Saturday, May 30, 2020

बास्केटबलका प्रमुख प्रशिक्षक दिनेश चन्द्र नकर्मीसँगको भलाकुसारी

बास्केटबलका प्रमुख प्रशिक्षक दिनेश चन्द्र नकर्मीसँगको भलाकुसारी






नेपालमा बास्केटबलको कुरा गर्र्दा नयाँबजार क्लबको नाम अग्रणी स्थानमा आउँछ । यसै क्लवको पहलमा आज नेपालमा बस्केटवल खेलको विकास भएको भन्न सकिन्छ । वि. सं. २०४८ सालतिर अन्तर स्कूल बास्केट बल प्रतियोगिता आयोजना गरेदेखि नै विद्यार्थीहरुलाई खेलाउँदै र आफू पनि क्लब तहको खेल खेल्दै खेलमा सकृय भएर लाग्नुभएका दिनेश चन्द्र नकर्मी जो नेपालको बास्केटबल खेल स्तर विकास गर्ने प्रमुख व्यक्तिको रुपमा नेपाल बास्केटबल संघ, राष्ट्रिय खेलकुद परिषदअन्तर्गत रहनु भएको छ । अहिले उहाँ बास्केटबल खेलको प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको छ । यहाँ कीर्तिपुर निवासी बास्केटबल प्रमुखप्रशिक्षक दिनेश चन्द्र नकर्मीसँगको कुराकानी यहाँहरु समक्ष जस्ताको तस्तै प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

प्र. नं. १.हाम्रा पाठक वर्गलाई तपाईं आफे परिचय बताइ दिनुहोस् न ।
उत्तर ः मेरो नाम दिनेशचन्द्र नकर्मी हो । मेरो घर कीर्तिपुर नगरपालिका वडा नं. ९ नयाँबजारमा रहेको छ । र हाल बास्केटबल खेलको मूख्य प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषद, त्रिपुरेश्वरमा कार्यरत रहेको छु ।


प्र. नं. २. कोरोना भइसको कारण सिर्जित लकडाउनको समयमा कसरी जीवन विताई रहनु भएको छ ?
उत्तर ः संंसार भरी नै फैलिएको कोरोनाको महामारीको समयमा सरकारले जारी गरेको लकडाउनको पूर्ण पलना गर्दै घरमा नै परीवारसँग समय विताइरहेको छु । साथै विहानको एक समय व्यायाम अलिअलि अध्ययनका साथै सम्पर्कमा रहेका खेलाडीहरुलाई Fitness को Tips दिने काम गरिरहेको छु । अनि संसारले यो कोरोनाबाट चाँडो भन्दा चाँडो मुक्ति पाओस् भनी भगवान सँग प्रार्थना पनि गर्दछु ।

प्र. नं. ३. १३ औं दक्षिण एशियाली खेलमा मूख्य प्रशिक्षकको हैशियतले तयारी गरे अनुसार खेलमा उपलव्धि भयो की त्यो भन्दा बढी उपलव्धि हासिल गर्नु भयो ?
उत्तर ः १३औं एशियाली खेलकुद बास्केटबलको तयारी निकै राम्रो र सन्तेषजनक भएको थियो । तयारी, खेलाडीको प्रदर्शन, नतिजा र व्यवस्थापकीय हिसावले बास्केटबल इभेण्ट तर्फ निकै सन्तोषजनक रह्यो । नतिजाको हिसावले भन्नु पर्दा सवै विधामा पदक जित्न सफल भयो । महिला तथा पूरुष ३by३ तर्फ रजत र पूरुष तथा महिला ३by३ तर्फ काश्य पदक जित्न सफल भएका थियौं । यस आधारमा बासकेटबल तर्फ कुनै पनि खेलाडीहरु पदकबाट बन्चित हुनु परेन । तर नतिजा बारे भन्नु पर्दा हामी सवैलाई हाम्रो कुनै पनि कामको नतिजा आइसकेपछि यस भन्दा अलिकति अझ राम्रोे गर्न सकिन्थ्यो की भन्ने जस्तो हुनु स्वभाविकै हो जुन मलाई पनि भएको छ । तयारी गरेकै आधारमा हामीले महिला ३by३ र पूरुष टिम तर्फ पनि रजत पदक जित्न सकिने स्थिति थियो ।

प्र. नं. ४.एशिया तथा दक्षिण एशियामा पूरुष तथा महिला बास्केटबलको स्थिति कस्तो रहेको छ, ?
उत्तर ःदक्षिण एशियामा ३by३ इभेण्टमा हामीले सहभागिता जनाएको सवै उमेर समूहको (महिला र पूरुष) प्रतियोगिताहरुमा हाम्रो प्रदर्शन र नतिजाले नै प्रमाणित गरि सकेको छ की हामी पनि एउटा बलियो टिम हो । तर एशियाली स्तरमा पुग्न हामीले धेरै मेहनत र अरु धेरै पक्षमा सुधार गर्नु पर्ने आवश्यक देखिन्छ । जस्मा देशभर नै पूर्वाधार निर्माण गर्नु पर्ने, खेलाडीहरुलाई नियमित प्रशिक्षण र व्यवस्थित रुपमा सवै उमेर समूहको देश भर नै प्रतियोगिता सञ्चालन, दक्षप्रशिक्षक तथा अन्य प्राविधिक जनशक्तिको निर्माण, बढी भन्दा बढी उच्च स्तरको प्रतियोगिता खेल्न सक्ने खेलाडीको तयारी गर्ने, साथै खेलको व्यवस्थापकीय पक्षमा पनि सुधार ल्याउनु पर्छ जस्तो लाग्छ । त्यस्तै केन्द्रिय, प्रादेशिक र स्थानी सरकारलाई खेलकुदको महत्वबारे अवगत नै भएको कुरा हो । तसर्थ सवै तहको सरकारले खेलकुदमा अलि बढी लगानी बढाउनु पर्छ जस्तो लाग्छ ।

प्र. नं. ५.तपाईं एक कीर्तिपुरबासी र नयाँबजार क्लवका भेट्रान खेलाडी र हाल बास्केटबलको मूख्य प्रशिक्षक जस्तो गरिमामय पदमा पुग्नुभएको छ, तपाईंको समयमा र अहिलेको समयमा बास्केटबलको तुलनात्मक स्तर कस्तो रहेको छ ?
उत्तर ःअवश्य पनि पहिले भन्दा अहिले बास्केटबल खेल देशभरी नै लोकप्रिय बन्दै गएको छ । खेलाडी, प्रशिक्षक, प्राविधिक तथा प्रायोजकहरु पहिले भन्दा धेरै बृद्धि भएको पाइन्छ । खेलाडीको पनि प्राविधक तथा अन्य पक्षमा निकै सुधार भएको देखिन्छ । तर पनि माथी मैले भने जस्तै हामीले हाम्रो स्तर बृद्धि गर्न अरु धेरै पक्षहरुमा सुधार ल्याउनु पर्ने देखिन्छ ।
प्र. नं. ६.कीर्तिपुरबाट नै नेपालमा बास्केटबलको इतिहास रचेको र बास्केटबलको मूख्य मूख्य प्राविधिक व्यक्तिहरुमा कीर्तिपुरकै भएको अवस्थामा कीर्तिपुरको बास्केटबल खेलको स्तर उकास्न कस्तो योजना सोचि राख्नु भएको छ ?
उत्तर ःबास्केटबल अहिलेको स्थितिमा आउन कीर्तिपुरको निकै ठूलो योगदान रहेको छ । युवाहरु माझ निकै लोकप्रिय बन्दै गएको बास्केटबल व्यवस्थित र विकास गर्न आवश्यक रहेको महशुस गरी यस भेगको नयाँबजार क्लवले तेतिवेला नै राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरेर नेपाल बास्केटबल संघको स्थापना ग¥यो । प्रथम राष्ट्रिय बास्केटबल प्रतियोगिता पनि सफलता पूर्वक सम्पन्न गरेको थियो । साथै विद्यालयस्तर देखि नै यस खेलको विकास गर्न विभिन्न विद्यालयहरुमा गई प्रशिक्षण दिन थालेको थियो । र व्यवस्थित र नियमित रुपमा अन्तर बास्केटबल प्रतियोगिता सञ्चालन गर्न थालेको थियो ।

यस भेगले निकै क्षमतावान खेलाडीहरु  जन्माएको छ । हाम्रो समयमा धेरै उत्कृष्ट खेलाडीहरु भन्नु पर्दा किरण महर्जन, हरि नारायण महर्जन, सुन्दर महर्जन र अन्य धेरै साथीहरु थिए । पछिल्लो समयमा आएर रविन्द्र महर्जन आदि आदि थिए । यस भेगमा राम्रा खेलाडीहरु जन्माउने श्रेय म प्रदिप महर्जनलाई पनि दिन चाहन्छु । त्यस समयमा बास्केटबल सम्बन्धि प्राविधिक ज्ञान निकै कम थियो तर पनि प्रदिप सरको Guidance मा त्यस समय हामीले धेरै सिक्न पाएका थियौं । यस भेगले खेलाडी मात्र नभै अन्तराष्ट्रिय स्तरका प्राविधिक जन शक्ति पनि तयार पारेको छ । हाल नेपाल भरी नै एक मात्र प्रथमFIBA रेफ्री राजकुमार महर्जन हुनुहुन्छ भने राष्ट्रिय टिममा तयारी तर्फ विकु महर्जन निकै अनुभवी प्रशिक्षकको रुपमा स्थापित भै सक्नु भएको छ । साथै यस भेगका खेलाडीहरुले निरन्तर रुपमा राष्ट्रिय टिममा रही राष्ट्रलाई ठूलो योगदान पू¥याउँदै आएको सर्वविदितै छ । भर्खरै कीर्तिपुरमा Indoor Court पनि तयार भै सकेको अवस्था छ । हाम्रो नयाँबजार क्लवका जोशिला साथीहरु मूख्य त ईश्वरमुनी बज्राचार्य र ज्ञानदेव महर्जनज्यूहरुले खेलाडी तथा प्राविधिक जनशक्ति तयार गर्न विभिन्न कार्यक्रमहरु ल्याइसक्नु भएको छ । अव हामी चाँडै यो कोरोना भाइरसको कारण भएको लकडाउनको समाप्ति सँगै तालिमहरु सञ्चालन गर्न गइरहेको पनि जानकारी अराउँन चाहन्छु ।

प्र. नं. ७.अन्तमा तपाईंको भन्न छुटेका कुराहरु केही छन् भने बताइदिनुस् ।
उत्तर ःखेलाडीहरुको खेल स्तर बृद्धि गर्न र तिनीहरुलाई धेरै भन्दा धेरै म्याच अनुभव प्रदान गर्न नयाँबजार क्लवले नेपाल मै पहिलो पटक कीर्तिपुर बास्केटबल लिग प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त कीर्तिपुर बास्केटबल लिगलाई धेरै क्लव तथा खेलाडीहरुले मन पराएका थिए । सो प्रतियोगिताको व्यवस्थापकीय र प्राविधिक पक्ष निकै राम्रो थियो । अहिले पनि धेरै खेलाडीहरुले त्यो लिग सञ्चालन गर्न अनुरोध गरिरहेका छन् । अव Indoor Court तयार भै सकेको छ । हामीले हाम्रो तयारी पूरा गरी सकेका छौं । हामी उक्त लिग कीर्तिपुर कभर्ड हलभित्र तयार भएको नयाँ Indoor Court मा खेलाउन निकै उत्साहित छौं ।














प्रस्तोता ः प्रदिप महर्जन

No comments:

Post a Comment