गुंजिरहेको आवाज —२ टेलिफोन, मोबाईल, केही साधन नभएको बेला युवा युवतीहरु कसरी प्रेम गर्छन यस खण्डमा वर्णन गरिएको छ ।
लेखक ः नजरराम महर्जन
अघिल्लो अंकमा कीर्तिपुर, पाँगा र नगाउँंको जात्राको बारेमा पढनु भयो । जात्रा हेर्न आउनेहरूलाई कसरी स्वागत गरिन्छ भन्ने पनि पढनु भयो । भाइकाजीको श्रीमती बजार गए पछि भाइकाजीले एउटा दैनिक पत्रिका पढ्छ । त्यो पत्रिकामा वीरगंजमा एकजना केटाले आफ्नो प्रेमिकालाई भगाएर भारतको मुजफरपुरमा आफन्तको घरमा लगेर राखेछ । एक महिनापछि केटी पक्षले उनीहरूलाई फेला पारेर फकाई फुल्याई वीरगंज ल्याएछ । पछि केटीलाई घरमा थुनेर केटालाई पिटेर मारेछ ।
यो समाचार पढेर भाइकाजीलाई आफ्नो विगतको सम्झना आयो । यस खण्डमा टेलिफोन, मोबाईल केही साधन नभएको बेला युवा युवतीहरू कसरी कुन उपाय अपनाएर प्रेम गर्छन् भन्ने कुरा यस खण्डमा वर्णन गरिएको छ ।
भाइकाजी ज्यापुका छोरा हुन् । जातले मात्र ज्यापु होइन । खेतीपाती नै गर्ने किसानको छोरा हुन् । उसको बाजे पहिले राणाहरूको दरबारमा काम गथ्र्यो । त्यसैले उसलाई धेरै खेत बक्सिसमा दिइएको थियो । उसको बाजेको तीन जना छोराहरू थिए । तीन जना छोराहरू मध्ये उसको बाबु नानीकाजी माहिला छोरा थिए । उसको बाजेको स्वर्गवास पछि छोराहरू भिन्न भए । खेत बाँडीलिंदा जनही २० रोपनी भन्दा बढी थियो ।
भाइकाजीको पनि तीन जना दाजु भाइ, एक जना दिदी र एक जना बहिनी गरी ५ जना थिए । उसको दाइ लालकाजीको काम नै खेतीपाती गर्नु थियो । भाइकाजी सिकर्मी काम गथ्र्यो । उसले धेरै पढेलेखेको छैन । त्यसो भनेर ऊ लेखपढ गर्नै नजानेका होइनन् । उसले एस.एल.सी. पास गरेको छ । उसको समयमा गाउँमा अहिलेजस्तो माध्यमिक विद्यालय थिएन । गाउँको मिडिल स्कूलमा सात कक्षासम्म मात्र पढाई हुन्थ्यो । उसले सात कक्षा पास गर्दा ऊ जवान देखिइसक्यो । खेतमा काम गर्न सक्ने भइसक्यो । अरू साथीहरूसँग ऊ पनि काठमाडौंको स्कुलमा कक्षा ८ मा भर्ना भयो । त्यतिबेला अहिलेजस्तो बसको सुविधा पनि थिएन । विहान सबेरै खाना खाएर हतार हतार हिंडेर जानु पथ्र्यो । स्कुलबाट पनि हिंडेरै आउनु पथ्र्यो । एक महिनाजति काठमाडौंको स्कूलमा पढ्न जाँदा उसका कतिपय साथीहरूले पढाई नै छाडिसक्यो । ऊ एक्लै भए पनि पढ्न गइरह्यो । स्कुलमा शहरका साथीहरूले उसलाई गांमाः, गांमाः भनेर जिस्क्याउँथ्यो । गांमा भनेर जिस्क्याएको उसलाई मन पर्दैन । त्यसो नभन भनेर उसले धेरै पटक भनीसक्यो । तैपनि मानेको होइन । एकदिन उसले एकजना साथीलाई एक्लै भेटेपछि बेस्सरी पिटेर आयो । भोलिपल्टदेखि ऊ शहरमा पढ्न गएन ।
स्कूल जान छाडेको देखेर उसको बाबुले स्कूल जान मन छैन भने खेतबारीमा जाउ भनेर काम अ¥हायो । त्यसबेला बारीमा मकै रोप्छन्, मकै बारीमा कहिं भटमाश, कहिं खुर्सानी, फर्सि इत्यादी तरकारी रोप्छन् । खुर्सानी बारीमा पानी हाल्न जानु पर्छ । खुर्सानी रातो भएपछि टिपेर ल्याउनु पर्छ । बोडे टिपेर ल्याउँछ । बारीमा दिनहुँ जानु पर्छ । आपूmले खाएर बचेको तरकारी बजारमा बेच्नु पनि छ । बारीमा जाँदा अरू केटीहरू पनि बारीमा आइरहन्छिन् । उनीहरूसँग ख्याल ठट्टा गर्न पाउँदा उसलाई रमाइलो लाग्छ । कहिलेकहिं बारीमा नै तरकारी किन्न आउँछन् । उसले बारीमा नै तरकारी बेच्छ । तर त्यो पैसा घरमा दिंदैन । साथीहरूसंग फर्माइसमा खर्च गर्छ । त्यसैले साथीहरूको बीचमा उसको फुर्ति अलग्गै छ । एकदिन उसले बारीमा तरकारी बेचेर आएको कुरा उसको बुबाले थाहा पायो । पैसा खोई भन्यो । उसले त्यो पैसा साथीहरूसँग किनेर खाएर सिध्याइसक्यो । उसले बुबालाई पैसा दिन सकेन । उसको बुबाले उसलाई खुव पिट्यो । त्यसबेलादेखि ऊ बारीमा गएन ।
उसले स्कूल जान छाड्यो । बारीमा पनि जान मनाहि भयो । उसको कुनै काम भएन । खर्च गर्न एक पैसा भएन । उसको टोलका दाईहरूले उसलाई सिकर्मि काम गराउन लग्यो । ऊ सिकर्मि काम गर्न गयो । उसले केही गर्न जानेको थिएन । रन्दा चलाउँदा रन्दा तान्ने त हो नि । अहिलेजस्तो त्यतिबेला काठ चिल्लो पार्ने मेशिनहरू थिएन । सिकर्मि काममा जाँदा उसको आमाले चिउरा एक पोका दिएर पठाउँथ्यो । खाजा खानेबेला पसलमा गएर कहिले छ्वय्ला, कहिले आलु तरकारी किनेर खान्थ्यो । मिठो खाजा खान पाएर उसलाई काममा जान मन लाग्यो । ज्याला लिएर आउँदा उसको बाबुलाई हिसाब बुझाउनु पर्छ । अनि उसको बाबुले जति पैसा दिन्छ त्यतिमात्र उसले पाउँछ । उसको बाबुले दिने पैसाले उसलाई खर्च गर्न पुग्दैन । ऊ पनि जवान भइसक्यो । साथीहरूसंग घुम्न जाँदा फरमाईस खर्च गर्नु पर्छ । उसको टोलका नाईकेसंग काममा गइरहुन्जेल उसको कति ज्याला छ भनेर उसको बाबुले थाहा पाईरहन्छ । त्यसैले ऊ टोलका दाइहरूसंग काममा जान छाड्यो । अरूसंग काम गर्न गयो । अर्को ठाउँमा काम गर्न जाँदा उसको बाबुले थाहा पाएन । त्यहाँ उसलाई ज्याला पनि बढी दियो ।
समय बित्दै गयो । ऊ सिकर्मि काममा गईरह्यो । अब त उसले रन्दा तान्ने मात्र होइन, अरू पनि सिकर्मि काम गर्न जानीसक्यो । काममा जाँदा मिठो खाजा खान पाएर ऊ जवान देखिन थाल्यो । उसको आमाबाबुलाई अब उसलाई बिहे गरीदिन चिन्ता भयो । केटी खोज्न पठायो । केटी माग्न पठाउँदा कुरा चल्दाचल्दै पछि गएर कुरा मिल्दैन । कहिं केटीको बाबुले छोरी दिन माने पनि केटीको आमाले इन्कार गरीदिन्छ । त्यत्रो खेत बारी भएको घरमा छोरीले काम गर्न सक्दैन भन्थे । कहिं केटीको आमाबुबा माने पनि केटीले इन्कार गरी दिन्थे । यस्तै तरिकाले उसको साथीहरू सबैको विवाह भइसक्यो । उसको बिहे नभएर उसका आमाबुबा चिन्तित हुनथाल्यो । काममा जाँदा उसका साथीहरूले स्वास्नीको बारे, ससुरालीको बारे कुरा गर्दा ऊ चुपचाप बसिरहन्छ । खेतबारी धेरै भएर काम गर्न सक्दिन, काम गर्न सक्दैन भनेर केटी नदिंदा उसलाई खेतबारी नै मन परेन । मन नपरेर के गर्ने ? खेत भएपछि काम त गर्नै पर्छ ।
गुंला पारुको दिन । भजन खलःहरू, बाजा खलःहरू बुंगमतीमा पुजा गर्न जाने दिन । बुँग, गःचा (कार्य विनायक), ख्वनाः विभिन्न ठाउँहरूमा बाजा बजाएर भजन गरेर रमाइलो गर्दै आउने दिन । कसैको कार्य विनायकमा समयबजि खान्छ । कसैको क्वय्ना –जल विनायक)मा भोजै खान आउँछ । यसरी कतिको पारु भोज खान गुथि नै बनाईराखेको हुन्छ । उसको टोलको भजन खलः पनि बुंगमति जाने भयो । पारु गुथिको गुथियारको नाताले उसको बुबा गयो । उसलाई काममा लगीराखेका दाइहरू पनि आज पारु भोज भनेर काममा गएन । ऊ पनि विहानभरि भए पनि मन्दिर घुमेर आउँ भनेर बुंगमति गयो ।
बुंगमा भजन खलकहरू भजन गर्न मन्दिर अगाडिको सतलमा ठाउँ लियो । सबैले करुणामय देवताको दर्शन गरे । उसले पनि भगवानको दर्शन गरेर तीन चक्कर मन्दिर घुमेर आयो । उसको टोलका भजन खलकका गुथियारहरू भजन गर्न सुरु गर्दैछन । उसको बुबा त्यहाँ भएकोले ऊ गएन । भैरव देवता दर्शन गर्न माथि मन्दिरमा गयो । भैरव देवता दर्शन गरेर आउँदा ऊ एकछिन ठिंग उभिरह्यो । कहाँ जाऊँ, के गरूँ भयो । उसको आँखा चारैतिर घुम्न थाल्यो । करुणामय मन्दिरको बायाँतिर एउटा सतलमा एक जना युवती उभिरहेकी देख्यो । उसले ती युवतीलाई एकोहोरिएर हे¥यो । एउटी तरुणी केटी ! मृगको जस्तो ठुलठुला आँखा, अलि चुच्चो परेको नाक, धेरै गोरो पनि छैन, काली पनि होइन, सांवला रंगको मुहार ।
ती युवतीलाई हेरिरहँदा कहिं चिनेको चिनेको जस्तो लाग्न थाल्यो । उ भैरव मन्दिरबाट तल ओर्लियो । तल पुगेपछि उसले ती केटीलाई चिन्यो । ती युवती कीर्तिपुरकी चेली हुन । उनी पनि त्यहाँ पूजा गर्न आएकी होलिन् । कोसंग आएकी होलिन् । एक्लै त्यहाँ किन उभिरहेकी होलिन् । उसको मनमा प्रश्नै प्रश्न उब्जिन थाल्यो । ती युवतीको नाम गंगा हुन् । भाइकाजीको सरस्वती भाउजुको टोलका केटी हुन् । उसको भाउजु बोलाउन जाँदा उसले गंगालाई बराबर देखेका थिए । गंगा त्यही केटी हुन्, जसको बारेमा उसको भाउजुले भनेको कुरा सम्झ्यो ।
“बिबाह गर्न लमिले यो गंगालाई माग्न आएको थियो । कुराकानी भयो । बिहेको सबैकुरो छिनीसकेपछि केटाले लेख पढ गर्न नजान्ने केटी मन पर्दैन भनेर छिनीसकेको विवाह पनि तोडि दियो । उनीसित तिमी विवाह गर्छौ ?”
त्यतिबेला उसले केही पनि जवाफ दिएको थिएन । त्यतिबेला उसलाई कुन केटी मन पर्छ, कुन केटी मन पर्दैन भन्ने नै थाहा थिएन । उसको विवाह गर्ने विचारै थिएन । आज गंगालाई देख्दा उसलाई गंगा मन प¥यो । उसलाई गंगासंग बोल्न मन लाग्यो । के भनेर बोलूँ, के भनेर बोलूँ जस्तो भयो । कहिल्यै बोलेको थिएन । आज एक्कासी बोल्न जाँदा केही भन्छ कि भन्ने डर पनि छ । तैपनि ऊ विस्तारै हिम्मत गरेर गंगा बसिरहेको ठाउँमा गयो । उसलाई देख्ने बितिक्कैै गंगा मुसुक्क हाँसिन् । ऊ पनि हाँस्यो । गंगा हाँसेपछि उसको हिम्मत बढ्यो ।
“तिमी एक्लै यहाँ किन उभिरहेकी ?” उसले विस्तारै सोध्यो ।
“मेरो साथी रत्नमायासँग आएको थिएँ । उनको फुपूको घरमा एकचोटि गएर आउँछु भनेर गएकोले पर्खिरहेको ।”
“तिमी पनि गएको भए भइहाल्थ्यो नि ।”
“रत्नले जाउँ भनेको त हो । म गएँ भने धेरै अबेर हुन्छ भनेर नगएको । तिमी कोसँग आएको ?” गंगाले पनि अलिकति पनि अप्ठ्यारो नमानीकन सोधिन् । मानौं धेरै दिनदेखि चिनेकोजस्तो गरी ।
“म ऊ त्यो भजन खलःसँग आएको । मेरो बुबा पनि आउनु भएको छ । उहाँहरू भजन गर्दै दिन बिताएर आउँछ । त्यसैले म फर्किन लागेको । साथी छैन । तिमी एक्लै उभिरहेको देखेर साथी खोज्न आएको ।”
“मेरो त रत्नमाया साथी छ । उनी आएपछि हामी संगै जाउँला हुन्न ?”
“हुन्छ, कतिबेर पर्खिरहने ?”
“एकैछिनमा आउँछु भनेर गएको । एकछिन पर्खुंला । आइहाल्छ नि । खोकना पनि जाने होइन ?”
“हुन्छ कार्य विनायक भएर खोकना जाउँला अनि जलविनायक भएर चोभार पनि जाउँला, हुन्न ?”
“चोभारको उकालो चढ्न गाह्रो छ । रत्नमाया जान्छु भन्यो भने जाउँला ।” उसको कुरामा गंगाले समर्थन गरिन् ।
दिनभर गंगासँग घुम्न पाउने भयो भनेर उसको मन हर्षित भयो ।
त्यहिबेला रत्नमाया हतार हतारमा आएर भन्यो, “हेर्न गंगा, मेरो फुपूले त भात नख्वाईकन पठाउँदिन भन्नुहुन्छ । म एक्लै होइन, मेरो साथी पनि छ भनेको त साथीलाई पनि लिएर आउनु भनेर मलाई पठाउनुभयो । फुपू कहाँ खाना खाएर जाउँला । हिंड ।”
“नाई, तिम्रो फुपूकहाँ पनि म भात खान आउँछु र ? तिमी विहानको भात, दिउँसोको खाजा खाएर दिनभरि बसेर आउनु । म गइरहन्छु ।” गंगाले भनिन् ।
“संगै आएर पनि तिमी एक्लै जाने कुरा गर्छौ । तिम्रो आमाले के भन्ला ?” रत्नमाया चिन्तित भइन् ।
“गंगा एक्लै कसरी हुन्छ ? म साथी छँदैछु नि ।” उसले प्वाक्क भन्यो ।
“ऊ को हो ?” भनेजस्तै गरी रत्नमायाले गंगासँग सोधिन् ।
“सरस्वती दिदीको देवर भाइकाजी पाँगामी ।” गंगाले साइनो गाँसेर भनिन् ।
“मेरो भाउजुलाई तिमीहरू चिन्छौं ?”
“हामी एउटै टोलका हौं ।” रत्नमायाले जवाफ दिइन् ।
गंगालाई के गरूँ, के गरूँ भयो । उनले दुवैजनाको अनुहारमा पुलुक्क पालुक्क हेर्न थालिन् । उनले केही निर्णय गर्न सकिरहेकी थिइनन् । अर्काको फुपूको घरमा खाना खान जाँदा खन्चुवा भन्न सक्छ । भोलिपर्सि रत्नसंग अलिकति कच कच भयो भने मेरो फुपूकहाँ भात ख्वाएर ल्याएको बिर्सियो कि भन्न सक्छ । यस्तै विचार गरेर गंगाले भनिन्, “म भाइदाइसंग जान्छु । तिमी फुपूको घरमा खाना खाएर आउनु । अनिखेरां बाजा खलकहरूसंग आउनु ।”
“फेरि घरमा गएर तिमीलाई एक्लै छाडेर म फुपूकहाँ खाना खान गयो भन्ला । त्यसो नभन्ने हो भने भाइदाइसँग गए पनि हुन्छ ।” रत्नमायाले उसलाई हेरेर भनिन्, “हेर भाइदाइ, मेरो साथीलाई बाटोमा छाडेर अलपत्र नपार्नु ।”
“बाटोमा अलपत्र पारेर जान्न, केही पीर लिनु पर्दैन । घरसम्म पु¥याउन जानु परे पनि जान्छु ।” उसले भन्यो ।
रत्नमाया फुपूको घर फर्किन् । गंगा र ऊ मात्र भए । अलि पर सतलमा पाँगालीहरू भजन गरिरहेका छन् । त्यसैले उनीहरू संगै जान लजायो ।
“भाइदाइ, तिमी अगाडि जानु, तल पुगेपछि पर्खिरहनु । म विस्तारै आउँछु । हामी दुवैजना संगै गएको देख्यो भने चाहिने नचाहिने कुरा चल्छ ।” गंगाले विस्तारै भनिन् ।
गंगाको कुरामा उसले समर्थन जनायो । गंगासंग हिंडेको उसको बाबुले देख्यो भने के नभन्ला ? ऊ विस्तारै अगाडि बढ्यो । भजन गरिरहेको ठाउँमा एकछिन उभिरह्यो । अनि “म जान्छु है” भनेर मन्दिरबाट तल झ¥यो । बारम्बार पछाडि फर्केर हेर्दै ऊ गइरह्यो । कार्यविनायक जाने बाटोमा पुग्यो । तैपनि गंगा आएको देखिंदैन । त्यहाँ उभिएर एक छिन यताउता हेरिरह्यो । मानिसहरू आएर के हेरीरहेको भनेर सोध्न आउला कि भन्ने पनि डर भयो । पाइला चालुँ कि नचालुँ जस्तो गरेर ऊ अगाडि बढीरह्यो । उसको मनमा कुरा खेल्न थाल्यो । गंगा संगै आउने हो कि होइन ? आउँछु भनेर नआउने हो कि ? यस्तै मनमा कुरा खेलाउँदै उसले पछाडि फर्केर हेरेको त गंगा हतार हतारमा आइरहेकी देख्यो । अनि बल्ल उसको मन संचो भयो । गंगा उसको नजिक पुग्ने बितिक्कै उसले सोध्यो, “किन यत्रो बेर लगाएको ? मैले त फेरि रत्नमाया आएर फुपूकहाँ लिएर गयो होला भन्ठानेको थिएँ ।”
“जान्न भनीसकेपछि पनि जान्छु र ? तिम्रो पछि पछि आउँदा अरूले कुरा काट्छ भनेर विस्तारै आइरहेको । छिटो जाउँ, मेरो टोलका बाजा खलक भेटिएला ।” गंगाले भनिन् ।
दुवैजना ठूलठूला पाइला गर्दै कार्यविनायकतिर गए । कार्यविनायक पुग्यो । गणेश देवताको पूजा गरे । दुवैजना देउता ढोगेर आए । बाहिर टिका लगाई राखेका छन । उनीहरूले पनि टिका लगायो । टिका कस्तो छ भनेर ऐनामा हेर्दा दुवैजनाको आँखा जुध्यो । दुवैजना मुसुक्क हाँसे ।
“ल, ऐनामा दुवैजनाको मुख देखियो भने झगडा हुन्छ भन्थ्यो हगि ?” गंगाले भनिन् ।
“कुरा मिलेन भने झगडा हुन्छ ।”
“तिमीले देउतासँग के माग्यौं ?”
“मलाई चाहिएको मागें । तिमीले के माग्यौं ?”
“तिमीले के माग्यौं, मैले पनि त्यही मागें ।”
यस्तै कुरा गर्दै दुवैजना मन्दिरबाट तल झरे । तल एउटा चिया पसल थियो ।
“गंगा यहाँ देवताथानमा आएर केही खाएर जानुपर्छ भन्छन् । हामी पनि त्यो चिया पसलमा गएर चिया खाएर जाउँ ।”
“चिया पिउन मसंग पैसा छैन ।”
“मैले चिया पिउन जाउँ भनेर तिमीलाई पैसा तिराउँछ भनेर डराएको ? के म कमाई नभएको केटो हो र ?”
“तिमी के काम गर्छौं ?”
“सिकर्मि काम गर्छु । आज पुर्णि भएर काम बन्द छ त्यसैले यहाँ घुम्न आएको ।”
उनीहरू दुवैजना चिया पसलमा गए । तातो सेलरोटी र तरकारी लियो । गंगाको स्वर उसलाई साह्रै मन प¥यो । गंगासँग कुरा गर्न पाएर उसलाई रमाइलो भइरहेको छ । गंगासँग कुरा गरीरहुँ जस्तो लाग्यो । तर के कुरा गरूँ, के कुरा गरूँ भएर उसले विस्तारै गंगासंग सोध्यो, “यसपाली तिम्रो विबाह भनेको होइन ?”
“तिम्रो पनि यसपाली विवाह हुँदैछ भन्ने सुनेको थिएँ । हो ?”
“कोसंग मेरो विवाह हुने कुरो सुनेका थियौं तिमीले ?”
“चकनासँग हुने भन्ने सुनेको थिएँ ।”
“अँ, माग्न पठाएको त हो । तैपनि विवाह नहुने भयो ।”
“किन उसको आमाबुबाले दिन्न भन्यो कि ?”
“होइन, उसको आमाबुबाले त दिन्छु भनेकै थियो । चकनाले खेत बारीमा काम गर्न सक्दिन भनेर इन्कार गरिन ।”
“ज्यापुनी भएर खेतबारी काम गर्न सक्दिन भन्ने कस्ती नक्कली केटी होलिन् । त्यसो त उनी त्यतिकै बाँफयली छिन । मुखै रातो हुनेगरी जहिले पनि लाली दल्नु पर्ने । उनको आँखामा गाजल कहिल्यै खाली हुँदैन । मेरो कोसँग विवाह हुने कुरो सुनेका थियौं तिमीले ?”
“हरेरामसंग विबाह हुने कुरा सुनेको थिएँ ।”
“उसको आमाबुबाले मलाई माग्न लमि पठाएको त थियो । मेरो आमाबुबा पनि राजि भएका थिए । चार दिन पछि लमिले विवाह नहुने भयो भन्न आयो । किन भनेर सोध्दा केटाले अनपढ केटीसंग विवाह नगर्ने भन्यो रे ।”
“अक्षर नपढेकी केटी केटी नै होइन भन्यो कि के हो ? पढेलेखेकी केटी विवाह गरेर स्वास्नीको कमाई खान खोजेको होला उसले ।”
“ल भइगो, उसको कुरा छोड । मलाई त सम्झन पनि मन छैन ।”
कुरा गर्दागर्दै दुवैजनाको सेलरोटी र तरकारी खान सकियो । भाइकाजीले फेरि चिया पिउन अर्डर दियो ।
“ल भइगो, बुंगमतिमा गएर आउनेहरू आउने समय भयो । कसैले हामीलाई संगै देख्यो भने के नभन्ला ?” गंगाले भन्यो
“के भन्छ ? दुवैजना गःचामा आइरह्यो भन्ला । अरू के भन्छ ?” उसले जवाफ दियो ।
“तुरुन्तै हामी दुईजना बीच प्रेम सम्बन्ध छ भनेर हल्ला गरिदिन्छ । तिमीहरू केटामान्छेलाई त केही न केही । हामीलाई कति नराम्रो हुन्छ ।”
“हामी दुवैजनाको बीच प्रेम सम्बन्ध छ भने पनि केही पर्वाह छैन । हो भने पनि फरक पर्दैन ।”
उसको कुरा सुनेर गंगाको मुख रातोपिरो भयो । उनले केही बोलिनन् । उसको मुखसम्म हेर्न सकिनन् । शिर निहुराएर भूईतिर हेरिरहिन् । उनको दायाँ खुट्टाको बुढी औंलाले भुईं क्वत्याउन लागिन् । कतिपय कुराहरू मनले भने पनि मुखले भन्न सकिरहेको हुँदैन । आफ्नो मनको कुरा अरूको मुखबाट सुन्दा लाज पनि लाग्छ । दुवैजनाको अगाडि चिया राख्न ल्यायो । गंगाको चालाबाला देखेर उसलाई डर लाग्यो । उसले भनेको कुरा गंगालाई मन परेन कि ? उनी रिसाइन् कि भनेर उनको मुख हे¥यो । गंगाको अनुहारमा रिसाएको भाव केही पनि छैन । बरु लजाईरहेकी छिन् ।
“ओ मैंया ! ल चिया पिउनु । मदेखि रिसाएको हो ?” उसले गंगालाई हेरेर भन्यो ।
गंगाले विस्तारै शिर उठाइन् । अनि विस्तारै हात बढाएर चिया गिलास लिएर सुरुक्क एक सर्को चिया पिइन् । अनि विस्तारै भनिन्, “छिटो चिया खानु, जाउँ अरूले देख्ला । हामी बाटोमा कुरा गर्दै जाउँला हुन्न ?”
उसले हुन्छ भनेर चिया पिउन थाल्यो । चिया पिएर पैसा तिरेर दुवैजना खोकनातिर लागे ।
खोकनामा पुगेर दुवैजनाले रुद्रायणी दर्शन गरे । भाइकाजीलाई आज गंगासंग धेरै घुम्न मन लागिरहेको छ । धेरै धेरै कुरा गर्न मन लागिरहेको छ । त्यसैले उसले गंगालाई भन्यो, “गंगा, यहाँसम्म आएर सिखालीको दर्शन गरेर जलविनायक भएर जानुपर्ला हुँदैन ?”
“हुन्छ, त्यहाँबाट जाँदा हाम्रो गाउँका मानिसहरू पनि भेट्दैन ।” गंगाले खुशि हुँदै भनिन ।
भाइकाजीलाई त ढुङ्गा खोज्दा देवता पाए सरह भयो । दुबैजना सिखालितिर लागे ।
“गंगा, मैले धेरै पढे लेखेको छैन । सात कक्षासम्म मात्र पढेको छु । म एकजना सिकर्मि हुँ । त्यसमा पनि खेतबारी धेरै छ । खेतमा काम गर्न गाह्रो छ भनेर मलाई छोरी दिन मान्दैन ।” भाईकाजीले कुराको थालनी ग¥यो ।
“तिमीले त त्यति भए पनि पढेका छौं । मैले त स्कुलै देखेको छैन । मैले त आफ्नो नाम पनि लेख्न जान्दिनँ ।” गंगाले पनि आफ्नो मनको कुरा भनिन्, “तिमीहरूको खेतबारी धेरै भएर त दाल भात मजाले खान पाएका छौं । हाम्रो त खेत जति सबै विश्वविद्यालयमा प¥यो । अब त्याँलमा अलिकति खेत बाकि छ । पाखो बाली अलिकति बाँकी छ । खेतबाट आउने अन्नले छ महिना खान पुग्दैन । काठमाडौंसम्म गएर चामल किन्न जानुपर्छ ।”
गंगाको कुरा सुनेर भाईकाजीको मनमा आशाको पूmल फुल्यो । गंगालाई ऊ मन पर्छजस्तो लाग्यो । ऊसँग विवाह गर्न मान्छ कि जस्तो लाग्यो । उसले जे भने पनि गंगाले समर्थन गरिरहेकी छिन् । अरूले जस्तो सिकर्मि भनेर हेला गर्दैन होला जस्तोे लाग्यो । एकचोटि कुराको थालनी गर्ने सोच्यो । तर कुरा कताबाट सुरु गरूँ, कताबाट सुरु गरूँ भयो ।
सिखली जानलाई दुवैजना खोकनाबाट ओरालो लाग्यो । आधा ओरालोमा पुग्दा गंगा एउटा चिल्लो ढुंगामा घिसिक्क चिप्लीयो । भाइकाजीले उनको हात त्याप्प समातेर आपूmतिर तान्यो । गंगा उसको अंगालोमा आइन् । उसले गंगालाई बेस्सरी अंगालोमा कसी राख्यो । उसले नसमातेको भए गंगा लड्थिइन् । गंगाले उसलाई बेस्सरी अंगालोमा हालिन् । केहीबेरसम्म दुवैजना त्यतिकै एक अर्काको अंगालोमा बसिरहे । एकछिन पछि गंगालाई होस आएकोजस्तो भयो । उनले विस्तारै अंगालोबाट आफ्नो हात तानिन् । दुवैजना अंगालोबाट फुत्किए । उनीहरू अगाडि बढ्न थाले ।
No comments:
Post a Comment