Saturday, September 28, 2013

रुद्रवहादुर प्रधानको स्मृतिमा श्रद्धाञ्जली सभा

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

रुद्रवहादुर प्रधानको स्मृतिमा श्रद्धाञ्जली सभा

गत भाद्र २९ गते शनिवार होटल हिलसाइडको सभाहलमा स्वर्गिय रुद्रवहादुर प्रधानको स्मृतिमा विभिन्न सामाजिक संघ सस्थाहरु मिलेर संयुक्त रुपमा कार्यक्रम गरी श्रद्धाञ्जली अर्पण गरियो । कीर्तिपुरको स्वास्थ्य क्षेत्रमा ब्रम्हु काजीको नामले ख्याति कमाउनु भएका समाजसेवी रुद्रवहादुर प्रधानको गत भाद्र ६ गते गाईजात्राको दिन निधन भएको थियो ।

लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरका राजेन्द्र मानन्धरद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व कीर्तिपुर पर्यटन विकास समाजको अध्यक्ष विजय कुमार महर्जनले गर्नु भएको थियो ।

उक्त श्रद्धाञ्जली सभामा कीर्तिपुर न.पा.का कार्यकारी अधिकृत रामलाल श्रेष्ठ, शिशिर प्रसाद धितालले उहाँले कीर्तिपुर नगरपालिका वडा नं.१ का वडाध्यक्ष हुँदा ५ वर्षको अवधिमा गर्नु भएको कार्यकालको सम्झना गर्नु भएको थियो । त्यस्तै प्रा.डा. शिवशरण महर्जन र प्रा.डा. भवेश्वर पंगेनीले स्व. रुद्रवहादुर प्रधानले शहिद स्मारक क्याम्पस स्थापना गर्न देखाउनु भएको तत्परता र उहाँको मेहेनतको स्मारण गर्नु भएको थियो । 

प्रा.डा. रुद्रप्रसाद गौतम, नेपाली कांग्रेसका क्षेत्रिय सभापति  राजकुमार नकर्मि लगायतले उहाँले कीर्तिपुरको स्वास्थ्य र शिक्षा क्षेत्रमा र विकास निमांणको लागि खेल्नु भएको भूमिकाको बारेमा आ–आफ्नो अनुभव सुनाउनु भएको थियो ।  स्व. रुद्रवहादुर प्रधानले स्वास्थ्य क्षेत्रमा पैसालाई महत्व नदिएको र कतिपय गरीव असहायलाई निशुल्क स्वास्थ्यउपचारको साथै निशुल्क औषधी पनि दिएर धेरैजनाको ज्यान बचाएको जानकारी गराईएको थियो ।
आफ्नो मन्तव्य दिनेक्रममा उहाँको सुपुत्र लायन रबिन्द ्रवहादुर प्रधानले आफ्नो बुबाको स्मृतिमा रुद्रवहादुर प्रधान स्मृति प्रतिष्ठान बनाउने इच्छा जाहेर गर्नु भयो ।

जसको लागि निकट भविष्यमै कीर्तिपुरवासीसँग व्यापक छलफल गर्ने जानकारी दिनु भयो । उक्त प्रतिष्ठानले कीर्तिपुरको स्वास्थ्य, शिक्षा र सामाजिक विकासको लागि काम गर्ने उद्देश्य राखिएको छ ।

कीर्तिपुरका विभिन्न क्षेत्रका महिला तथा पुरुषको उल्लेख उपस्थिति रहेको उक्त कार्यक्रममा हिलसाइड होटलको सभाहल खचाखच भरिएको थियो ।

हलभित्र नअटेर बाहिर पनि भीड लागेको थियो । श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौन धारण गर्दा कतिपयको आँखा रसाएको थियो ।

No comments:

Post a Comment