Saturday, February 2, 2013

कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजको प्रथम साधारण सभा सम्पन्न

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजको प्रथम साधारण सभा सम्पन्न



प्राकृतिक श्रोत र साधन तथा अन्य विभिन्न सम्पदाले भरिपूर्ण देश नेपालको राजधानी काठमाडौंको दक्षिण पश्चिम तर्फ अवस्थित थानकोट वाड भञ्ज्याङ्गदेखि कीर्तिपुर नगरपालिका एवं चाल्नाखेल गा.वि.स.सम्मको क्षेत्र उपत्यकाको दक्षिण–पश्चिम क्षेत्रको रुपमा चिनिन्छ । यस क्षेत्रलाई पर्यटकिय हिसावले स्थानीय श्रोत साधनको परिचालन गरी संरक्षण, सम्वद्र्धन गर्नुका साथै समग्ररुपमा समन्वयात्मक, प्र्रवद्र्धनात्मक कार्यहरू गर्दै आारभूत भौतिक तथा सामाजिक विकास निर्माण कार्यमा सहयोग पु¥याउने उदेश्यबाट अभिप्रेरित भई गठन गरिएको “कीर्तिपुर क्षेत्र पर्यटन विकास समाज”को प्रथम वार्षिक साधारण सभा गत माघ १३ गते सनिवार कीर्तिपुर हिलसाइट होटलमा सम्पन्न भयो ।

 समाजका सचिव विरेन्द्र शाक्यले संचालन गर्नु भएको उक्त सभाको सभापतित्व समाजका अध्यक्ष विजय कुमार महर्जनले गर्नु भएको थियो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशिल घिमिरेको प्रमखु आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सल्लाहकार सुजेन्द्र महर्जनले दिनु भएको थियो ।

 समाजका अध्यक्ष विजय कुमार महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार यस समाजको स्थापनासँगै कीर्तिपुर च्यानलको सहकार्यमा २०६८ बैशाख १ गते चम्पादेवी हाइकिङ पदयात्रा कार्यक्रमको आयोजना गरियो । त्यस्तै २०६८ जेठ २० गते सगरमाथा आरोही कीर्तिपुर निवासी सन्तकुमार महर्जन लगायत आरोहण दलका ९ जना र सहभागी ५ जनासमेत १४ जनालाई सम्मान गरिएको थियो ।

२०६८ मंसिर ९ गतेदेखि १५ गतेसम्म पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत NATHM को आर्थिक सहयोगमा ३५ जना युवा युवतीहरूलाई सात दिने होमस्टे तालिम दिइएको थियो ।

२०६८ मंसिर २८ गते चम्पादेवी पदयात्रा मार्ग (हाइकिङ रुट)को तत्कालिन पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री दिलिप महर्जनबाट उद्घाटन विधिवत् उद्घाटन गराइएको थियो ।

यसरी विभिन्न कार्यक्रमहरू गर्दै आएको समाज २०६८ फागुण १५ गते जि.प्र.का. काठमाडौंमा दर्ता भएको जानकारी दिनु भएको थियो ।

संस्थाको आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष रविन्द्र वहादुर प्रधानले प्रस्तुत गर्नु भएको थियो । साथै सोही अवसरमा कीर्तिपुर क्षेत्रबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने सन्तकुमार महर्जन र १० पटकसगरमाथाको सफल आरोहण गर्ने जाङबुक् शेर्पालाई संस्थाको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

प्रमुख अतिथि सुशिल घिमिरेले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण कीर्तिपुर र यसको वरिपरि रहेका मनोरम प्राकृतिक दृश्य सहितको वातावरणका कारण आन्तरिक तथा वाह्य पर्यटकहरूको समेत आकर्षणको केन्द्रको रुपमा विकास गर्न सक्ने प्रसस्त सम्भावनाहरू रहेको वताउनु भयो ।

No comments:

Post a Comment