Friday, February 15, 2013

अनिश्चितकाल नपा बन्द गर्ने चेतावनी

सुलक्षण कीर्ति विहारले निर्माण गर्न लागेका भौतिक संरचनाको नक्शा पास विवाद

अनिश्चितकाल नपा बन्द गर्ने चेतावनी

संघ संस्थावाट नक्शा पास रोक्न वडामा निवेदन
रोक्ने हो भने अदालत जानुपर्छ : वडा कार्यालय

कीर्तिपुर सन्देश

कीर्तिपुर नगरपालिका वडा नं. १७  सुन्दरीघाटस्थित सुलक्षण कीर्ति विहारले हस्पीटल, बृद्ध आश्रम र विहार बनाउनका लागि नक्शा पास गर्न कीर्तिपुर नगरपालिकामा प्रक्रिया सुरु गरेपछि फेरी एक पटक सो विहारको जग्गाको विषयमा सरोकारवालावीच तनाव बढ्ने अवस्था आएको छ ।

विहारले निर्माण गर्न लागेको भौतिक संरचनाको सवालमा कीर्तिपुर नगरपालिका वडा नं. १७ ले गत माघ १८ गतेको मिति राखी सूचना मार्फत उक्त निर्माण कार्यवाट कोही कसैलाई पिर मार्का सन्धि सर्पन पर्छ भने १५ दिनभित्र निवेदन राख्न अनुरोध गरेपछि विभिन्न संघ संस्थाले आपत्ति जनाउदै वडा कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

वडा कार्यालयमा सुन्दरीघाट चिहान संरक्षण समाज, कीर्तिपुर नगरपािलका जनदवाव समाज, कपाली गुठी र भाजंगल नग्रीति गुठीले समेत सो कार्य रोक्नका लागि निवेदन दिएको थाहा भएको छ ।

सुन्दरीघाट चिहान संरक्षण समाजले आफुहरुको सहमति विपरित नगरपालिकाले नक्शा पास गरेमा कीर्तिपुर नगरपालिका कार्यालय र वडा नं. १७ को कार्यालय अनिश्चितकालिन तालाबन्दीको चेतावनी सहितको पत्र वडा कार्यालयमा दर्ता गरेको छ ।

२०६५ सालमा पनि सुन्दरीघाट चिहान संरक्षण समाजले सो जग्गाको विषयमा कीर्तिपुर नगरपालिका वडा नं. १७ मा तालाबन्दी गरेको र सो समयमा नगरपालिका, आन्दोलनकारी  र विहारका प्रतिनिधिहरू वीच २०६५ साल माघ २० गते भएको वार्ताको क्रममा निर्णय नम्बर ३ मा ‘उक्त विहारले भोगाधिकारभित्र बाहेक कुनैपनि क्षेत्र विस्तार नगर्ने र कुनै पनि तरिकावाट स्वामित्व  थप भोगाधिकार प्राप्त भएता पनि सो जग्गामा कुनै भौतिक संरचना, उल्लेखित सम्पूर्ण पक्षहरूको स्वीकृति पश्चात मात्र गर्ने’ भनी उल्लेख भएतापनि सो सहमतिलाई वेवास्ता गरेको भन्दै सुन्दरीघाट चिहान संरक्षण समाजको तर्फवाट सो चेतावनी सहितको निवेदन दर्ता गरिएको हो ।

१७ वडा कार्यालयका सचिव विजय सुवेदीले कीर्तिपुर सन्देश साप्ताहिकसंग कुरा गर्दै दुई वटा संगठनले आफ्नो लेटरप्याडमा नै निवेदन दिएको र अन्यको पनि रहेको स्वीकार गर्नु भएको छ ।  उहाँले ती निवेदनहरू सहितको पत्र आउदो शुक्रवार सम्ममा वडा कार्यालयबाट नगरपालिकामा पठाउने बताउनु भएको छ । वडा सचिवले सुलक्षण कीर्ति विहारले मन्त्री परिषदको मिति २०६४÷०९÷०९को निर्णय अनुसार लालपूर्जा समेत लिइसकेको अवस्थामा सो कार्य रोक्ने हो भने  सरोकारवालाहरू अदालत जानुपर्ने अन्यथा वडाबाट केहि गर्न नसकिने बताउनु भएको छ ।

यसरी विभिन्न समयमा विवाद हुदै आएको सो विषयमा स्वयं कीर्तिपुर नगरपालिकालाई पनि एक ढंगबाट समस्याको विषय भएको छ । विहार, समाज र विभिन्न संघ संस्था र स्थानीयवासीसंग जोडिएको र समय समयमा आन्दोलन भइरहेको अवस्था साथै अब पनि तालाबन्दी गर्ने चेतावनि आइसकेको अवस्थामा अब नगरपालिकाले विहारले निर्माण गर्न लागेको भौतिक संरचनाको नक्शा पास प्रक्रियालाई कसरी लिने छ त्यो भने एक हप्ताभित्र नै स्पष्ट हुने अवस्था छ ।

No comments:

Post a Comment