Saturday, June 20, 2020

नखाएको विष—थुनुवाको डायरी —१२

नखाएको विष—थुनुवाको डायरी —१२



२०६७/०७/२४ (१० नोवेम्बर २०१०) बुधवार—३५औँ दिन

ओम शान्तिमा गएँ । आज इन्जिनियर सुदिप भाइजीले दानको महिमा बारे बताउनु भयो । दान दिनुपर्छ । दान दिंदा त्यसको सदुपयोग हुन्छ कि हुँदैन त्यो पनि ख्याल गर्नुपर्छ । एउटा हट्टाकट्टा मान्छे भीख मागिरहेको हुन्छ । उसलाई भीख दिनु भनेको उसलाई अल्छी बनाउनु हो । उसले सडकपेटीमा बसी बसी पैसा पाउँछ भने किन काम गर्छ ? त्यसैले उसलाई दिएको दान वरदान होइन अभिशाप हुन्छ । यो कुराले मलाई साह्रै प्रभावित पा¥यो ।

अर्काको घरमा घरेलु नोकरनी भएर बसेका केटीहरूलाई आफ्नो घरमा ल्याएर पढाएँ । आफ्नै सन्तानजस्तो माया गरेर पाली राखेँ । मैले उनीहरूलाई देखावटी मात्र होइन भावनात्मक रूपले पनि माया गर्थेँ । शिक्षा दीक्षा दिएँ । काम विगार्दा गाली पनि गरेँ । उनीहरू स्वावलम्वी बनोस् भनेर पत्रिका बेच्ने काम मिलाइ दिएँ । उनीहरूको पनि मिठो खाने, राम्रो लगाउने चाहाना होला । ती चाहानाहरू मैले पूरा गरी दिन सक्दिनँ । 

एक वर्ष भयो डा.डंगोलले उनीहरूको पालन पोषणको लागि एक रुपैयाँ दिनु भएको थिएन । उहाँले त एक वर्ष पहिले नै उनीहरूलाई घर पठाईदिनु भन्नुभएको थियो । मैले मानिनँ । अहिले उनीहरूलाई घर पठाएर के गर्ने ? एस.एल.सी. पास भएपछि मात्र पठाउने भनेर मैले आफ्नै खर्चमा पाली राखेको थिएँ । आज उनीहरूकै कारण म जेलमा परेको छु । मैले दिएको दान मेरो लागि अभिशाप बन्यो । पत्रिका बेचेर पैसा पाएपछि उनीहरूले राम्रा राम्रा लुगाहरू किन्न थाले । मैले केही पनि भनिनँ । समय समयमा उनीहरू फिल्म पनि हेर्न जान थाले । अहिले उनीहरूको उमेर नै राम्रो लगाउने, राम्रो हेर्ने, घुम्ने खाने हो भनेर चुप लागेँ । मेरो यो सदासयलाई उनीहरूले दुरुपयोग गरे । बच्चाहरू जतिसुकै ठूलो भए पनि आमाबाबुको नजरमा बच्चै लाग्छ भने जस्तै मैले उनीहरूलाई तरुणी भएको महसुसै गरिनँ । यो मेरो भूल थियो ।

निर्मलाको बारेमा सम्झेर ल्याउँदा उनी त साह्रै चेपारे रहिछिन् । मलाई सासै पिच्छे ‘ओ ड्याडी’, ‘नजराम बा’ सम्बोधन गरेर थाक्दैनथी । मलाई ड्याडी नभन सर भन भनेँ किनभने अरूले मलाई ड्याडी भनेको छोरालाई मन पर्दैन । उनी शुक्रवार ब्रत बस्थिन् । ब्रत बस्दा दूध केरा मिठाइ खुवाउँथेँ । उनलाई मैले कति माया गरेको थिएँ । कति विश्वास गरेको थिएँ । त्यसैले त ०६६ सालको दशैँमा उनलाई नरेश बटालासँग कैलाली पठाएँ । नरेश कीर्तिपुर दर्पण पत्रिकाको सम्पादक भएर काम गरिरहेको थियो । उसले उनलाई बहिनी भन्थ्यो । दुवैजना पश्चिम नेपालका थिए । महिला र पुरुषको हरेक सम्बन्धलाई यौनको दृष्टिकोणले मात्र हेर्नु हुँदैन भन्ने मेरो मान्यता त्यसैले उनी र नरेशलाई बहिनी दाजु ठानी रात्रि बसमा कैलाली पठाई दिएँ ।

सबैको मन मेरोजस्तो कहाँ हुनु ? आगो नजिक सुकेको दाउरा राखेपछि आगोले टिप्छ । गाईको अगाडि हरियो घाँस राखी दियो भने खान्छ । यति पनि विचार गर्न नसकेको कस्तो मूर्ख मान्छे म । घरबाट फर्केर आएदेखि उनीहरू दुई जनाको हिमचिम बढ्न थाल्यो । नरेश समय कुसमय होस्टेलमा आउन थाल्यो । एकदिन मैले उसलाई भनेँ, यो होस्टेलमा केटा मान्छेहरू आउन मनाही छ । तपाई यसरी आउनुभयो भने यहाँ टोलका मान्छेहरूले कुरा काट्छन् ।

त्यस बेलादेखि नरेश घरमा आउन छाड्यो । पत्रिका बेच्न जाँदा ग्राहक चिनाइ दिने भनेर निर्मला र नरेश सँगै हिंडथे तैपनि दाजु बहिनी हो भनेर मैले मतलव राखिनँ । २०६६ साल मंसिर १५ गते निर्मलाको १६ औँ जन्मदिन मनायौँ । त्यसबेला पनि नरेशलाई बोलाइएको थियो । नरेशले उपहार लिएर आयो । उनको जन्मदिन मनायो । खाजा खुवाइन् । नरेशलाई मसँगै बाहिर ल्याएँ ।

२०६६ सालको माघ महिनामा पनौतीमा १२ वर्षे मेला सुरु भयो । निर्मलाले मलाई मेलामा जाउँ भनिन् । मलाई भीडभाड मन पर्दैन । त्यसैले मैले जान्न भनेँ । अनि एकदिन उनले भनिन्, “सर मेरो साथीहरूको आमाबुबासँग म पनि पनौती मेलामा जान्छु है ?”
साथीको आमाबाबुसँग जाने भनेपछि मैले हुन्छ भनेँ । उनी गइन् । कुन बेला फर्केर आइन् मलाई थाहा भएन । त्यसको चारपाँच दिनपछि रचना भेट भयो ।

“सर, निर्मलाको केटा साथी छ । अस्ति रत्नपार्कबाट केटासँग हाँसीहाँसी कुरा गरेर आइरहेकी थिइ । लोग्ने स्वास्नी जस्तै टाँसेर आएकी थिइन् ।” रचनाले भनिन् ।

त्यसपछि मैले निर्मलासँग सोधेँ । उनले भनिन्, “साथीसँग रत्नपार्कसम्म आएँ । उनीहरू बजार गर्ने भनेर गए । त्यहीँ नरेश दाइ भेट भयो । हामी पाँगा दोबाटोसम्म सँगै आएका थियौँ ।”

उनले यति भनेपछि मैले यो कुरालाई पनि खासै महत्व दिइनँ । निर्मलाले भूmटो बोल्दैन भन्ने मेरो विश्वास थियो । समय बित्दै गयो । शिवरात्री आयो । निर्मलाले शिवरात्रीको दिन पशुपति जाने भनिन् । म नजाने भनेँ । उसो भए उनी साथीहरूसँग जान्छु भनिन् । उनी धर्मभिरू केटी पशुपति जान दिउँ भनेर हुन्छ भनेँ । उनी पशुपति गएर आइन् । कस्तो छ शिवरात्री भनेर सोधेँ । खूव रमाइलो भयो । कस्ता कस्ता मान्छेहरू आएका रहेछन् । कस्तो कस्तो दृश्य हेर्न पाइयो भनेर वर्णन गरिन् । चार पाँच दिनपछि संस्थाका दुई तीनजना केटीहरूले निर्मला आफ्ना केटा साथीसँग शिवरात्रीमा पशुपति घुमेर आएको बताए । मैलै उनीसँग सोधेँ । 

साथीहरूसँग गएकी थिएँ । रत्नपार्कमा नरेश दाइ भेटेर सँगै आएको भनिन् । केही दिनपछि कीर्तिपुर दर्पणमा शिवरात्रीको बारेमा लेख प्रकाशित भयो । त्यो लेखमा त्यहाँको दृश्यको वर्णन लेखेको र निर्मलाले भनेको ठ्याक्कै मिल्यो । अब मेरो मनमा शङ्का उठ्यो । तैपनि मैले निर्मलालाई केही पनि भनिनँ ।

उनले साथीसँग पनौती गएकी भनेकी थिइन् । त्यो साथीको घरमा गएर सोधेँ । उनीहरू कोही पनि अहिलेसम्म पनौती गएकै थिएनन् । त्यसैगरी शिवरात्रीमा सँगै गएको भनेकी साथीलाई भेट्न गएँ । उनीहरू पशुपतिमा गएको त हो तर निर्मलासँग गएको होइन भनिन् । यो कुरा सुनेर मलाई निर्मलादेखि साह्रै रिस उठ्यो । मलाई कसरी ढाँटेकी, मेरो विश्वासलाई कुठाराघात गरिन् । उनलाई मारूँ कि काटूँ जस्तो भयो । तैपनि उनीहरूको अन्तिम परीक्षा नजिक थियो । अहिले यस्तो कुरा निकालेँ भने जाँचमा असर पर्न सक्छ भनेर मैले केही पनि भनिनँ । बरु परीक्षा नसकिएसम्म कुनै पनि पत्रिका बेच्नु पर्दैन भनेर रोकेँ ।

चैतमा उनीहरूको जाँच सकियो । मैले माथिका कुराहरू भनेर निर्मलासँग सोधेँ, “तिमीहरूको पे्रम सम्बन्ध छ भनेर मैले थाहा पाइसकेको छु । नढाँटीकन भन, तिमीहरू दुई जनामा कहिले कसले प्रेम प्रस्ताव राखेको थियो ?”

“दशैँमा घर जाँदा रिंगटा लागेर म नरेश दाइको काखमा टाउको राखेर गइरहेकी थिएँ । उहाँले विस्तारै मेरो संवेदनशील अंग चलाउन थाल्नुभयो । मैले नचल्नु भनेँ । उहाँले म तिमीलाई प्रेम गर्छु । विवाह गर्न चाहन्छु भन्नुभयो । पनौती र पशुपतिमा उहाँले नै घुमाउन लैजानु भएको थियो ।”
“अब म तिमीलाई यहाँ राख्दिनँ । यो घरमा ताला लगाई दिन्छु ।” मैले भनेँ ।

“म त यो घरबाट कहीँं पनि जान्न । तपाईंले मारे पनि काटे पनि तपाईंसँगै रहन्छु । म ममी कहाँ गएँ भने ममीले पाल्नै सक्नुहुन्न । मलाई या त अर्काको घरमा काम गर्न पठाइन्छ या बिहे गरेर पठाई दिनुहुन्छ होला । मलाई पढ्न साह्रै्र रहर लागेको छ ।” सविताले भनिन् ।

“बा, मलाई माफ गर्नुहोस् । अब म नरेशसँग बोल्दिनँ । अब म पढ्नेतिर ध्यान दिन्छु ।” निर्मलाले भनिन् ।

निर्मला र नरेशको सम्बन्धको बारेमा अब एकचोटि नरेशसँग पनि सोध्नु प¥यो भन्ने विचार गरें । एकदिन जनसेवा मा.वि.को कार्यक्रममा नरेशसँग भेट भयो । उसलाई एक्लै चौरमा बोलाएर निर्मलाले भनेको कुरा सोधेँ । उसले पनि इन्कार गरेन । 

“के कसैलाई मन पराउनु अपराध हो ?” भनेर प्रतिप्रश्न ग¥यो ।
“मन पराउनु अपराध होइन । मन परेको भए विवाह गरेर लैजाऊ ।” मैले भनेँ ।

“अहिले नै कहाँ विवाह गर्ने ? मेरो पढाई नै सकेको छैन । आफ्नो खर्च त धान्न सकेको छैन । उसलाई कसरी पाल्ने ?” नरेशले भन्यो ।
“उसो भए मन प¥यो भनेर घुमेर हिँडने भए म निर्मलालाई पाली राख्न सक्दिनँ । यो कुरा तिमीले निर्मलाको अगाडि राख्नुपर्छ । आजै साँझ तिमी धुसि घरमा आउनु ।” मैले भनेँ ।

त्यही दिन साँझ ५ बजे नरेश धुसि घरमा आयो । निर्मला र नरेशलाई अगाडि राखेर कुरा गर्दा दुवै जनाले एक आपसमा पे्रम भएको स्वीकारे तर पढाइ नसकिएसम्म विवाह नगर्ने भने । यसरी प्रेम गरेर हिँड्ने भए म निर्मलालाई यहाँ राख्न सक्दिनँ । घरबाट निस्कि जाऊ भनेँ । निर्मला मेरो खुट्टा समातेर रोइन् र माफी मागिन् । मलाई उनीप्रति दया जाग्यो र मैले भनेँ, “उसो भए आइन्दा तिमीहरू भेट्न पाउँदैनौँ । बोल्न पनि पाउँदैनौँ । अब भेटेर बोलेको देखेँ भने निर्मलालाई एक मिनेट घरमा राख्दिनँ ।”

“हुन्छ बा, तपाईंको कुरा मान्छु । अबदेखि हामी भेट्दैनौँ भेटे पनि बोल्ने छैनौँ । मलाई घरबाट निकाल्ने कुरा नगर्नुहोस् बा ।” निर्मलाले मेरो हात समातेर भनिन् ।

“हेर नरेश अब तिमीले निर्मलालाई फकाउने फुस्लाउने गरिस् भने ठिक हुँदैन ।” मैले भनेँ ।

   निर्मलालाई कीर्तिपुर दर्पण बेच्न प्रतिवन्ध लगाई दिएँ । सहिद पत्रिका र ज्वजलपा मात्र बेच्न दिएँ । तीज आउन लाग्यो तीनै जनालाई एक एक जोर नयाँ लुगा राखिदिएँ । केहीदिन अगाडि सविताको मोबाइलमा आई लभ सविता भन्ने एसएमएस देखेँ । कसले पठाएको भनेर सोध्दा उनले केही पनि भनिनन् । उनीहरूलाई दिइराखेको मोबाइल खोसेर लिएँ ।

तीजको दिन निर्मलालाई नरेशसँग शिवालयमा घुमेर आएको देखेँ । मलाई रिस उठ्यो । मैले जति भने पनि नमान्ने । त्यसको केही दिनपछि मैले निर्मलाको डायरी फेला पारेँ । डायरी हेरेपछि मलाई डर लाग्यो । उनी त नरेशप्रति पागल भइसकेकी रहिछिन् । उनी कुनै पनि बेला नरेशसँग भाग्न सक्छिन् नभए आत्महत्या गर्न सक्छिन् । 

अब यिनीहरूलाई पालीराखेँ भने मेरो बेइज्जत हुनुबाहेक अरू केही हुँदैन । त्यसैले मैले उनीहरू तीनैजनालाई भनेँ, “अब म तिमीहरूलाई पाल्न सक्दिनँ । संस्थाले पैसा पनि दिएको छैन । मसँग पनि पैसा सकियो । त्यसैले निर्मलालाई दशैँमा घर पठाई दिन्छु । फर्केर नआउनु । तिमी त्यहाँ कुन स्कूलमा पढ्ने हो मलाई खवर गर्नु । म पैसा पठाईदिन्छु । निरूलाई एस.एल.सी. जाँच नसकिएसम्म मेरो नयाँवजार घरमा राख्छु । एस.एल.सी. जाँचपछि घर पठाई दिन्छु । सविता पनि ममीको घरमा जाने ।”

मेरो कुरा सुनेर उनीहरू रुन थाले । मैले वास्ता गरिनँ । उनीहरू जति रोए पनि अब मेरो निर्णय परिवर्तन नहुने बताएँ । उनीहरूको चामल सकियो । अरूबेला चामल सकिने बित्तिक्कै एक बोरा चामल किनिदिन्थेँ । यो पटक पाँच किलो चामल मात्र किनि दिएँ । यसले गर्दा अब मैले उनीहरूलाई निकाल्ने नै भयो भन्ने लाग्यो होला । मैले उनीहरूलाई किन निकालेको भनेर कसैले सोध्यो भने के कारण बताउने ? केटाहरूसँग लागेर निकालेको भन्दा आफ्नै बेइज्जत हुने । बच्चाहरूको दिमाग त हो नि । उनीहरूले आपूm बच्नको लागि ममाथि दोष थोपर्ने सोचे होलान् । विरालोलाई कोठामा थुनेर पिट्नु हुँदैनथ्यो । मैले उनीहरूलाई निकाल्ने कुरा गर्दा उनीहरूको दिमागले आपूm बच्ने उपाय सोच्न थाले ।

त्यही बेला सविताले गोरखनाथ स्कूलमा मोबाइल चोरेछ । मास्टरहरूले केरकार गरेछ । मलाई भनेर होस्टेलबाट निकाल्न लगाउँछु भन्दा म त्यहाँ बस्न चाहन्न भनेछ । किन होस्टेलमा नबस्ने भनेर सोध्दा सरले यौन दुव्र्यवहार गर्छ भनिन् । 

गोरखनाथका एकजना मिसले भ्वाइस अफ चिल्ड्रेन नामको संस्थामा खवर गरेछ । होस्टेलमा रहेका अरू दुईजना केटीहरूलाई पनि संरक्षण दिन्छु भनेर फकाएछ । घर जाने मन नभएका केटीहरूलाई संरक्षण दिन्छु भनेपछि मेरो विरुद्ध उजुरी दिन तयार भएछन् । भ्वाइस अफ चिल्ड्रेन संस्था बकुलाले माछा ढुके जस्तै यस्तै कुरा खोजेर हिड्थ्यो । उसलाई ढुङ्गा खोज्दा देवता भेटे जस्तो भयो ।

मानिस कति स्वार्थी हुँदोरहेछ । आफ्नो स्वार्थ पूरा गर्न अर्काको ज्यान समेत लिन तयार हुन्छन् । उनीहरूले मेरो माया ममता सबै बिर्सिदिए । नेपालको कानूनले महिला तथा बालबालिकाहरूलाई यतिसम्म अधिकार दिएका छन कि उजुरीको भरमा प्रतिवादीलाई थुनछेक गरेर जेल चलान गर्दारहेछन् । त्यही कानूनले आज मलाई बन्दी बनाएको छ । काठमाडौं जिल्ला अदालतबाट पेशीको कागज आएको छ । २०६७÷०८÷२६ गतेको पेशीको खवर आएको रहेछ । त्यो दिन जाहेरवालाहरू तथा मौकामा बुझिएका मानिसहरू र प्रतिवादीको साक्षी बकपत्र समेत हुने जानकारी गराइएको रहेछ । मैले कागजमा सही गरिदिएँ ।

पुनरावेदनमा पहिलो पेशी
२०६७/०७/२५ (११ नोवेम्बर २०१०) विहिबार ३६औँ दिन बिहिवार 

म घरबाट निस्केको आज पचास दिन भयो । चौध दिन हनुमान ढोका प्रहरी हिरासतमा बसेर आएँ । आज यहाँ आएको छतीस दिन भयो । आज म छुटूँला भन्ने सबैको आशा छ । म आज छुट्छु कि भनेर हिजो बेलुका ओम शान्ति हलमा मलाई मुरली पढ्न लगाइएको थियो । यहाँको परम्परा अनुसार छुटेर जानेले मुरली पढेर सुनाउने । अनि आफ्नो अनुभव सुनाउने । मैले मुरली पढेर सुनाएको थिएँ । पहिलोचोटि मुरली पढेको कस्तो होला भनेर मनमा पीर थियो । त्यसैले होशियारपूर्वक मुरली पढेँ । पढ्दै जाँदा मलाई डर लागेन । मेरो मनमा उत्साह बढ्यो । मुरली पढिसकेपछि साथीहरूले अनुभवीले जस्तै धेरै राम्रो पढ्नु भयो भने । अब मलाई अनुभव सुनाउन भन्नुभयो ।

मैले आफ्नो परिचय यसरी दिएँ— लौकिक रूपमा मेरो बुबा जगन्नाथ महर्जन, आमा श्रीकुमारी महर्जनको कान्छो छोरा म नजर राम महर्जन, घर पाँगा कीर्तिपुर । छोटकरीमा भन्ने हो भने म एकजना अभागी, असफल व्यक्ति हुँ । निरंकूश पञ्चायत व्यवस्थाको विरोधमा लागेका कारण २०३३ सालमा बी.ए. पास गरेर पनि ‘व्यवस्थाप्रति आस्था नभएको’ आरोपमा सरकारी नोकरी पाइनँ । वीरगञ्ज गएँ । धेरै दुःख कष्ट गरेर आफ्नै मेहेनत र पौरखले कोइला व्यापार गरेँ । पैसा कमाएँ । अरूलाई पनि कमाउन लगाएँ । पञ्चायती व्यवस्था विरुद्ध जिन्दगीभर लागेँ । पञ्चायत व्यवस्था ढल्यो पनि । बहुदलीय व्यवस्था आयो । नयाँ सरकार बन्यो । नयाँ आर्थिक नीति आयो । खुल्ला बजार अर्थनीति ल्यायो । जसले गर्दा नेपालको अर्थतन्त्र भारतको हातमा गयो । भारतबाट कोइला ल्याएर नेपालमा व्यापार गरिरहेको मेरो कोइला व्यापार बन्द भयो । भारतीयहरूस“ग प्रतिस्पर्धा गर्न नसकेर व्यापार छाड्नु प¥यो । व्यापार वन्द हुँदा लाखौं लाख घाटा भयो । फाईदाहुन्जेल पार्टनरहरूले आफ्नो हिस्सा लियो । घाटा हुँदा म एक्लैको थाप्लोमा राखेर भागे । त्यसपछि बारा जिल्लामा ईट्टाभट्टाको काम गरेँ । राजनैतिक कारण विपक्षीहरूले ईट्टाभट्टामा चीम्नि ढाल्ने, मिस्त्रीलाई अपहरण गरेर मलाई कामै गर्न दिएनन् । बाध्य भएर ईट्टाभट्टा बन्द गर्नुप¥यो । त्यसमा पनि घाटा भयो । त्यसपछि काठमाडौं आएँ । काठमाडौं आएर समाजसेवा गर्न थालेँ । जताततै मेरो प्रशंसा हुन थाल्यो । नेपाल भाषाको साप्ताहिक पत्रिका ‘ज्वजलपा’ निकालेँ । थोरै समयमा त्यसले पनि खूब चर्चा पायो । आज त्यही समाजसेवाका कारण म कारागार आउनु परेको छ । सायद शिव बाबाको यही इच्छा हो कि † अब म ब्रम्हचर्य नियममा बसेर शिव बाबाको ध्यान तथा सेवा गर्नेछु ।

अंग्रेजीमा एउटा उखान छ A rolling stone gathers no moss गुडिरहेको ढुंगामा लेउ लाग्दैन । हो म पनि गुडिरहेको ढुगा त हुँ नि । पाँगाबाट वीरगञ्ज गएँ । वीरगञ्जबाट कीर्तिपुर बस्न आएँ । त्यसैले मैले जिन्दगीमा असफलता बाहेक सफलता पाउन सकिन । 

म अभागी, कर्म खोटो मानिस पनि हूँ । मेरो मनले चाहेको कुरा कहिल्यै पूरा भएन । बालककालमा धेरै पढेर डाक्टर, इन्जिनियर बन्ने चाहना थियो । एक कक्षामा प्रथम भएर तीन कक्षामा गएँ । तीन कक्षाबाट पनि प्रथम भएर पाँच कक्षामा गएँ । पाँच कक्षामा पनि प्रथम भएर सात कक्षामा गएँ । जल विनायक स्कूलमा पढ्न सकियो । जनसेवा प्रौढ हाईस्कूलमा विहान कक्षा ८ मा भर्ना भएँ । विहानभरि पढेर दिनभरि यताउता घुम्न थालेँ । मेरो पढाई कमजोर भयो । आठ कक्षा पास गरेपछि मेरो पञ्चमामाले शान्ति निकुञ्ज हाईस्कूलमा कक्षा नौमा भर्ना गराई दिनुभयो । कक्षा नौ र दश त्यहिँ पढेँ । एल.एल.सी. जाँच दिने बेलामा मेरा साथीहरू ट्यूशन, कोचिंग पढ्न गए । मेरो सिकर्मी बुबाको एक्लो कमाईले परिवार धान्न मुस्किल थियो । पैसाको अभावमा मैले ट्युशन कोचिंग केही पनि राख्न सकेन । त्यसैले एस.एल.सी. तृतीय श्रेणीमा पास भएँ । बालक कालदेखि मेरो डाक्टर, इन्जिनियर बन्ने सपना सबै चकनाचूर भयो ।

जिन्दगीमा एउटी केटीसित ६ वर्षसम्म प्रेम गरेँ । त्यो प्रेम पनि सफल हुन सकेन । कहिल्यै नदेखेकी, नबोलेकी केटीसँग विवाह भयो । उनैलाई माया गरेँ । जीवन आनन्दले वितिरहेको थियो । ५५ वर्षको उमेरमा होसपासै नभइकन चिनी रोग लाग्यो । चिनी रोग लागेपछि मान्छेको यौनशक्ति क्षिण हुँदोरहेछ । मेरो यौन शक्ति समाप्त भयो । हामी लोग्ने स्वास्नीले यौनलाई मनोरञ्जनको साधन कहिल्यै बनाएका थिएनौँ । त्यसैले म नपुंसक भए पनि स्वास्नीको व्यवहारमा खासै अन्तर भएन । झन सहानुभूति पाएँ । म जस्तो नपुंसक भइसकेको मान्छेलाई जवर्जस्ती करणी उद्योगको अभियोग लगाएर आज जेल पठाइएको छ । कस्तो विडम्बना † अरूले भन्छन् खाएको विष पो लाग्छ नखाएको विष पनि लाग्छ र ? आज मलाई नखाएको विषले पोलिरहेको छ । पुरुषले आफ्नो पुरुषार्थ देखाउन भूmटो यौनशक्तिको वर्णन गर्छन् । यौनशक्ति नभएको पुरुषलाई ‘हिजडा’ भन्छन् । आज परिस्थितिले गर्दा मैले चिल्लाईचिल्लाई भन्नु परिरहेको छ ‘म हिजडा भइसकेको छु । मलाई डायबिटिज –२ भएको छ ।”

बाहिर महादेव मन्दिरको घण्टा बज्यो ट्वाङ्ग ट्वाङ्ग म जस्तै निन्द्रा नलागेको कोही उठेर आए होला । यो जेल हो । यहा“ भित्र बस्ने प्रत्येक मानिसको आ–आफ्नै पीडा छ । तर त्यो पीडा लुकाएर हाँस्न प्रयत्न गर्छन् । पीडा वोध त कहीँ न कहीँ अवश्य झल्किन्छ । कानूनको चक्करमा परेर कतिजनाको जीवन वर्वाद भइसकेको छ । साथी दिनेश कुमार बस्नेतकै कुरा गरूँ । उसको लेखा परीक्षण गर्ने एउटा कम्पनी छ । अर्को एकजना साथीसँग मिलेर लेखापरीक्षण गर्थे । उसको जन्म मकवानपुरको दामनमा भएको थियो । उसले सानेपामा घर पनि बनाई सकेको थियो । उसको स्वास्नी, दुई छोरा र एउटी छोरी थिए । उसले महिनाको एक देढ लाख रुपैयाँसम्म कमाउँथ्यो । उसको जीवन आनन्दले बितिरहेको थियो ।

एक विहान, उसको जीवनको कालो विहान । सँधैझै ऊ मर्निंग वाक गर्दै थियो । उसँग एक जना साथी पनि थियो । साथी भनेर पूरा मिल्ने साथी पनि होइन । विहान विहान घुम्न आएर मात्र चिनेको थियो । त्यतिकैमा उसको मोबाइलको घण्टी बज्यो । उताबाट उसको एकजना परिचित साथीको आवाज आयो, “एउटा नाक छ । लिने मान्छे छ ?”
“के को नाक गैंडाको सिंग खोइ मलाई त थाहा छैन । कोही किन्ने मान्छे मैले चिनेको पनि छैन ।”
“मगाउनुस्, मगाउनुस् म बेचिदिन्छु ।” सँगै हिंडिरहेको साथीले भन्यो, “आजकल सुन बेच्न समय लाग्ला । यो सिंग बेच्न समय लाग्दैन ।”

दिनेशले फोन गर्ने साथीलाई तुरुन्तै सिंग लिएर आउन भन्यो । उसको साथीले झोला लिएर आयो । उसले सामानै नहेरिकन साथीलाई झोला दियो । बीस मिनेट भित्रमा साथीले झोलामा दश लाख रुपैयाँ ल्याई दियो । दिनेशले त्यो पैसाको दश बित्तामध्ये एउटा बित्ताबाट २५ हजार झिकेर बाँकी रुपैयाँ सामानवाला साथीलाई दियो ।

त्यसको दुई वर्षपछि अचानक राति १२ बजे दिनेशको सानेपास्थित घरमा प्रहरीले छापा मारेर उसलाई गिरफ्तार ग¥यो । उसले बिक्री गरिदिएको गैंडाको खागवालालाई प्रहरीले समातेछ । उसले पोलेर दिनेशलाई गिरफ्तार गर्न आएका रहेछन । उसलाई चितवन वन कार्यालयमा लगेर केरकार ग¥यो । उसले सिङ्ग बेचे वापत २५ हजार लिएको स्वीकारेको रहेछ । उसलाई चितवन जेल पठाइयो । 

मुद्धा चलाइयो । उसलाई १२ वर्ष कैद हान्यो । लहरो तान्दा पहरो गर्जियो भनेझै १८ जनालाई गिरफ्तार ग¥यो । दिनेश जेल परेको सुनेर उसको आमाको हृदयाघातबाट निधन भयो । उसले जेलमै बसेर काजक्रिया ग¥यो । उसलाई बरोबर जेलमा भेट्न आइरहने उसको दाइ पनि अदालतले उसलाई १२ वर्ष कैद हानेको सुनेर हृदयाघात भई निधन भयो । उसको स्वास्नी पागल भइन् । यो सालको दशैँमा पालुङ् घर जाने भनेर गएकी उसको स्वास्नी वेपता भइन् । म¥यो कि बाँच्यो अहिलेसम्म थाहा भएन । ऊ जेलमा परेपछि सानेपाको उसको घर बाटो फराकिलो पार्ने भनेर विना मुआब्जा भत्काइ दियो । अहिले उसको १७ र १३ वर्षका छोराहरू र १५ वर्षकी छोरीमात्र घरमा छन । घर के भन्ने डेरामा बसिरहेका छन् । कस्तो बिचल्ली ? 

दिनेशलाई २०६३ सालको फागुणमा समातेर चितवन जेलमा २२ महिना राख्यो । त्यसपछि यहाँ ल्याएको पनि २२ महिना भइसक्यो । यहाँ आएपछि उसको १२ किलो तौल घट्यो रे ।

आज धुसिटोलका दाजुभाइहरूमा यज्ञराम दाइ पनि आउनुभयो । उहाँसँग कुराकानी भयो । यहाँसम्म आएर मलाई भेट्नु भनेको त उहाँले पनि मलाई निर्दोष ठान्नु नै हो । धुसिटोलमा के हल्ला छ भनेर सोधेँ ।
“के हल्ला हुने नि । तिम्रा शत्रुहरूले ठिक भयो भन्छन् । अरू सबैले चित्त दुखाएका छन् । आफ्नै बच्चाहरूलाई जस्तो माया गरिराखेको मानिसलाई पनि यस्तो आरोप लगाउन सकेका कस्ता नकच्चरी अधर्मी केटीहरू भनेर गाली गरेका छन् ।” यज्ञराम दाइले भन्नुभयो, “अबदेखि त्यस्ता खातेहरूको संगत नगर्नू ।”

“खोइ रामदाइ उनीहरूले आपूmखुशी गरेको त होइन कसैको वहकावमा आएर गरेको जस्तो लाग्छ ।”
“मुद्दा के भइरहेको छ ?”
“आज १७ नं.पुनरावेदनमा पेशी छ । तारिखमा छुट्न पनि सक्छु होला ।”
“छुटे राम्रो । घरमा आएर भेटूँला । ल अहिले म जान्छु है ?” यज्ञराम दाइ जान लाग्नुभयो ।
म उठ्नै पाएको थिएन । नीम्ता र सरिता आइपुगे । उनीहरूसँग पनि कुराकानी भयो ।

“डा.डंगोल आज कतार जाँदै छ । अरू बच्चाहरूको फीस तिर्नु प¥यो के गर्ने भन्दा नजरराम बाहिर ननिस्केसम्म एक पैसा खर्च गर्दिन । मेरो साथी त जेलमा परेको छ । अरू जेसुकै होस मलाई मतलव छैन भन्नुभयो ।” नीम्ताले भनिन् ।

“अब मंसीर २६ गते जिल्ला अदालतमा साक्षी वकपत्र हुन्छ । सरिता र अनिशालाई अदालतमा ल्याउने जिम्मा तिम्रो भयो ।” मैले नीम्तालाई भनेँ ।

“कस्तो लाजशर्म नभएका केटीहरू आफ्नो बाबुजस्तो मान्छेलाई पनि त्यस्तो आरोप लगाउने ? उनीहरूले गरेर अरूको भविष्य पनि चौपट हुने भयो ।” सरिताले भनिन् ।

उनीहरूसँग निकैबेर कुराकानी भयो । त्यहीबेला नेपालगञ्जको पशुपति दाइ आउनुभयो । म जेलमा परेको खवर कान्तिपुर पढेर थाहा पाएर भेट्न आएको भन्नुभयो । उहाँ आउनु भएपछि नीम्ता र सरिता गए ।
“आफ्नो पार्टीको प्रधानमन्त्री, आफ्नै पार्टीको गृहमन्त्री हुँदा पनि तपाईं जेलमा बस्नु परेको ? पार्टीले केही मद्दत गरेन ?” पशुपति दाइले सोध्नुभयो ।

“खोइ, यस्तो महिला सम्बन्धी मामिलामा पार्टीले हस्तक्षेप ग¥यो भने महिलावादीहरू पार्टीको विरोधमा उत्रन्छन् रे ।”

“यस्तो बुढो मान्छेलाई गलत आरोप लगाउँदा पनि पार्टी चूप लागेर बस्यो भने त्यो पार्टीको सदस्य हुनुको के औचित्य रह्यो । भ्वाइस अफ चिल्ड्रेन भनेको डलर खेती गर्ने संस्था हो । तपाईंलाई थुनाएपछि मुद्दा लड्न र बच्चाहरूलाई पाल्नको लागि भनेर डलर आउँछ ।”

“तपाईंलाई कसले भनेको ?”
“मेरो एकजना साथी यस्तै संस्थामा काम गरेर लखपति भइसक्यो । तपाईं पो फोकटिमा काम गर्नुहुन्छ । आजको जमानामा पनि केही नपाउने समाजसेवा कसले गर्छ ?”

 पशुपति दाइसँग कुरा गरेर भित्र आएँ । एकछिन पछि कीर्तिपुरको टिकाराम दाइ आउनु भयो । 

“तिमीलाई फसाइएको हो भनेर धेरैजनालाई विश्वास छ । अब कसरी निकाल्न सकिन्छ ?” टिकाराम दाइले चिन्तित हुँदै भन्नुभयो । 
“सबैले भन्छन् आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुनुहुन्छ । उनीहरूले चाहे त निकाल्न सकिहाल्छन् नि ? पार्टी केन्द्रिय कार्यालयमा गएर एकचोटि भन्न जानु प¥यो ।”

“मैले सुरेन्द्रलाई कतिचोटि भनिसकेँ । उहाँले वास्तै गर्नु भएन । यस्तो आपत परेको बेला पार्टीले वास्ता गरेन भने त्यो पार्टीमा लाग्नुको के औचित्य ? अझ कीर्तिपुरमा यतिसम्मको हल्ला छ कि संस्थाले पार्टीसँग सल्लाह गरेरै मुद्दा हालेको भन्यो रे ।” टिकाराम दाइले दुखेसो पोख्नुभयो, “यदि यो कुरा साँचो हो भने त खतरनाक कुरा भयो । पार्टीमा पूmट ल्याउन पनि भनेको हुनसक्छ ।”

“मैले पनि त्यसरी नै सुनेको छु । तर विश्वास लागेको छैन । पार्टीका मान्छे यतिसम्म तल गिर्न सक्ला र ? तपाईंहरू बाहिर हुनुहुन्छ । तपाईंहरूले नै पत्ता लगाउनु प¥यो सत्य के हो ?”

“हुन्छ । हामी प्रयास गरूँला । भरतदाइ पनि आउँछु भनेको थियो । आज धान काट्न जानु परेकोले आउन पाउनु भएन ।” टिकाराम दाइले भन्नुभयो, “धन्दा नमान । परिस्थितिले यहाँसम्म ल्याइ पु¥याइयो । यो पनि अनुभवकै रूपमा लिनु ।”

“हो टिकाराम दाइ, यो पनि अनुभव बटुल्ने थलो नै हो । यहाँ आएर को आफ्नो, को पराई भनेर थाहा पाएँ । कीर्तिपुरका एमाले साथीहरूमा मलाई भेट्न आउने पहिलो व्यक्तिनै तपाईं हुनुभयो । तपाईंहरूसँग भेटघाट गर्दा मेरो मन एकछिनको लागि भए पनि हलुका भयो । आज तपाईं आउनुभयो । म खुशी भएँ । आज १७ नं. पुनरावेदनमा मेरो पेशी छ । हेरूँ के हुन्छ ।”

म बाहिर यताउता घुमिरहेँ । यदुनाथजी सित भेट भयो ।
“केही खवर आयो कि ?” उहाँले सोध्नुभयो ।

“केही खवर आएको छैन ।” मैले भनेँ ।
“खवर आए पनि तपाईं आज जान पाउनु हुन्न । पुरावेदनबाट तारिखमा छाड्नु भन्ने आदेश जिल्ला अदालतलाई दिन्छ । तारेख दिन तपाईंलाई जिल्ला अदालत उपस्थित गराउनु भनेर कारागारमा पत्र पठाउँछ । तपाईंलाई जिल्ला अदालतमा हाजिर गराएपछि तारेख दिएर छाड्ने आदेश दिन्छ । अनि बल्ल तपाईं यहाँबाट जान पाउनु हुनेछ ।”

उहाँको कुरा सुनेर अदालतबाट जे फैसला भए पनि आज जान नपाउने पक्का भएपछि मन अलि हलुका भयो । तैपनि मन मानेन । ४ बज्यो । अब कुनै खवर आउँदैन । त्यसैले फोन गर्नु प¥यो भनेर गार्ड सहनाईके शिव बुढाथोकीलाई भनेँ । निरजको फोन नम्बर दिएर फोन गर्न लगाएँ । पुष्पराज भन्ने केटाले फोन ग¥यो । उसले मलाई बोलाएर भन्यो, “केटीले फोन उठाएछ । आज पेशी बहस भएन । पेशी स¥यो । अर्को शुक्रवार हुनेभयो ।”

यो कुरा सुनेर सूर्य अस्ताएपछि मुर्झाएको सूर्यमुखी पूmलझै भएँ म । तै मैले आज निस्कन नपाउने मनमा ठानी सकेको थिएँ । त्यसैले मलाई कुनै ठूलो आघात भएन ।

जेलमा मेरा मन मिल्ने साथीहरू, मेरा शुभचिन्तकहरू जो भेटे पनि केही खवर आयो कि भनेर सोध्थे । “अँ पेशी स¥यो रे । अब अर्को शुक्रवार हुने भयो ।”

“पेशी कसले सारेको ? विपक्षीले सार्नलाई त ११ बजेसम्ममा निवेदन दर्ता गराउनु पर्छ ।” 
“बहस गर्दा गर्दै भ्याएन कि ? नत्र त छोरा आएर भन्न आइहाल्छ ।” अर्कोले भन्यो ।
“ठीक छ । भोलि छोरा आइहाल्छ । अनि वास्तविक कुरो थाहा भइहाल्छ नि ।” मैले भनेँ ।

No comments:

Post a Comment