Saturday, October 29, 2016

म्ह पूजा

म्ह पूजा




प्रमोद श्रेष्ठ

जिवनको मूर्त अमूर्त भावना अनि भौतिक बस्तुहरू समेटेर गरिने विशुद्ध नेवार संस्कृति हो म्हः पूजा । यो पूजा हिन्दु र बौद्ध परम्परा भन्दा भिन्न छ । सामान्यतया म्हः पूजा भन्नाले शरिर पूजा भन्ने बुझिन्छ । तर यो शरिर पूजा मात्र नभएर यो आत्म पूजा, आन्तरिक ज्योति जगाउने, आत्म शुद्धिकरण, चेतनाको शुद्धिकरण पनि हो ।

दार्शनिक महत्व ः
ईश्वरको सर्वशक्तिमान अवस्था, सर्वव्यापि अवस्था लाई म्हः पूजाले अंगीकार गरेको पाईन्छ । त्यसै गरि प्राणी मात्रमा सर्व श्रेष्ठ, चेतनशील मनुष्य (आफू ) लाई सर्वव्यापि मध्ये एक प्रतिकको रुपमा पूजेको भन्ने भनाई छ । अर्को तर्फ आत्मा अमर छ, यो कहिले पनि मर्दैन । खालि यसले आवरणको रुपमा शरिर मात्र फेर्छ भन्ने विश्वासका साथ आत्म पूजा गर्ने भनिन्छ । त्यसरि नै यो पूजाले अन्तहीन संसारको अवधारणा लिएको छ । न अन्त छ न शुरु छ भन्ने कुराले आत्मसाथ गरेको छ । यसको पुष्टि भनेको जजंका (अन्तहिन धागो)को यस पूजामा प्रयोग हुनुले गर्छ ।

परम्परा—बिधि—अर्थ 

मण्डप (मण्डल ) ः पूजाको तयारीको रुपमा मण्डप वा मण्डल बनाउने गरिन्छ । मण्डपले ब्रह्माण्डको प्रतिनिधित्व गर्छ । यसमा पृथ्वी, सारा ग्रह, तारा, तारापुञ्ज, नक्षत्र, आकाश गंगा, सृष्टिको सारा समष्ट जिवजन्तु पनि समेटिएको हुन्छ । यसमा गोलाकार मण्डपमा बिभिन्न रंगविरंग पोटायका कोठा कोठाहरु हुन्छन । जुन खगोलिय नक्शाको प्रतिक रुपमा छ ।

लः मण्डः (पानी मण्डल) ः मण्डपमा पानीको प्रयोग गरेर मण्डप बनाईन्छ । यसलाई शुद्धताको प्रतिकको रुपमा लिईन्छ ।

चिकं मण्डः (तेल मण्डल) ः  पानी पछि तेल मण्डल बनाईन्छ । तेल चाँडै नसुक्ने भएकोले यसले दिर्घकालिन अस्तित्वको प्रतिनिधित्व गर्छ ।

सगुन अर्थात मंगल ः 

यो पूजा अष्ट मंगल अथवा आठ मंगल पूजा विधि अनुसार हुने भनिन्छ ।
ति यस अनुसार क्रमवद्ध छ ।
१. मण्डल पूजा (सारा ब्रह्माण्ड, सारा सृष्टिको पूजा,
२. खेलु ईताः (मतः) पूजा– आत्म ज्योति पूजा,
३. म्हः पूजा (आत्म पूजा) (मानविय मूल्य, मान्यता र सम्मानको पूजा,
४. धौ सगं (दहि सगुन)— यो टिका दहिमा मुछेर दिने गरिन्छ ।  दहिले पूर्णीमा प्रतिनिधित्व गर्छ भन्ने विश्वास छ । दहि सगुन धारणकर्तालाई अन्ध्यारोमा पनि पूर्णीमा जस्तो प्रकाशमय होस भनेर कामना गरिन्छ ।
५. सीः (फलफूल)—फलफूलमा बिउ हुने र यसले उत्पादनशीलतालाई प्रतिनिधित्व गर्छ । जसले यो सगुन प्राप्त
गरेको हुन्छ, उसलाई उत्पादनशील होस भन्ने कामना गरिन्छ ।
६. वसः (वस्त्र) –यो सगुनको रुपमा कपडा वा लुगा दिने
गरिन्छ । यो दिएर आधारभूत आवश्यकताबाट कहिले पनि वंञ्चित हुनु नपरोस भनेर कामना गरिन्छ ।
७. मरी (मिठाई)— यो सगुनमा मिठाई प्रदान गरिन्छ । यो प्रदान गर्दा जिवन मिठासले भरिपूर्ण होस भनेर कामना गरिन्छ ।
८. खेँय सगं (अण्डा सगुन)— यसमा ५ प्रकारका बस्तु समावेश हुन्छ—

१.न्याः (माछा) —पानीमा बस्ने माछा, जसले जलको प्रतिनिधित्व गर्छ ।
२.ला (मासु)–मासु जमीनमा बस्ने कुनै जन्तुको हुने भएकोले यसले थलको प्रतिनिधित्व गर्छ ।
३.खँेंय (अण्डा)—अण्डा पंक्षीको चिनो र यसले आकाशको प्रतिनिधित्व गर्ने गर्छ ।
४.वः (वारा)—मासको अथवा मुगको वाराले आसन वा अडिगता, स्थिरता प्रतिनिधित्व गर्छ ।
५.अयला (रक्सी)—यसले उर्जाको प्रतिनिधित्व गर्छ ।

यो सगुन धारणकर्तालाई जल, थल, आकाश तिनै लोकमा जहा गए पनि जय होस भनि कामना गर्ने गरिन्छ ।
अन्य अर्थपूर्ण बस्तु र विधि ः तसीः ( विमिरो )
यो फलफुलमा सब फलफुलको गुण समाबेश भएको मानिन्छ । खोसी (ओखर) यो प्रदान गरेर जिवन सुरक्षित
होस । सुरक्षा कडा ओखरको आवरण जस्तो होस भनेर कामना गरिन्छ । जंजका ( टुप्पो र फेद नभएको धागो । यसलाइ प्रदान गरेर अन्तहिन संसारको जानकारि दिने भनिन्छ । ग्वय स्वाँ (मखमलि फुल)—यो फुल नओईलिने विश्वास गरिन्छ । त्यसरि नै जिवन पनि सदा सदाको रहोस भनेर कामना गरिन्छ । आध्यात्मिक स्नान— म्हः पूजा गर्दा काठको पाथीबाट बिभिन्न फुल, फलफुल आदि राखेर टाउकोमा खन्याईन्छ । यसलाई स्नान गराउने भनिन्छ । यो स्नान आध्यात्मिक स्नान हो । आकाशिय दैविक उर्जाको वर्षा गरेर स्नान
गराएको मानिन्छ ।

पूजा सम्पन्न गर्ने तरिका ः क्रमसंग मण्डल अगाडि राखेर उमेर अनुसार वरिष्ठ मर्यादाक्रम अनुसार पूजा गराउने ब्यक्तिहरु वस्छन । नोकु (महिला प्रमुख) को नेतृत्वमा यो पूजा संम्पन्न हुन्छ । मण्डप बनाउँदा कम्तिमा अगाडि र पछाडि दुईटा मण्डप बनाउने चलन छ । अगाडि आगन देवता वा गणेश र पछाडि मृत्यु देवताको दूतको लागि भनिन्छ ।

No comments:

Post a Comment