Monday, August 29, 2022

भुतसिगाः र नेपाः गाः

 भुतसिगाः र नेपाः गाः

निरज मान सिंह महर्जन

काठमाडौको बसन्तपुर दरबार स्क्वायरमा काष्ठमण्डपको ठिक अगाडी  रहेको यस सानो चार कुने खाल्टो प्रायःले याद गर्दैनन् । यदि याद गरे पनि केका लागी र के हो भन्ने बुझ्ने चासो कसैले गर्दैनन् । कुनै बेला फुटपाथमा तरकारी बेच्ने घुँइचोले घेरिने र छोपिने भएको यस भुतसिगाःलाई हाल चारैतिरबाट बार लगाई संरक्षित गरिएको छ । यस भुतसिगाःको ठिक पारिपट्टि  रहेको भुतेश्वर महादेवसँग सम्बन्धित रहेको छ । काष्ठमण्डपको पारिपट्टि ठूलो गरुडको मुर्ति छ । त्यहीसँगै रहेको ढुंगाबाट निर्मित गुम्बज शैलीको मन्दिर नै भुतेश्वर महादेवको मन्दिर  हो ।

यस भुतसिगाः सँगै अर्काे खाल्टो पनि रहेको छ, जहाँ आकृती नभएको प्रस्तर रहेको छ, जुन काष्ठमण्डपलाई घेरेका अष्टभैरवहरु मध्ये एक मानिन्छ । भुतसिगाः अथवा भुतसितःको नामले चिनिने यसै स्थानमा प्रत्येक १२ वर्षमा नचाइने श्री पचली भैरवको नाच बेला राजा र पचली भैरव बीच खड्ग साटासाट गरि खड्ग सिद्धि गर्ने गरिन्छ । देशलाई चलाउने प्रमुख व्यक्ती अर्थात् राजाले यसरी खड्ग साटेकोलाई श्री पचली भैरवले शक्ति प्रदान गरेको मानिन्छ भने यसै कारण यस स्थानलाई नेपाः गाः पनि भन्ने गरेको छ ।

भुतसिगाः बारे कथा किंवदन्ती --एक प्रचलित किंवदन्ती अनुसार, पाटनका  राजा सिद्धिनरसिंह मल्लले कृष्ण मन्दिर निर्माण सम्पन्न भएपछी भव्य कोटीहोमको आयोजना गरे तर, मधुर सम्बन्ध नरहेकोले उनले काठमाडौका  राजा प्रताप मल्ललाई निमन्त्रणा दिएनन् ।

शेषशायी नारायणको मूर्ति भएको भण्डारखाल बगैचाको पोखरीको उत्तर दिलमा बसेका राजा प्रताप मल्ल र जामान गुभाजु यसै कोटीहोम बारे बिचार विमर्श गर्दै थिए । यतिकैमा उडिरहेको पुतलीलाई अचानक रुखबाट स्वाट्ट ओर्लेर  धोबीचराले एकैगाँस पारेर उडेको दृश्य ती दुबैले देखे । राजा सिद्धिनरसिंह मल्लले  गरेको कोटीहोम विध्वंस पार्न त्यति सजिलो छैन, त्यो उडीरहेको पुतलीलाई धोवीचरीले टिपे जस्तो होइन । जहाँ तेत्तिस कोटी देवदेवीहरुलाई आह्वान गरेको हुन्छ । जहाँ विश्वनाथ जस्ता महान तान्त्रिक पनि सामेल छन् । त्यस्तो स्थितीमा हामीबाट विरोध होइन, सहयोग हुनुपर्छ ।” जामान गुभाजुले राजा प्रताप मल्ललाई आफ्नो बिचार सुनाउछ ।

“हेर गुभाजु ! त्यस होमलाई सखाप पार्नै पर्छ, त्यसपछी त्यो भन्दा विशाल कोटीहोम कान्तिपुरमा हुन्छ ।” भन्दै कडकिए प्रताप मल्ल ।

“म त कुनै पनि हालतमा त्यो कोटीहोम बिगार्न त्यहाँ जान्न, स्वयं सरकार सवारी हुन्छ भने मलाई केहि भन्नु छैन,” भन्दै हात जोडेर निहुरिन्छन जामान गुभाजु ।

“म आफै अजिङ्गरको रुप लिएर जान्छु, तपाई जानुपर्दैन । फेरी कृष्ण मन्दिर कस्तो बनेको छ हेर्नु पनि त प¥यो । पछी त्यस्तै कृष्ण मन्दिर कान्तिपुरमा पनि बनाउनु पर्छ । तपाईले बागमती पुलसम्म मसँग गएर तान्त्रिक मन्त्र प्रयोग गरिदिए पुग्छ,” भन्दै जुरुक्क उठी जामान गुभाजुलाई आफुसंगै लिई हिंडे प्रताप मल्ल । बागमती पारी पुगे पछी केहि अछेता झिकी फुकफाक गरेर प्रताप मल्ल माथी अछेता छर्की दिए । तुरुन्तै राजा प्रताप मल्ल भयानक अजिङ्गरको रुपमा देखा परे । त्यो अजिङ्गर सलबलाउँदै जिब्रो निकाल्दै स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै पाटनको कृष्ण मन्दिर र त्यहाँको माहोल नियाल्न गए ।

अजिङ्गर भएर प्रताप मल्ल गएपछी “जसलाई जेसुकै होस्” भन्दै जामान गुभाजु बागमती पारीबाट लुसुक्क निस्किएर घर गएर बसे ।

कोटीहोम भइरहेको ठाउँमा एक्कासी भयानक अजिङ्गर देखेपछी यज्ञशाला अगाडी यज्ञ गरि बसिरहेका सिद्धिनरसिंह र अन्य सबै ब्यक्तिहरु डराएर यज्ञशाला छाडेर भाग्न लाग्दा “पख–पख” !! उठ्नुपर्दैन” भन्दै आफ्नो धोती स्याहार्दै तान्त्रिक विश्वनाथले थालीबाट एकमुठी अक्षता झिकेर त्यस अजिङ्गरतर्फ गई आफ्नो मन्त्र प्रयोग गरी त्यसको ढाडमा अक्षता  छर्कीदिए । हेर्दाहेर्दै त्यो भयानक अजिङ्गर सानो गड्यौलामा परिणत भयो । गड्यौलालाई आफ्नै हातले टपक्कै टिपेर आफू बस्ने आसन मुन्तिर घुसारी त्यसमाथि बसेर विश्वनाथले होम यथावत गरे । यसै क्रममा ूअब के  गर्ने ? भनी राजा सिद्धिनरसिंहले सोध्दा, “यहि गड्यौलालाई यज्ञको अन्तिम दिनमा यज्ञमा आहुती दिने” भनेर भने महान तान्त्रिक विश्वनाथले । 

यता काठमाडौ दरबारमा राजा प्रताप मल्ल तान्त्रिक प्रयोगमा लाग्दा कहिलेकाहिँ एक-दुई दिन दरवारमा देखा पर्दैनथे । यसपालि त चार-पाँच दिनसम्म पनि राजा हराएरपछी एकातिर दरवारमा रानीहरुको रुवाबसी चल्यो भने सहरतर्फ राजा प्रताप मल्ल भूतप्रेतसंगको युद्धमा समाप्त भए भन्ने हल्ला पनि चल्न थाल्यो । यत्रतत्र राजा प्रताप मल्लको खोजी भयो । तर उनी कतै पनि देखा परेनन् । यता प्रख्यात तान्त्रिक गुरु जामन गुभाजुले आफ्नो मन थाम्न सकेनन् । पुजा कोठामा बसेर उनले ध्यानदृष्टि लगाएर हेर्दा उनले देखे -प्रताप मल्ल त गड्यौला भएर विश्वनाथले आसनमुनी चेप्टिएर माटो चपाउँदै पो रहेछन ।

“अब भएन ! अनर्थै हुन लाग्या” भन्ने सोच्दै पूजाको व्यवस्था मिलाएर जुरुक्क उठी पुजा कोठाकै झ्यालबाट भूतप्रेतलाई आव्हान गरे अनि ठुलो स्वरमा “ए मयजु ! ए भाजु” भनि बोलाए जामान गुभाजुले ।

“हजुर गुरुबा !” भन्ने आवाज मुनी आगनबाट आयो ।

“तिमी तुरुन्तै यहाँ आउ !” भनेपछी लामो दौरा र सुरुवाल लगाएकी केवल दश वर्ष उमेरको मयजु र भाजु जामन गुभाजुका पुजाकोठा बाहिर अईपुगिन ।

“तिमीहरु र म ललितपुर जानुप¥यो, अहिले नै हिंड” भन्दै मयजु र भाजुलाई साथै लिई आफुले जहाँबाट राजा प्रताप मल्ललाई अजिङ्गर रुप धारण गरि पठाएका थिए, त्यहि पुगे । कोटीहोम अगाडी नै उभिएर भिक्षा माग्नु, यसोयसो गर्नु, कुनै वस्तु पनि स्वीकार नगर्नु, नाई-नाई मात्र भन्नू । गड्यौला दिएपछी मात्र दौराको फेरमा थापेर नखसाली यहाँ लिएर आउनु । गड्यौलालाई फिर्ता लिएर आयौ भने, तिमीहरुलाई भनेको कुरा खान दिने वचन दिए । तिमीहरु नआएसम्म म यहि बसि–रहन्छु ।”  भनी सबै तरिका सिकाई मयजु र भाजुलाई “जाउ” भनी जामान गुभाजुले अह्राए ।

त्यसपछी दौरा फरफर उदाउँदै मयजु र भाजु हुरुरुर उडेझैँ दगुर्दै कोटीहोम भएको स्थानमा अगाडी गइ “भिक्षा-भिक्षा !” भन्दै दौरा थापेर दुवै उभिन्छ । कोटीहोम भित्रबाट चामल ल्याएर दिए पनि “नाई !”  फलफुल र रोटीहरु ल्याएर दिए पनि “नाई !” जे दिए पनि आफ्नो दौरा हल्लाउँदै” “नाई-नाई !” मात्र भनि मयजु र भाजुले । यो सब कुरा विश्वनाथ कहाँ पुगे । “मलाई चिन्ने जामान गुभाजु हुन्, त्यो कलिली केटी र केटा चाही जामनले पठाएको पिशाच हुन् । तर केहि छैन, त्यसलाई चाहिएको कुरा मलाई थाहा छ ।” भन्दै विश्वनाथ उठेर आसनमुनी थिचेको गड्यौला हातले टिपेर त्यस केटीको नजिक पुगी “लौ थाप” भनि मयजुको दौराको फेरमा गड्यौला खसालीदिए ।

“अब आईन्दा यहाँ भैरहेको कोटीहोम विध्वंस पार्ने प्रयास गरेमा बाँच्नेछैन,” भनि विश्वनाथ त्यहाँबाट फर्के । आफ्नो दौराभित्र जतनसाथ गड्यौला राखी त्यहाँबाट रमाउंदै आएर गुरुआगाडी “ल ल्याएँ”, भनि दौरा खोली देखाउछे मयजुले ।

“बिस्तारी भुइँमा राख” भनि जामन गुभाजुले भने पछी बिस्तारै निहुरिन्दै मयजुले बागमतीको बालुवामा गड्यौला राखे । जामन गुभाजुले चारैतर्फ हेर्दै, आफ्नो पोल्टाबाट केहि अक्षता झिकी फुकफाक गर्दै छर्किएपछी गड्यौला पुनः राजा प्रताप मल्लको रुपमा देखा प¥यो ।

“कुदीन लागेपछी जस्तै बुद्धीमानको पनि बुद्धी बिग्रिन्छ” जामान गुभाजुको वचनले राजा प्रताप मल्लको मुटुमा चस्स घोच्यो ।

त्यस पछी प्रताप मल्लले  “गुरुब्रह्मा, गुरुविष्णूगुरुर्देवो महेश्वर” भन्दै जामान गुभाजुलाई श्रद्धापुर्वक हात जोर्दै पछीलागे । झण्डै मृत्युको मुखमा पुगेका राजा प्रताप मल्ल दरबारमा पुगेपछी चयनको सास फेरे र जामन गुभाजुले आफ्नो वचन अनुसार ती मयजु र भाजुलाई भने झैं खुवाए । तर, उनीहरु भूत प्रेत न परे, के अघाउँथे र ! अति नै भएपछी राजासँग सल्लाह गरि यसको उपाय खोजे र भूतप्रेतहरुको स्वामी भगवान शिवको स्थापना गर्ने निर्णय गरे । यसै अनुरुप भुतेश्वर महादेवको आव्हान गरि स्थापना गरि, त्यसैको अगाडि मण्डप बनाएर त्यहाँ होमपूजा गरि सोही स्थानमा ती भूतप्रेतहरुलाई स्थान दिएर गाडिदिए । हरेक वर्ष यो स्थानमा पूजा गरि भोजन चढाउँछु भनी भूतप्रेतहरुलाई फकाएर आफ्नो वशमा पारी यो स्थानमा गाडेको मानिन्छ । यसरी भुतप्रेतहरुलाई दिइएको स्थान भएकोले यस स्थानलाई भुतसिगाः भनिएको हो ।

भुतप्रेतहरु त्यहाँबाट उठेर जागेर आउँलान् भनी त्यहाँ सिद्धि गरि नजिकै रहेको भैरवलाई सो स्थानको रेखदेखको जिम्मा दिएको पनि कथा सुन्न पाइन्छ । हाल पनि यस स्थानमा हरेक वर्ष पुजा गर्ने परम्परा रहेको पाइन्छ भने यहाँ पुजा गर्दा नजिकैको भैरवलाई पनि पुज्ने प्रचलन छ । आफ्नो घरपरिवारमा धेरै कलह भइ शान्त नभएमा, भुतप्रेत तथा पिशाचहरुले धेरै सताएमा वा नराम्रो शक्ति तथा कुविद्याहरुले दुःख दियो भने, यहाँ पुजा गरेमा सबै राम्रो हुने जनविश्वास अहिले पनि रहेको पाइन्छ ।

(काठमाण्डौ र यहाँको संस्कृति जति विविधता युक्त छ, त्यति नै विविधता युक्त छ यहाँका किंवदन्तीहरु”


No comments:

Post a Comment