Wednesday, August 31, 2022

चुनावी चिया गफ —काठमाडौं क्षेत्र नं.१० मा एमालेले कांग्रेस किल्ला भत्काउन सक्छ

 चुनावी चिया गफ —काठमाडौं क्षेत्र नं.१० मा एमालेले कांग्रेस किल्ला भत्काउन सक्छ 


निवर्तमान मेयर रमेश महर्जन एमालेको तर्फबाट संभावित क्षेत्र नं.१० को उम्मेदवार

गत अंकमा कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकामा काठमाडौं क्षेत्र नं.१० मा कसको पलडा भारी छ ? शिर्षकको चिया गफले कीर्तिपुरवासीको मनमा चुनावी सरगर्मी बढाइ दिएको छ । धेरैजसो चिया पसल, रेष्टुरेन्टमा अलिकति राजनीतिमा चाख राख्ने मानिसहरुको गफको विषय नै यही भएको छ ।

क्षेत्र नं.१० मा रहेको तिन वटा दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरि नगरपालिका पर्छ । यी तिनै वटा नगरपालिकामा स्थानीय चुनावमा नेपाली कांग्रेसले मेयरको साथै बहुमत वडाहरु जितेका छन । पहिले माओवादी र एमालेको गठबन्धन हुँदा पनि गत संघ चुनावमा नेपाली कांग्रेसले जितेको कारण यो क्षेत्र कांग्रेसकै पोल्टामा जान्छ । नेपाली कांग्रेसका वर्तमान सांसद राजेन्द्र कुमार के.सि.ले नै टिकट पाउने पक्का पक्की देखिन्छ । त्यसैले उहाँको जित निश्चित छ भन्ने ने.काका कार्यकर्ताहरुको भनाई रहेका छन ।


निवर्तमान मेयर रमेश महर्जन एमालेको तर्फबाट संभावित क्षेत्र नं.१० को उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपि ओलीको साथमा

नेकपा एमालेका कार्यकर्ताहरु पनि यसपालीको चुनावमा धेरै आशावादी देखिएका छन । गत स्थानीय चुनावमा एमालेभित्र भित्रै विग्रह हुँदा नरामर्री हार खानु परेकोले ठूलो चोट परेको छ । पार्टी हार्नु भनेको कुनै एक जना कार्यकर्ता या नेता हार्नु होइन । आपूmहरु पनि हार्नु हो भन्ने धेरैले महसुस गरेका छन । त्यसैले अहिले आपसी मतभेद बिर्सेर पार्टीलाई जिताउन सबै एक ढिक्का भएर लाग्ने भएका छन ।


नेकपा एमालेले क्षेत्रिय सन्तुलन मिलाएर उम्मेदवार दिने योजना बनाएका छन । यदि संघ कीर्तिपुरलाई दिने हो भने प्रदेशमा दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिकालाई दिने भएका छन । हुनत सुरुमा विनोद श्रेष्ठ जिफन्तको अध्यक्ष निर्वाचित हुँदा क्षेत्र नं.१० को संघको टिकट उहाँले पाउने हल्ला चलेको थियो । यसो हुँदा दक्षिणकालि या कीर्तिपुर खाली हुने भयो । त्यसैले अहिले आएर संघमा निवर्तमान मेयर रमेश महर्जनलाई टिकट दिनु पर्ने कार्यकर्ताहरुको मांग हुन थालेको छ । यदि स्थानीय निर्वाचनमा मेयर उपमेयर लगायत पुरानै टिमलाई टिकट दिएको भए नेपाली कांग्रेसले यति सजिलैसँग जित्न सक्ने थिएन भन्ने ठम्याई गरेका छन ।


निवर्तमान मेयर रमेश महर्जन रक्तदान गर्नुहुँदै

निवर्तमान मेयर रमेश महर्जनले नेवाः पहिचान र सम्पदाको लागि धेरै राम्रो काम गर्नु भएकोले हिजोका पहिचान पक्षधरहरु उहाँको पक्षमा दह्रो भएर उभिने आंकलन गरिएको छ । ज्येष्ठ नागरिकहरुलाई सुगर र प्रेसरको औषधि निशुल्क वितरण गर्दा मनमोहन अधिकारीले ज्येष्ठ नागरिकहरुलाई एक सय रुपैया भत्ता बाँडेर एमालेलाई सत्तामा पु¥याएझै रमेश महर्जनलाई भोट दिने आंकलन गरिएको छ । त्यस्तै उहाँले नेवाः समुदायको अमुर्त सम्पदाको रुपमा रहेको दाफा, धाः बाजाहरुको संरक्षणको साथै पुनरुत्थान गर्न गरेको प्रयासलाई पनि कीर्तिपुरवासीले बिर्सेका छैनन । त्यसैले स्थानीय चुनावको मतसंख्या उल्टिने धेरै सम्भावना रहेको छ ।


नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको भनाई अनुसार कीर्तिपुरको संसदिय चुनावको इतिहास हेर्दा कीर्तिपुरमा कसलाई जिताउने भन्दा कसलाई हराउने भन्नेतिर बढी ध्यान दिएको देखिन्छ । ७० सालको संसदीय चुनावमा कसलाई जिताउने भन्दा पनि प्रचण्डलाई कसरी हराउने भन्ने सोचका साथ राजेन्द्र कुमार के.सि.लाई जिताएका थिए । त्यस्तै २०७४ सालमा पनि कीर्तिपुर बाहिरका उम्मेदवार हितमान शाक्यलाई हराउनको लागि नै राजेन्द्र कुमार के.सि.लाई जिताएका हुन ।


स्थानीय चुनावमा निवर्तमान मेयर उपमेयर र दुई जना लोकप्रिय वडा अध्यक्षहरुलाई टिकट नदिंदा एमाले हराउ अभियान नै चलाएर नेकपा एमालेलाई क्लिन स्वीप गरेका हुन भन्ने आम जनमानसको धारणा छ । निवर्तमान मेयर रमेश महर्जनलाई स्थानीय चुनावमा टिकट नपाएको नोक्सानको बदला आउने चुनावमा जिताएर देखाउन जनता आतुररहेको एमालेका कार्यकर्ताहरुको भनाई रहेको छ ।


२०७४ सालमा बाम एकता हुँदा त राजेन्द्र कुमार के.सि.लाई हराउन नसकेको अहिले के हराउन सक्ला भन्ने पनि नरहेको होइन । अहिलेको स्थानीय निर्वाचनको आधार लिने हो भने नेपाली कांगेस २४६७५ मत, एमाले १८८३८ मत, माओवादी ४९४२, राप्रपा २४९६ र नेकपा एसको १३४२ मत आएको छ । स्थानीय चुनावमा माओवादी गठबन्धनबाट बाहिरिएको थियो । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले माओवादी र नेकपा एसलाई धोखा दिएको भन्ने उनीहरुको ठम्याइरहेका छन । त्यसबेलाको बदला लिन संसदिय चुनाव पर्खिरहेका छन । यदि यो कुरा सहि हो भने उनीहरुले संघमा आफनो उम्मेदवार उठाएन र एमालेलाई समर्थन ग¥यो भने नेपाली कांग्रेसलाई जित्न गाह्रो देखिन्छ । किनकी ने.का.र एमालेले स्थानीय चुनावमा पाएको फरक मत जम्मा ५८३७ छ । एमालेले पाएको १८८३८ र माओवादीको ४९४२ र नेकपा एसको १३४२ मत एकै ठाउँमा राख्दा २५,१२२ मत हुन्छ । जुन नेपाली काँग्रेसभन्दा बढी छ । ४९४२ र १३४२ जोड्दा ६२८४ मत हुनआउँछ । जुन नेपाली कांग्रेसभन्दा ४४७ मत बढी छ ।


यसपालीको संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारहरुको पनि निकै चहलपहल हुनेछ । क्षेत्र नं.१० मा कसलाई जिताउने वा हराउने भन्ने कुरा स्वतन्त्र उम्मेदवारमा निर्भर रहने धेरै सम्भावना छ । राप्रपाले मत काट्ने भनेको नेपाली कांग्रेसको नै हो । स्वतन्त्र उम्मेदवारले कसको मत बढी काट्छ त्यो हार्नसक्छ । त्यसैले नेकपा एमालेले रमेश महर्जनलाई संघको टिकट दिएर प्रदेशमा दक्षिणकाली र चन्द्रागिरिकालाई टिकट दियो भने क्षेत्रिय सन्तुलनको आधारमा नेकपा एमालेले जित्ने सम्भावना छ । राजेन्द्र कुमार के.सि.लाई मात्र कति जिताउने भन्नेहरु पनि अहिले देखिन थालेका छन ।

कीर्तिपुर सन्देश साप्ताहिक अंक ५६१ मिति २०७९ भाद्र १५ गते प्रकाशित

No comments:

Post a Comment