Friday, May 3, 2013

जनसेवामा प्राविधिक शिक्षा

अंक ९१ ने. सं. ११३३ चौलागा खष्ठी बुधवाः २०७० बैशाख १८ गते बुधवार May 1, 2013

जनसेवामा प्राविधिक शिक्षा

स.प्रा. दुर्गावहादुर महर्जन

जनसेवामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद मार्फत विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको छ । यसले प्राविधिक तथा व्यावसायिक क्षेत्रका २० वटा विषयमा २५ वटा प्राविधिक शिक्षालय र बहुप्राविधिक शिक्षालय, एउटा प्राविधिक प्रशिक्षण प्रतिष्ठान, २ वटा व्यावसायिक तालिम केन्द्र, ३ सय २९ वटा छोटो अवधिका व्यावसायिक तालिम सञ्चालन गर्ने ५४ वटा केन्द्र र एनेक्स कार्यक्रम अन्तर्गत ४४ वटा विद्यालयहरूले तीन वर्षे डिप्लोमा तहका तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल शिक्षा विभागले प्राज्ञिक रूपमा नै प्राविधिक तथा व्यावसायिक तालिम केन्द्रसँग समन्वय गरेर विद्यालय क्षेत्र सुधार कार्यक्रम अनुसार कक्षा ९ बाट विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने क्रममा विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन निर्देशिका २०६९ मा व्यवस्था भए अनुसार शैक्षिक सत्र २०७० बाट नै लागु हुने गरी १०० वटा सामुदायिक विद्यालयमा पाइलट प्रोजेक्टको रूपमा प्राविधिक एसएलसी (TSLC) सञ्चालन गर्न नीति सरकारले लिएको छ । यही १०० वटा कोटा मध्ये जनसेवा पनि एक हो ।

विद्यालयमा प्राविधिक शिक्षाको लागि आवश्यक पूर्वाधार तयार भएको, विद्यालय, जन समुदाय, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजीवि तथा अन्य क्षेत्रको गरी सबैको सक्रिय भूमिकाको कारणले काठमाण्डौं जिल्लामा नै एक काटा जनसेवा उ.मा.वि.लाई प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति पाएको हो । त्यसकारण न्यूनतम मापदण्डको अभावमा सञ्चालनमा कठिनाई हुने भएकोले जसरी अनुमति लिन सक्रिय भूमिका भयो त्यसरी नै प्राप्त भएको अवसर लाई सदुपयोग गर्न कीर्तिपुर क्षेत्रका सबै जनसमुदाय, बुद्धिजिवी, इञ्जिनियरिङ्ग क्षेत्रका व्यक्तित्वहरू, स्थानीय संघ संस्था, विद्यालयहरू तथा नगरपालिका आदिले सक्दो सहयोगको अपेक्षा गर्दछ ।

प्राविधिक शिक्षाले रोजगार मात्र प्रदान नगरेर आफ्नै आवश्यकता पूर्तिका लागि पनि यथेस्ट सहयोग पु¥याउँछ । स्वास्थ्य सम्बन्धि प्राविधिक शिक्षाले व्यक्तिलाई स्वयम् स्वस्थ रहन सहयोग पु¥याउँदछ । किसान तथा किसानका सन्ततिहरूलाई कृषि सम्बन्धि प्राविधिक शिक्षाले गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउँदछ । शहर तथा ग्रामिण क्षेत्रका बाल बलिकाहरूलाई इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स तालिमबाट घरमा बसेर नै रोजगारको अवसर प्रदान गर्दछ । साथै बैदेशिक रोेजगारीको लागि पनि प्रयाप्त अवसर मिल्छ । विद्युतीय सामाग्रीहरूको उपयुक्त किसिमबाट प्रयोग गर्न नजान्नाले घरमा आगो लाग्ने र विद्युतको झट्का लागेर मृत्यु हुनेको संख्या बढ्दै गएको पाइन्छ । त्यसकारण शीप मुलक अध्ययनले समाजमा बेरोजगारी भएर बस्न नपर्ने हुन्छ ।

नेपाल सरकारले प्राविधिक एसएलसी (TSLC) को लागि कृषि, बनस्पति, सिभिल, इलेक्ट्रिकल तथा कम्प्युटर गरी ५ विषयमा अनुमति पाउन सक्ने गरी विषय छुट्याएको छ । ती ५ वटा विषयमध्ये इलेक्ट्रिकल इन्जिनिरियङ्ग विषयमा जनसेवाले अनुमति पाएको हो । कक्षा ८ उतीर्ण विद्यार्थीहरूले विद्यालयले तोकेको समय प्रवेश, परीक्षामा योग्यताक्रमको आधारमा ४८ जनाको भर्र्ना रिन्छ । कक्षा ९ मा अंग्रेजी, विज्ञान, गणित र नेपाली विषय गरी पूर्णाङ्क ४०० को साधारण शिक्षा अध्ययन गर्नु पर्ने हुन्छ भने वाँकि ६०० पूर्णाङ्क को Computer Application, Enginnering Drawing, Electrical Enginnering, Basic Electronics, Work shop Technology  र Electrical Instaliation and maintenance को ४० पूर्णाङ्कको सैद्धान्तिक र ६० पूर्णाङ्कको प्रयोगात्मक परीक्षाको हुनेछ ।

माध्यमिक तहमा साधारण तथा प्राविधिक र व्यावसायिक शिक्षाको दुईवटा धार रहने गरी शिक्षा मन्त्रालयले २१ बैशाख २०६९ मा नयाँ पाठ्यक्रम संरचना स्वीकृत गरेको हो । स्वीकृत पाठ्यक्रम अनुसार २०७० सालबाट लागु हुने गरी कक्षा ९ र १० मा हालकै ८०० पूर्णाङ्क रहनेछ । अनिवार्य विषयमा ६०० पूर्णाङ्क र बाँकि २०० पूर्णाङ्क ऐच्छिक विषय रहनेछ भने कक्षा ११ र १२ मा ६५०/६५० पूर्णाङ्क को व्यवस्था गरेको छ जसमा २५० अनिवार्य र ४०० पूर्णाङ्कको ऐच्छिक विषय लिनु पर्ने हुन्छ । २५० पूर्णाङ्कको अनिवार्य विषयमा १०० पूर्णाङ्कको अंग्रेजी विषय छ भने ५०/५० पूर्णाङ्कको नेपाली गणित र समसामयिक अध्ययन रहने छन भने प्राविधिक शिक्षा तर्फ कक्षा ९ र १० मा १०००/१००० पूर्णाङ्कको अध्ययन गर्नु पर्ने छ भने कक्षा ११ र १२ मा पूर्णाङ्क हालसम्म निर्धारण गरिएको छैन । कक्षा १० उतर्णि गरेपछि दुवै धारमा जान सकिने गरी पाठ्यक्रमलाई लचिलो बनाएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रमले पठन पाठनमात्र नभई मूल्याङ्कन पद्धतिलाई पनि सुधार गर्ने अपेक्षा छ ।

नयाँ पाठ्यक्रम अनुसार कक्षागत पूर्णाङ्क
साधारण शिक्षा
कक्षा ९ — ८००
कक्षा १०— ८००
कक्षा ११ — ६५०
कक्षा १२ — ६५०
प्राविधिक तथा व्यावसायिक शिक्षा
कक्षा ९ — १०००
कक्षा १० — १०००
कक्षा ११ निर्धारण हुन वांकि
कक्षा १२ निर्धारण हुन वांकि

No comments:

Post a Comment