Thursday, September 15, 2016

समाजसेवी शंकर डंगोलसँग एकछिन

समाजसेवी शंकर डंगोलसँग एकछिन






उहाँको संक्षिप्त परिचय
कीर्तिपुर नगरपालिका वडा नं ११ पाँगा ढोकाफलमा बस्नु हुने समाजसेवी शंकर डंगोल डिट्ठा नरबहादुर डंगोलका नाती, आमा दिलमाया डंगोल र स्व बुवा लोक बहादुरका एक्ला छोराको रुपमा वि.सं. २००१ जेठ ३० गतेका दिन जन्मिनु भएको हो । उहाँको  श्रीमति पाँगा दथल निवासी स्व. गोविन्ददास महर्जनको जेठी छोरी देवकुमारी डंगोल हुनुहुन्छ । उहाँको दुई जना छोराहरू अरुण डंगोल र सागर डंगोल र एक छोरी अमिता डंगोल हुन् । जेठा छोरा अरुण डंगोल कीर्तिपुर नगरपालिकाको वडा नं. ११ मा २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । शंकर डंगोल हाल वातावरण संरक्षण समाजको अध्यक्ष हुनुहुन्छ ।—सं.

तपाईंको पारिवारिक पृष्ठभूमि थाहा भयो । अब तपाईंको राजनीतिक संलग्नता बारे केही बताउनुहोस ।

— वि.सं २०१३ सालतिर हिरण्यलाल श्रेष्ठको अध्यक्षतामा गठित याँेग कम्युनिष्ट लिगको पाँगामा ५ जना सदस्यमध्ये म पनि एकजना हुँ । शिव सिँ ज्यापु, धर्म महर्जन, जलबहादुर महर्जन र कृष्णभक्त महर्जन पनि योँग कम्युनिष्ट लिगका सदस्यहरू थिए । वि.सं.२०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी एमालेका संगठित सदस्यता लिइ हालसम्म सोही पार्टीमा आवद्ध छु ।

तपाईंले कहाँ कसरी शिक्षा प्राप्त गर्नुभयो । सो को बारेमा केही बताइ दिनुहोस ः 

—मैले पाँगाको भाषा पाठशालाबाट अध्ययन शुरु गरी जलविनायक आधार हाइस्कूलमा कक्षा ६ सम्म अध्ययन गरी त्रिभुवन प्रौढ शिक्षा निकेटन दरवार हाइस्कूलबाट एस एल सि पास गरें । आइ.कम त्रिचन्द्र कलेजबाट सक्याएर इलेक्ट्रिकल इन्जिनियर पढ्न छात्रवृति लिएर जर्मनमा अध्ययनको लागि प्रस्थान गरें । त्यहाँबाट फर्केर फेरि पाटन कलेजबाट वि.कम पास गरे ।

तपाईले के कस्तो तालिमहरू हासिलगर्नु भएको छ ? तालिम पछि के गर्नुभयो ?


—मैले घरेलु उद्योग तथा तालिम केन्द्रमा विद्युत सम्वधि तालिम लिएको छु भने सिँगापुरको जेरोक्स टे«निङ केन्द्रमा फोटोकपी मेशिन सम्वन्धि तालिम, बेलायतमा पनि फोटोकपी सम्वन्धि र कम्प्युटर तालिम पनि हासिल गरेको  छु ।
मैले खासगरी नेपालमा फोटोकपी मेशिन आएको बेला अर्पन टे«डिङ कन्सर्न काठमाडौंको सेवा व्यवस्थापक रुपमा काम गरें । नेपाल विद्युत उद्योग प्रा.लि पाटन उद्योगिक क्षेत्रमा उत्पादन इन्जिनियरको रुपमा काम गरें । राष्ट्रिय सभागृहमा सुपरटेन्डेन्ट सुपरभाइजरको पनि काम गर्ने मौका पाएँ । बीरगंन्ज चिनी कारखानाको सुपरभाइजको रुपमा काम गरँे ।

आजकल पाँगामा फोहर मैला व्यवस्थापन सम्बन्धि काम गरिरहेको वातावरण संरक्षण समाजको तपाईं अध्यक्ष हुनुहुन्छ । सो संस्था वारे केही बताइदिनु हुन्छ कि ?

—वातावरण संरक्षण समाज एक गैरराजनीतिक, गैरसरकारी तथा सामाजिक संस्था हो । यो संस्था काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी, समाज कल्याण परिषदमा आवद्ध संस्था हो । यो संस्था कीर्तिपुर नगरपालिकामा पनि व्यवसाय दर्ता गर्नुका साथै नेपाल सरकारको आन्तरिक राजस्व कार्यालयमा दर्ता गरी नियमित रुपमा नविकरण भइरहेको छ । यो संस्था विशेष गरी पाँगा महिला बचत तथा ऋण सहकारी संस्थासँग आवद्ध भएका महिला दिदी बहिनीको विशेष पहलमा पाँगामा वातावरण संरक्षण समाज गठन गर्ने क्रममा फोहरमैला संकलन, कम्पोष्ट मल उत्पादन, पूनप्रयोगीय सामानको वेचविखन तथा चेतना मूलक तालिमहरुको आयोजनाका कार्यक्रमहरू गर्दै आएको छ । शुरुमा नेपाल सरकारको नमुना कार्यक्रमको रुपमा आफ्ना आँगन आफै सफा गरौं वा जसले फोहर गर्छ उसले तिर्नु पर्दछ भन्ने शहरी विकास तथा भौतिक मन्त्रालयबाट आएको कार्यक्रमलाई नै यस पाँगामा लागु गरिएको हो । उक्त कार्यक्रम अन्तर्गत शुरुमा तीनवटा रिक्साबाट फोहर संकलनको कार्य गर्दै आएकोमा पछि ट्याक्टरबाट फोहर संकलन गरेको र हाल गाडी र ट्याक्टर दुवैबाटै फोहर संकलन गर्ने गरेको छ  ।

कीर्तिपुर फोहर व्यवस्थापन सेवा भनेको के हो ? ः 

—वातावरण  संरक्षण समाज र ब्लुवेष्ट टु भ्यालू प्रा. लि.बीच मिति २०७२ कार्तिक २९ गते तदनुरुप (१५ नोभम्वर २०१५) कादिन साझेदारीमा गर्ने सम्झाौता भएअनुसार कीर्तिपुर फोहर व्यवस्थापन सेवाको  नाउँमा मिति २०७२  मंसिर १ गतेदेखि फोहर व्यवस्थापनको काम शुरु गरिएको हो । कीर्तिपुर फोहर व्यवस्थापन सेवाले कीर्तिपुर नगरपालिकाको साविक वातावरण संरक्षण समाजले शुरु गरेको क्षेत्रलाई नै आफ्नो कार्यक्षेत्र बनाएको छ । यस कीर्तिपुर फोहर व्यवस्थापन सेवालाई घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरमा दर्ता गरिएको छ । यसै सेवालाई कीर्तिपुर नगरपालिकामा पनि व्यवसाय दर्ता गरिएको छ भने नेपाल सरकार
आन्तरिक राजश्व कार्यालय कलंकीमा स्थायी लेखा तथा पानमा दर्ता गरिएको हो ।

यसको अलावा तपाई कुन कुन संस्थामा संलग्न हुनुहुन्छ ?

—म पाँगा बहुउद्देश्यीय सहकारी संस्थाको पूर्व अध्यक्षको रुपमा काम गरेँ, अहिले त्यस सहकारी संस्थाको सल्लाहकारमा छु । तत्कालिन पाँगा मा. वि.को व्यवस्थापन समितिको संस्थापक सदस्यको रुपमा काम गरेँ । त्यस्तै हालको जनसेवा उच्च मा. वि.को पनि व्यवस्थापन समितिको सदस्यको रुपमा काम गरेँ । अहिले पनि पाँगा महिला बचत तथा ऋण सहकारी संस्था र न्हुजः आमा समुहको सल्लाहकारका रुपमा छु । हालश्री बाघभैरब तः गुठीको व्यवस्थापन समितिको सदस्य, बालकुमारी स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिको सदस्य र आयुर्वेदिक स्वास्थ्यचौकीको व्यवस्थापन समितिको सदस्यको रुपमा कार्यरत छु । ज्यापू महागुठी कीर्तिपुरको आजीवन सदस्यको रुपमा रहेको छु ।





No comments:

Post a Comment