Monday, September 4, 2023

कीर्तिपुर नगरपालिकाको माध्यमिक शिक्षा परीक्षाको विश्लेषण शैक्षिक सत्र २०७९

 कीर्तिपुर नगरपालिकाको माध्यमिक शिक्षा परीक्षाको विश्लेषण शैक्षिक सत्र २०७९

 


कमला पोख्रेल

कीर्तिपुर न.पा. शिक्षा अधिकृत 

काठमाडौं जिल्ला देशकै राजधानी हो । काठमाडौं बाहिर रहेका मानिसहरुको लागि शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य सुविधाको लागि मुख्य गन्तव्य पनि हो । काठमाडौं जिल्लाभित्र रहेको कीर्तिपुर नगरपालिका पुरानो नगरपालिका हुनुका साथै नेवार जातीको वर्चस्व रहेको नगरपालिकाको रुपमा मानिन्छ । शैक्षिक हिसाबले प्रख्यात ठाउँ पनि हो । नेपालकै इतिहास बोकेको मुख्य विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय रहेको स्थान कीर्तिपुर हो । विशेषगरी उच्च शिक्षा हासिल गर्नका लागि बाह्य जिल्ला र जिल्लाभित्रबाट पनि त्रिभुवन विश्वविद्यालयमा नै आउने चाहना सबैको रहन्छ । यही शिलशिलामा कीर्तिपुरमा नै पढ्न बस्ने व्यापार गर्ने जागिर गर्ने आदि कामको शिलशिलामा अस्थायी रुपमा तथा स्थायी रुपमा बसोबास गर्ने बाह्य जिल्लाका मानिसहरुको संख्या पनि ठूलो रहेको छ । करिव ५०हजार मानिसहरु यस नगरमा बस्ने गरेको अनुमान छ । कीर्तिपुर क्षेत्रफलको रुपमा सानो भएता पनि जनसंख्यिकी हिसाबले ठूलो छ । खेतीपाती गर्ने क्षेत्रफल समेत रहेकोले सुदुरपश्चिमबाट काम, रोजगारी र पेशा व्यवसाय गर्ने हिसाबले सुदुरपश्चिमका मानिसहरुको वर्चस्वरहेको छ ।

विद्यार्थी भर्ना प्रवृत्ति

स्थानीय व्यक्तिहरु जो आर्थिक रुपमा सम्पन्न छन् ती व्यक्तिहरुको लागि कीर्तिपुरभित्र रहेका सामुदायिक र निजी विद्यालय भन्दा कीर्तिपुर नगरपालिका भन्दा बाह्यका विद्यालय वा बल्खु पारीका विद्यालयहरुमा पढाउनका लागि छनौट तथा रोजाइमा परेको पाइन्छ । आर्थिक रुपमा मध्यम रहेका स्थानीय र बाह्यबाट आएका अस्थायी वा स्थायी बसोबासीको रोजाइमा संस्थागत विद्यालयहरु र सामुदायिक विद्यालयमा जनसेवा मा वि र मंगल मा वि परेको पाइन्छ । त्यस्तै जो खेतीपाती, गाई फारम, इट्टाभट्टा, मजदुरी, साना साना व्यवसाय गर्ने र दाजु, दिदी, अंकल अन्टी वा आफन्त कीर्तिपुरमा बसेर उच्च शिक्षा हासिल गरिरहेका छन् तीनिहरुका भाइबहिनीहरु सामुदायिक विद्यालयहरुमा भर्ना गराएको पाइन्छ । सामुदायिक विद्यालयहरु मध्येमा पनि नमुना विद्यालयको रुपमा स्थापना भएका विद्यालयहरु जनसेवा मा वि र मंगल मा वि भर्नाको लागि बढी प्राथमिकतामा परेको पाइन्छ ।

सामुदायिक विद्यालयहरु

यस नगरपालिका भित्र १२ वटा सामुदायिक विद्यालयहरु रहेका छन् जसमध्ये १० वटा माध्यमिक विद्यालयहरु हुन् र २ वटा आधारभूत तह संचालित विद्यालयहरु हुन् । ३ वटा विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ भने ७ वटामा कक्षा १० सम्म पढाइ हुन्छ । जनसेवा मा वि र मंगल मा वि यस नगरपालिकाको नमुना विद्यालयमा छनौट भएका विद्यालयहरु हुन् । जनसेवामा साधरण र प्राविधिक धार गरी २ धारको पढाइ हुने गरेको छ ।

सार्वजनिक शैक्षिक गुठीबाट संचालित विद्यालयहरु ः

सार्वजनिक शैक्षिक गुठी अन्तर्गत ६ वटा विद्यालयहरु रहेका छन् । नेपाल एपीएफ स्कुल रलेवोरेटरी मा वि मा कक्षा १२ सम्म पढाइ हुन्छ भने अन्य ४ वटा हिलटाउन मावि, राराहिल मावि, पांगा माविमा कक्षा १० सम्म पढाइ हुन्छ भने सल्यान थान मा विमा कक्षा ६ सम्म पढाइ हुन्छ ।

संस्थागत विद्यालयहरु

यस नगर भित्र ३९ वटा संस्थागत विद्यालयहरु रहेका छन् । १२ वटा विद्यालयमा माध्यमिक तह सम्मको पढाइ हुन्छ । यि विद्यालयहरु मध्ये पुष्पसदन माविमा कक्षा १२ सम्मको पढाइ हुन्छ । कक्षा १–५ सम्म पढाइ हुने विद्यालयहरु १७ वटा रहेका छन् । कक्षा १ सम्मको अनुमती पाएका विद्यालय २ वटा र मन्टेश्वरीका रुपमा चलेका १० वटा पूर्व प्राथमिक विद्यालयहरु रहेका छन् ।

सामुदायिक विद्यालयतर्फ

काठमाडौं जिल्ला भित्रका सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्टतामा मंगल मा वि सातौ स्थानमा परेको छ । विषयगत औषतमा हेर्दा अंग्रेजी विषयको ३.४७ औषत जिपिए ल्याइ जिल्लाको ४ औ स्थानमा रहेको छ । त्यस्तै नेपाली विषयमा ३.२४ औषत जिपिए ल्याइ जिल्लाको ८औ स्थानमा रहेको छ । गणित विषयमा २.७८ औषत अंक हासिल गरी १० औ स्थानमा रहेको छ । विज्ञान विषयमा ३.४७ जिपिए ल्याइ जिल्लाको दोश्रो स्थानमा रहेको छ । त्यस्तै सामाजिकमा २.६५ र अनिवार्य स्वास्थ्य जनसंख्या वातावरणमा ३.४८ जि पि ए ल्याइ क्रमशः जिल्लाको ४१ औ र ४ औ स्थानमा पर्न सफल भएको छ । यस विद्यालये सामाजिक र गणित विषयको पठनपाठनमा ध्यान दिनुपर्ने देखिएको छ ।

यस नगरपालिकाको मंगल माध्यमिक विद्यालय उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयमा परेको छ । औषत ३.१९ जि पि ए ल्याइ ३.६१–४ जि पि ए भित्र १४ जना विद्यार्थीहरु पर्न सफल भएका छन् । यस विद्यालयले ८२ जना विद्यार्थी एसइइ परीक्षामा सम्मिलित गराएको थियो । क्रमश जनसेवा र आदिनाथ माध्यमिक विद्यालयले औषत २.८८ र २.४६ जि पि ए ल्याएका छन् । सामुदायिक तर्फ कम जि पि ए ल्याउनेमा बालकुमारी र गोरखनाथ मा वि रहेका छन् । क्रमशः २.०३ र २.०२ औषत जि पि ए ल्याएका छन् ।

सार्वजनिक गुठिका विद्यालयहरु

सार्वजनिनक गुठीका विद्यालयहरुमध्ये नेपाल एपि एफ स्कुलले एक जना ४ जि पि ए सहित औषत जि पि ए ३.६२  ल्याएको र ३.६१–४ जि पि ए भित्र ४४ जना विद्यार्थी पर्न सफल भइ अग्रस्थानमा रहेकोछ । लेबोरेटोरी र राराहिल मा विले क्रमशः ३.४४ र ३.४० जि पि ए ल्याएका छन् । राराहिलबाट पनि एक जना विद्यार्थी ४ जि पि ए ल्याउन सफल भएकी छन्  ।

निजी विद्यालयहरु

निजी विद्यालय तर्फ क्रियटिभ एकेडेमी र पुस्पसदन मा विले ३.४९ औषत जि पि ए ल्याइ अग्रस्थानमा रहेका छन् । ग्रिन भिलेज र उज्जवल शिशु निकेतन क्रमशः ३.४७ र ३.४० औषत जि पि ए ल्याइ विद्यार्थीहरु सतप्रतिशत उतर्णि गराउन सफल भएका छन् । सबैभन्दा कम जि पि ए ल्याउनेमा ग्रिनभिलेज मा वि र कीर्ति सेकेण्डरी विद्यालय रहेका छन् ।


 सबै विद्यालयहरुको तुलना गर्दा यस नगरपालिकाभित्र रहेको एपिएफ स्कुल औषत जिपिए ३.६ ल्याइ उत्कृष्ट विद्यालयमा पर्न सफल भएको छ । त्यस्तै क्रिएटिभ एकेडेमी र पुष्पसदन मा विले ३.४९ जि पि ए ल्याइ द्वितीय स्थानमा पर्न सफल भएका छन् । सामुदायिक विद्यालय तर्फ उत्कृष्ट रहेको मंगल मा वि पन्ध्रौ स्थानमा परेको छ । नगरकै सबैभन्दा कम जि पि ए प्राप्त गर्ने विद्यालयमा बालकुमारी र गोरखनाथ परेका छन् ।

२०७९ मा सबैभन्दा धेरै विद्यार्थी परीक्षामा सामेल गराउने विद्यालयहरु लेबरोटरी मा वि, पुष्पसदन, जनसेवा र मंगल रहेका छन् । त्यस्तै सबैभन्दा न्यून विद्यार्थी सामेल गराउने विद्यालयहरु बैष्णवी, बाघभैरव र गोरखनाथ रहेकाछन् । सामुदायिक विद्यालय तर्फको औषत जिपिए २.३८ रहेको छ । औषत जि पि ए भन्दा माथिका विद्यालयहरु मंगल मा वि, जनसेवा मा वि, आदिनाथ मा वि र कीर्तिपुर मा वि रहेका छन् । सार्वजनिक गुठीका विद्यालयहरुको औषत जि पि ए ३.३९ रहेको छ । संस्थागत विद्यालयहरुको औषत जि पि ए ३.२३ रहेको छ । औषत जि पि ए भन्दा माथि १० वटा विद्यालयहरु रहेका छन् नगरकै औषत जि पि ए २.९७ रहेको छ । औषत जि पि ए भन्दा माथि १९ वटा विद्यालयहरु रहेका छन् । सामुदायिक विद्यालयहरु २ वटा सार्वजनिक गुठिका सबै विद्यालयहरु र १२ वटा निजि विद्यालयहरुले नगरको औषत भन्दा माथि ल्याएका छन् । त्यस्तै नगर औषतभन्दा तल रहेका सामुदायिक विद्यालयहरु ९ वटा र एउटा संस्थागत विद्यालय रहेको छ ।

 4 GPA सहितको उत्तीर्ण गराउने विद्यालयहरु

काठमाडौ जिल्ला भित्र रहेका विद्यालयहरु मध्ये शैक्षिक सत्र २०७८ मा ४.०० जि पि ए सहित माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने परीक्षार्थी १० थिए भने २०७९ मा यो संख्या ३२ रहेको छ । २०७८ मा कीर्तिपुर नगरपालिका भित्र रहेका कुनै पनि विद्यालयले ४.०० सहित आफ्ना विद्यार्थी उत्तीर्ण गराउन सकेनन् । यस वर्षको परीक्षामा नेपाल एपि एफ र राराहिल मा विका एक एक जना सहित २ जनाले ४ जि पि ए सहित माध्यमिक शिक्षा परीक्षा उतीर्ण गरेका छन् ।

संस्थागत विद्यालयहरुको तुलनामा सामुदायिक विद्यालयहरुको नतिजा कमजोर हुनुका कारणहरु

१. विद्यार्थी

सामुदायिक विद्यालयमा स्थानीयबासीका बालबालिकाहरु भर्नादर न्यून रहेको छ । बालकुमारी मा वि, आदिनाथ मा वि, बैष्णवी मा वि, बाघभैरव मा वि र टौदह मा वि, गोरखनाथ मा वि, विश्वराष्ट्र माविमा अस्थायी बसोबास गर्ने, रोजगारीको शिलशिलामा यहा रहदाँसम्म विद्यार्थी भर्ना गर्ने, आर्थिक, सामाजिक र पारिवारिक समस्या भएका बालबालिकाहरुको भर्नादर उच्च रहेको छ । गोरखनाथ मा वि मा कापी कलम, खाजा, पानी, विद्यालय पोशाक जोहो गर्न कठिन भएका, अरुको घरमा काम गर्न बसेका बालबालिकाहरु मात्र भर्ना भएको अवस्था छ । विगतमा कोभिडका कारणले पढाइमा असर पुगेकाले पनि औषत नतिजा राम्रो थिएन । यस वर्ष सबै विद्यालयहरुको उतिर्ण प्रतिशत राम्रो भएता पनि उच्च अंक सहितको नतिजा दर भने बढ्न सकेन तर विद्यालयहरुले गरेको मेहनतले चाहिँ भविष्यलाई केहि आशाबादी बनाएको छ ।

सामुदायिक विद्यालयहरु मध्ये मंगल माध्यमिक विद्यालय र जनसेवा माध्यमिक विद्यालय संघीय सरकारको नमुना विद्यालय विकास कार्यक्रम भित्र परेको र शैक्षिक, व्यवस्थापकीय, भौतिक तथा प्राविधिक पक्ष केही राम्रो भएका कारण यी विद्यालयहरुमा विद्यार्थीको संख्याको चाप रहेको छ । तुलनतात्मक रुपमा हेर्दा जनसेवामा भन्दा मंगल मा विमा स्थानीय अभिभावकका बालबालिकाहरु बढी रहेको छ । मंगल माविमा भर्ना भएका जम्मा विद्यार्थीको करिब १५ प्रतिशत स्थानीयका बालबालिकाहरु रहेका छन् । यस विद्यालयमा व्यवस्थापन समितिका सदस्यका छोराछोरी, शिक्षकका छोराछोरी, भूतपूर्व विद्यार्थीका छोराछोरी समेत भर्ना भएका छन् । साथै कक्षा ६ र ८ देखि यस विद्यालयमा पढाउनका लागि अभिभावकहरुको विशेष रोजाइमा समेत परेको देखिन्छ । स्थानीय अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकहरुको चासो बढी भएका कारण पनि अन्य विद्यालय भन्दा यस विद्यालयको नतिजा राम्रो रहेको छ ।

कीर्तिपुर माध्यमिक विद्यालय यस नगरपालिकाको नमुना विद्यालय विकास गर्ने योजनामा परेको विद्यालय हो । यस विद्यालयको भवन निर्माणाधिन अवस्थामा रहेको छ । कक्षाकोठाको अभावका कारण लाइब्रेरी, ल्याब व्यवस्थापन साथै विद्यार्थी भर्ना बढाउन कठिन भएको छ । यस विद्यालयमा सबै तहमा शिक्षक दरवन्दी र योग्य शिक्षकहरु रहेता पनि स्थानीय अभिभावकका छोराछोरीहरु भर्ना दर भने बढेको छैन । विद्यालय परिवार, व्यवस्थापन समिति विद्यालय सुधारमा लागि परेको छ । त्यस्तै विद्यालयको आन्तरिक सुधारका लागि नगरपालिकाले वार्षिक रु १० लाख रुपैया आ व २०७९÷८०बाट सहयोग गर्दै  आएको छ । भौतिक रुपमा सम्पन्न भएपश्चात यस विद्यालय पनि सबैको रोजाइको केन्द्रमा पर्ने सम्भावना बढेर गएको छ ।

२. शिक्षक

संस्थागत विद्यालयहरुको तुलनामा तालिम प्राप्त शिक्षक सेवा आयोगबाट छनौट भइ स्थायी रुपमा सेवा तथा शिक्षण गर्दै आउनुभएका शिक्षकहरु सामुदायिक विद्यालयहरुमा हुनुहुन्छ । विद्यालय प्रशासनले शिक्षकसँग भएको क्षमतालाई उपयोग गर्ने गरी जिम्मेवार बनाउन नसक्नु, शिक्षकहरु नियमित विद्यालय आउने तर शिक्षण विधि तथा क्रियाकलापमा नयाँपन नल्याउनु, पाठ्यक्रम अध्ययन नगर्नु, शिक्षण योजना नवनाउनु, शैक्षिक उपलब्धि कमजोर भएका बालबालिकाहरुलाई उपचारात्मक शिक्षण नगराउनु आरोपहरु शिक्षकहरुलाई लाग्दै आएको छ । विद्यालयमा विषयगत शिक्षक दरवन्दी अभाव रहेको छ । आधारभूत तहदेखि माध्यमिक तहसम्म शिक्षक दरवन्दी मिलान नभएका कारणबाट पनि आधारभूत तहका शिक्षकहरु माध्यमिक तहसम्म पठनपाठन गर्न बाध्य रहेका छन् । न्यूनतम दरबन्दीको अभावले केही विद्यालयहरुका शिक्षक अत्याधिक खटिनुपर्ने अवस्था समेत रहेको छ ।

३. अभिभावक

आफ्ना बालबालिकाहरुको पठनपाठन अवस्थाको बारेमा चासो नराख्नु, आवश्यक शैक्षिक सामग्री, खाजा, पानी, सरसफाइमा ध्यान नदिनु, नियमित विद्यालय नपठाउनु, गृहकार्य गरे नगरेको नहेर्नु जस्ता कारणबाट विद्यार्थीहरुको सिकाइ उपलब्धिमा असर पारेको छ ।

४. विद्यालयको भौतिक तथा शैक्षिक सुविधाको अवस्था

सबै विद्यालयहरु भौतिक सुविधा सम्पन्न हुँदै गएका छन् तर विद्यालय भित्र शिक्षणसँग जोडिएको पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, बुककर्नरलाई व्यवस्थित गर्न सकिएको छैन । जनसेवा मा वि, मंगल मा वि, कीर्तिपुर मा विमा ल्याबहरुछन् तर विद्यार्थीहरुले नियमित रुपमा प्रयोग तथा अभ्यास गर्ने वातावरणमा सुधार गर्नुपर्ने देखिन्छ । विद्यालयहरुलाई नियमित रुपमा अतिरिक्त क्रियाकलाप गराउने, साधन स्रोत सामग्रीहरुको समेत अभाव रहेको छ । खेल शिक्षक, नृत्य सिकाउने शिक्षक, संगित शिक्षक, लाइब्रेरियनलाई विद्यालयहरुले क्रमश व्यवस्थापन गराउदै लैजान पर्ने आवश्यकता देखिएको छ । ।

५. अनुगमन तथा निरीक्षण

विद्यालयको अनुगमन तथा निरीक्षण कार्यलाई नियमित र निरन्तर रुपमा सञ्चालन गर्न सकिएको छैन । अनुगमनलाई नियमित र प्रभावकारी बनाउन आवश्यक जनशक्तिको पनि कमी देखिन्छ । दक्ष जनशक्ति र विज्ञहरुको अभावका कारण शिक्षकहरुको कक्षा अवलोकन, उपचारात्मक निरीक्षण,शिक्षकको आवश्यकताको आधारमा पेशागत क्षमता अभिवृद्धि कार्यक्रम तथा तालिम यथेस्ट रुपमा संचालन गर्न सकिएको छैन ।

६. वार्षिक बजेट तथा कार्यक्रम

संघीय सरकारदेखि स्थानीय सरकारसम्मले विद्यालय शिक्षासम्बन्धी ऐन, नीति तथा कार्यक्रम र बजेट विद्यालयको आवश्यकताको आधारमा बनाइदै जानुपर्ने देखिन्छ । विद्यालयलाई उपलब्ध गराउने प्रशासनिक खर्च, अतिरिक्त क्रियाकलाप सञ्चालन खर्च रेमेडियल कक्षा सञ्चालन सुत्केरी महिलाका कारण पुगेको शैक्षिक क्षति न्यूनिकरण खर्च, बुक कर्नर र लाइब्रेरी प्रयोगलाई अनिवार्य बनाउदै जानुपर्ने, नियमित अनुगमन, उपचारात्मक कक्षा शिक्षण, तालिम कार्यक्रमको आवश्यकता देखिएको छ ।

शैक्षिक सुधारका लागि गर्नुपर्ने प्रयासहरु

—पाठ्यक्रमले निर्दृष्ट गरेको समय÷क्रेडिट आवरका आधारमा पठनपाठन कार्य अनिवार्य गराउने ।

—विद्यालयहरुलाई वार्षिक कार्यक्रम पेश गर्न लगाइ विद्यालयमा सञ्चालन गरिएका कार्यक्रमहरुको चौमासिक रुपमा रिपोर्ट माग गर्ने । 

—सामुदायिक विद्यालयहरुमा समुदायको अपनत्व बढाउने कार्यक्रम तथा अभिभावक शिक्षा सञ्चालन गर्ने ।

—शिक्षण कार्यमा विद्यार्थी अभ्यास गराउने, प्रयोगात्मक तथा परियोजना कार्यहरुलाई फोकस गरी पठनपाठन गरेनगरेको नियमित अनुगमन गरी विद्यालय तथा शिक्षकहरुलाई सुझाव दिने ।

—नगरस्तरीय अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्न प्रोत्साहन गर्ने ।

—विद्यालयहरुमा विषयगत ल्याब कम्प्युटर ल्याब लाइब्रेरीहरु सुधार गरी डिजिटल कक्षा सञ्चालनका लागि प्रोत्साहन गर्ने ।

—उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने ।

—शिक्षक दरवन्दी मिलान गर्ने ।

—सुत्केरी महिलाका कारण विद्यालयमा पर्न गएको शैक्षिक क्षति न्यूनिकरण गर्नका लागि विद्यालयलाई रकम सहयोग गर्ने ।

—कमजोर शैक्षिक उपलब्धि भएका विद्यार्थीहरुलाई रेमेडियल कक्षा सञ्चालन गर्ने ।


No comments:

Post a Comment