Saturday, September 28, 2013

संविधान सभामा उम्मेदवार छनौट र त्यसको प्रभाव

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

संविधान सभामा उम्मेदवार छनौट र त्यसको प्रभाव

सरवकुमार महर्जन

सरकारले नेपालमा दोस्रो संविधान सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने घोषणा गरिसकेको छ । त्यसको लागि चाहिने खर्च सरकारले २०७०÷०७१ को बजेट तथा कार्यक्रममा राखी निर्वाचनको आवश्यक तयारी पनि गरिरहेको छ । गत २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनबाट ठूला दल बनेका एकीकृत नेकपा माओवादी, नेपाली काङग्रेस, नेकपा एमाले, मधेसीवादी दलहरू, नेकपा एमालेबाट फुटेर गएको अशोक राईले नेतृत्व गरेको संघिय समाजवादी पार्टी पनि अव निर्वाचनमा भाग लिने भएका छन् तर एकीकृत नेकपा माओवादीबाट फुटेर गएको नेकपा–माओवादी लगायत ३३ दल निर्वाचनको बहिस्कारमा लागेका छन् । देशमा सबै दलहरू निर्वाचनमा एकमत भएर नगएको  कारण निर्वाचन सहज रुपमा सम्पन्न हुनेमा केही शंकाहरू थपेका छन् । बहिस्कारवादी दलहरू सामान्य ढंगले बहिस्कार गर्ने मात्र छैन उनीहरू सक्रिय बहिस्कार गर्ने र उम्मेदवार बनेकाहरू उम्मेदवारी दिइसकेपछि घर सकुशल फर्कन्छ या फर्कन्न हेर्ने माओवादीले भाषण दिन थालेका छन् । उनीहरूले आन्दोलनका कार्यक्रमहरू पनि गर्दै आएका छन् । सरकारले पनि निर्वाचनको तयारी गर्दै जाने र उनीहरूसँग वार्तालाई पनि निरन्तता दिदैं जाने त्यस्तै उच्चस्तरीय राजनीतिक दलको संयन्त्रबाट पनि आफ–आफ्नो दलबाट आफ्नो तयारी गर्दै जाने र वार्तालाई सँगसँगै लाने दोहोरो नीति लिएको कारणले पनि निर्वाचनप्रति शंका उव्जेको छ । 

हुन त निर्वाचनमा भाग लिने दलहरूले २४० वटा निर्वाचन क्षेत्रबाट आ–आफ्नो उम्मेदवार छनौटको प्रक्रिया अगाडि बढाई सकेका छन् । निर्वाचन स्तरीय कमिटीहरूले आ–आफ्नो दलका उम्मेदवारहरूका नाम सिफारिस गरी पठाइरहेको अवस्था छ । यो क्रम तहगत कमिटीहरूमा जारी छ । निर्वाचनमा के कस्तो उम्मेदवारहरूको सिफारिस भयो ? कसरी भयो ? किन भयो ? अरू इच्छा जाहेर गर्नेहरू  किन भएन जस्ता आदि प्रश्नहरू पनि यत्रतत्र घुमिरहेको छ । कुन दलबाट कसलाई उम्मेदवार दियो र उम्मेदवार हुनेहरूको जनतामा, कार्यकर्ताहरूमा कस्तो प्रभाव छ ? यकिन गर्नु पर्दछ । उम्मेदवार दिनको लागि मात्र दिने, उम्मेवार जित्नको लागि दिने, अरू दललाई भन्डाफोर गर्नलाईमात्र दिने जस्ता प्रचलन हिजोदेखि हुदैं आएको छ । त्यसैले अहिलेको निर्वाचनमा पनि मुख्य त एकीकृत नेकपा माओवादी, नेपाली काङगे्रस र नेकपा एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । मधेसको सवालमा मधेशवादी दलहरूसँग पनि प्रतिस्पर्धा हुुने कुरा गत निर्वाचनको परिणामलाई हेर्दा पनि अनुमान गर्न सकिन्छ । त्यसैले दलहरूले कस्तो उम्मेदवार दिइयो भन्ने सवाल पनि तड्कारो रुपमा उठने गरिन्छ । केही जनजाती बाहुल्य रहेको निर्वाचन क्षेत्रहरूमा जातिय मुद्धा उठाउनेहरूको पनि केही बर्चस्व हुन सक्ने अनुमान गर्न सकिन्छ । 

यतिबेला दलहरूलाई उम्मेदवारी छनौट कार्य चुनौतिपूर्ण    रहेको छ । उम्मेदवार हुने रहर त सबैले गर्न सक्छन् तर सही उम्मेदवारको छनौट गर्न सकेन भने जित्ने निर्वाचन क्षेत्रहरू हार्न सक्ने र हार्न क्षेत्रहरू पनि राम्रो उम्मेदवारका कारण जित्ने पनि हुन्छन् । यो कुरा नेताहरूले हेक्का राख्नै पर्दछ । उम्मेदवार हुन चाहने दलका नेताहरू कार्यकर्तालाई मन पराउनु आवश्यक छ । कार्यकर्तालाई ठीक ढंगले परिचालन गर्न सक्यो भने निर्वाचनको माहौल सकरात्मक हुन्छ । आम जनताबीच पनि परिचित र आशालाग्दो र भरपर्दाे व्यक्तित्व हुनु आवश्यक छ । उम्मेदवार हुनेहरू कुशल संगठक, बैचारिक स्पष्टता, निडर, वाकशक्ति, र आर्थिक रुपमा पनि सम्पन्न हुनु आवश्यक छ । किन यो निर्वाचन अहिले पनि बुर्जूवाहरूकै निर्वाचन हो । पार्टीहरूले टिकट दिने भएता पनि उम्मेदवार आफै सक्षम भएन भने उम्मेदवारी दावीको कुनै अर्थ हुदैंन र उम्मेदवार भएको व्यक्तिको व्यक्तित्व पनि फराकिलो हुनु आवश्यक छ । उम्मेदवारी बहुआयामिक हुनु आवश्यक छ । उम्मेदवारीले आफ्नो प्रचार कविताबाट, मुक्तकबाट, गीतबाट, संगितबाट, भाषणबाट, अन्तर्वार्ताबाट, छापाबाट, मेल इमेलबाट सरल र सहज रुपमा गर्न सकेमा प्रचारात्मक कार्य अघि बढ्छ । कार्यकर्ता परिचालन, सही सूचना प्रवाह, मतदान प्रशिक्षण, मतदाताको सुरक्षा, आवश्यक अन्य व्यवस्थापकिय कामहरू पनि सँगसगै लानु पर्दछ । 

त्यसैले पनि मुख्यत निर्वाचनमा भाग लिनु भनेको जागीर खाने मानसिकताबाट मुक्त हुनु पर्दछ । संविधानसभामा आफूले उठाउने मुख्य एजेन्डाहरू स्पष्ट हुनु पर्दछ । हिजो किन संविधान बन्न सकेन । त्यसको कारणहरू पत्ता लगाई अव त्यसको निराकरणको लागि घोषणापत्रमा के कस्तो व्यवस्था गर्नु पर्दछ । मुख्य त संघियताको बनौट सम्वन्धि, भाषिक, लैगिंक, मानव अधिकार, प्रेस स्वतन्तता सम्वन्धि, देशको जनजीवीका सम्वन्धि आफ्नो दलगत र व्यक्तिगत धारणाहरू सुस्पष्ट रुपमा राख्न सक्ने उम्मेदवारको आवश्यक हुन्छ  न त मलाइ त्यही केटी चाहिन्छ भनेर बचपना गर्नेहरूको उम्मेदवारी मात्र खोज्ने प्रवृतिले पार्टीलाई कहाँ  पु–याउँछ । थाहा छैन ।

No comments:

Post a Comment