Sunday, May 31, 2020

पानीको स्रोत सफा गर्ने र रोपाईसंग सम्वन्धित विशेष पर्वः सिथि नखः


पानीको स्रोत सफा गर्ने  र रोपाईसंग सम्वन्धित विशेष पर्वः सिथि नखः



श्रीकृष्ण महर्जन
विश्वभरीकै आदिवासीहरुको आफ्नै किसिमले उत्पादन गर्नेदेखि पकवान बनाई खाने चलन छ । प्रथाजन्य संस्था र प्रथाजन्य कानुन समेत भएका आदिवासीहरुले प्रकृतिलाई देवताको रुपमा पुजा गर्ने र प्रकृतिलाई विशेष प्रथमिकता दिई विभिन्न संस्कार संस्कृतिहरु संचालन गर्दै आएका छन् । अहिलेको समयमा प्रकृति विनास गरेका कारण नै विभिन्न समस्याहरु आइरहेको कुरा सबैको ध्यान गइरहेको अवस्था छ । यसै वीच नेपालका आदिवासीहरुले पनि विभिन्न प्रकारका संस्कार र संस्कृतिका कारण प्रकृतिलाई सम्मान गर्दै आएका धेरै उदाहरुणहरु छन । यस्ता उदाहरुहरु मध्ये एक हो नेवाः आदिवासीहरुको पर्व सिथि नखः । 

काठमाण्डौ उपत्यकाका आदिवासी नेवाःहरुले मनाउने विभिन पर्वहरु मध्ये पानीको मुहान सफा गर्ने विशेष प्रकारको पर्व भनेको सिथि नखः हो । यो पर्व रोपाईसंग पनि सम्वन्धित छ । सिथि नखःको दिनदेखि रोपाईको लागि तयारी हुने र यो दिनलाई म्हयाय्मचा नखः पनि भन्ने गरिन्छ । सिथि नखः कृषिसंग सम्वन्धित अन्तिम पर्व हो । यो पर्वपछि एक पटक अव रोपाई सकिएपछि गथांमुगः पर्व मनाउने गरिन्छ । प्रत्येक बर्ष जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवाः समुदायले मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः बनाई खने गरिन्छ । नेवाः समुदायमा ऋतु अनुसारको चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ । त्यस्तै पर्वमध्ये एक हो सिथि नखः पर्व । 


सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षात्को बेला बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो । त्यसैगरि सिथि नखःको दिनमा रोपाईको लागि खेतमा घरेलु मल समेत राख्न जानै पर्ने चलन अहिले सम्म पनि रहेको छ । यो पर्व पानीको मुहान, रोपाईको तयारीका साथै विभिन्न परिकार बनाई खाने विशेष प्रकारको नेवाः आदिवासीहरुको पर्व हो भन्न सकिन्छ । 

No comments:

Post a Comment