Sunday, August 22, 2021

गाईजात्रा (सापारु) पर्व

 गाईजात्रा (सापारु) पर्व



अर्जुन महर्जन

सालिक पाँगा

नेपाल उपत्यका नेपाल मण्डलमा बस्ने नेवार समुदायले वर्षभरि धार्मिक दृष्टिकोणले विभिन्न देवदेवीहरुको आधारमा पर्वहरु मनाउने गरिआएका छन । वर्षभरिमा दिवंगत भएका आफन्तहरुलाई गाईको सहकाराले सबै साथ यमलोक भित्राउने मान्यताका साथ मनाउने गरिआएको पर्वलाई गाईजात्रा (सापारु) भन्दछ । यो पर्व जन्है पूर्णिमाको भोलिपल्ट भाद्र शुक्ल प्रतिपदाको दिन मनाउने गरिन्छ । धार्मिक परमपरा अनुसार यो एकदिनमात्र यमलोकको ढोका खुल्ला रहने हुन्छ । किम्बडन्ती अनुसार गाईजात्राका दिन गाईले एक पाइला घुमेको एक अश्वमेघ यज्ञ गरेको फल प्राप्त हुन्छ भन्ने भनाई छ । यसैकारण पूण्य प्राप्त गरी यमलोकबाट स्वर्गवास पाओस् भन्ने आकांक्षाले मर्नेका आफन्तहरुले गाईका साथ नगर परिक्रमा गराई यो गाईजात्रा पर्व मनाउने गरिआएका छन । नेवारीमा ‘सा’ भनेको गाई र ‘पारु’ भनेको प्रतिपदा हो । यसैले गाईजात्रा मनाउने प्रतिपदालाई ‘सापारु’ पनि भन्ने गर्दछन् ।



यो पर्व कहिलेदेखि मनाउँदै आएको हो भन्ने यकिन गर्न नसके पनि लिच्छवी कालदेखिनै नेवारहरुले मनाउँदै आएको र पछि काठमाडौंमा प्रताप मल्ल, ललितपुरमा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा जयप्रकाश मल्लको पालादेखि यसलाई परिमार्जित गरी सांस्कृतिक पर्वको रुपमा मनाईआइरहेको छ । उपत्यकाको जात्रा पर्वहरुमा देवदेवीहरु संलग्न गराएको हुन्छ । भक्तपुरको गाईजात्रामा तलेजु भवानी, भैरव भद्रकालीलाई मानिआएका छन् । तलेजु भवानीको घिन्ताँ किसी अगाडि त्यसपछि भैरवको परालको विशेष किसिमबाट बनाएको गाई अनि वर्षभरि मर्नेहरु र त्यही दिनसम्म मर्नेको प्रतिक गाईलाई लाम्बद्ध गराई अन्तिममा भद्रकालीको गाई राखी नगर परिक्रमा गराउने गर्दछन् । यो जात्राको विशेष आकर्षण घिन्ताँ किसी नाच हो । त्यससँगै विभिन्न किसिमका नाचहरु नचाई रमाइलो गरी मनाउने गर्दछन ।



काठमाडौंमा मरेकाको घरबाट मर्नेको प्रतिक देउताको रुपमा तस्विर समेत साथ कोहीले गाई बनाई, कोहीले गाई नै साथ र कोहीले मर्नेको जीवनीको रुपमा समेत भजन गाउने गरी नगर परिक्रमा गराउने गर्दछन् । ललितपुरमा चाहिँ गुँला द्वितियाका दिन मरिसकेका आफन्तहरुको आत्मामा शान्ति होस् भनी बहाल, चोक, आदि ठाउँमा रहेका देवदेवीहरु काहाँ बत्ती बाली घुम्ने गर्दछन । नेवारमा बत्तीलाई ‘मतः’ पर्वलाई ‘या’ भन्दछन् । त्यसैले यस पर्वलाई ‘मतःया’ भनेर मान्ने चलन छ । नेवारमा यो महिना गुँला हो । शाक्य मुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाको रुपमा हिनयान, महायान, बज्रयान तीनै समुदायका बुद्धमार्गीहरुले बुद्ध भगवान प्रति आध्यात्मिक आस्थाका साथ विशेष बुद्ध विहार बहाल, ननी, चोकहरु परिक्रमा गर्ने चलन छ । यो चलन लिच्छवी राजा वार्लाच्चनको शासनकालदेखि चलिआएको भन्ने छ ।



गाईजात्रा पर्व काठमाडौंमा राजाले रानीलाई सम्झाउन, ललितपुरमा शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको महिनामा बितेका आफन्तहरुको आत्मा शान्ति मिलोस भनेर र भक्तपुरमा तलेजू भवानी, भैरव र भद्रकालीको गाईका साथ मरेका आफन्तलाई तार्ने गरी मनाई आईरहेका छन ।

काठमाडौंको दक्षिणमा रहेको पाँगामा यो पर्व आफ्नै किसिमले मनाउने गर्दछ । यहाँको गाईजात्रा धार्मिक भावना अनुसार धरै पहिलेदेखि नै चली आइरहेको पाइएको छ । मानिस परिवारमा बस्छन्, हुर्किन्छन् र एक दिन मर्छ । अनि आफ्नो नश्वर शरीर त्याग गर्छ । मानिसको मृत्युलाई परिवारले सहज रुपमा लिन गाह्रो भई रहेको हुन्छ । मरेपछि कहाँ गएर तड्पिरहेको हुन्छ, के कस्तो दुःख कष्ट होला भनी सम्झी माया गरीरहेका हुन्छन् । मरेकाको आत्माको शान्ति र स्वर्गमा बास होस्, अर्को जन्म राम्रो कुलमा होस् भन्ने कामनाले हरेक पूजा आजा गर्ने गर्छन् । त्यसमध्ये सापारु पठाउने पनि त्यसै विधि अन्तर्गतको एक पूजाको रुपमा लिने गर्दछन् । प्रेत आत्मालाई सदगति प्राप्त भई घरलाई राम्रो होस् भन्ने हेतुले सापारु पठाउने गर्छन् । यस बस्तीमा नयाँ घर बनाउने र साना केटाकेटी मर्नेको घरबाट पनि गाईजात्रामा सहभागी भएका हुन्छन् । यस्तोमा दुई जना केटालाई गाई बनाई परालको जामा लगाई गाईको चित्र भएको कागज टोकरीमा टाँसी रङ्गीचङ्गी गाजल लगाई गाईको जस्तो आँखा ठूलो पारी पगडी लगाई पठाउने चलन छ ।



नयाँ घर बनाउनेले पनि यस्तै जोडी वा साँच्चै गाई अथवा पिताम्बरको धोती लगाई बाबाजी बनाई पठाउने गर्दछ । बाबाजीहरुले सेतो टिका लगाई भिक्षा थाप्ने गरेको हुन्छ । घरको उमेर पुगेका अथवा ब्रतवन्ध, बेलविवाह भइसकेका ठूला व्यक्ति मर्दा सकभर सापारुका साथ (वसः घानाः वनेगु) अथवा नौवटा चोली, नौ वटा सारीका साथ मुकुन्डो लगाएर मृतकको प्रतिकको रुपमा पठाउने चलन छ । यो पूर्णिमालाई ‘गुन्हु पून्हि’ अर्थात नौ वटा पूर्णिमाको एक पूर्णिमाको रुपमा मानी आएकोले नौ जोर लुगा लगाउने गरी आएको हो । यसरी सापारु पठाउनेको घरमा आफ्नै विधि अनुसार पठाउने गर्छ । मृतकको प्रतिकको रुपमा आउनेले र त्यसलाई पूजा गरी पठाउने दुवैले निराहार बस्नु पर्छ । समयमा घरमा चोखो पूजा सारदाम जोरजाम गरी पूजा गरी घरबाट गाउँ परिक्रमाको लागि पाँगा धुसिको सिद्धि विनायक गणेश स्थानमा पु¥याउनु पर्छ । त्यहाँ गाई जोडी र सबै मुकुन्डो लगाएर आउनेहरु भेला भई बसेका हुन्छन् । देश परिक्रमापछि निराहार बस्नेले नै पूजा गरी घर भित्राई सकेपछि चोखो दूध दही साकाहारी भोजन मात्र गराउने गरिन्छ ।

गाईजात्रादेखि अर्को गाईजात्रा सम्म एक सालभित्र मरेका परिवारले आफ्नो घरबाट आयोजना गरी पठाउन चाहेमा केही दिन अघि सामान जोरजाम गरी मेरो घरबाट गाईजात्रा गर्ने भनी प्रचार गरेको हुन्छ । त्यस्तो खबर कतैबाट नआए पाँगाका गुठीहरु समेत मिली गठन गरिएको जात्रा पर्व समितिको विशेष सहयोगले कुनै एक जना मर्नेको घरबाट जात्रा निकाल्ने  गरिन्छ । सुरुमा आवश्यक सामान र मानिसहरुको जोरजाम गर्नुपर्ने हुन्छ । आयोजक घरबाट जात्रा निकाल्दा कुचो, धाकः, डोको, कुटिल्हा र तसला बोक्नेहरु निस्कन्छन र त्यसपछि सबभन्दा अगाडि ब्रम्हा, विष्णु, महेश्वर गरी तीन देवता अगाडि लगाई हिँड्छन् । ब्रम्हाले अमृशाको नयाँ कुचोले गाईको दूध छर्दै चोखो बनाउँदै जान्छ, विष्णुले शंख र महेश्वरले डमरु बजाउँदै जाने गर्दछ । उनीहरुको पछाडि आयोजकको तर्फबाट मुकुन्डो लगाई मर्नेको प्रतिकको रुपमा तीन जनालाई राखी प्वङ्गा, धाः बाजाको साथ प्रस्थान गरेको हुन्छ । यो जात्रा निकाल्न आयोजकको घरमा निराहार चोखो भई बस्नेले सबैलाई पूजा गरी प्रस्थान गरेको हुन्छ । पहिले यस पाँगाकोम ूल गणेश धुसी टोलको सिद्धि विनायक गणेशस्थानमा भेला भई गाउँ परिक्रमा गराइन्छ । देवदेवीहरु कहाँ ‘झ्याँझ्याँ पापा’ गर्ने भनेर अगाडिका पाँच जनाले बाजाको तालमा हिलोपानीमा नाचेर झ्याँझ्याँ पापा गर्ने गरिन्छ । यसरी घुम्न आउनेलाई ठाउँ ठाउँमा दूध, स्क्वायस र केराउ (माल्पा(नास्पाती राखी पोको पारी फलपूmल मिठाई दान गर्छन् । यो परिक्रमा पहिले पहले नगाउँ, छुगाउँमा पनि घुमाउन लाने गर्दै आइरहेका थिए । एक साल झगडा हुन गएबाट सुरक्षाको जिम्मा लिने नभएको कारण पाँगा भित्र मात्र परिक्रमा गर्ने गरियो ।

गाउँभरि परिक्रमा गर्ने पुरा भएपछि जहाँबाट आयोजना गरेको हुन्छ त्यही घरमा भित्राएर समापन गर्ने चलन छ । यो भित्राउने चलनलाई यहाँको मानिसहरुले बैतर्नी तरि स्वर्गमा गएको भन्ने किम्बदन्ती छ । जो लाईनमा अगाडि भित्रिन पायो त्यो चाँडै स्वर्ग पुगेको हुन्छ भन्ने चलन छ । तसर्थ यो गाईजात्रा मरेका आफन्तलाई स्वर्ग पठाउने पर्वका रुपमा लिई आएको छ । गाईजात्राको पर्वमा विशेष रमाइलो मजाक गर्ने चलन छ । 

साना साना गाई बनाई पठाइएको गाईलाई संरक्षण गर्दै जानको लागि आयोजकको तर्फबाट एक जोडी ठूलो गाई पठाइएको हुन्छ । त्यसैमा दुईै जना हलो जोत्ने हलीको रुपमा मुखमा कालो लगाई, भोगटीको चश्मा लगाई गाईलाई खुवाउने रोटीको माला लगाई हिंडेको हुन्छ ।

भर्खर भर्खर रोपाई सकिएकोले रोपाईंमा हलो जोतेको भनी दर्शकहरुसंग पैसा उठाई रमाइलो गर्दै हिंडेको हुन्छ । साँझतिर फेरि आयोजककै तर्फबाट एक लोग्ने दुई श्रीमती र एक बच्चाका साथ रोपाईंमा आएकालाई खाजा खुवाउने ‘बजि नकिगु’ भनि निकालिएको हुन्छ । गाउँको चोक दोबाटो, ठाउँठाउँमा मानिसहरु भेला गराई खाजा खुवाउने गरिन्छ र बच्चालाई चकलेट, विस्कुट खुवाउन भनि पैसा उठाउन खोज्छन् । खाजामा दही भनी जाँडाको कट् पनि लिएर आएको हुन्छ । खाजा खुवाईसकेपछि कट्ले मुखमा दली रमाइलो गर्ने गर्दछ ।

यसरी धार्मिक आस्थाका साथ रोपाईं सकिएको खुशीयालीमा रमाइलो गरी आफ्नो साँस्कृतिक पर्व चलाउन पनि यो गाईजात्रा पर्व मनाउने गरी आइरहेको छ ।


No comments:

Post a Comment