Wednesday, November 2, 2016

जेल डायरी एघारौं ११ भाग —२०६७/०६/२२ शुक्रवार — दोश्रो दिन


जेल डायरी एघारौं ११ भाग —२०६७/०६/२२ शुक्रवार — दोश्रो दिन



असोज २२ गते शुक्रवार विहान ५.३० बजे मेरो निद्रा खुल्यो । एक हुल मानिसहरू हामी सुतिरहेको ठाउँमा घुम्न आए । एक–एक वटा विछ्यौना हेरेर गए । उनीहरु गएको एकछिन पछि नम्बर खुल्यो भन्ने आवाज आयो । मानिसहरू जुरुक्क जारुक्क उठेर त्यो हलबाट बाहिरिए । म पनि बाहिर गएँ । दिसा बसें । प्रहरी हिरासतबाट ल्याएको टुथपेस्ट र ब्रुस लिएर मुख धुन ट्यांकी भएको ठाउँमा गएँ । ट््यांकीनिर थुप्रै मानिसहरू मुख धोइरहेका छन् । मुख धोएर होटलमा गएँ । त्यहाँ पनि हुलका हुल मानिसहरू छन । चिनेजानेका कोही थिएन । कोही तीनचार जना मिलेर गफ गर्दै चिया पिइरहेका छन । कोही मजस्तै एक्लै चिया पिइरहेका छन् । मलाई भोक पनि लागेको छ । चिया मात्र हो कि अरू केही खानेकुरा पनि छ कि भनेर सोधें । उसिनेको अन्डा, पाउरोटी, बम र चना तरकारी छ भन्यो । मैले एउटा अन्डा, चना तरकारी र चिया लिएँ । प्रहरी हिरासतमाभन्दा यहाँ अलि खुकुलो महसुस भयो । पैसा मात्र भयो भने जे पनि खान पाईंदो रहेछ । विहानको नास्ता गरेर आपूm सुतेको ठाउँमा जाँदा त्यहाँ विछ्यौना सबै उठाईसकेको छ । अब सिमेन्टको भुमिमा बसेमात्र हो । 

त्यसपछि कहाँ जाऊँ कहाँ जाऊँ भएर म पर्खाल मुनि मुनि घुम्न लागें । घुम्दा घुम्दै मलाई गर्मि महसुस भयो । घुम्न छाडें । कति घुम्ने ? अब कहा“ जाने ? मेरो मन बिचलित भयो । मलाई त्यतिकै बसिरहन मन लागेन । केही लेख्नु प¥यो भनेर पसलमा गएर एउटा कापी र कलम किनें । बगैचामा गएँ । के लेखूं ? कसलाई लेखूं ? मन विचलित छ । त्यहीबेला साथी पंचलाललाई सम्झें । उसलाई पत्र लेख्ने विचार गरें । कहाँ बसेर लेखूं ? मैले यताउता आँखा घुमाएँ । पूmलबारीमा एउटा बेन्च खाली देखें । म पूmलवारीमा गएँ । एउटा बेञ्चमा बसेर पत्र लेखें ।

प्रिय मित्र पंचलाल,
            अशेष अनुराग । कुशलै छु कुशलताको कामना गर्दछु ।
जिन्दगीमा कल्पनै नगरेको यस्तो घटना पनि हुँदोरहेछ । मानिसहरू भन्छन खाएको विषमात्र लाग्छ तर मलाई नखाएको विषले पोल्यो । समयको परिवन्दले मलाई कहिल्यै नसोचेको ठाउँमा ल्याइपु¥यायो ।
पंचलालजी, अब मेरो भविष्य के हुने हो ? मलाई थाहा छैन । तपाई वकिल हुनुहुन्छ । मेरो यो मुद्दाको के फैसला हुन्छ, तपाईंलाई अवश्य थाहा होला । तपाईंलाई थाहा भएकै कुरा हो हिजो जिल्ला अदालतमा मेरो बयान लियो । मैले इन्कारी बयान दिएको छु । ०६७/०६/०१ गते हामी कीर्तिपुर यातायातको अफिसमा त्रि.वि.कर्मचारीहरूसँग मिटिंग गर्दै थिएँ । ७.३० बजे त हामी छुट्टिएका थियौं । त्यो दिन म पाँगामा गएकै थिइनँ । त्यही दिन घटना भएको भनेर मलाई झुठा आरोप लगाएको छ । त्यो दिनको माईन्यूट पेश गर्छु भन्दा अदालतले मानेन । सरकारी अफिसमा बैठक भएको भए मान्यता दिन्थ्यो ।

अदालतले मेरो चारित्रिक साक्षीको लागि नाम माग्दा विद्यार्थीहरूबाट अनिशा महर्जन र सरीता महर्जन, सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूमध्येबाट नन्दकुमारी महर्जन, प्रदीप महर्जन र शिक्षक दुर्गा बहादुर महर्जनलाई राखेको छु । बच्चाहरूको डाक्टरी रिपोर्ट पनि आइसकेको छ । रिपोर्टमा भनिएको छ — निजको स्वास्थ्य साधारण छ । —निजको कन्याजाली च्यातिएको छैन —निजको शरीरमा कतै नयाँ चोटपटक लागेको देखिन्दैन ।

त्यसैले पंचलाल, थुनछेकको बहसमा धरौटीमा छुट्ने ठूलो आशा थियो । तर जव न्यायाधीशज्यूले फैसला सुनाउनु भयो । म छाँगाबाट खसेकोजस्तो भएँ ।
“पुर्पक्षको लागि थुनामा राख्ने’ आदेश बमोजिम अहिले म भद्रवन्दी गृह त्रिपुरेश्वरमा छु । मेरो छोरालाई कानूनी कुरो केही पनि थाहा छैन । त्यसैले तपाईंले सहयोग गरि दिनुहोला । “भ्वाइस अफ चिल्ड्रेन”को डायरेक्टर कृष्ण कुमार थापालाई भेटेर मलाई किन फसाएको भनेर सोध्नुस ।
पूmलबारीमा बसेर पत्र लेखिरहेको थिएँ । माईकबाट तीनचोटी मेरो नाम बोलायो । अर्को बेन्चमा बसिरहेका एक जनाले भन्यो, “ल तपाईंको भेटघाट आयो ढोकामा जानुस ।”

म ढोकामा गएँ । नजरराम महर्जन भनेर फेरि बोलायो । मैले ढोकाबाट बाहिर हेरेको त छोरा आएको रहेछ । छोरा निरज उठेर आयो । उसलाई भेटघाटस्थलमा राख्यो । मलाई माईक कोठामा जान भन्यो । म माईक कोठाको झ्यालमा बसें । झ्यालमा जाली राखेको छ । बाहिर निरज बस्यो । कुराकानी भयो । मलाई कस्तो छ भन्यो । हनुमान ढोकामाभन्दा राम्रो छ भनें । ओढ्ने ओछ्याउने ल्याउनु पर्छ भनेर सोध्यो । बिछ्यौना यहाँको साईजमा बनाउनु पर्छ । सिरक र बाल्टिन ल्याई देउ भनें । एकैछिनमा हामीलाई उठायो । निरजले मासु र चिउरा ल्याएको रहेछ । गेटमा टिफिन क्यारियर चेक गरेर मलाई दियो । खानेकुरा त ल्याइदियो तर कहाँ राख्ने ? कहिं राख्ने ठाउँ छैन । टिफिन क्यारियर लिएरै हिंडिरहें ।

“राख्ने ठाउँ छैन भने खाना खाने भान्सामा राख्नु । खाने बेला मगाएर खाए भैहाल्छ ।” यो देखेर एकजनाले भन्यो
मैले त्यस्तै गरें । दिनभरि कहाँ जाउँ, के गरूँ भएर म यताउता गरिरहें । एकजना मभन्दा जेठो बुढो मानिस भेटें । उसले मसँग बोल्न आयो । मैले बोलें । के अभियोगमा आएको भनेर परिचय मागे । मैले आफ्नो परिचय दिएँ । उसले पनि आफ्नो परिचय दियो । बिछ्यौना कहाँ कसरी बनाउने भनेर सोधें ।

“यहाँ थापा दाइ भन्ने मान्छे छ । उसलाई भनेर छिट्टो बिछ्यौना बनाउन लगाउनुस । बिछ्यौना भएपछि भित्र ठाउँ पाउनु हुन्छ ।” उसैले मलाई थापा भन्ने मान्छे चिनाई दियो । बिछ्यौना र टकिया बनाउन एक हजार एकसय पचास रुपैयाँ लाग्छ भन्यो । मैले एक हजार रुपैयाँ पेश्कि दिएँ । दुई दिनभित्र बनाई दिन्छु भन्यो ।
हनुमानढोका खोरमा गएदेखि चुरोट पिउन पाएको थिएन । मलाई चुरोटको तल तल लाग्यो । पसलमा गएर एउटा शिखर चुरोट मागें । तीन रुपैयामा एउटा चुरोट दियो । बाहिरको भाउमै चुरोट दियो । यहाँ जेलभित्र पनि बाहिरकै भाउमा दिंदो रहेछ । चुरोट लिएर डाँडामा गएँ र डाँडाको अग्लो पर्खालको बिच भागमा कालो रंगले पोतेर सेतो इनामेलले लेखिराखेको अक्षरमा मेरो आँखा प¥यो । ठूलठूलो अक्षरले लेखिराखेको छ
“तिमी त्यो व्यवहार अरूलाई कहिल्यै नगर जुन तिमीलाई अरूले गरेको मन पर्दैन ।”

यो वाक्यले मलाई धेरै प्रभाव पा¥यो । आज साँझ खाना खाएर म टी.भी. हलमा झोक्य्राएर बसिरहेको थिएँ । यदुनाथजी आउनुभयो । उहाँले भन्नुभयो, “यहाँ झोक्य्राएर बस्नुभन्दा ओमशान्ति हलमा जाउँ । समय पनि कटिन्छ, ज्ञान पनि हुन्छ ।”
यहाँ त्यतिकै बसिरहनु भन्दा ओमशान्तिमै जान मन लाग्यो । ओमशान्तिमा गएँ । मुरली सुनें । त्यहाँबाट फर्केर टी.भी. हलमा गएँ । आज पनि त्यहीं सुतें ।

२०६७/०६/२३ शनिवार तेश्रो दिन

आज पनि विहान सबेरै उठेर मुख धोएँ । ग्राउण्डमा आधाघण्टा घुमें । प्रहरी खोरमा कुजिएको मेरो खुट्टा अहिले यहा“ घुमेर अलि अलि खुलिरहेको छ । होटलमा गएर चिया पिएँ । त्यहाँ दुई चार जना दुई चार जनाको समूह बनाएर गफ गर्दै चिया पिइरहेका छन । आफ्नो त कोही साथी छैन । चुपचाप चिया पिएर आएँ । अब के गरूँ, के गरूँ भयो । बहिनी नन्दकुमारीलाई सम्झें । सहयोगको लागि उनलाई पत्र लेख्ने विचारले पूmलवारीमा गएँ । एउटा बेञ्चमा बसेर पत्र लेख्न थालें ।

प्यारी बहिनी नन्दकुमारी,
शुभाशिर्वाद । कुशलै छु कुशलताको कामना गर्दछु ।
            सायद जिन्दगीमा पहिलोपल्ट तिम्रो नाममा यो पत्र लेख्दैछु । अस्ति अदालतमा तिम्रो आँखामा टलपलाएको आँशुले मलाई धेरै चोट पु¥यायो । तर के गर्ने ? तिम्रो आँशु पुछ्ने क्षमता ममा रहेन । विवश नजरले हेरिरहें । अहिले पनि मैले तिमीलाई सम्झिरहेको छु । सम्झेर के गर्ने ? म तिमीलाई नरोउ बहिनी पनि भन्न सक्दिन । अहिले म यी ठूलठूला पर्खालले घेरिएको ठाउँ जसलाई भद्रवन्दी गृह भनिन्छमा कैदी जीवन बिताईरहेको छु । भनौं म आपूmले नगरेको अपराधमा जेल जीवन बिताईरहेको छु ।

यो मेरो रहर होइन बाध्यता हो । जिन्दगी एउटा पहेली हो । जिन्दगीमा कहिल्यै नसोचेको घटना पनि हुँदोरहेछ । हामी सामाजिक कार्यकर्ता हौं । समाजसेवा गर्दा विभिन्न अवरोध आउन सक्छ । सत्यको बाटो कठिन छ । त्यो कठिनाईको सामना गर्नुनै हाम्रो बहादुरीपना हो । अहिले म यही सोचले आफ्नो स्थितिको सामना गरिरहेको छु ।

मानविय सेवानै ठूलो धर्म ठानी आपूmले जन्माएका मात्र आफ्नो सन्तान होइन, यस धरतीमा जन्म लिएका प्रत्येक बच्चालाई आफ्नो सन्तान ठानी माया गर्दै आइरहेको थिएँ । अर्काको बच्चालाई आफ्नो ठानी माया गरेको फल आज म भोग्दैछु । आज मैले सजायँ पाएँ भने हाम्रा साथी–संगीहरू, आफन्तहरू कसैले पनि अर्काको बच्चालाई आफ्नो ठानी माया गर्ने छैनन् । यस धरतीमा दया, माया र स्नेहको परिभाषा फेर्नेछन् ।
बहिनी, अदालतमा मेरो चरित्रको साक्षीको रूपमा सरीता महर्जन, अनिशा महर्जन, नन्दकुमारी महर्जन, दुर्गाबहादुर महर्जन र प्रदीप महर्जनलाई राखेको छु । सायद तपाईंहरू अदालतमा उपस्थित हुनुपर्नेछ । यो कुरा सबैलाई जानकारी दिनु । अदालतमा के वयान गर्ने हो मैले सिकाईरहनु पर्दैन होला । तपाईहरू आफै विद्वान हुनुहुन्छ ।

मैले बच्चाहरूलाई घरबाट निकाल्ने भनेपछि संरक्षणको लागि गएका उनीहरूलाई “भ्वाईस अफ चिल्ड्रेन”ले उक्साएर ममाथि यस्तो जघन्य आरोप लगायो । अहिले ती तीनजना केटीहरू अन्तरदृष्टि नेपाल भन्ने कुलेश्वरको संस्थाले संरक्षण गरिराखेको छ । मेरो केस नसकिएसम्म उनीहरूलाई त्यहाँबाट बाहिर पठाउँदैन होला । यसो हुँदा उनीहरूको पढाई बिग्य्रो । मेरो ६ वर्षको लगानी खेर गयो । ती तीनजना केटी र “भ्वाईस अफ चिल्ड्रेन”ले गर्दा अरू ७० जना वालवालिकाको भविष्य अन्धकार हुने भएको छ । यदि मैले सजायँ पाएँ भने हाम्रा सहयोगीहरू कसैले पनि सहयोग गर्ने छैनन् । त्यसैले “भ्वाईस अफ चिल्ड्रेन”का डायरेक्टर कृष्णकुमार थापालाई भन्नु, “यदि नजररामलाई दण्ड दिएर तपाईंलाई आत्मसन्तुष्टी हुन्छ भने ठिकै छ तर ती ७० जना बच्चाहरूको भविष्यसँग खेलवाद नगर्नु होला । उनीहरूलाई सहयोग गर्नु होला ।”

बहिनी, भोलि अदालतले के फैसला गर्ला त्यो आफ्नो ठाउँमा छँदैछ । विना प्रमाणको आरोप लगाएको हो । त्यसैले मैले सफाई पाउँछु भन्नेमा म विश्वस्त छु । अर्कोतर्फ नेपालको कानूनले महिला तथा बालबालिकालाई यति अधिकार दिएको छ कि हो होइन नै नसोची सजायँ दिन पनि सक्छ । जे भए पनि धन्दा नमान । सत्यको विजय अवश्य हुन्छ ।
            आजलाई यति अरू पछि ।
                                                                                    तिम्रो दाजु
                                                                                    नजरराम महर्जन

पत्र लेखें । यो पत्र बाहिर पठाउनुभन्दा अगाडि यहाँका नाईके दाईहरूलाई देखाउनु पर्छ । उहाँहरूले पढेर बाहिर पठाउन ठीक थाने मात्र बाहिर पठाउन पाउँछ । नाईके दाइले पत्र पढेर बाहिर पठाए पनि हुन्छ भन्यो । मेरो मन खुशी भयो । खाना खाएर छोरा आउने प्रतिक्षा गरिरहें । छोरा आयो । छोरा निरजलाई पत्र दिए“ । निरजले मलाई सिरक, बाल्टिन, मग सबै सामान ल्याई दियो । मेरो मन हर्षित भयो । दिउँसो निरजले ल्याएको खाजा खाएँ ।

आज पनि साँझको खाना खाएर ओमशान्तिमा बसेर आएँ । त्यहाँ एक घण्टा बस्दा मन आनन्दित भयो ।

आज छोराले सिरक र तन्ना ल्याई दिएको छ । त्यसैले सुत्दा मजा आउने भयो । मलाई कसैसँग जिउ छुवाएर सुत्न मन लाग्दैन । यहाँ जिउ छुवाएर सुत्नु पर्छ । जिउ छुवाएर सुत्दा मलाई निद्रै लाग्दैन । घरमा श्रीमतीसँग त जिउ छुवाएर नसुतेको ५ वर्ष भैसक्यो । आज यहाँ वाध्यतावश सुत्नु परिरहेको छ । त्यसैले त भन्छ मानिस परिस्थितिको दास हो । अर्को एक जना केटासँग मेरो सिरकमा गुटमुटिएर सुतें ।

No comments:

Post a Comment