Monday, January 29, 2018

मञ्जुश्री प्रतिमा स्थानार्थ रत्नन्यास पूजा सम्पन्न

मञ्जुश्री प्रतिमा स्थानार्थ रत्नन्यास पूजा सम्पन्न





चोभार सहित कीर्तिपुरको सम्बृद्धिको यात्राका लागि मञ्जुश्री प्रतिमा एक कोशेढुंगा सावित हुनेः युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी

कीर्तिपुर सन्देश साप्ताहिक/

काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नं. १० का प्रतिनिधी सभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री मा. राजेन्द्र कुमार के.सीको प्रमुख आतिथ्यमा जलविनायक सामुदायिक वन उपभोक्ता समूहवाट जारी ३३ फिटको मञ्जुश्रीको प्रस्तर प्रतिमा निर्माण योजना अन्तर्गत रत्नन्यास कार्यक्रम सम्पन्न भएको छ । समूहका अध्यक्ष ईन्द्र वहादुर महर्जनको अध्यक्षता कीर्तिपुर नगरपालिका वडा नं. ६, चोभार स्थित प्रतिमा निर्माण स्थलमा २०७४ माघ ८ गते भएको उक्त कार्यक्रममा प्रतिमा निर्माणमा हाल सम्म भएको आय व्यय एवं निर्माण सम्वन्धी प्रगति प्रतिवेदन तथा आगामि कार्ययोजना प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी मन्त्री के.सी.ले राजनीतिक विभेदका मुद्दा अब समाप्त भई सकेको हुँदा सवै जनप्रतिनिधीहरु अब सम्वृद्धिको यात्रामा लाग्नु पर्ने कुरामा जोड दिनु भयो । चोभार उपत्यकाको मात्र नभई राष्टिूय स्तरमा एक सुन्दर प्राकृतिक स्थल भएको हुँदा जारी मञ्जुश्री प्रतिमा निर्माण कार्यले चोभारसंग संगै समग्र कीर्तिपुरको विकास तथा संवृद्धिका लागि कोशेढुङ्गा सावित हुने कुरामा विरुश्वास व्यक्त गर्नु भयो । साथै वहाँले प्रतिमा निर्माण कार्यका लागि केन्द्रिय सरकार तथा आफ्नो सांसद विकास कोषवाट समेत यथाशक्य सहयोगको लागि प्रतिवद्धता जनाउनु भयो । साथै सुख्खा बन्दरगाह, वाहिरी चक्रपथ, जारी मञ्जुश्री प्रतिमा निर्माणसहितका स्थानीय गतिविधिले यस क्षेत्रलाई चाँडै एउटा धार्मिक, ऐतिहासिक एवं पर्यटकिय गन्तव्य स्थलका रुपमा विकास गर्ने कुरामा विश्वस्त हुन समेत आग्रह गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथी महिला, वालवालिका तथा समाजकल्याण मन्त्री विक्रम वहादुर थापाले कार्यक्रमको गरिमा धेरै उच्च रहेको र जारी योजना सम्पन्न गर्न आफ्नो तर्फवाट ४ लाख रुपैयाँको सहयोग गरी सकेको र थप सहयोगका लागि प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

प्रतिमा निर्माणका लागि विशेष सहयोग गर्ने विश्व शान्तीका अभियन्ता, यूरेशिया रेयुकाईका संस्थापक अध्यक्ष श्री याशुन मासुनागाले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा ज्ञानको अपार भण्डार वोधिसत्व मञ्जुश्रीको ज्ञान मार्फत चोभार मात्र हैन समग्र नेपाल मात्र हैन सम्पूर्ण विश्वलाई डोर्याउने थलोका रुपमा विकास होस् भन्ने कामना गर्नु भयो भने प्रतिमा निर्माणका लागि थप सहयोगको समेत प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै मासुनागालाई ८४ वर्ष नाघेको अवसरमा नेवारी परम्परा अनुसार सगुन दिई सम्मान गरिएको थियो भने कदरपत्र प्रदान गरी दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । गुठी संस्थानका पूर्व अध्यक्ष तथा प्रशासक पञ्चलाल महर्जनले स्थानीय स्तरमा राजनैतिक आस्थाका आधारमा नभई स्थानीय विकासको लागि सवै एक जुट भई अगाडि वढेमा चोभार क्षेत्रा दु्रत गतिमा नमूना विकासका थप परियोजनाहरु अगाडि वढाउन सकिने धारणा राख्नु भयो भने केन्द्रिय तथा स्थानीय सरकारले चोभार क्षेत्रको विकास र मञ्जुश्री लगायतका जारी योजनाहरु सम्पन्न गर्न आवश्यक न्यूनतम पनि सहयोग पुर्याउन नसेकेको तथ्य स्पष्ट पार्नु भयो । यसका लागि आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्न कार्यक्रमका प्रमुख अतिथी एवं युवा तथा खेलकुद मन्त्रीलाई अपील पनि गर्नु भयो । कार्यक्रममा वौद्ध विद्वान तथा गुरुहरुवाट धार्मिक विधि अनुसार रत्नन्यास पूजा गरिएको थियो । कार्यक्रममा गैर आवासिय नेपाली संघ, एशिया प्याशिफिक क्षेत्रिय कमिटीका अध्यक्ष श्री किरण विक्रम थापा, प्रा.डा. गोपाल शिवाकोटी (चिन्तन) ले एक एक लाख तथा चोभार सुलक्षण कीर्ति विहारका अध्यक्ष डा. अनोजा गुरुमाले प्रतिमा निर्माणका लागि थप १० हजारको आर्थिक सहयोगको प्रतिवद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा समूहका कोषाध्यक्ष एवं मञ्जुश्री प्रतिमा निर्माण समितिका संयोजक सुजिन्द्र महर्जनले प्रतिमा निर्माणका लागि हाल सम्म लागेको खर्च जम्मा करीव १ करोड पचास लाख ) तथा सहयोग संकलन अर्थात आम्दानि करीव ७० लाख रहेको विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिमाको पेरीफेरी वाहेक प्रतिमा निर्माणका लागि मात्र अझ एक करोड लाग्ने अनुमान निर्माण संयोजक महर्जनले प्रस्तुत गर्नु भयो । संस्थाका उपाध्यक्ष श्री दिपक महर्जलने स्वागत तथा कार्य समिति सदस्य अम्कन कर्माचार्यले धन्यवाद मन्तव्य राख्नु भएको उक्त कार्यक्रम समूहका सचिव सुनीता (शुभलक्ष्मी) शाक्यले संचालन गर्नु भएको थियो ।

No comments:

Post a Comment