Friday, October 29, 2021

चम्पादेवी धिन्च्व घुम्न जाउँ

 चम्पादेवी धिन्च्व घुम्न जाउँ

प्रदिप महर्जन

घुम्ने र यात्रामा निस्कने भन्ने वितिकै केटाकेटीदेखि बृद्धबृद्धासम्मका मन फुरुङ हुन्छ । कसैलाई प्राकृतिक स्थल घुमेर प्राकृतिक मनोरञ्जन लिन आनन्द आउँछ त कसैलाई साईकल यात्रा, कसैलाई लामो ड्राइभिङ, कसैलाई अनकन्टार दुर्गमस्थल हिडेर घुम्न रुचाउँछन् । मानिसहरुको स्वभाव र चाहना अनुसार घुमेर आनन्द लिन चाहन्छन् ।

यस पटक म तपाईहरुलाई चम्पादेवी धिन्च्वतिर डो¥याउन चाहन्छु । धिन्च्व चम्पादेवी कीर्तिपुर नगरपालिकाको वडा नं.४ मा पर्ने प्राकृतिक छटाले भरिपूर्ण समुद्र सतहबाट २४०० मिटर अग्लो महाभारत श्रृङ्खला अन्तर्गत पर्ने पहाड डाँडा हो ।

यो डाँडालाई हिन्दु र बौद्ध धर्मावलम्बि दुवैले श्रद्धाका साथ पुज्ने गर्दछ । यहाँ हिन्दुहरुको चम्पादेवी मन्दिर रहेको छ भने सँगै बौद्ध चिभाद्यः (स्तूपा) रहेको छ । यहाँ वर्षको दुई पटक मेला लाग्ने गर्दछ । बैशाख १ गते नयाँ वर्षको दिनमा 

चारैतिरका मानिसहरु उक्त पर्वतमा चढेर आनन्द लिनुका साथै पुज्ने गर्दछन् । त्यस्तै पाँगा, नगाउँका मानिसहरु उक्त पर्वत चढेर श्रद्धाका साथ पुज्ने गर्दछन ।

धिन्च्व अर्थात चम्पादेवी जानको लागि उत्तरी मोहडा अर्थात् कीर्तिपुरबाट जाने हो भने पुष्पलाल स्मृति पार्कबाट सिधै जान सकिन्छ भने अर्को त्यस्को पूर्वमा रहेको एपिएफ स्कूल माथीबाट सालक मार्ग हुँदै पनि जान सकिन्छ । त्यस्तै बोसन चम्पादेवी पाउ हुँदै पनि धिन्च्व पुग्न सकिन्छ । जुन केही टाढा पर्दछ । दक्षिणकाली 

फर्पिङतिरका मानिसहरु बाँसबारी भन्ज्याङबाट हातीवन हुँदै चम्पादेवी पुग्न सकिन्छ । त्यस्तै फर्पिङ डोल्लु हुँदै पनि चम्पादेवी पर्वत चढ्न सकिन्छ । तयसमध्य सबैभन्दा चलन चल्तिको सहज बाटो भनेको बोसन चम्पादेवी पाउ हुँदै चम्पादेवी धिन्च्व पुग्ने हो ।

 धिन्च्वमा धेरै प्रजातीका चराचुरुङ्गी एवं जनावरहरु देख्न पाइन्छ । यहाँ १९ प्रजातिका स्तनधारी प्राणी र १७५ प्रजातीका चराहरु पाइन्छ । विश्वमै संकटापन्न कालो सालक यहीं पाइन्छ । विश्वमै संकटापन्न गोमायु चिल पनि यहीं पाइन्छ । त्यस्तै काँडे भ्याकुर, चितुवा रतुवा, मलसाँप्रो, गाजले निलविरालो, सेतो भुँडे लोखर्के आदि यहींको जङ्गलमा पाइन्छ । त्यसैगरी २४ प्रजातीका रुख, ३७ प्रजातिका झाडी तथा ५२ प्रजातीका घाँसपातहरु यहाँ पाइन्छ ।

 यति महत्वपूर्ण ठाउँ ओझेलमै परेको अवस्था छ भने अझै त्यहाँ जानको लागि बनाएको पदमार्ग त झनै झाडीले छोपेर हिड्नै मुस्किल अवस्थामा छन् भने जङ्गलमै हराउने स्थिति पनि रहेको छ  । त्यसैले चम्पादेवी धिन्च्व जानलाई छोटो बाटो भएर पनि यसलाई प्रयोग नगरी वोसन भएर लामो भए पनि जाने गर्दछन्  आखिरमा यस्तो महत्वपूर्ण बाटो उपेक्षित किन ? सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । हुन त लोपोन्मुख सालककै नामबाट सालक मार्ग भनेर नामाङ्करण गरिए पनि नाम वाहेक केही हुन सकेको छैन ।

यस पटकको चालिसौं पद यात्रा गर्दै धिन्च्व र त्यहाँबाट भुण्डोल चौर हुँदै पोखरी डाँडा, फर्पिङ हुँदै शेषनारायणसम्म जाने अवसर जु¥यो । जुन साहै्र रमाइलो थियो ।

आजभोलि मानिसहरु जात्रा पर्वमा हिंड्ने मात्र नभै स्वतन्त्र रुपमा फुर्सद र विदाको समय मिलाएर समूह–समूह र व्यक्तिगत रुपमै पनि पदयात्रा गर्ने परम्परा सुरु भइसकेको छ । मानिसहरु स्वास्थ्यको लागि, रमाइलोको लागि प्राकृतिक आनन्द लिनको लागि पनि डाँडाकाँडा पद यात्रा गर्ने राम्रो चलन आएको छ ।


चालिसौं पदयात्रा हामीले अप्ठ्यारो बाटोबाट नभै कीर्तिपुर नगरपालिकाले जेठतिर डोजर कुडाएर बनाएको नयाँ बाटो हुँदै अगाडि बढ्यौँ । बाटो आधासम्म त राम्रै र फराकिलो छ तर करिब १७/१८ सय मिटर माथीको भिरमा पुगे पछि भने थुप्रै समस्याहरु सामना गर्नुप¥यो । ठूलो ठूलो पहिरोले बाटो पुरै छेकेको थियो । पानी परिरहेको चिप्लो तर पनि झाडीहरु पन्छाउँदै अगाडि बढ्यौँ । ओहो ! रमाइलो दृश्य वास्तवमै जीवजन्तुहरु उक्त जङ्गलमा रहेछ । मैले यात्राकै क्रममा मलसाँप्रो देखेँ अन्यलाई पनि देखाएँ । ओहो रमाइलो मानेर पहिला पहिला जङ्गलबाटो जाँदा बाटो बिराउने धेरै हुने गर्दथ्यो तर यसपाली डोजरले खनेको नयाँ बाटो पछ्याउँदै जाँदा भने बाटो बिरायन तर डोजरले बाटो खन्दा धेरै रुखहरु ढलेको र पहिरो आएको देख्दा भने कताकता मन कुँडिएको थियो । जे भए पनि यसले आगामी दिनमा यो बाटोले पक्कै पनि चम्पादेवी देवी जाने मुख्य बाहो रुप लिने छ । अथवा पुष्पलाल पार्क क्षेत्रलाई चम्पादेवी धिन्च्व जाने मूख्य प्रवेशद्वारको रुपमा विकास गर्न सकेमा वडा नं.४ मच्छेगाउँ क्षेत्रको विकासमा ठूलो टेवा पु¥याउने आशा गर्न सकिन्छ ।



बिहान ८ः३० बजे झम झम पानी सँगै पुष्पलाल पार्क हिंडेको हामी करिव ११ः३० बजे चम्पादेवी धिन्च्व टाकुरा पुगियो । बाटो ओरपर कटुस टिप्दै पनि रमाइलो गर्दै हिड्यौ र बाटो कटेको थाहै पाएनौँ । चम्पादेवी धिन्च्व पर्वतको पर्वतको टाकुरा पुग्दा भने लाग्यो मैले सगरमाथाको चुचुरो चुमेको जस्तै । एक छिन धिन्च्वमा पनि मानिसको ट्राफिक जाम भएजस्तो लाग्यो । त्यो दिन करिव २५० पदयात्रीहरुको त्यहाँ जमघट भएको थियो । त्यसमध्ये ४/५ जना गोरा छालाहरुको अनुहार पनि धेरै समयपछि देख्न पाइयो । त्यती संख्या मध्ये पुष्पलाल पार्क क्षेत्रबाट हिंडेका मात्र हामी २३ जना थियौँ र बोसनबाट आएका एक पर्यटक मात्र थिए भने बाँकी सबै बोसनबाट आएका थिए । मैले मनमनै सोचेँ ती सबै पदयात्रीहरुलाई आउन जान मच्छेगाउँ पुष्पलाल क्षेत्रलाई बनाउन सकेको भए त्यो क्षेत्रको व्यवसाय पनि निकै फस्टाउने अनुमान गर्न सकिन्छ ।

चम्पादेवी देवी पुगेपछि कोही साथीहरु चम्पादेवी र चिभाद्यःको पुजा गर्न थाले भने एक छिन पछि काठमाडौं हाइकिङ समूहसँग सामुहिक फोटो त्यही टाकुरामा खिच्यौँ । यो इजी हाइकिङ र काठमाडौं हाइकिङ समूहको एक सम्झनाको चिनारी हुन सक्छ ।



केही समय पश्चात धिन्च्व टाकुराबाट फर्केर भुण्डोल चौउर र फर्पिङ शेषनारायण पुग्नु थियो । त्यसैले धेरै विलम्ब नगरी त्यहाँबाट फक्र्यौं र भुण्डोल चौउरको बाटा पहिल्याउन नसकेर विनेश श्रेष्ठ भाइ र दुर्गालाल शाही बाटो हेर्न हिंडे । त्यहाँ जाने बाटो साँघुरो जुन चम्पादेवी र थमडाँडा भञ्ज्याङको वीच बाटो ओरालो झर्नु पर्ने रहेछ । थोरै मानिसहरु मात्र हिंड्ने गरेको हुनाले झाडीले छोपेको अवस्थामा रहेको बाटो पछ्याउँदै हामी भुण्डोल चौउर र फर्पिङतिर झ¥यौं । जहाँ जेजस्तो भए पनि कीर्तिपुर नगरपालिकाले हाल बनाएको चम्पादेवी धिन्च्व जाने बाटोलाई थप सुधार गरी सजिलो बाटो बनाई मूख्य प्रवेशद्वारको रुपमा विकास गर्न सकेमा भविष्यमा कीर्तिपुर लगायत यस क्षेत्रले राम्रो पर्यटकीय गन्तव्यको रुपमा पाउनेमा दुइमत छैन । त्यसैले स्वास्थ्यको पर्यटनको चम्पादेवी घुमौं र घुम्नको लागि आमन्त्रण गरौं । 

चम्पादेवी धिन्च्वको मुख्य प्रवेश द्वाराको रुपमा विकास गर्न गर्नु पर्ने कार्यहरु 

१.हाल निर्माणाधिन बाटोलाई स्तरोन्नती गर्नु पर्ने ।

२.उक्त बाटो खन्दा भएको क्षतीलाई पूर्ती गर्न बृक्षारोपण गर्नु पर्ने ।

३.बाटोमा पहिरो रोकथामको लागि पर्खाल तथा ड्रेनको व्यवस्था गर्नु पर्ने ।

४.चम्पादेवी धिन्च्वबाट सगरमाथा हेर्नको लागि पर्यावरणलाई ध्यानमा राखी टावर निर्माण गर्नु पर्ने ।

५.पर्यावरणलाई ध्यानमा राखी रेष्टुरेण्टहरु व्यवस्था गर्ने ।

६.चम्पादेवी धिन्च्वमा पदयात्रीहरुले फालेका फोहरहरुको उचित व्यवस्थापन गर्नु पर्ने ।

७.थप सालक पद मार्गलाई व्यवस्थित गर्नु पर्ने ।



लेखक ः प्रदिप महर्जन

No comments:

Post a Comment