Thursday, January 28, 2021

कीर्तिपुरको गौरव, कीर्तिपुरका अन्तर्राष्ट्रिय उसु खेलाडी राजिब महर्जनसँगको कुराकानी

 कीर्तिपुरको गौरव, कीर्तिपुरका अन्तर्राष्ट्रिय उसु खेलाडी राजिब महर्जनसँगको कुराकानी


उसु खेलाडी तथा प्रशिक्षक राजीव महर्जन


स्थानीय सरकारले यूनिफाइड स्पोर्टस विकास गर्ने कार्यक्रम ल्याएमा उसु खेलको लागि सहयोग गर्न तयार छु –उसु प्रशिक्षक राजिव महर्जन

कीर्तिपुर पाँगा ढोकासी टोलमा जन्मनु भई ३९ औं बसन्त पार गरिसक्नु भएका र २० औं वर्ष मार्सल खेलमा बिताई सक्नु भएका भूतपूर्व अन्तर्राष्ट्रिय उसु खेलाडी एवं वर्तमानमा त्रिभुवन आर्मी क्लबका उसु प्रशिक्षक तथा नेपाल उसु महासंघका उपाध्यक्ष राजिव महर्जनसंग भएको  कुराकानी प्रस्तुत छ । उहाँ एक बहुप्रतिभाशाली खेलाडी हुनुका साथै मार्सल आर्ट खेललाई अत्यन्त माया गर्ने प्रशिक्षक हुनुहुन्छ ।

१. तपाईंले आफ्नो परिचय बताइदिनुस

उत्तर ः म राजिव महर्जन पाँगा ढोकासी टोल घर भई हाल की.न.पा. वडा नं.९ नयाँ बजारमा बस्छु । नेपालको सबैजसो राष्ट्रिय पत्रिकाहरु तथा टिभी च्यानलमा अन्तरवार्ता दिइसकें । तर आज कीर्तिपुरमै जन्मेर कीर्तिपुरकै स्थानीय पत्रिका कीर्तिपुर सन्देशमा अन्तरवार्ता दिन पाउँदा गर्वको महसुस भइरहेको छ । म भूतपूर्व उसु खेलाडी एवं हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लवको उसु प्रशिक्षक र नेपाल उसु महासंघको उपाध्यक्ष भई स्वयंसेवीको रुपमा काम गर्दै आएको छु ।

२.उसु खेलमा तपाईंले कसरी प्रवेश गरी सुरुवात गर्नुभयो ?

उत्तर ः सुरु सुरुमा त म बक्सिङ खेल्थें । यहि कीर्तिपुरका मधु डंगोल गुरुको संगत परेपछि मलाई उहाँले किक बक्सिङ सिकाउनु भयो र त्यतिखेर भएको First Indo Nepal Kick Boxing Championship मा मैले Best quarrel पाएको थिएँ । म सानो छँदादेखि नै चाइनिज मार्सल आर्टका फिल्महरु धेरै हेर्थें । तिनीहरुको movement खुबै राम्रो र Cache लाग्दथ्यो । त्यति बेलै मार्सल आर्टमा पिएचडी गर्नु भएका डा. सुनिल शाक्यले राराहिल स्कूलमा प्रशिक्षण दिंदै सहभागी भएर यस खेलमा प्रवेश गरें र हाल उसु खेलमा विभिन्न डिग्रीहरु हासिल गरें । अहिले जर्मनमा सिजनल प्रशिक्षकको रुपमा पनि काम गर्दैछु ।

३. तपाईंलाई हालसम्म उसु खेलमा कुन कुन उपाधीहरु जित्नु भएको छ ?

उत्तर ः मैले उसुमा ५ पटक नेशनल च्याम्पियन भएँ । दुई पटक उसुमा दक्षिण एशियाली च्याम्पियनशिपमा रजत पदक जित्ने अवसर पाएँ । दुई पटक बल्र्ड च्याम्पियनशिपको लागि चीन र टर्कीमा गएर खेल्ने अवसर पाएँ ।

राजिव महर्जनले पाएको सफलता र पुरस्कारहरु


४. तपाईंले उसुको कुन इभेण्टमा सहभागी भएर खेल जीवन सुरु गर्नु भयो ?

म किक बक्सिङबाट उसु खेलमा प्रवेश गरेको हुनाले मैले सान्सु सान्डा इभेण्टमा खेलेर खेल जीवन सुरुवात गरें ।  सान्सु सान्डा भन्नाले बलियो र परिपक्व भन्ने जनाउँछ । 

५.तपाईंले हालसम्म कतिवटा देशमा आफ्नो क्षमता प्रदर्शन गरिसक्नु भएको छ ?

उत्तर ः म खेलाडी र प्रशिक्षकको रुपमा विश्वका १४/१५ वटा राष्ट्रहरुमा गएर खेल्ने र प्रशिक्षण दिने गरिसकेको छु । जसमा जर्मन, स्पेन, पोर्चुगल, इटली, चीन, कोरिया, जापान, हङकङ, थाइल्याण्ड, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश आदि । कीर्तिपुर बौद्धिक व्यक्तित्व बस्ने थलो भएकोले यहाँ कुनै प्रकारका खेलहरु ग्रोअप गर्न निकै सजिलो हुन्छ । मैले जहाँ गए पनि अहिलेसम्म राष्ट्रको झण्डा लिएर गइराखेकै छु । एउटा दूतको रुपमा आगामी दिनमा त्यस्तो सहभागी हुँदा कीर्तिपुरको टिशर्ट लगाएर कीर्तिपुरको पनि देश विदेशमा प्रचार गर्न पाए आपूmलाई गौरवान्वित ठान्दछु । हालसालै मात्र म हङकङ सरकारको स्पोन्सरमा त्यहाँ भएको  Athlet Selection in Scientific Measures  भन्ने विषयमा तालिम लिएर आएको छु । आपूmले सिकेका अनुभवहरु कीर्तिपुरका यूवाहरुमा आदान प्रदान गर्ने स्थानीय सरकारले बनाएमा म सहयोग गर्न तयार छु ।

६.उसु खेललाई कीर्तिपुरमा पनि भित्राउन र प्रशिक्षणको लागि कुनै योजना बनाउनु भएको छ कि ?

उत्तर ः म नेपाल उसु महासंघको उपाध्यक्ष र महासंघ संग आवद्ध प्रशिक्षक पनि भएकोले राष्ट्रियस्तरमै कार्यक्रमहरु बनाएको छु । तर जहाँसम्म कीर्तिपुरको स्थानीय तहमा प्रशिक्षणको सवाल छ त्यसको लागि स्थानीय सरकारले त्यस्तो खालको सम्पूर्ण खेलको      Unified रुपमा खेलाउने प्लेटफार्म बनाएको खण्डमा म कीर्तिपुरको नागरिक पनि भएकोले हरदम सेवा गर्न तयार छु र गर्व गर्दछु । कीर्तिपुरमा स्थानीय सरकारको प्रशासनले हामीलाई उपयुक्त सम्झेर सम्पूर्ण खेलका प्रशिक्षकहरुलाई एक ठाउँमा बसेर काम गर्ने वातावरण बनेमा काम गर्न तयार छु । कीर्तिपुर शिक्षित व्यक्तिहरु बस्ने थलो र ७७ वटै जिल्लाबाट शिक्षा लिन आउने थलो भएकोले कीर्तिपुर एकदमै Protential छ । राराहिल स्कुलमा गत वर्ष देखि मेरो सहयोगीले उसु खेल सुरु गरिरहेकै छ । नगरपालिकाको सहयोग पाएमा सामुहिक रुपमा गर्न सकिन्छ ।

७.मार्सल आर्टले गुण्डाहरु मात्र तयार गर्छ भन्ने ब्लेम छ नि, यसमा तपाईं के भन्नुहुन्छ ?

उत्तर ः मार्सल आर्ट भनेको Give and Take Respect हो । जसले आपूलाई अरुबाट सुरक्षित राख्न सक्छ त्यो नै पूर्ण मानिस हो । नत्र हुने ऊ जहिले पनि हेपिने हुन्छ । ठूलो माछाले सानो माछालाई खाने संसारकै परम्परा जस्तै छ । त्यसैले मार्सल आर्टले त्यसलाई पूर्णता प्रदान गर्दछ । एउटा प्योर मार्सल आर्टिष्टले कहिले पनि आफ्नो सीपको दुरुपयोग गर्दैन । तर जो व्यक्ति तालिमको विचमा छोडेर जानेले यदाकदा गरे होलान् तर प्योर मार्सल आर्टिष्टले त्यस प्रकारको हर्कत कहिले गर्न सक्दैन । 

८.तपाईंले कीर्तिपुरमा  Sports through Tourism प्रोजेक्ट ल्याउनु भएको सुनेको थिएँ  । 

उत्तर ः त्यो Project SAG game ताका ल्याएको थिएँ । त्यसमा SAG मा सहभागी सबै नेपाली खेलाडीहरुलाई कीर्तिपुरमा ल्याएर खेल विज्ञहरुबाट खेलाडीहरुको मनोवल बढाउन मनोवैज्ञानिक परामर्श दिने र बाँकी समयमा कीर्तिपुरको मठमन्दिर घुमाउने योजना थियो । तर बजेट अभाव र स्थानीय सरकारबाट पनि त्यस्तो कुनै चासो नदेखाए पछि गर्न सकिनँ । यसमा मेरो आफ्नो एप्रोच नपुगेर पनि त्यसो भएको हुनसक्छ ।

९.कुनै पनि खेलाडीहरुलाई सहि खेलमा कसरी खेलाउन सकिन्छ ?

उत्तर ः नेपालमा अहिलेसम्म देखासिकी र फोर्सली नै कटाकेटीहरुले मनलागी नलागी खेलिरहेको अवस्था छ । नेपाल खेलकूद परिषद भै पनि खेल अनुसन्धान कार्य नभएकोले गर्दा यसको मार खेलाडीहरुले भोगिरहेको छ । विदेशमा भए उस्को Performance र शारीरिक बनावट अनुसार वैज्ञानिक अनुसन्धान गरेर उपयुक्त खेल खेलाउने गरेको पाइन्छ । कीर्तिपुरमै पनि यस प्रकारको  Sports Research Centre  बनाउन सकेको खण्डमा खेलाडीहरुको Skill अध्ययन गरेर सही खेलाडीलाई सही खेल छनोट गर्न सकिन्छ ।

१०.तपाईं त देश विदेश घुमेको मान्छे, नेपालमा र विदेशमा खेलाडीहरुलाई गरिने व्यवहार कस्तो पाउनु भएको छ ?

उत्तर ः धेरै भिन्नता छ । हाम्रो देशमा अहिले पनि खेलमा लागेमा विग्रिन्छ भन्ने धारणा छ । त्यसैले खेलाडी हेर्ने दृष्टिकोण परम्परागत छ । राज्यले पनि खासै ध्यान दिन सकेको छैन । तर विदेशमा खेलाडीहरुलाई एउटा राजदूतको रुपमा स्थानीय तह देखिनै उच्च सम्मान गरेको पाएँ ।

प्रस्तोता — प्रदीप महर्जन



No comments:

Post a Comment