर्ण फलफुको रुपमा नै विमिरोलाई लिने गरिन्छ । त्यसरी केशरी भएका फलफुलहरु  विमिरोवाट नै विकास भएको मनिने भएका कारण म्ह पुजाको दिनमा विमिरो भने नभई नहुने जनधारणा रहेको पाइन्छ । त्यसपछि विभिन्न फलफुलहरु
केरा, भोगटे, हलुवाबेच, ओखर, अमला, सिंगली (कतुस) लगायत राखेपछि फूल समेत राख्ने गरिन्छ मण्डपमा । त्यसरी तयार भएपछि चामलको पीठोले बनाएको मानिस जस्तो बनाएको स साना मूर्ति र पानस अर्थात त्वाः देवाः बनाई प्रत्येक मण्डप अगाडी एउटा एउटा राख्ने गरिन्छ । त्यसै गरि पञ्चरंगको कपडा सहितको धागोको माला क्वखा राख्ने गरिन्छ । यसरी तयार भएको मण्डपको सबै भन्दा मथि देउटाका लागि राखी त्यसपछि क्रमश थकालीदेखि बस्दै  आउछन् । सबै जना आ आफ्नो मण्डप अगाडी बसेपछि  सुकुन्दामा आगो बाल्दै पुजा गर्ने गरिन्छ । त्यसरी सुकुन्दा बाल्नु र पुजा गर्नु भनेको बत्ति देवतालाई पुजा गर्नु हो । सुकुन्दा अर्थात बत्ति देवतालाई सक्षि राख्दै पुजा सुरु गर्ने हो । सुकुन्दालाई पुजा सकिएपछि मण्डपमा पुजा गरिन्छ । मण्डमा पञ्चत्व पृथ्वी तत्व मध्ये पृथ्वी तत्वको प्रतिकको रुपमा चालम अर्थात अक्षताले पुजा गर्ने, जल तत्वको रुपमा पानी, तेज तत्वको रुपमा टिका लगाउने, वायु तत्वको प्रतिकको रुपमा धागोको मला लगाउने गरिन्छ । निर्जिवलाई पनि यसरी पञ्चतत्वले पुजा गरेपछि त्यो सजिवको रुपमा लिने नेवाः संस्कृतिको दर्शन अनुसार नै मण्डपमा पुजा गर्ने गरिन्छ ।  परिवार जनमा कुनै पनि ब्यक्ति विदेशमा गएको अवस्था छ भने त्यसको लागि पनि राखिएको मण्डपमा समेत पुजा गरिन्छ । त्यसरी मण्डमा पुजा गरिसकेपछि सबै जनाको शरिमा पनि पुजा गर्ने गरिन्छ । मण्डपमा जस्तै मानिसलाई पनि पञ्चतत्वले पुजा गरिन्छ । पुजा गर्ने क्रममा पाठीमा अविर, अक्षता, विभिन्न स साना फूलदेखि ओखर, योमरि समेत  राखी मण्डमा खन्याउने गरिन्छ । त्यसरी मण्डपमा तीन पटक सम्म खन्याउनेलाई नेपालभाषामा फं लुइगु भनिन्छ । त्यसै गरि म्ह पुजा गर्ने ब्यक्तिलाई पनि पुजा गर्ने गरिन्छ । पाठीमा अविर, अक्षता, फलफुलदेखि ओखर समेत राखी तीन पटक खन्याउने विशेष प्रकारको पुजा गरिन्छ ।  त्यसरी तीन पटक सम्म पाठीले पुजा गर्ने भनेको शरिर, मन अर्थात आत्मा र बुद्धिका पुजा गर्ने हो । म्ह पुजा गर्ने ब्यक्तिलाई पनि त्यसरी नै पुजा गरिन्छ । त्यसपछि पञ्चरंगको माला सहितको आ आफ्नो मण्डपमा रहेको विमिरोलाई हस्तान्तरण गरि त्यसलाई धोग्ने गरिन्छ । त्यसपछि आ आफ्नो मण्डपको पञ्चरंगको माला लगाउने गरिन्छ । त्यसपछि दहिको सौगन दिने गरिन्छ । दहिको सौगन दिने भनेको शुभ साइटको संकेत हो । दहिको सौगन पछि सबै जनालाई पञ्चतत्वको रुपमा सौगन दिइन्छ । सौगन दिने भनेको पञ्चतत्व ग्रहण गराउने हो । अण्डा सहितको सो सौगनलाई खेँ सगं भन्ने गरिन्छ । सौगन दिने क्रममा माछा, मासु, बारा (वः), अण्डा र रक्सी हुन्छ । माछा भनेको जल तत्व, मासु भनेको पृथ्वी तत्व, वः अर्थात बारा भनेको वायु तत्व, अण्डा भनेको आकश तत्व र रक्सी भनेको तेज तत्व हो । यो पाँचवटा तत्व सन्तुलित भए मात्र मानिस स्वस्थ्य हुने र जुन सुकै काम गरेतापनि सफल हुनेछ भन्ने दर्शन बोकेको नेवाः संस्कृति हो । पञ्चतत्वात्मक जीवनमा एउटा पनि तत्व कमजोर भयो भने पनि अस्वस्थ्य हुने जन विश्वार रहेका कारण पञ्चतत्वलाई सन्तुलित बनाउन सौगन दिदै आएको नेवाः समुदायको तान्त्रिक दर्शन रहेको छ । सो सौगन दिने क्रममा अण्डा तीन पटक टोक्दै आनुपर्ने र रक्सी पनि तीन पटक लिनुपर्ने चलन छ । त्यसरी तीन पटक खाने भनेको आफ्नो शरिर, मन र बुद्धिका लागि भनिन्छ । त्यसरी म्ह पुजा गर्ने क्रममा म्ह पुजा गर्ने ब्यक्तिलाई पनि सोहि प्रकारमा पुजा गर्ने चलन रहेको छ । यसरी पुजा पनि भोज खाने गरिन्छ ।  नेवाः समुदायले म्हा पुजा गर्नु भनेको बर्षभरी सफलताका लागि नयाँ बर्षमा पञ्चतत्वात्मक शरिरमा कुनै कथिनाई आउन नदिन र जीवनमा आउन सकिने विभिन्न प्रकारका समस्यासंग संघर्ष गर्दै अगाडी बढ्नका लागि संघर्षवादी सिद्धान्त अनुसार नै सो पुजा गर्दै आएको हो ।  यो संस्कृति भनेको संघर्षवादी सिद्धान्त अनुसार नेवार समुदायले मनाउदै आएको छ । विश्वको कुनै पनि मुलुक र समुदायमा नभएको मानिस नै देवता बन्ने संस्कृति र मानिसको शरिरलाई पुजा गर्ने संस्कृति नेवार समुदायमा मात्रै रहेको छ । त्यसैले यो संस्कृतिक नेवाः समुदायको मौलिक मात्र नभई पहिचान बनिसकेको अवस्था छ ।

भाई तिका--किजा पुजा

गैर नेवार समुदायले भाई तिका मानउने दिनमा नै नेवार समुदायले पनि किजा पुजा गर्ने गरिन्छ । किजा भनेको भाई हो र भाईलाई पुजा गर्ने भएकै कारणले सो दिनलाई भाई तिका भनिएको हो । सो दिनमा म्हा पुजाकै दिनमा जस्तै तयार गरि मण्डप लेख्ने गरिन्छ । विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा
राख्ने गरिन्छ । नेवार समुदायमा म्ह पुजाकै दिनमा जस्तै पुजा आजादेखि सौगन दिने चलन रहेको छ । पञ्चतत्वको सौगन दिनेदेखि पुजा गर्ने र आफ्नो भाईको दीघआयुको कामना गर्ने गरिन्छ । गैर नेवार समुदायमा त्यसरी पञ्चतत्वको सौगन दिने गरिदैन । बरु पञ्चरंगी टिका भने लगाउने चलन रहेको छ । नेवाः समुदायमा भने पञ्चरंगि टिका नभई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो तिका जस्लाई नेवार समुदायले जाकि सिन्ह भनिन्छि । सो तिका लगाउने गरिन्छ । नेवाः समुदाय र गैर नेवाः समुदायमा पनि माला भाईलाई मखमली माला लगाउने गरिन्छ । नेवाः समुदायमा भने धागोको माला समेत लगाउने गरिन्छ । त्यसै गरि आफ्नो भाईलाई भोज समेत खुउाउने नेवाः समुदायमा चलन रहेको छ ।  यसरी नेवाः समुदाले स्वन्ति नखः अर्थात तिहार मौलिक रुपमा मान्दै आएको पाइन्छ । लक्ष्मी पुजाको दिनमा अन्नलाई पुजा गर्ने, म्ह पुजाको दिनमा आफ्नो शरिरलाई नै पुजा गर्ने, भाई तिकाको दिनमा अफ्नो भाईलाई पुजा गर्ने र पञ्चतत्व ग्रहण गराउने, पञ्चतत्वले नै पुजा गर्ने जुन संस्कृति नेवाः समुदायभित्र रहेको छ यो तान्त्रिक र संघर्षवादी सिद्धान्तमा आधारित रहेको छ । नेवाः समुदाको मौलिक मात्र नभई मानिस नै देउटा बन्ने सिद्धान्तमा आधारित संस्कृति हो । 

No comments:

Post a Comment