Wednesday, January 16, 2013

कीर्तिपुरमा हुने नेवाः एकता दिवसले दिने सन्देश

अंक ७६  ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते  बुधवार Jan 16, 2013

सम्पादकीय

कीर्तिपुरमा हुने नेवाः एकता दिवसले दिने सन्देश

श्रीकृष्ण महर्जन

आउदो पोहेलाथ्व नवःमि अर्थात माघ ७ गते आइतवार ऐतिहासिक नगर कीर्तिपुरमा नेवाः एकता दिवस मनाउन ब्यापक रुपमा तयारी भइरहेको अवस्था छ । 

कीर्तिपुरमा मात्र नभई काठमाण्डौं उपत्यकाका नेवारहरु पनि आ–आफ्नै ढंगबाट नेवाः एकता दिवस मानाउन         तयारीमा लागेको छ । काठमाण्डौं उपत्यकाका लखौं नेवार त्रिपुरेश्वरस्थित राष्ट्रिय रंगशलामा भेला भई जनस्तरवाट नेवाः स्वायत्त राज्य घोषणा गरेको दिनलाई नेवार समुदायले नेवाः एकता दिवसको रुपमा मनाउदै आएको एक ढंगवाट नेवाः स्वायत्त राज्य प्राप्तिका लागि नेवारहरु निरन्तर रुपमा आन्दोलित भइरहेको संकेत हो । 

नेपालको राजनीतिक इतिहासमा जहिलेपनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको ऐतिहासिक नगर कीर्तिपुरमा हुने नेवाः एकता दिवसले पहिचान सहितको संघीयता विरोधीलाई खबरदारी गरिने छ । 

कीर्तिपुरमा पनि पहिचान सहितको संघीयताको विरोधी राजनीतिक दलका नेताहरुपनि नभएको होइन । यस दिवसले कीर्तिपुरका पहिचान विरोधीदेखि प्रमुख दलका शीर्ष नेताहरु साथै संघीयता विरोधीहरुलाई पनि खबरदारी गरिने  छ । यसपालि कीर्तिपुरमा हुने नेवाः एकता दिवसलाई पहिचान सहितको संघीयता पक्षधर र पहिचान सहितको संघीयता  विरोधीहरुले अत्यन्तै महत्वकासाथ हेरिने छ । त्यसैले कीर्तिपुरमा हुने यो नेवाः एकता दिवस एक ढंगले पहिचान सहितको संघीयता पक्षधर नेवार समुदाय तथा कीर्तिपुरवासीको लागि  चुनौति र अवसर पनि हो ।  

अतः यस नेवाः एकता दिवसलाई दिवसको रुपमा मात्र नभई पहिचान सहितको संघीयता विरोधीलाई खबरदारी गर्दै पहिचान सहितको संघीयता पक्षधरलाई एकता बनाउने र आत्मवल थप्ने कार्य गरिने अवस्था छ । 

No comments:

Post a Comment