Friday, January 26, 2018

नेपाल राष्ट्रिय ज्ञानमाला समितिको नवौं सम्मेलन सम्पन्न

नेपाल राष्ट्रिय ज्ञानमाला समितिको नवौं सम्मेलन सम्पन्न








—बुद्ध महर्जन—
नेपाल राष्ट्रिय ज्ञानमाला समितिको आयोजना र चारुमती बुद्ध विहार चाबहिलको ब्यवस्थापनमा गत पौष २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ नेपाल राष्ट्रिय ज्ञानमाला समितीको नवौं सम्मेलन भब्यताकासाथ सम्पन्न भयो ।

      भगवान गौतम बुद्धले दिनुभएको शिक्षामा आधारित ज्ञानका मालाहरुलाई गाउने विभिन्न जिल्लाका ४६ वटा ज्ञानमाला भजन खलः तथा संघका २०० भन्दा बढी  प्रतिनिधीहरुले भाग लिएका थिए । “बुद्ध धर्मको विकास, ज्ञानमालाको निकास” भन्ने मूल उद्गारका साथ सुरु भएको नवौं सम्मेलनको पहिलो दिन पौष २७ गते विभिन्न ज्ञानमाला भजन खलः संघका हजारौं उपासक र उपासिकाहरुले चावहील क्षेत्रको नगर परिक्रमा गरेका थिए । नगर परिक्रमा पछि अध्यक्ष श्री किरण कुमार जोशीको सभापतीत्वमा र श्रद्धेय भिक्षु धम्म शोभन महास्थविरज्यूको प्रमुख आतिथ्यमा उद्घाटन समारोह शुरु भएको थियो । उक्त कार्यक्रममा श्रीलंकाका महामहिम राजदूत डब्लु.एस.पेरारायागु, प्रदेश सभा सदस्य मा. नरोत्तम बैद्य, काठमाडौं महानगरपालिकाका उपमेयर, हरिप्रभा खड्गी, काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल लगायतका अतिथिहरुको उपस्थितीमा उद्घाटन समारोह सम्पन्न भएको थियो । चाबहिल स्थित ऐतिहासिक धन्दो चैत्यको प्राङ्गणमा शुरु भएको उद्घाटन समारोहमा स्वागत मन्तब्य व्यवस्थापन समितिका सदस्य श्रीमती अनूप सिं डंगोलले गर्नु भएको थियो । उक्त  समारोहमा नेपाल राष्ट्रिय ज्ञानमाला समितिका संरक्षक प्रा. सुवर्ण शाक्यले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भयो । ब्यवस्थापन समितिका अध्यक्ष श्रद्धेय भिक्षु तपस्सी धम्मज्यूबाट धर्मदेशना सहित मन्तब्य दिनु भएको थियो ।

नेपाल राष्ट्रिय ज्ञानमाला समितिका महासचिव शान्तकुमार चित्रकारज्यूले प्रतिवेदन प्रस्तुत गर्नुभयो । व्यवस्थापन समितिका सचिव  परमानन्द शाक्यले धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै गरी सोही  समारोहमा पश्चिमाञ्चल विकास क्षेत्र ज्ञानमाला सम्मान पुरस्कार वितरण पनि गरिएको थियो । प्रमुख अतिथी भिक्षु धम्मसोभन महास्थवीरज्यूले सम्मानीत व्यक्तित्वहरु श्याम शाक्य, ज्ञानमाला संघ धर्मशीला बुद्ध  विहार, पोखरा कास्की । ब्रम्हशेखर बज्राचार्य, ज्ञानमालासंघ आनन्द विहार, तानसेन पाल्पा । श्रीमती पूर्णलक्ष्मी उदय, बुटवल  रुपन्देही । गणेशकुमार शाक्य बुटवल रुपन्देही र कृष्णप्रसाद शाक्य, बौद्ध युवा ज्ञानमाला संघ पद्म चैत्य विहार बुटवल, रुपन्देहीलाई पदक तथा सम्मानपत्रद्वारा सम्मानीत गरिएको थियो ।
उक्त दिन साँझ दिपयात्रा पनि संचालन गरिएको थियो । सम्मेलनको दोश्रो दिन पौष २८ गते विहान बुद्ध पूजा, शील प्रार्थना, धर्मदेशना र ज्ञानमाला भजनबाट शुरु गरिएको थियो । दिउँसो शुरु भएको गोष्ठीमा डा. रिना तुलाधरले “ज्ञानमाला भजन एक विवेचना” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्र माथि श्रद्धेय भिक्षु कोडण्यबाट टिप्पणी गर्नु भएको थियो । वहाँले १९९४ सालको विषम परिस्थितिमा शुरु भएको ज्ञानमाला भजनको उद्गम स्वयम्भू स्थित स्वयम्भू ज्ञानमाला भजन खलःबाट भएको र उक्त समयमा ज्ञानमाला को रचना गर्दा ज्ञानमाला  रचनाकारको नाम यो, क, प्र, म जस्ता गुप्त नाम राख्नु पर्ने विवसता रहेको बताउनु भयो । ज्ञानमाला समाजमा क्रान्तिकारी र आमूल परिवर्तनको सम्बाहकका रुपमा अगाडी बढेको र समयानुकुल ज्ञानमाला भजनको रचना, संगीतमा परिमार्जित र परिस्कृतकासाथ अगाडी बढाउंदा नयाँ पीढि समेत यस महाअभियान आकर्षित हुने हुँदा त्यस्तो वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो । शुरुआतका ज्ञानमाला भजनहरु बर्तमान परिवेसमा सुन्दा केही असहज जस्तो लागेता पनि उक्त समयमा सो भजन सान्दर्भिक भएको र त्यस्ता ज्ञानमाला भजनलाई कसैले शंशोधन गर्न नहुने बरु अब सृजना हुने ज्ञानमाला भजन वर्तमान  परिवेशसँग मेल खाने हुनु पर्ने बताउनु भयो । 

      कार्यपत्र प्रस्तोता डा. रिना तुलाधरले कार्यपत्रमाथि भएका टिप्पणीहरुप्रति आफ्नो पूर्ण सहमती रहेकाले टिप्पणी भएका बुंदाहरुमाथि संशोधन गरि कार्यपत्र समृद्ध बनाउने व्यहोरा प्रस्तोता डा. रिना तुलाधरले बताउनु भयो । उक्त गोष्ठीमा रिपोर्टियरका रुपमा व्यवस्थापन समितिका सदस्यहरु राजकुमार शाक्य र सचिन शाक्यले गर्नुभएको थियो ।

   कूल ४६ वटा ज्ञानमाला भजन खलः, संघहरुले सहभागिता जनाएको उक्त कार्यक्रममा ३ वर्ष पछि २०७७ सालमा सम्मेलनको व्यवस्थापनकालागि काभ्रे जिल्लाको बनेपा स्थित वांख्यः ज्ञानमाला भजन खलःले पाःबो (ब्यवस्थापन पालो) ग्रहण गरेको थियो । कार्यक्रमको क्रममा विभिन्न जिल्लाबाट सहभागी ज्ञानमाला भजन खलःहरुले ज्ञानमाला भजन प्रस्तुत गरेका थिए । सम्मेलनको तेश्रो दिन चावहिलको पिंगला विहारमा विहान शील प्रार्थना, धर्मदेशना, बुद्ध पूजा र ज्ञानमाला भजन प्रस्तुतीकासाथ शुरु भएको थियो । धर्मदेशनाको क्रममा भिक्षु सोभित महास्थविरज्यूले ज्ञानमाला भजन गाउने मात्रै नगरी त्यसको भावार्थ पनि बुझ्नु पर्ने र उक्त गाइएको ज्ञानमाला आफ्नो जीवन र व्यवहारमा लागु गर्नु पर्ने कुरामा जोड दिनु भयो । वहाँले बुद्ध धर्मको प्रचारकालागि ज्ञानमाला भजन एक शशक्त माध्यम भएको र उपासक उपासिकाहरुले समयानुकुल राम्रा ज्ञानमालाको  रचना गरि सर्वप्रिय संगीतको संयोजनबाट नयाँपीढि आकर्षित गर्नुपर्ने बताउनु भयो ।
२९ गते दिउंसो शुरु भएको समापन समारोह केन्द्रीय अध्यक्ष किरण कुमार जोशीको सभापतीत्वमा, सम्मेलन घोषणा वाचन वरिष्ठ उपाध्यक्ष रमना श्रेष्ठबाट, सम्मेलनको समिक्षात्मक मन्तब्य संरक्षक प्रा. सुवर्ण श्रेष्ठबाट, धन्यवाद ज्ञापन महासचिव शान्तकुमार चित्रकारबाट गरिएको थियो ।

रमना श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमितिको चयन अन्तमा नेपाल राष्ट्रिय ज्ञानमाला कार्यसमितिको निर्वाचनको क्रममा श्रीमती रमना श्रेष्ठको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष विमल बहादुर शाक्य, बुटवल । उपाध्यक्ष मध्यमाञ्चल तर्फ जुलुम शाक्य, कीर्तिपुर । उपाध्यक्ष पूर्वाञ्चल तर्फ पञ्चु शाक्य, धरान । उपाध्यक्ष पश्चिमाञ्चल तर्फ केशवलाल बज्राचार्य तानसेन, पाल्पा । महासचिव इन्द्रमुनी शाक्य, ललितपुर । उपमहासचिव प्रकाश ताम्राकार, काठमाडौं । कोषाध्यक्ष, सप्तराज शाक्य, ललितपुर । सहकोषाध्यक्ष अष्टबहादुर डंगोल कीर्तिपुर । सदस्यहरुमा राजभाई शाक्य, ललितपुर । लक्ष्मीबहादुर महर्जन, ललितपुर । कुमार महर्जन, लुभू, ललितपुर र मेनुका बज्राचार्य तानसेन पाल्पा सहितको १३ सदस्यीय कार्य समितिको  निर्विरोध निर्वाचित भएको थियो । नबनिर्वाचित कार्यसमितिको पहिलो बैठकबाट कार्य समिति सदस्यमा काईंली रञ्जीत, काठमाडौं । सुमित्रा श्रेष्ठ, साँखु र लक्ष्मीदेवी मानन्धर बनेपालाई मनोनीत गरिएको थियो भने शान्तरत्न शाक्य, काठमाडौं प्रमुख सल्लाहकार र  रामकृष्ण वैद्य, भक्तपुर, महारत्न बज्राचार्य हेटौडा, किरण कुमार जोशी, काठमाडौं, शांन्तकुमार चित्रकार, काठमाडौं समेतको सल्लाहकार सदस्य मनोनीत गरिएको थियो । त्यस्तै गरी विगतदेखि नेपाल  राष्ट्रिय ज्ञानमाला समितीको धर्मानुशासकका रुपमा संघनायक भिक्षु अश्वघोष महास्थविर र
संरक्षकका रुपमा प्रा. सुवर्ण शाक्य, काठमाडौं रहनु भएको जानकारी नवनियुक्त अध्यक्ष श्रीमती रमना श्रेष्ठले बताउनु भयो ।
कीर्तिपुर सन्देश साप्ताहिकको अंक ३२० मिति २०७४ माघ १० गते प्रकाशित

No comments:

Post a Comment