Friday, November 27, 2020

ज्यापु हुनुमा गर्व गर्नुहुने बुद्धिबहादुर ज्यापु संग एकछिन भलाकुसारी

 ज्यापु हुनुमा गर्व गर्नुहुने बुद्धिबहादुर ज्यापु संग एकछिन भलाकुसारी


बुद्धिबहादुर ज्यापु कीर्तिपुर नगरपालिका वडा नं.८ निवासी अब हामी बीच रहनु भएन । गत मंसिर १ गते पाटन अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो । उहाँ शिक्षा प्रेमी, समाजसेवी हुनुहुन्छ । उहाँको बारेमा अझ बढी जान्नको लागि २०७३ असोज ५ गते बुधबार कीर्तिपुर सन्देश साप्ताहिकमा प्रकाशित उहाँको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ –संपादक



 कीर्तिपुर नगरपालिका वडा नं ९ पाँगा धोकासी टोलका समाजसेवी बुद्धिवहादुर ज्यापु आमा हरिमाया र बुवा सिंह बहादुर महर्जनका जेठा छोराको रुपमा वि.सं. २००० श्रावण १२ गते जन्मनु भएको हो । उहाँको  श्रीमति मोति देवी डंगोल, एक्लो छोरा ओमप्रकाश डंगोल र छोरीहरु इन्दुलक्ष्मी महर्जन र सृजना महर्जन हुन । उहाँ कीर्तिपुर नगरपालिकाको वडा नं. ९ मा २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवारी दिनु भएको थियो । उहाँको छोरा ओम प्रकाश डंगोल हाल बेलायतमा बसोबास गर्नुहुन्छ —सं.

तपाईंको पारिवारिक पृष्ठभूमि थाहा भयो । अब तपाईंको शिक्षा दिक्षाको बारे केही बताउनुहोस ।

—मैले प्राथमिक शिक्षा पाँगाको जल विनायक आधार स्कूलबाट प्राप्त गरेको थिएँ । कक्षा सात सम्म यहाँ पढेपछि आठ कक्षादेखि  काठमाडौंको क्षेत्रपाटीस्थित जुद्धोदय पब्लिक हाइस्कुलमा पढ्न गएँ । त्यहिंबाट २०१७ सालमा एस.एल.सी. पास गरेको थिएँ । जागिरको दौरानमा देश–विदेश घुमेर विभिन्न विषयमा तालिमहरु प्राप्त गरेको छु ।

तपाईंको पेशा प्रवेश, पेशा र शिक्षा सम्बन्धि केही जानकारी दिनुहोस ः 

—पाँगाका मानिसहरु पाँगादेखि हिंडेर या डेरामा बसेर पढ्न नपरोस भनि वि.सं. २०१९सालमा पाँगामा जनसेवा प्रौढ हाइस्कुल खुल्यो । त्यतिबेला म आई.ए.को फाइनल जाँच दिएर बसेको थिएँ । मोहनलाल डंगोल, हरि महर्जन, नन्दबहादुर महर्जन, अर्जुन महर्जन र शुकराम दाइ मिलेर जनसेवा प्रौढ हाईस्कुल खोल्यौं । त्यस स्कुलमा मा शिक्षक भै २०२७ साल कार्तिक मसान्तसम्म काम गरेको थिएँ । सो स्कुललाई गति दिन सो अवधिमा मैले गरेको मेरो जीवनको कठिन र चुनौतिपूर्ण काम रह्यो । सो अवधिमा वि.सं.२०२६ सालदेखि २०२७ साल कार्तिक सम्म सो स्कुलमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको थिएँ । त्यसपछि वि.सं.२०४०/०४१ देखि २०४३/०४४ सालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि भएको थिएँ । हालजनसेवा उच्च मा.वि.मा विद्यार्थीहरुको लागि विभिन्न पुरस्कारको दाताहरु छन । तर शिक्षकहरुको हौसला बढाउन र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने कुनै व्यवस्था थिएन । त्यसैले मैले २०६५ सालदेखि जनसेवा उच्च मा.वि.मा उत्कृष्ट शिक्षकको लागि तहगत पुरस्कारको व्यवस्था गरिदिएँ । तहगत भन्नाले इसिडि, प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तह गरी ४ वटै तहका एक एक जना शिक्षकलाई पुरस्कार दिने व्यवस्था गरिदिएँ । बीबीएस पढाउन जनाधार सामुदायिक क्याम्पस खोल्दा म पनि संस्थापक सदस्य मध्ये एक हुँ । हाल जनसेवा उच्च मा.वि. यस स्थितिमा पुगेको देख्दा मलाई गर्वको अनुभूत भैराखेको छ । सहयोगी साथीभाइहरुमा आभार प्रकट गर्दछु ।

तपाईले के कस्तो सामाजिक सेवा गर्नुभएको छ ?

मंसिर ३ गते श्रद्धाञ्जली दिंदाको 
—जनसेवा स्कुलको स्थायित्व तथा प्रगतिको लागि २०१९ सालदेखि भौतिक, आर्थिक रुपमा योगदान गर्दै आइरहेको छु । बैंक नोकरीको दौरानमा १६÷१७ वर्ष काठमाडौं बाहिर बिताउनु परेकोले दुःख लाग्छ । हाल टोल, छिमेक समाजमा विकाससँग सम्बन्धित विभिन्न कार्यक्रमहरुमा विभिन्न रुपमा सक्दो सहयोग गर्र्दै आइरहेको छु । भविष्यमा पनि निरन्तर रहने छ । २०५० सालमा पाँगा सहकारी संस्थामा अध्यक्ष भै काम गरेको र हाल केही सहकारी संस्थामा सल्लाहकारको रुपमा काम गरिरहेको छु । ज्यापु महागुथि किपूको आजीवन सदस्य र पाँगा धोकासी टोलको बिचा गुठिको कोषाध्यक्ष भै काम गर्दैछु ।

तपाईंको राजनीतिक संलग्नता कुन पार्टीसँग छ ?

—वि.सं.२००६ सालदेखि नै बामपंथी नेताहरु मेरो घरमा आवत जावत थियो । मेरा पुर्वजहरु किसान संघमा लागेको हुँदा ममा सोही छाप लागेकोले म बामपंथी विचारधारालाई समर्थन गर्थें ।  देशमा बहुदलीय व्यवस्था आएपछि म नेकपा एमालेमा आवद्ध भएँ । २०५४ सालको स्थानीय निर्वाचनमा ने.क.पा. एमालेको टिकटबाट कीर्तिपुर नगरपालिका वडा नं.९ को वडाध्यक्षमा चुनाव लडेको थिएँ । हालसम्म नेकपा एमालेमै आवद्ध छु । खासमा म आपूmलाई प्रजातान्त्रिक समाजवादीको रुपमा चिनाउन रुचाउँछु । 


जनाधार सामुदायिक क्याम्पसको संस्थापकको नाताले उहाँप्रति जनाधार सामुदायिक क्याम्पसको समवेदना पत्र

तपाईंले आफ्नो नामको पछाडि ज्यापु राख्नाको कारण के होला ? ः 

—हामी सानो छँदा ज्यापुहरु त्यति पढेलेखेका थिएन । त्यतिबेला ज्यापु भनेपछि साहै्र हेला गथ्र्यो । ज्यापुहरु अशिक्षित, असभ्य भन्ने ठान्थ्यो । अलिकति पढेलेखेकाहरु डंगोल, सिंह, सुवाल भनेर लेख्थे । म एसएलसी जाँच दिने भएपछि ज्यापुले पढ्न सक्छ भनेर ज्यापु जातीको पहिचान दिन र समाजमा सशक्त रुपले स्थापित गराउन, नाम प्रतिष्ठा कमाई प्रेरणाको स्रोत बन्ने उच्च आकांक्षाले गर्दा मैले ज्यापु लेखें । त्यही ज्यापु लेखेको कारण उच्च शिक्षा हासिल गर्न मलाई प्रेरणा पनि दियो ।

ज्यापु जात राख्दा कुनै किसिमको अप्ठेरो महसुस गर्नु भएको छ ?

—सुरु सुरुमा अलि हिनताबोध भएको थियो । त्यो पनि नेवार समुदायमध्ये बाटै हेलाको भाव सुनिन्थ्यो । तर समाजका स्थापित, विद्वान, प्रतिष्ठित व्यक्तिहरुबाट प्रशंसा बढी पाएको छु । आफ्नो कार्यालय भित्र बाहिर खटिंदा इज्जत तथा सद्भाव बढी आर्जन गरेको छु । ज्यापुको छोरा भएर पनि उच्च शिक्षा हासिल गरेको र नोकरीमा पनि बाणिज्य बैंकको क्षेत्रिय प्रवन्धक भएर काम गर्न पाउँदा आपूmलाई गर्व महसुस भयो । मलाई लाग्छ जहाँ जहाँ म खटेर गएँ, त्यो ठाउँमा ज्यापुको इज्जत बढेको अनुभुती गरेको छु ।

तपाईं यु.के पनि घुमेर आउनु भयो । त्यहाँ नेवारहरुको स्थिति कस्तो पाउनुभयो ?

युकेमा खासगरी लन्डनमा नेवारहरुले आफ्नो पहिचान कायम राखेको देखेको छु । त्यहाँका नेवारहरु समय समयमा एकै ठाउँमा भेला भै आफ्ना संस्कृति तथा पहिचान झल्किने विविध खाले कार्यक्रमहरु गर्दै आइरहेका छन् । हरेक साल तिहारमा म्हपुजाको दिन विविध कार्यक्रम गरी नेपाल सम्वतको नयाँ वर्ष मनाउँछन् । त्यसदिन कुनै रेष्टुराँ वा हलमा नेवारी परम्परा अनुसार आकर्षक मण्डप बनाएर सजिसजाउ भई सामुहिक म्हपुजा गर्ने विशिष्ट चलन पनि त्यहाँ पाइन्छ । आफ्ना संस्कृतिको पहिचान स्वरुप योमरी पुन्हीका दिन पनि सबै मिलेर विशिष्ट मौलिक परिकारको रुपमा सामुहिक योमरी बनाई अन्य परिकारको साथमा खानपिन गरी आपसमा रमाउने गरेको पाइन्छ । यसरी नेवारहरुको सुन्दरतम मैत्री तथा सद्भाव झल्काउने परंपरा रही आएको देखिन्छ ।

जनसेवा मा.वि.का पूर्व प्रधानाध्यापक एवं पूर्व व्यवस्थापन समिति अध्यक्षको नाताले जनसेवा मा.वि.ले उहाँप्रतिको समवेदना पत्र


पाँगाको हिजो र आजको अवस्थामा कतिको भिन्नता पाउनु भएको छ ?

राजनैतिक चेतना, व्यक्तिको शिक्षा तथा आर्थिक क्षेत्रमा राम्रो प्रगति भएको छ । हाम्रो पालामा पढेलेखेका औंलामा गन्न सकिन्थ्यो । अहिले सबैले उच्च शिक्षा हासिल गर्न थालेका छन् । यो साहै्र राम्रो पक्ष हो । मानिसहरुको रहन सहनमा धेरै परिवर्तन आएको छ । तर व्यक्तिवादी सोच र स्वार्थीपना हावि हुँदै गएको देखिन्छ । व्यक्तिमा असन्तोष बढी देखिन्छ । समाजमा गुटवन्दी भावना बढ्दो छ ।

हाल देशको राजनीति प्रति तपाईं सन्तुष्ट हुनुहुन्छ ?

विक्रम संवत २०६२/०६३ को आन्दोलन पछि लोकतान्त्रिक गणतन्त्र आएपछि देशको विकाशमा गति लिने अपेक्षा थियो । तर यहाँ राजनेताको अभाव खट्कियो, सत्ता र भागबण्डाको राजनीति मौलाएको, समानुपातिक सभासदको व्यवस्था आदिले देशमा सरकारको अस्थिरता छ । जुन देशको विकाशमा चुनौति बनेर खडा भएको छ । यस्तो स्थितिमा कोही सन्तुष्ट हुन सक्ला र ? विचारणीय छ ।



No comments:

Post a Comment