Friday, September 8, 2023

हामीले सङ्घीय शासन प्रणालीसहितको नेपाली विशेषताको समाजवाद चाहेका छौँः का.वा.अध्यक्ष श्रेष्ठ

 हामीले सङ्घीय शासन प्रणालीसहितको नेपाली विशेषताको समाजवाद चाहेका छौँः

का.वा.अध्यक्ष श्रेष्ठ

ललितपुर । जनता समाजवादी पार्टी, नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सङ्घीय शासन प्रणालीसहितको समाजवाद नै नेपाली विशेषताको समाजवाद भएको बताउँदै नेपालजस्तो बहुजातीय बहुभाषिक मुलुकको राष्ट्रिय एकताको आधार सङ्घीयता र श्रमजीवी वर्गको मुक्तिको आधार समाजवाद भएको बताए । उनले उक्त कुरा जनता समाजवादी पार्टीको बागमती प्रदेश समितिको पुनर्गठन कार्यक्रममा मन्तव्यको क्रममा बताएको हो ।

श्रेष्ठले सङ्घीयतासहितको समाजवादको अवधारणाले जनता समाजवादीलाई अरु पार्टीभन्दा भिन्न बनाएको कुरामा जोड दिंदै भने, ‘हामीले राज्यमा मात्र होइन पार्टीमा पनि सङ्घीयताको अभ्यास गर्नु पर्छ । हामीले सङ्घीय संरचना राज्यसत्तासँग माग गछौँ, तर आफ्नो पार्टीमा लागू गर्दैनौँ र भन्छौ जिल्ला समितिहरू केन्द्रले नै चलाउनु पर्छ । सङ्घीय सरकारलाई प्रदेशलाई बाइपास नगर्न खवरदारी गछौँ, तर पार्टीभित्र समिति प्रणाली र चेन अफ कमान्डलाई बेवास्ता गछौँ । यो दोहरो मापदण्ड हो ।’


उनले थपे ‘सङ्घीय ढाँचाको पार्टीले प्रदेश र पहिचानमा आधारित प्रादेशिक संरचनाहरूलाई बाइपास गरेर केन्द्रले जिल्लालाई हेर्नु हुँदैन । सिद्धान्तमा जतिसुकै राम्रो कुरा गरे पनि जनताले जाँच्ने व्यवहारबाट नै हो । सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर भयो भने नामको नयाँ राजनीतिक शक्ति त बन्ला तर देश चलाउने विकल्प बन्न सक्दैन ।’

का.वा. अध्यक्ष श्रेष्ठले सङ्घीय ढाँचाको पार्टीमा एकात्मक ढाँचाको पार्टीमा जस्तो सबै शक्ति केन्द्रमा मात्र रहनु हुन्न भनेर नै पार्टीले लोकतान्त्रिक अकेन्द्रिकरणको सङ्गठनात्मक सिद्धान्त अपनाएको बताए । उनले भने, ‘लोकतान्त्रिक अकेन्द्रिकरणको सिद्धान्त भनेको अधिकारको विकेन्द्रिकरण होइन, न त यो अधिकार प्रत्यायोजन वा निक्षेपन मात्र हो । यो पार्टी शक्ति केन्द्र, प्रदेश तथा राष्ट्रिय समितिहरूमा विधानसम्मत बाँडफाँट हो, सबै शक्ति एउटै केन्द्रमा नरहनु हो ।’

हाल पार्टीद्वारा सञ्चालित तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानमा विगतमा जस्तो केन्द्रिकृत रूपमा उत्प्रेरक वा अभियन्ताहरू खटनपटन नगरी प्रदेश इन्चार्जको संयोजनमा केन्द्रिय समिति र केन्द्रिय निकायका सदस्यहरू तथा प्रदेश, राष्ट्रिय समिति र जिल्ला समितिको समेत सहभागितामा केन्द्रिय समिति र केन्द्रिय निकायका सदस्यहरूलाई पालिका पालिकामा सङ्गठन विस्तार र सुदृढीकरणका लागि खटनपटन गर्ने निर्णय भएको उनले बताए ।

उनले तीन महिनाभित्र प्रदेश, राष्ट्रिय समिति र स्थानीय तहका सबै समितिहरूलाई व्यवस्थित गर्नुपर्ने बताउँदै भने, ‘विधान र परिपत्रबमोजिम काम गरे तीन महिनाभित्र देशैभरी पार्टी र जनवर्गीय सङ्गठनहरू चुस्त दुरुस्त हुने छ ।’

कार्यक्रमा बागमती प्रदेश इन्चार्ज सुशिला श्रेष्ठले पार्टी सङ्गठनलाई टोल टोलसम्म विस्तार गरेमात्र पार्टीको उद्देश्य पुरा गर्न सकिने बताउँदै त्यसका लागि नयाँ विधानबमोजिम प्रदेश समिति र राष्ट्रिय समितिहरूलाई पुनर्गठन गर्नुपर्ने बताए । कार्यक्रममा बागमती प्रदेशका पूर्व इन्चार्ज कृष्णबहादुर घःजु, सहइन्चार्जहरू लालबहादुर तामाङ, सुनी लामा र पञ्चलाल महर्जनले पनि पार्टी विस्तार तथा सुदृढीकरण अभियानको महत्वबारे कार्यकर्ताहरूलाई प्रकाश पारेका थिए भने समितिका उपाध्यक्ष विकाश ब्लोन तामाङले स्वागत गरेका थिए ।

जय गोलेले अध्यक्षता र मुख्य सचिव इश्वर राउतले सञ्चालन गरेको पुनर्गठन बैठकले पुनः गोलेको अध्यक्षतामा ४१ सदस्यीय जसपा, बागमती प्रदेश समिति बनाएको छ ।


No comments:

Post a Comment