Sunday, July 28, 2024

कमरेड पुष्पलालको जन्म शताब्दी र ४६औै स्मृति दिवस

 कमरेड पुष्पलालको जन्म शताब्दी र ४६औै स्मृति दिवस


बुद्ध महर्जन

कार्यालय सचिव, पुष्पलाल स्मृति प्रतिष्ठान


नेपालको कम्युनिष्ट आन्दोलनका पिता कमरेड पुष्पलाल जन्मनु भएको एक शताब्दी भयो । धर्तीमा जन्मने मर्ने क्रम त चलि नै रहन्छ । तर जो जन्मन्छ त्यसले जीवनभर के कर्म ग¥यो ? त्यसले उसको जन्म र मरणको तात्विक अर्थ राख्दछ । जसले आफ्नो जीवन ब्यक्तिगत स्वार्थमा नरुमली जगत र बहुजन हीत र सुखलाई सर्वाेपरि राख्दछ भने त्यस्ता ब्यक्तिको जन्म र मरणको छुट्टै महत्व राख्दछ । नेपाली समाजमा भएको विभिन्न किसिमका भिन्नता र खाडललाई पुर्दै समतामुलक समाज निर्माणको महाअभियानका नायक कमरेड पुष्पलालको जन्म र मरणको विशेष महत्व राख्दछ । 

वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनु भएका कमरेड पुष्पलाल २०८१ असार १५ गते १०० वर्ष पूरा भयो । म जन्मेको करीब ३ वर्ष पछि २०३५ साल साउन ७ गते वहाँको निधन भयो । पुष्पलाल स्मृति प्रतिष्ठानलाई कर्मथलोका रुपमा अगाडी बढाउने क्रममा वहाँका समकालिन मित्रहरु आदरणीय क. नरबहादुर कर्माचार्य, क. निरञ्जन गोविन्द बैद्य, क. सहाना प्रधान, क. गौरी भक्त प्रधान, क. बलराम उपाध्याय, क. लक्ष्मीभक्त उपाध्याय, क. रामबहादुर भण्डारी, क. केशवखड्का, क. गोविन्द ज्ञवाली लगायत दर्जनौं अग्रज नेता कमरेडहरुसँग भेटघाट गर्दै कम्युनिष्ट पार्टीको स्थापना, आरोह अवरोह, कमरेड पुष्पलालका कारुणिक र मार्मिक दिनहरू अनि वहाँको अदम्य साहस र धैर्यतालाई पुराना कम्युनिष्ट नेताहरुको मुखारबिन्दुबाट सुनेर अनुभूति र नियाल्ने मौका पाएँ । सुनेर र पढेर प्रशिक्षित हुने मौका पाएँ । यसैको आडमा वस्तुस्थितिलाई आफ्नै कोणबाट विश्लेषण गर्न पनि सिकें । कमरेड पुष्पलालको विचार वहाँको जीवनी, इतिहास र वहाँका समकालिन मित्रहरुसँगको भेटघाट छलफल र कुराकानीको आधारमा कमरेड पुष्पलाललाई स्मरण चाहन्छु । 

राणा शासनको रगरगी चकचकीको बेला १९८१ असार १५ गते रामेछापको भँगेरीमा पिता भक्तलाल र तुल्सीमायाको कोखबाट जन्मनु भएका पुष्पलालले बीर शहीद गंगालाल श्रेष्ठको राणा विरोधी आन्दोलन र १९९७ सालको शहीद काण्डले राणा शासनका विरुद्ध लड्न अझ जागरुक, प्रतिवद्ध र प्रेरित गरायो । 

जहानिया क्रुर राणा शासनबाट थिचिएका नेपाली जनतालाई मुक्ती दिलाउने सपना बोकेका कमरेड पुष्पलालले नेपाली राष्ट्रिय कांग्रेसमा आवद्ध भई कार्यालय सचिवको जिम्मेवारी सम्हालेका थिए । राष्ट्रिय कांग्रस भित्र देखिएको नेतृत्वको लडाइँ नजिकबाट देखेका पुष्पलालले कांग्रेसबाट आफ्नो लक्ष्य प्राप्त गर्न नसक्ने देखेर २००६ साल बैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको गठन अन्य ४ जना सहयोद्धा कमरेडहरू समेतको सहयोगमा स्थापना गर्नु भयो । 

राष्ट्रिय कांग्रेस भित्र नेतृत्वको खिचातानी देखेर कम्युनिष्ट पार्टीको स्थापना गरेका क. पुष्पलालले पछि आफूले नै जन्माएको कम्युनिष्ट पार्टीमा पनि नेतृत्वको होड चल्न थाल्यो । पहिलो महाधिवेशनबाटै पुष्पलाललाई अगाडी बढ्न दिईएन । पुनः २०१४ सालको दोश्रो महाधिवेशनमा पनि विचार पुष्पलालको पारित भए पनि नेतृत्व भने केशरजंग रायमाझीको हातमा पुग्यो । आफू राजाको पक्षमा लागेर पार्टीलाई निस्कृय बनाए । सो अवस्थाबाट पार्टीलाई बचाउन पुष्पलालको उत्तिकै योगदान रह्यो । पछि तेश्रो महाधिवेशनबाट राष्ट्रिय प्रजातन्त्रको लाईन पास भयो र तुल्सीलाल अमात्यले पार्टीको नेतृत्व लिए । तत् पश्चात् कम्युनिष्ट आन्दोलनमा धेरै फूट र विभाजनहरु आए । कम्युनिष्ट पार्टीहरुको नाम पछाडी थरि थरिका पुच्छर झुण्डाउंदै मूलधार बाट अलग्गिंदै गए ।

२०१७ सालमा तत्कालिन राजा महेन्द्रबाट लादेको निरंकुश पञ्चायती व्यवस्थालाई फाल्नकालागि एकल प्रयासबाट सफल हुँदैन तसर्थ कांग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्नु पर्छ भन्ने विश्लेषण क. पुष्पलालको थियो । यस सम्बन्धमा कयौं पटक कांग्रेसका बि.पि., मातृका, गणेशमान सिंह लगायतका नेताहरुलाई संयुक्त जनआन्दोलनको प्रस्ताव राखे । तर कांग्रेसका नेताहरुले स्वीकार गरेनन् । सोही संयुक्त जनआन्दोलनको विषयले गर्दा क. पुष्पलालले कम्युनिष्ट पार्टी भित्र आफूलाई ‘गद्दार’, ‘कांग्रेसको पुच्छर’ जस्ता आरोप र लान्छनाहरु सहनु परेको थियो । तर कमरेड पुष्पलालले आफ्नो विचार, दृष्टिकोण र लक्ष्यमा कहिल्यै लर्बराएनन् । बिचलित भएनन् ।  निरन्तर लागि रहनु भयो ।

क. पुष्पलालले “राजनीति जालझेलको विषय होइन, परिस्थिति र वस्तुस्थितिको वर्गीय विश्लेषण गरि निकालिने निचोड हो” भन्नु भएको छ । हुन पनि हो । कम्युनिष्टहरु सानातिना विषयमा वृहत विश्लेषण गर्छन् । सानातिना विषयलाई ठूलो बनाएर पार्टी फोड्न समेत पछि नपरेको इतिहासहरु छन् । सानातिना विषयलाई मतमतान्तर गर्दै दशकौंदेखि कम्युनिष्ट आन्दोलनलाई छरपष्ट पारेका दृष्टान्तहरू छन् । नेकपाको स्थापना, घोषणा पत्र जारी दिन, संस्थापक सदस्यमा कमरेड मोतीदेवी हुन की होईनन् जस्ता विषय दिने हो भने कम्युनिष्टहरू दिन, महिना मात्र होईन वर्षाैसम्म विश्लेषण गर्दै फरक दृष्टिकोण राख्दै पार्टी नै टुक्रा टुक्रा पार्न पछि परेनन् । वास्तवमा कमरेड पुष्पलालले उक्त उक्ति पार्टीलाई सिथिल बनाउन हैन पार्टीलाई शशक्त बनाउन र वास्तविक वस्तुस्थितिको सहि विश्लेषण र निचोडको लागि भन्नु भएको थियो । कम्युनिष्टहरुको लक्ष्य भनेको समाजवाद हुँदै साम्यवाद हो । यो लक्ष्यकालागि सम्पूर्ण कम्युनिष्टहरु सानातिना मतभेदहरुलाई तिलान्जली दिंदै एकसूत्रमा बाँधिंदै लक्ष्ययात्रामा लाग्नु त कता हो कता । उनीहरु राष्ट्रिय एजेण्डालाई थाती राखेर सानातिना विषयमा अल्झेर सिंगो यात्रा गन्तब्य हिन बनाउँदै आएका छन् । हालै मात्र कमरेड पुष्पलालको उक्त उक्तिलाई उपहास गर्दै आफै सामेल भैरहेको क.पुष्पकमल दाहालको नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर कांग्रेसको आड लिएर प्रचण्ड सरकार ढालेर क.खड्ग प्रसाद ओली प्रधानमन्त्री पदमा आसिन हुनु भयो । त्यतिमात्र हैन कमरेड पुष्पलालले ‘संयुक्त जनआन्दोलन’को सिद्धान्त प्रतिपादन सत्ता प्राप्तिकालागि वामहरूबीच फूट गराएर फरक सिद्धान्त बोकेका प्रजान्त्रिकहरूसँग मिल्नकालागि अनि चुनावमा जित्नकालागि विचार, दृष्टिकोण नमिल्ने पार्टीहरूसँग मिलेर जान प्रतिपादन गरेको ‘संयुक्त आन्दोलन’को सिद्धान्त थिएन । देशको सार्वभौमिकता, अखण्डतामा आँच आउने, राष्ट्र राष्ट्रिता र स्वाधिनताकालागि पार्टी र सिद्धान्तभन्दा पनि माथि उठेर जुट्नु पर्छ, सामना गर्नु पर्छ । डट्नु पर्छ भन्ने मान्यता हो । 

“माक्र्सवाद लेनिनवादको विशेषता नै सिद्धान्त र ब्यवहारबीच एकता हो ।” भनेर कमरेड पुष्पलालले भन्नुभएको थियो । तर आज माथिदेखि तलसम्मका नेता र कार्यकर्ताहरूका कार्यशैली, विचार र ब्यवहार गैह्र कम्युनिष्ट र लज्जास्पद छ । कमरेड पुष्पलालले कम्युनिष्ट पार्टीलाई भोकभोकै बसेर, चनाको सातु र पानी पिएर विचार, दृष्टिकोण र मार्गप्रशस्त गरेका थिए । वहाँ कैयौं दिनहरू भोकभोकै सुत्नु भयो । काठमाडौंबाट विभिन्न संगठनका कमरेडहरु (क.देबनारायण, लोककृष्ण भट्टराई, मोहन बहादुर के.सी.) बनारस जाँदा एक मोहरमा राँगाको खुट्टा ल्याएर तन्द्रङ्ग झोल हालेर तनतन पिउंदा र पेटभरि खाँदै कैयौं दिनको भोक मेटाउनु भएको थियो । मट्तिेलको टुकी बाल्न नसक्दा रेलवे स्टेशनको बिजुलीमा गई कैयौं दस्तावेज तयार पार्नु भएको थियो । आज समय परिस्थिति बदलिएको छ । औंलामा गन्ने नेता बाहेक । कोही भन्दा कोही कम छैनन् । घर बंगला, गाडी आदी इत्यादी । कुरा उठाए ‘कम्युनिष्टहरू माग्ने होइनन्’ भन्न पछि पर्दैनन् । कमरेड पुष्पलालले खाइ नखाई जोगाएको कम्युनिष्ट आन्दोलन जनताका निम्ति हो । नेता प्रधानकालागि होइन । नीति र जनता प्रधानका लागि हो ।

कमरेड पुष्पलालले “नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो”मा प्रष्ट दर्शाउनु भएको छ । वहाँको मार्गचित्रबाट आजको गणतन्त्र स्थापना सम्भव भएको हो । यो यथार्थलाई कोही कसैले प्रकाशमा ल्याउन चाहँदैनन् । “नयाँ जनवादी कार्यक्रम” कै परिस्कृत रुप “जनताको बहुदलीय जनवाद” हो । यो वास्तविकतालाई छायाँमा पारेर पर्ने कुरा होइन ।

“तेश्रो महाधिवेशन पछि पार्टीमा विभिन्न फूटहरू आए । कमरेड पुष्पलाल धेरै चिन्तित हुनुहुन्थ्यो । सोही चिन्ता र पीडाबाट वहाँको रोग गाँजिएको साथै आहार विहारको ठेगान नहुँदाको कमजोरी पनि एक हो” भनेर पहिलो पुस्ताका कम्युनिष्ट नेताहरूले भन्नुभएको अझै याद आउँछ । आखिरमा २०३५ साउन ७ गते भारतको गोबिन्द बल्लभ पन्त अस्पतामा “जनताहरु सचेत हुनु पर्दछ, कार्यकर्ताहरू संगठीत हुनु पर्दछ । परिवर्तन अवश्यंभावी छ । यसलाई कसैले रोकेर रोक्न सक्दैन ।” भन्ने क्रान्तिकारी वाणी पश्चात् वहाँको निधन भयो । ४६ वर्ष भैसकेछ 

कमरेड पुष्पलालको निधन पश्चात पनि पंचायती निरंकुस सरकारले वहाँको पार्थिव शरिरलाई मातृभूमि नेपाल ल्याउने अनुमती दिएन । बरु ल्याउलान् भनेर त्रिभुवन विमान स्थलमा र नाकाहरूमा कडा पहरा लगायो । २०३५ साउन १६ गते स्थल मार्गबाट क. रामबहादुर भण्डारी र केशव खड्काले काठमाडौं ल्याई पु¥याए । बिशाल ¥यालीबीच शोभा भगवतीमा लगेर अस्तु बगाए । यस घटनाले राजनीतिक परिस्थिती भुसको आगो झैं सल्किन पुग्यो ।

२०४६ सालको जनआन्दोलन र ०६२÷६३को लोकतान्त्रिक आन्दोलन कमरेड पुष्पलालले देखाउनु भएको संयुक्त जनआन्दोलनको सिद्धान्तको आत्मसात थियो । प्रजातन्त्र संविधानसभाको निर्वाचन, संविधानको निर्माण हुँदै संघिय गणतन्त्र सम्मको राजनीतिक  परिवर्तन भयो । तर देशको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण हुन नसक्दा जनता निराश छन् । प्राप्त उपलब्धीलाई राष्ट्र र राष्ट्रियता र जनताप्रति प्रतिवद्ध हुन नसक्दा थुप्रै किसिमका चुनौती रहेको अवस्था छ । सोही चुनौती र नैराश्यताबीच नयाँ पार्टीहरूको उदय भयो । ठोस लक्ष्य र सिद्धान्तविनाका पार्टीहरूको उदय हुनुको कारण नै हालका पार्टीहरूले देखाएको अकर्मण्य कार्य कर्तुत जुन सिद्धान्त र व्यवहारबीच एकता नहुनु हो । जनतामा बढेको नैराश्यतालाई अझै बढावा दिने हो भने त्यस्ता सिद्धान्तहीन र विचारहिन पार्टी फष्टाउँदै गएर कालान्तरमा संविधान र गणतन्त्र नै दुर्घटना नपर्ला भन्न सकिन्न । तसर्थ आम गणतन्त्रवादी पार्टीहरू प्रजातान्त्रिक र वाम गरी दुई ध्रुवमा ध्रुबिकरण हुन जरुरी छ । ब्यापक पार्टी एकता गरेर शक्ति आर्जन गर्दै विगतका जनताको आँखाले ठम्याएका गलतहरूलाई मनन र स्वीकार गर्दै अगाडी बढ्ने र देशको आर्थिक सांस्कृतिक, सामाजिक लगायत समग्र क्षेत्रमा आमूल रुपान्तरण हुनुको विकल्प छैन । अन्यथा देशले लिने गलत मोडको जिम्मेवारी कम्युनिष्ट र कांग्रेसले लिनु पर्दछ ।

कमरेड पुष्पलालले बनारसमा कति त भोकभोकै कति चनाको सातु खाएर, ट्रेन स्टेशनमा रातको समयमा भोकभोकै बसेर पार्टीकोसिद्धान्त र विचारलाई समृद्ध बनाउन संधै लागि पर्नु भयो । आज वहाँको पदचापमा हिंडेका तर विभिन्न बाहनाबाजीमा टुक्रिएर विभिन्न पुच्छर झुण्डाएका कम्युनिष्ट पार्टीहरू अब देश र जनतालाई सर्वाेपरि मान्दै आफ्ना झिना मसिना असन्तोषहरूलाई तिलान्जली दिंदै एउटै सिंगो “नेपाल कम्युनिष्ट पार्टी” बनाउने महाअभियानमा जुट्न जरुरी छ । सिंगो कम्युनिष्ट पार्टीको नेतृत्व गरेर मात्र हैन एउटै कम्युनिष्ट पार्टी बनाउन त्याग गरेर पनि इतिहास रच्न सकिन्छ । कमरेड पुष्पलालको ४६औं स्मृति दिवस र जन्मशताब्दी उत्सब मनाई रहँदा वहाँको योगदानलाई स्मरण गरेर मात्र होइन, वहाँको सपना साकार पार्न सके मात्र वास्तवमा वहाँको श्रद्धाञ्जली हुनेछ ।

२०८१ साउन ५


No comments:

Post a Comment