Thursday, September 21, 2023

पाँगा सामुदायिक पुस्तकालयलाई पुस्तक हस्तान्तरण

 पाँगा सामुदायिक पुस्तकालयलाई पुस्तक हस्तान्तरण


समय समयमा पाँगामा सामुदायिक पुस्तकालयहरु खुल्ने र बन्द हुने क्रम चलिरहेको छ । पाँगामा शहिद स्मारक पुस्तकाल २००४ सालमा स्थापना, श्री ५ महेन्द्र्र पुस्तकालय २०१३ सालमा स्थापना भएको थियो । जुन पछि गएर बन्द भयो । वि.सं.२०२७ सालतिर फेरि एकचोटि पाँगामा पुस्तकालय खोल्ने होडवाजी नै भयो । 

पाँगा धुसि टोलमा सूर्यज्योति पुस्तकालय, दिउखेलमा बालकुमारी पुस्तकालय, पाघुमा प्रगतिशिल पुस्तकालय खुल्यो । केहि वर्ष चल्यो । अहिले ती पुस्तकालयहरुको नामो निशान रहेन ।

पाँगा धोकासी टोलस्थित नवज्योति आधारभूत स्कुलको माथिल्लो तल्लामा केही युवाहरु मिलेर पाँगा सामुदायिक पुस्तकालय खोलेको छ । उक्त पुस्तकालयलाई बज्र बुक्स एण्ड पब्लिकेसनका संस्थापक तथा पाँगा कीर्तिपुरका समाजसेवी विदुर डंगोलद्धारा आफ्ना बुबा नारायण दास महर्जन तथा आमा राम माया महर्जनका नाममा मिति २०८० भदौ ३० गते शनिबारका दिन पाँगा सामुदायिक पुस्तकालयलाई उपहार स्वरुप पुस्तक हस्तान्तरण गर्नु भयो । 


सो कार्यक्रममा नारायण दास महर्जनद्वारा पाँगा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण महर्जनलाई उपहार स्वरुप विभिन्न विधाका करिब २५० प्रति पुस्तक प्रदान गर्नुभयो । कार्यक्रममा पुस्तकालयका सदस्यहरु तथा स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो । नारायण दास महर्जनले समाजका सबै छोरा छोरी, नाति नतिनीहरुले पढ्ने वातावरण तयार गर्न पुस्तकालयको भुमिका निर्वाह गरेकोमा आभार व्यक्त गर्दै भविष्यमा थप प्रगतिको कामना गर्नुभयो । उहाँले विगतमा पाँगामा शिक्षा र स्वास्थ्यको अवस्थाको बारेमा बताउनुभएको थियो । 


समाजसेवी विदुर डंगोलले समाजमा पुस्तक पढ्ने बानीको विकास गर्नका लागि पुस्तकालयले थप कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड  दिनुभयो । उहाँले पाँगा सामुदायिक पुस्तकालयलाई भविष्यमा पनि सहयोग गर्ने वचन दिनुभयो । साथै, पुस्तकालयले स्थानीय जात्रा, परम्परा र पुराना कथाहरुलाई पुस्तकमा प्रकाशन गर्नका लागि सबैले योगदान गर्नुपर्नेमा जोड दिनुभयो । पाँगा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण महर्जनले पुस्तक हस्तान्तरण गर्नुभएकोमा समाजसेवी विदुर डंगोल तथा उहाँको परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । साथै, प्राप्त पुस्तकहरुको सहि सदुपयोग गर्ने र पुस्तकालयले सरोकारवाला सबैसँगको सहकार्यमा थप कार्यक्रमहरु संचालन गर्ने जानकारी दिनुभयो ।

Published : Kirtipur Sandesh Weekly Issue 613 Date:2080/06/03


No comments:

Post a Comment