Friday, September 16, 2016

कीर्तिपुरको प्रथम पत्रकार लोकबहादुर डंगोल प्रमाणित

कीर्तिपुरको प्रथम पत्रकार लोकबहादुर डंगोल प्रमाणित




कीर्तिपुर सन्देश /
   काठमाडौंको दक्षिण भेगमा अवस्थित कीर्तिपुर पत्रकारिता क्षेत्रमा अगाडि नै छ भन्नुपर्छ । यस क्षेत्रमा नेपालभाषाबाट “ज्वजलपा वाःपौं” खस नेपाली भाषाबाट ४ वटा साप्ताहिकहरु “कीर्तिपुर दर्पण” “सहिद” “कीर्तिपुर सन्देश” र “स्वर्णिम सन्देश” नियमित रुपमा प्रकाशित भइरहेका छन् ।
 यो बाहेक पनि राष्ट्रियस्तरका दैनिक पत्रिका, साप्ताहिक पत्रिका र वेव साइटमा काम गर्ने राष्ट्रियस्तरका पत्रकारहरु पनि कीर्तिपुरमा छन् ।

कीर्तिपुर सागः टोलका ज्ञान वहादुर महर्जनले वि.सं.२०३० सालमा नेपालभाषाको साहित्यिक पत्रिका “लू निभाः” प्रकाशित गर्नुभएको थियो । त्यसैलाई आधार मानेर ज्ञानवहादुर महर्जनलाई कीर्तिपुरको पहिलो पत्रकारको रुपमा मानिंदै आएको हो ।

अहिले प्राप्त भएको प्रमाण अनुसार पाँगा ढोकाफल निवासी  डिटठा नरवहादुरका जेठा छोरा स्व.लोकबहादुर डंगोलले वि.स.२००४ सालमै गोरखा पत्रको सम्वाददाताको नियुक्त पत्र पाएर काम गरी सक्नु भएको थियो ।
उक्त नियुक्ति पत्रमा लेखिएको छ, “ल.पु.ई.पांगा ढोकाफले टोल बस्ने ठाना अभिनी स.अ.ना.रा. लोकवहादुरलाई २००४ साल चैत्र मसान्तसम्मका निम्ति, नेपाल सरकारद्वारा प्रकाशित गोरखापत्रको संवाददाता नियुक्त गरी, यो प्रमाणपत्र दिने काम भएको छ । निजलाइ कुन नयाँ कुरो बुझ्ने तथा अद्दा अदालतको छलफल फैसला र सार्वजनिक सभामा भएको कुरा सुन्ने पूर्ण अधिकार छ ।
विजय शम्शेर— (डाइरेक्टर जनरल अफ दि डिपार्टमण्ट अफ पब्लिसिटि नेपाल)को हस्ताक्षर नियुक्ती पत्रमा रहेको छ ।

त्यसको साथै अर्को कागजमा सम्वाददाताले पाउने सुविधाहरुको बारेमा पनि उल्लेख गरिएको छ । जसअनुसार
१. चिटठी र तारहरु पठाएको खर्च संपादकद्वारा पाइन्छ ।
२. विना मूल्यमा गोरखापत्र एक एक प्रति पाइन्छ ।
३.सम्वाददाताहरुले आपूmलाई चाहिंदो गो.प.को ग्राहक बनाउने रसिद झिकाई पठाएमा पठाइन्छ ।
४. महत्वपूर्ण खबर पठाएमा प्रत्येक खबरको बेग्ला बेग्लै पुरस्कार पनि दिइन्छ ।
५. यिनी गोरखापत्रका संवाददाता हुन भनी एउटा प्रमाण पत्र पनि  दिइन्छ ।

त्यसको साथै गोरखापत्रका सम्वाददाताहरुले पालन गर्नु पर्ने नियमहरू ः

१. एक महिनाभित्रमा कमसेकम चार ओटा चिटिठ लेख्नै पर्ने ।
२. सम्वाददाताहरूले कुनै खवर पनि राम्रोसँग नबुझी गल्ली हल्लाको भरमा मात्र लेख्न हुँदैन ।
३. सम्वाददाा हुन चाहनेहरूले आफ्नो पूरा परिचय र पेशा लखी संपादक गोरखापत्र नेपालको नाममा पठाउनु पर्छ ।
४. सम्वाददाताको भरपर्दो परिचयका निम्ति कुनै सरकारी अफिसर अथवा कुनै प्रमुख संस्थाको उच्च अधिकारीको पूरा ठेगाना समेतको हस्ताक्षर हुनैपर्छ ।
५. खबरहरु पक्षपात रहित र संवाददाताको व्यक्तिगत स्वार्थसँग सम्बन्ध नराख्न हुनुपर्छ ।
६. सम्बाददाताको प्रमाणपत्र प्रतिवर्ष विक्रम सम्बतको प्रारम्भमा फेरिनेछ ।

वि.सं.१९७४ सालमा डिट्ठा नरबहादुर डंगोलको जेठो छोराको रुपमा जन्मनु भएका लोक वहादुर डंगोलले २००४ साल बैशाखमा उहाँ गोरखापत्रको संवाददाता नियुक्त हुनुभयो । २००४ साल भाद्र २३ गते उहाँलाई राजबन्दीको रुपमा जेल हालेको थियो । २ वर्षपछि २००६ साल भाद्र २० गते जेल मुक्त हुनुभयो । ३४ वर्षको अल्पायुमै २००८ साल भाद्र १ गते उहाँको निधन भएको  थियो ।
उहाँलाई के कारणले जेल हालियो उल्लेख छैन । केवल राजबन्दी मात्र भनिएको थियो ।

No comments:

Post a Comment